+
+
Shares

धागोबाट सिर्जना : आत्मनिर्भर बन्दै दाङका आमाहरू

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन २५ गते ८:२६

२५ साउन, दाङ । दाङ बङ्गलाचुलीकी सुमिला नेपाली घोराही बसेर छोरी पढाउँदै आउनुभएको छ । पहिले छोराछोरीलाई स्कुल पठाएपछि घरमा आएर टिकटक, फेसबुक चलाउनेबाहेक खासै काम हुँदैनथ्यो । तर, अहिले उनको दैनिकी फेरिएको छ । उहाँ धागोबाट विभिन्न सामग्री बुन्न व्यस्त छन् । ‘पहिले त छोराछोरीलाई स्कुल पठायो, त्यसै बस्यो, समय बिताउनको कठिन हुन्थ्यो’, उनले भनिन्, ‘तर अहिले समय बिताउन पनि सहज भएको छ, आम्दानी पनि हुने गरेको छ ।’

उनले धागोबाट विभिन्न सामग्री बुन्न सुरु गरेकी हुन् । अहिले उनको हातमा धागोमात्रै छैन, नयाँ सीप सिकेर आत्मनिर्भर बन्ने आत्मविश्वास पनि थपिएको छ ।

त्यस्तै, पूर्वीरुकुमकी झरना बुढामगर पढ्न दाङको घोराही आएका हुन् । पढाइबाहेक खाली समय कसरी बिताउने भन्ने अन्योलमा रहेकी उनको दैनिकी पनि अहिले फेरिएको छ । घोराहीस्थित स्वप्न होजियारी उद्योगमा सम्पर्क भएपछि उनले धागोबाट विभिन्न सामग्री बनाउन सिकेकी हुन् ।

‘अहिले त व्यस्त भइयो’, उनले भनिन्, ‘केही नयाँ कुरा सिक्न पाउँदा धेरै फाइदा भएको छ ।’ उनीहरूमात्रै होइन, धेरै महिला धागोबाट विभिन्न सामग्री बुन्न व्यस्त छन् । हिजोसम्म घरधन्दा र छोराछोरीलाई स्कुल पठाएपछि ‘के गर्ने ?’ भन्ने अन्योलमा रहेका महिला अहिले व्यावसायिक काममा जोडिन थालेका छन् । उनीको हातमा क्रुस र सियोमात्रै छैन, आत्मनिर्भर बन्ने एउटा दरिलो आधारसमेत देखिन थालेको छ ।

हाल स्याउ, सुन्तला, गाजरलगायत आकर्षक ढाँचाका सामग्री बनाउन सीप सिकिसकेका छन् । उद्योगमा कार्यरत महिला विद्यालयका लागि आवश्यक वर्णमाला, खेलौनालगायत सामग्री बनाउन पनि व्यस्त हुने गरेका छन् । ‘ए प्लसदेखि जेब्रासम्म– ए टु जेड’का सामग्रीसमेत धागोबाटै बनाउने गरिएको छ ।

विभिन्न ५६ प्रकारका धागोका सामग्री बनाउने गरिएको उद्योगकी प्रमुख रचना सुवेदीले जानकारी दिइन् । दाङको घोराहीमा मुख्य उद्योग सञ्चालन गर्दै आएको यस संस्थाले महिलालाई तालिम र रोजगारीसँग जोड्दै आएको छ ।

उनका अनुसार अहिले विद्यालयले समेत धागोबाटै सामग्री बनाउन थालेपछि यसको माग बढेको छ । सबै सामग्री धागोबाटै बनाउन थालेपछि निकै काम पाएका छौं’, उनले भनिन्, ‘विद्यार्थीलाई सिकाउन पनि सहज हुने र वातावरणमैत्री हुने भएकाले सबैले यसको माग बढेको छ ।’

उनका अनुसार ऊनबाट बनाइएका यी सामग्री बालबालिकाका लागि सुरक्षित छन् । अन्य सामग्रीजस्तो चोट लाग्ने जोखिम कम हुने भएकाले बालबालिकाले प्रयोग गर्न सक्ने र पुनः प्रयोग गर्न सकिने भएकाले पनि यसको आकर्षण बढेको छ ।

सुवेदीका अनुसार उद्योगको मुख्य उद्देश्य व्यापारमात्रै नभई स्वरोजगार सृजना गर्नु पनि हो । उद्योगमा १५ जनाभन्दा बढी श्रमिक कार्यरत छन् । उनीहरूलाई काम सिकाउने र रोजगारी दिने गरिएको छ । “हामी काम पनि सिकाउँछौँ र रोजगारी पनि दिन्छौं’, उनले भनिन्, ‘श्रमिकलाई सामग्री बिक्रीबाट प्राप्त रकमको ५० प्रतिशत दिने गरेका छौँ ।’

उनका अनुसार ‘ए टु जेड’ को एउटा सेट रु पाँच हजारमा बिक्री गर्ने गरिएको छ । त्यसबाट प्राप्त रकमको ५० प्रतिशत श्रमिकलाई दिने गरिएको छ । पछिल्लो समय यसको मागसमेत बढिरहेको सुवेदीले बताइन् ।

घोराहीमा विसं २०६३ मा उक्त होजियारी उद्योग सञ्चालनमा आएको हो । त्यसयता उद्योगले होजियारीसम्बन्धी तालिम दिँदै आएको छ । सोही तालिमबाट धेरै महिला रोजगारी प्राप्त गर्न सफल भएका छन् ।

उद्योगले दाङमा मात्र नभई विभिन्न जिल्लाका महिलालाई विभिन्न तालिम प्रदान गर्दै आएको छ । धागो र सियोबाट सुरु भएको यही सीप अहिले धेरै महिलाका लागि आम्दानीको माध्यममात्रै नभई आत्मनिर्भर बन्ने बाटोसमेत बनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?