News Summary
Generated by OK AI. Editorially reviewed.- गुल्मी अस्पतालको भवन निर्माणमा ढिलाइ भएपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्री सुनिल लम्सालले ठेक्का रद्द गरी नयाँ टेन्डर प्रक्रिया अघि बढाउन निर्देशन दिएका छन् ।
- पाँच वर्षदेखि निर्माणाधीन अस्पतालको भवनको काम समयमै सम्पन्न नभएपछि मन्त्री लम्सालले थप ढिलाइ सह्य नहुने भन्दै निर्माण कम्पनीलाई कारबाहीको प्रक्रिया सुरु गर्न भनेका हुन् ।
- नयाँ भवन नबन्दा पुरानै संरचनाबाट सेवा प्रवाह गर्नुपर्दा बिरामी र स्वास्थ्यकर्मीले सास्ती भोग्दै आएका छन् र ५० शय्याको सेवा विस्तारसमेत प्रभावित भएको छ ।
२४ साउन, गुल्मी । दुई वर्षभित्र सम्पन्न गर्ने लक्ष्यसहित निर्माण सुरु गरिएको गुल्मी अस्पतालको भवन पाँच वर्ष पुग्न लाग्दासमेत निर्माण पूरा हुन सकेको छैन् । आज यही अस्पतालको निरीक्षणमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री सुनिल लम्साल पुगे । अनुगमनपछि उनले ठेक्का रद्द गरी नयाँ टेन्डर आह्वान गर्न निर्देशन दिएका छन् ।
अनुगमनका क्रममा मन्त्री लम्सालले निर्माण कम्पनी, इन्जिनियर तथा अस्पताल प्रशासनसँग भवन निर्माणको प्रगति, बाँकी काम र ढिलाइका कारणबारे जानकारी लिएका थिए । निर्धारित समयभित्र काम सम्पन्न हुन नसकेकोप्रति असन्तुष्टि जनाउँदै उनले अब थप ढिलाइ स्वीकार्य नहुने भन्दै ठेक्का रद्द गरेर नयाँ प्रक्रियाबाट काम अघि बढाउन निर्देशन दिएका हुन् ।
निर्माणाधीन भवनको भौतिक प्रगति ९१ प्रतिशतभन्दा केही बढी पुगेको बताइएको छ । करिब ६ करोड रुपैयाँ बराबरको काम अझै बाँकी रहेको भनिएको छ। भवनमा अहिले पेन्टिङ, वायरिङ, आल्मुनियम जडानलगायतका काम भइरहेका छन् ।
काम समयमा सम्पन्न हुनुपर्ने विषयमा आफू स्पष्ट रहेको उनको भनाइ थियो । गुल्मी अस्पतालको नयाँ भवन निर्माणका लागि २०७८ असार १८ गते सम्झौता भई काम सुरु गरिएको थियो ।
२०८० असार १७ गतेभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको थियो । तर निर्धारित समयमै काम पूरा हुन नसकेपछि पटक–पटक म्याद थपिँदै आएको छ ।
भवन निर्माणको जिम्मा स्वच्छन्द–बानियाँ जेभी, हेटौँडा, मकवानपुरले पाएको हो । पाँच तले भवन निर्माणका लागि २५ करोड ९५ लाख ६४ हजार २०३ रुपैयाँ लागत सम्झौता भएको छ ।
परियोजनाका लागि भारत सरकारको आर्थिक सहयोगमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणअन्तर्गत आयोजना कार्यान्वयन इकाइ (भवन) मार्फत रकम उपलब्ध गराइएको हो । नयाँ भवन निर्माण सम्पन्न नहुँदा गुल्मी अस्पताल अझै पुरानै भवनबाट सेवा सञ्चालन गर्न बाध्य छ ।
पर्याप्त वार्डको अभाव र सेवा विस्तारका लागि आवश्यक स्थान नहुँदा बिरामी तथा स्वास्थ्यकर्मी दुवैले समस्या भोग्दै आएका छन् ।
नयाँ भवन सञ्चालनमा आएपछि अस्पतालमा व्यवस्थित ओपीडी, आपत्कालीन सेवा, प्रसूति सेवा, शल्यक्रिया कक्ष, प्रयोगशाला, एक्स–रे तथा विशेषज्ञ उपचार सेवा विस्तार गर्ने योजना छ । थप शय्याको व्यवस्थासँगै आईसीयू, सर्जिकल, मेडिकल तथा बाल उपचारका लागि छुट्टाछुट्टै कक्षसमेत सञ्चालन गर्ने तयारी छ ।
अस्पताल विकास समिति अध्यक्ष राजेन्द्र पाण्डेले जिल्लावासीले लामो समयदेखि सुविधासम्पन्न अस्पताल भवनको प्रतीक्षा गरिरहेको भन्दै अब कुनै पनि हालतमा निर्माणमा थप ढिलाइ गर्न नहुने बताए ।
गुल्मी अस्पताल २०७१ सालमै ५० शय्यामा स्तरोन्नति भए पनि आवश्यक भौतिक पूर्वाधारको अभावमा त्यसअनुसार सेवा विस्तार पूर्ण रूपमा कार्यान्वयन हुन सकेको छैन ।
प्रतिक्रिया 4