News Summary
Generated by OK AI. Editorially reviewed.- प्रगतिशील लोकतान्त्रिक पार्टीका अध्यक्ष सन्तोष परियारले संघीयता, गणतन्त्र र समावेशिताको रक्षाका लागि ‘अग्रगामी मोर्चा’ गठन गरिएको घोषणा गर्नुभएको छ ।
- अध्यक्ष परियारले वर्तमान सरकार जनभावना विपरीत चलेको आरोप लगाउँदै सरकार जनताको सेवक हुनुपर्ने र अभिभावक बन्न नहुने बताउनुभयो ।
- उहाँले मोर्चाले गरिब, मजदुर र उत्पीडित वर्गको पक्षमा सडक र सदन दुवैबाट सशक्त आवाज उठाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
२३ साउन, काठमाडौं । प्रगतिशील लोकतान्त्रिक पार्टीका केन्द्रीय समिति अध्यक्ष सन्तोष परियारले नेपाली राजनीतिमा प्राप्त संघीयता, गणतन्त्र र समावेशिता जस्ता उपलब्धिको रक्षाका लागि ‘अग्रगामी मोर्चा’ले सशक्त भूमिका खेल्ने उद्घोष गरेका छन् ।
शनिबार काठमाडौंमा आयोजित ‘अग्रगामी मोर्चा’ घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष परियारले वर्तमान सरकार जनभावना विपरीत र विचारविहीन भएको टिप्पणी गरेका हुन् । उनले युवाहरूको सपना र आदर्शलाई दक्षिणपन्थी शक्तिहरूले दुरुपयोग गरिरहेको आरोप लगाउँदै ती सपना साकार पार्न नै मोर्चा गठन गरिएको स्पष्ट पारे ।
सरकारलाई ‘जनताको सेवक’का रूपमा परिभाषित गर्दै उनले सरकारलाई ‘अभिभावक’ मान्ने परम्परा अन्त्य हुनुपर्नेमा जोड दिए । मधेश र पहाडको सम्बन्धका बारेमा चर्चा गर्दै परियारले दुई क्षेत्रबीच केवल सद्भाव मात्र नभई ‘समभाव’को आवश्यकता रहेको औंल्याए ।
उनले गरिब, सुकुमवासी, मजदुर र उत्पीडित वर्गको पक्षमा मोर्चाले सडक र सदन दुवै ठाउँबाट आवाज उठाउने प्रतिबद्धता व्यक्त गरे ।
‘२००७ सालदेखिको निरन्तर सङ्घर्ष, मधेस आन्दोलन र जनयुद्धबाट प्राप्त नागरिक सर्वोच्चता, सङ्घीयता र सामाजिक न्यायको पक्षमा यो मोर्चा सधैं उभिनेछ । यदि संख्याको बलमा रहेको वर्तमान सरकारले यी उपलब्धिहरूमाथि आक्रमण गर्न खोजेमा मोर्चाले त्यसको सशक्त प्रतिवाद गर्नेछ,’ उनले भने ।
कार्यक्रममा उनले नयाँ भनिएका राजनीतिक शक्तिहरूले इतिहासको अवमूल्यन गरिरहेको भन्दै असन्तुष्टि समेत व्यक्त गरे । समाज विकासको क्रममा हरेक पुस्ताको योगदान महत्त्वपूर्ण हुने भन्दै उनले उपेन्द्र यादव, जनार्दन शर्मा, प्रभु साह र रेशम चौधरी लगायतका नेताहरूले गरेको संघर्षलाई कसैले नजरअन्दाज गर्न नमिल्ने बताए ।
‘सरकार नेपाली जनताको सेवक हो, अभिभावक होइन । आवधिक निर्वाचनबाट आएको ५ वर्षे सरकारले राज्यका स्थापित ऐतिहासिक संस्थाहरू र विधिभन्दा बाहिर गएर काम गर्न पाउँदैन । जुन दिन जनताको धैर्य टुट्छ र उनीहरू जाग्छन्, त्यो दिन बालुवाटार र सिंहदरबार धेरै टाढा हुनेछैनन्,’ उनले भने ।
अध्यक्ष परियारले वर्तमान संविधान पूर्ण नभए पनि यो तुलनात्मक रूपमा उत्पीडित समुदायको पक्षमा रहेको उल्लेख गर्दै यसको रक्षाका लागि जनता सचेत हुनुपर्ने बताउनु भयो । अग्रगामी मोर्चाले आगामी दिनमा समाजवाद, सुशासन र सामाजिक रूपान्तरणका लागि निरन्तर सङ्घर्ष जारी राख्ने संकल्प गरेको छ । उक्त कार्यक्रममा विभिन्न राजनीतिक दलका शीर्ष नेताहरूको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया 4