News Summary
Generated by OK AI. Editorially reviewed.- नर्वेमा कार्यरत नेपाली चिकित्सक प्रा.डा. सुरजबहादुर थापालाई ‘नेपाली स्वास्थ्यकर्मी अफ द इयर २०२६’ अवार्डद्वारा सम्मानित गरिएको छ।
- जेनेभामा आयोजित एक कार्यक्रममा मनोचिकित्सा र अनुसन्धानको क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै उनलाई उक्त सम्मान प्रदान गरिएको हो।
- प्रा.डा. थापाले आफ्नो लामो समयको व्यावसायिक अनुभव र विशेषज्ञता अब नेपालको मानसिक स्वास्थ्य क्षेत्रको सुधारमा उपयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
२५ साउन, जेनेभा । नर्वेमा कार्यरत नेपाली चिकित्सक प्रा.डा. सुरजबहादुर थापा ‘नेपाली स्वास्थ्यकर्मी अफ द इयर २०२६’ अवार्डबाट सम्मानित भएका छन्।
स्विट्जरल्यान्डको जेनेभामा शनिबार आयोजित ‘सोसाइटी अफ नेप्लिज हेल्थकेयर प्रोफेसनल्स इन युरोप’ को दोस्रो स्वास्थ्य सम्मेलनको क्रममा उनलाई उक्त सम्मान प्रदान गरिएको हो।
सोसाइटीका अध्यक्ष डा. विनय श्रेष्ठ, स्विट्जरल्यान्डका लागि नेपाली राजदूत रामप्रसाद सुवेदी र नेप्लिज डक्टर्स एसोसिएसन यूकेकी अध्यक्ष डा. आरती थापाले संयुक्त रूपमा प्रा.डा. थापालाई ताम्रपत्र र दोसल्लासहित सम्मान गरे।
युरोपमा नेपालीको प्रतिनिधित्व गर्दै स्वास्थ्य क्षेत्रमा पुर्याएको योगदान, शैक्षिक तथा व्यावसायिक उपलब्धि एवं मानसिक स्वास्थ्य र मनोचिकित्साको क्षेत्रमा गरेको अनुसन्धान तथा योगदानको मूल्यांकन गर्दै उनलाई सम्मान गरिएको सोसाइटीका अध्यक्ष डा. श्रेष्ठले बताए।
यो सम्मान पाउने उनी दोस्रो नेपाली स्वास्थ्यकर्मी हुन्।सोसाइटीले गत वर्ष पहिलोपटक ‘नेपाली स्वास्थ्यकर्मी अफ द इयर’ सम्मान प्रा.डा. गणेश आचार्यलाई प्रदान गरेको थियो।
बहिनी गुमाएपछि जन्मिएको डाक्टर बन्ने सपना
प्रा.डा. थापाको चिकित्सकीय यात्रा एउटा व्यक्तिगत पीडाबाट सुरु भएको थियो। काठमाडौंको धापासीमा हुर्किएका उनले बाल्यकालमै आफ्नी दुई वर्षीया बहिनीलाई समयमै उपचार नपाउँदा गुमाए। त्यो घटनाले उनको बालमनमा चिकित्सक बन्ने संकल्प जन्मायो।
‘कुनै दिन म डाक्टर बन्छु’ भन्ने त्यही संकल्पलाई पछ्याउँदै उनी चिकित्सा शिक्षातर्फ लागे।पढाइमा अब्बल थापाले त्रिभुवन विश्वविद्यालयबाट एमबीबीएस पूरा गरे। चिकित्सकीय अभ्यासका क्रममा उनको रुचि मानसिक स्वास्थ्यतर्फ बढ्दै गयो। काठमाडौंको नोर्भिक अस्पतालमा अनुसन्धानमा संलग्न हुँदा उनले मानसिक स्वास्थ्य उपचार र अनुसन्धानको महत्त्वलाई थप नजिकबाट बुझ्ने अवसर पाए।
सन् १९९९ मा उच्च शिक्षाका लागि उनी नर्वेको राजधानी ओस्लो पुगे। नयाँ देश, नयाँ भाषा र नयाँ संस्कृतिका बीच उनले अध्ययनलाई निरन्तरता दिए। मास्टर्स तहको अध्ययन पूरा गरेपछि उनी नेपाल फर्किए र चिकित्सकीय सेवामा समेत काम गरे।
तर मानसिक स्वास्थ्यको क्षेत्रमा अझ गहिरो अनुसन्धान र अन्तर्राष्ट्रिय स्तरको विशेषज्ञता आवश्यक रहेको महसुस भएपछि उनी पुनः नर्वे फर्किए। यसपटक उनी विद्यार्थीका रूपमा मात्र होइन, अनुसन्धानलाई आफ्नो व्यावसायिक जीवनको प्रमुख क्षेत्र बनाउने उद्देश्यसहित नर्वे पुगेका थिए।
सन् २००६ मा उनले नर्वेमै चिकित्सा शास्त्रमा विद्यावारिधि पूरा गरे। त्यसपछि मानसिक स्वास्थ्यमा विशेषज्ञता हासिल गर्दै उपचार, अनुसन्धान र अध्यापनलाई आफ्नो व्यावसायिक यात्राको मुख्य क्षेत्र बनाए।
ओस्लो युनिभर्सिटी हस्पिटलमा अनुसन्धान नेतृत्व
हाल प्रा.डा. थापा नर्वेको प्रतिष्ठित ओस्लो युनिभर्सिटी हस्पिटलमा प्रोफेसर छन्। सन् २०२० देखि उनी त्यहाँको मेन्टल हेल्थ डिभिजनमा अनुसन्धान प्रमुखका रूपमा कार्यरत छन्। मानसिक स्वास्थ्य, मनोचिकित्सा, युद्ध, बसाइँसराइ, शरणार्थी जीवन तथा मानसिक आघातसँग सम्बन्धित विषयमा उनका अनुसन्धान केन्द्रित छन्।
उनका ५० भन्दा बढी अनुसन्धान अन्तर्राष्ट्रिय वैज्ञानिक जर्नलमा प्रकाशित भइसकेका छन्। अनुसन्धानमा मात्र सीमित नभई उनी नयाँ पुस्ताका चिकित्सक तथा अनुसन्धानकर्तालाई अघि बढाउने काममा पनि सक्रिय छन्। नेपाली चिकित्सक तथा अनुसन्धानकर्तालाई नर्वेमा पीएचडी अध्ययन तथा अनुसन्धानका अवसर दिलाउन उनले महत्वपूर्ण भूमिका खेलेका छन्।
नेपाल र नर्वेबीच मानसिक स्वास्थ्यसम्बन्धी अनुसन्धान तथा शैक्षिक सहकार्य विस्तार गर्न पनि उनले काम गर्दै आएका छन्।
विदेशमा बनेको पहिचान, नेपालसँग जोडिएको प्रतिबद्धता
लामो समय नर्वेमा रहेर चिकित्सा अनुसन्धान र अध्यापनमा सक्रिय भए पनि थापा नेपाली समुदायसँग निरन्तर जोडिँदै आएका छन्। गैरआवासीय नेपाली संघ नर्वेका पूर्वअध्यक्ष तथा पूर्वआईसीसी सदस्यका रूपमा उनले नेपाली समुदायका विभिन्न गतिविधिमा नेतृत्वदायी भूमिका निर्वाह गरेका छन्।
उनका लागि विदेशमा हासिल गरेको व्यावसायिक सफलता व्यक्तिगत उपलब्धिमा मात्र सीमित छैन। आफूले सिकेको ज्ञान र अनुभवलाई नेपालसँग जोड्ने प्रयास उनको यात्राको अर्को महत्वपूर्ण पक्ष हो।‘अब नेपालमा गएर अझ बढी काम गर्न चाहन्छु’ सम्मान ग्रहण गरेपछि प्रा.डा. थापाले यो अवार्डले आफूलाई नेपालमा मानसिक स्वास्थ्यको क्षेत्रमा अझ गहिरिएर काम गर्ने प्रेरणा दिएको बताए। नेपालमा मानसिक स्वास्थ्य अझै ठूलो प्राथमिकताको विषय रहे पनि यस क्षेत्रमा पर्याप्त काम हुन नसकेको उनको बुझाइ छ।
आफूले चिकित्सा शिक्षा अध्ययन संस्थान (आईओएम) तथा कान्ति बाल अस्पतालसँग सहकार्य गर्दै बालबालिकाको मानसिक स्वास्थ्यसम्बन्धी सेवा र जनशक्ति विकासमा काम गरेको स्मरण गर्दै उनले त्यसले मात्र नपुग्ने बताए।
‘नेपालमा मानसिक स्वास्थ्य अहिले पनि ठूलो समस्या हो। यस क्षेत्रमा अझ धेरै काम गर्नुपर्ने आवश्यकता छ,’ उनले भने, ‘मैले नर्वेमा अनुसन्धान, अध्यापन र स्वास्थ्य सेवाका क्रममा जे सिकेको छु, त्यसलाई नेपालमा कसरी प्रयोग गर्न सकिन्छ भन्ने विषयमा अब अझ बढी काम गर्न चाहन्छु।’ नर्वेको स्वास्थ्य प्रणालीबाट नेपालले धेरै कुरा सिक्न सक्ने उनको धारणा छ।
विशेषगरी ग्रामीण क्षेत्रमा बस्ने नागरिकसम्म स्वास्थ्य सेवा कसरी सहज र प्रभावकारी रूपमा पुर्याउन सकिन्छ भन्ने विषयमा काम गर्ने आफ्नो इच्छा रहेको उनले बताए। ‘स्वास्थ्य र शिक्षा नागरिकको अधिकार हो। नर्वेमा स्वास्थ्य सेवा सबैका लागि सहज पहुँचमा छ। त्यहाँको सम्पूर्ण प्रणाली नेपालमा लागू गर्न नसकिएला, तर त्यसबाट सिकेर हामीले आफ्नो स्वास्थ्य प्रणालीलाई कसरी सुधार गर्न सक्छौँ भन्नेमा काम गर्न सकिन्छ,’ उनले भने।
लामो समय नर्वेमा काम गरेपछि अवकाशको चरणमा नेपाल फर्किएर आफ्नो अनुभव र विशेषज्ञता नेपालको स्वास्थ्य क्षेत्रमा उपयोग गर्ने योजना रहेको उनले बताए। ‘अब म नेपालमा गएर केही समय काम गर्न चाहन्छु। विशेषगरी मानसिक स्वास्थ्यको क्षेत्रमा अनुसन्धान, अध्यापन र सेवा-यी तीनवटै पक्षलाई प्रभावकारी बनाउन आफ्नो अनुभव प्रयोग गर्न मन छ,’ उनले भने।
धापासीमा बाल्यकालमै बहिनी गुमाएपछि डाक्टर बन्ने संकल्प गरेका थापा अहिले मानसिक स्वास्थ्य अनुसन्धानको अन्तर्राष्ट्रिय क्षेत्रमा स्थापित छन्।
प्रतिक्रिया 4