+

पटियालाको गल्लीमा हुर्केको नेपालको क्रिकेट गौरव

कुनै बेला भारतको पटियालामा चप्पल लगाएर गल्लीमा क्रिकेट खेल्ने सोमपाल आज नेपालका लागि तीन वटा टी-२० विश्वकप खेल्ने एक्ला क्रिकेटर बनेका छन्। नेपालका तर्फबाट टी-२० विश्वकपमा १० विकेट सहित सर्वाधिक विकेट लिने बलर पनि उनै हुन्। मैदानभित्रका आक्रामक 'पेस स्टार' उनी मैदान बाहिर भने सडकका कुकुरहरूको उद्धारमा खटिने 'डग फादर' हुन्। 
पूरा सूची
Shares
सोमपाल कामी
Listen News
0:00
0:00
🔊

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली क्रिकेट खेलाडी सोमपाल कामी सन् २०१४, २०२४ र २०२६ को टी-२० विश्वकप खेल्ने पहिलो र एकमात्र नेपाली खेलाडी बनेका छन्।
  • गुल्मीमा जन्मिएका सोमपालले भारतको पञ्जाबमा कठिन संघर्ष गर्दै आफ्नो क्रिकेट यात्रा शुरु गरेका थिए र पछि नेपाली क्रिकेटको प्रमुख पेस बलर बनेका छन्।
  • मैदानबाहिर पशु कल्याणमा सक्रिय सोमपालले नेपाललाई ओडीआई विश्वकपमा छनोट गराउने आफ्नो ठूलो सपना रहेको बताएका छन्।

 गुल्मीको माटोमा जन्मिएर भारतको तातो बालुवामा क्रिकेटको पहिलो सपना देख्दा शायद थोरैले मात्र सोचेका थिए होलान्- यो ठिटो एकदिन नेपाली क्रिकेट इतिहासकै सबैभन्दा तीव्र गतिको बलर र संकटको सारथि बन्नेछ ।

३० वर्षीय सोमपाल कामी एक क्रिकेटर मात्र होइनन्, उनी नेपाली खेलकुदमा कहिल्यै पनि हरेस नखानुभन्ने भावनाका जीवित प्रतीक हुन्।

नेपालका लागि तीनवटा टी-२० विश्वकप (सन् २०१४, २०२४ र २०२६) खेल्ने एक मात्र खेलाडीको गौरव उनले प्राप्त गरेका छन्।

चप्पलबाट शुरु भएको क्रिकेट यात्रा

सोमपालको बाल्यकाल र किशोर अवस्थाको झण्डै १५ वर्ष भारतको पञ्जाबस्थित पटियालामा बित्यो। गल्ली र स्कूलका चौरहरूमा रमाइलोका लागि क्रिकेट खेल्दाखेल्दै एक दिन उनको जीवनले नयाँ मोड लियो।

बेलुकाको समयमा खेलिरहेका सोमपालको खेललाई एक जना कोचले नियालिरहेका थिए। उनले सोधे, ‘गल्ली क्रिकेट मात्रै हो कि राम्रो क्रिकेट पनि खेल्ने हो?’

सोमपालले दृढताका साथ जवाफ दिए, ‘सर, राम्रो क्रिकेट खेल्ने हो।’

भोलिपल्ट दिउँसो ३ बजे उनी मल्टिपर्पजसरकारी स्कूलको मैदानमा पुगे। तर, गोडामा चप्पल मात्र थियो। व्यावसायिक क्रिकेटमा चप्पलले पुग्दैनथ्यो, ‘ह्वाइट किटर जुत्ता चाहिन्थ्यो।

घरको आर्थिक स्थिति बलियो थिएन, बुबासँग किट माग्ने अवस्था पनि भएन। क्रिकेटप्रतिको तिर्खा कति थियो भने, उनी स्कूलमा लगाउने सेतो युनिफर्म र पिटी जुत्ता लगाएरै मैदान छिरे। तर, कोचले भने, ‘यसले पनि हुँदैन।’

सपना शुरु हुनुअघि नै टुट्न लागेको त्यो क्षणमा तिनै कोचले सोमपालको प्रतिभा बुझेर उनलाई क्रिकेट किट, जुत्ता र ब्याट-बलको व्यवस्था गरिदिए। त्यहींबाट शुरु भयो सोमपालको त्यो यात्रा, जसले अगाडि बढेपछि कहिल्यै पछाडि फर्केर हेर्नु परेन।

शून्यबाट शुरु भएको पेस स्टारको उदय

पन्जाबको मोहाली क्रिकेट स्टेडियममा सचिन तेन्दुलकरलाई हेर्दै हुर्किएका सोमपाल पछि भने पाकिस्तानी पेस बलर शोएब अख्तरबाट प्रभावित भए।

म पहिले चाहिं लेग स्पिन बलिङ गर्ने मान्छे हुँ। जब शोएब अख्तरलाई देखें, त्यसपछि पेस बलिङ मन पर्न थाल्योउनी सम्झन्छन्, ‘लामो कपाल अनि दौडँदै आएर पेस फालेपछि ब्याटर पनि डराउने, समर्थकहरूले पनि हुटिङ गर्ने। त्यसपछि पेस बलर नै बन्छु भन्ने भयो।

सन् २०१३ सेप्टेम्बरमा उनी नेपाल फर्किए। त्यतिबेलासम्म उनी विशुद्ध ब्याटर थिए। २०१४ मा नेपालमा लोकल र क्लब गेमहरू खेल्दै गर्दा उनी राष्ट्रिय टिमको नेटमा बलिङ गर्थे। उनको बलिङमा एउटा फरक धार र तीव्र गति थियो, जसलाई तत्कालीन प्रशिक्षक पुबुदु दसानायकेले चिने र बलिङमा फोकस गर्न लगाए।

आज पनि पारस दाइ, शक्ति दाइले पठाउने वेल बोल्ड, वेल प्लेडजस्ता मेसेज मेरा लागि उत्तिकै सुनौला लाग्छन्सोमपाल कामी

१७ वर्षको एउटा ठिटो, जसले जीवनभर ब्याटिङ मात्र गरेको थियो, नेपाल आउनेबित्तिकै उसले बलरको रूपमा आफ्नो करिअर जिरोबाट शुरु गर्नुपर्ने भयो। त्यसमाथि नेपाल आएको तीन महिना पनि भएको थिएन, राम्रोसँग नेपाली बोल्न समेत आउँदैनथ्यो। तर, कप्तान पारस खड्का र प्रशिक्षक पुबुदुले उनीमाथि एउटा ऐतिहासिक बोल्ड डिसिजनलिंदै टिममा समावेश गरे।

सन् २०१४ को टी–२० विश्वकप उनको जीवनकै सबैभन्दा उत्कृष्ट क्षण बन्यो, जब होटलको कोठामा उनलाई यु आर सेलेक्टेडलेखिएको कागज थमाइयो।

राष्ट्रिय टिममा आएपछि सिनियर खेलाडीहरू पारस खड्का, शक्ति गौचन, शरद भेषावकर लगायतले उनलाई अन्तर्राष्ट्रिय क्रिकेटको अनुशासन सिकाए। विशेषगरी पाँच वर्षसम्म रुममेट रहेका शक्ति गौचनले उनलाई १०-१५ वर्षको लामो योजना बुन्न सिकाए।

दाइहरूले त्यसबेला मलाई सपोर्ट नगरेको भए म आज यो स्थानसम्म आइपुग्ने थिइनँ होला। आज पनि पारस दाइ, शक्ति दाइले पठाउने वेल बोल्ड, वेल प्लेडजस्ता मेसेज मेरा लागि उत्तिकै सुनौला लाग्छन्‘, सोमपाल भन्छन्।

तीनवटा टी-२० विश्वकप खेल्ने एक्ला खेलाडी

सोमपाल नेपालका एकमात्र खेलाडी हुन् जसले सन् २०१४, २०२४ र हालै सम्पन्न २०२६ मा गरी देशका लागि तीनवटै टी–२० विश्वकप खेल्ने गौरव प्राप्त गरेका छन्।

सन् २०१४ मा नेपालले पहिलो पटक टी-२० विश्वकप खेल्दा उनले ३ खेलमा ४ विकेट लिएका थिए। नेपालले हङकङ र अफगानिस्तानलाई हराउँदा सोमपालले दुवै खेलमा विकेट लिएका थिए।

नेपालले त्यसपछि विश्वकप खेल्न अर्को १० वर्ष कुर्नुपर्‍यो। यस बीचमा उनी नेपाली टोलीमा निरन्तर रहे र सन् २०२४ मा पनि विश्वकप खेले।

त्यसपछि नेपालले लगत्तै अर्को संस्करण (२०२६) को विश्वकपमा छनोट भएर इतिहास रच्दा पनि उनी महत्त्वपूर्ण सदस्य थिए। सन् २०२६ को टोलीमा सोमपाल मात्र यस्तो नाम थियो, जो तेस्रोपटक विश्वकपको मञ्चमा देखिंदै थियो।

सुरुआती दुई खेलमा मौका नपाउँदा उनी केही चिन्तित बनेका थिए। मुम्बईको वाङ्खेडे स्टेडियममा छोरालाई खेलेको हेर्न आएका बुबाआमा दुःखी थिए। मम्मीबाबा पनि आउनुभएको थियो। खेलेको नदेखेपछि दुःख मान्नुभएछ। तर पछिका दुई खेल खेल्दा खुशी हुनुभयो‘, सोमपाल सम्झिन्छन्।

वाङ्खेडे स्टेडियमसँग सोमपालको पुरानो साइनो छ। म १४ वर्षको हुँदा वाङ्खेडेमा खेलेको थिएँ। हाम्रो पहिलो खेलका बेला गुल्सन (झा) फिल्डिङ गरिरहेको थियो। मैले पानी लिएर जाँदा गुल्सनलाई त्यही कुरा भनिरहेको थिएँ कि म अन्डर-१४ खेल्दा यही ठाउँमा फिल्डिङ गरिरहेको थिएँ‘, उनले भने।

सन् २०२६ को विश्वकपमा अन्तिमका २ खेल खेलेका उनले स्कटल्यान्ड विरुद्ध ३ विकेट लिए। नेपालका लागि टी-२० विश्वकपमा १० विकेट सहित उनी सर्वाधिक विकेट लिने बलर पनि हुन्।

विश्वकप जस्तो मञ्चमा खेल्न पाउनु धेरै गौरवको विषय भएको सोमपाल बताउँछन्। दबाब त हुन्छ तर जसले त्यो दबाबका बीच पनि आफ्नो बेस्ट दिन सक्छ, ऊ अवश्य पनि सफल हुन्छउनी भन्छन्, ‘हामी ब्याक टु ब्याक दुइटा विश्वकप खेल्दा अगाडि बढ्ने लक्ष्य थियो, तर हुन सकेन। अर्कोपटक छनोट हुँदा हामी पक्कै समूह चरण पार गर्नेछौं।

मैदान बाहिरका डग फादर

मैदानभित्र ब्याटरलाई आफ्नो गतिले हायलकायल बनाउने सोमपाल मैदानबाहिर भने अत्यन्तै दयालु र भावुक छन्। शुरुमा जनावरहरू फिटिक्कै मन नपराउने उनको जीवनमा एउटा कुकुरले परिवर्तन ल्याइदियो। युएई विरुद्धको ओडीआई सिरिजमा म्यान अफ द म्याच भएपछि पारस खड्काले उनलाई ल्याब्राडरप्रजातिको कुकुर (जोर्डन) उपहार दिएका थिए।

आफ्नो करिअरको अन्त्य हुनुअघि नेपाललाई एकपटक ओडीआई विश्वकपमा छनोट गराउने उनको सबैभन्दा ठूलो सपना सोमपालको छ।

त्यो सानो छातीमा सुताएर धड्कन सुन्दै हुर्किएको जोर्डनसँगको कनेक्सनले सोमपाललाई पूर्ण रूपमा बदलिदियो। एथलिटका रूपमा हुने मानसिक तनाव उनी जोर्डनसँग सेयर गर्थे। लकडाउनको समयमा सडकमा बेवारिसे छोडिएका र बिरामी कुकुरहरूको अवस्था देखेर उनको मन रोयो र उनले ‘स्ट्रिट डग’ को सेवा गर्न थाले।

अहिले उनी ललितपुरको एउटा सेन्टरमा रहेका ५०० भन्दा बढी कुकुरहरूको रेखदेखमा सहयोग गर्छन्। त्यहाँ छालाको गम्भीर रोग लागेर फालिएको एउटा कुकुरलाई उनले नयाँ जीवन दिए, जसको नाम उनले आफ्नै निकनेम सोम्पु कामीराखेका छन्। उनको घरमा पनि डेजीनामको अर्को उद्धार गरिएको कुकुर छ।

पिस सेलेब्रेसन

शान्ति मन पराउने सोमपालले विश्वकपकै खेलका क्रममा विकेट लिएपछि गौतम बुद्धको ध्यान जस्तै गरी ‘पिस सेलेब्रेसन’ गरेका थिए, जुन निकै चर्चित बनेको थियो। नेपाल शान्ति क्षेत्र हो भनेर विश्वलाई भन्नु थियो। छनोट खेल्न जानुभन्दा अगाडि जेनजी आन्दोलन पनि भएको थियो। नेपाल शान्तिको देश हो भनेर सन्देश दिन खोजेको थिएँ‘, उनले भने।

संसार प्रसिद्ध क्रिकेटरलाई हेरेर सपना बुनेका सोमपाल आज आफैंमा एउटा ‘रोल मोडल’ हुन्। आफ्नो करिअरको अन्त्य हुनुअघि नेपाललाई एकपटक ओडीआई विश्वकपमा छनोट गराउने उनको सबैभन्दा ठूलो सपना छ।

अहिलेको युवा पुस्तालाई उनको एउटै सन्देश छ, ‘यदि म जस्तो चप्पल लगाएर मैदान छिरेको केटोले देशका लागि तीनवटा विश्वकप खेल्न सक्छ भने, तपाईंहरूले शतप्रतिशत सक्नुहुन्छ। एउटा कुरा सधैं याद राख्नुस् सपना तपाईंको हो, त्यसलाई पूरा गर्न अरू कोही आउँदैन, आफैंले मिहिनेत गर्नुपर्छ।

लेखक
प्रतिक भट्ट

प्रतिक अनलाइनखबरका संवाददाता हुन् ।