News Summary
Generated by OK AI. Editorially reviewed.- हेटौँडास्थित गोरक्षेश्वर दिव्यधामको संस्कृत वेद विद्यालयले प्राचीन धर्मग्रन्थ सङ्कलन गरी अध्ययन अनुसन्धानको केन्द्रका रूपमा पुस्तकालयलाई विकास गर्ने अभियान सुरु गरेको छ।
- विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामकृष्ण थापाले प्राचीन महत्वका धार्मिक पुस्तक उपलब्ध गराई पुस्तकालयको संरक्षण र विकासमा सहयोग गर्न सबैमा आग्रह गर्नुभयो।
- बागमती प्रदेशको पर्यटन मन्त्रालयले पुस्तकालय व्यवस्थापनका लागि गत आर्थिक वर्ष २०८१/०८२ मा दुई लाख रुपैयाँ उपलब्ध गराएको विद्यालयले जानकारी दिएको छ।
२५ साउन, बागमती । हेटौँडा उपमहानगरपालिका–१० स्थित गोरक्षेश्वर दिव्यधाम, राप्तीघाटस्थित संस्कृत वेद विद्यालयमा अवस्थित पुस्तकालयमा प्राचीन धर्मग्रन्थ सङ्कलनलाई अभियानका रुपमा अघि बढाइने भएको छ ।
२०५६ सालमा विद्यालय स्थापना भएदेखि नै विद्यार्थीका लागि अत्यावश्यक पुस्तक सङ्कलनबाट सुरु गरिएको पुस्तकालयलाई थप व्यवस्थित गर्दै प्राचीन महत्वका धार्मिक पुस्तक सङ्कलन गर्न लागिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामकृष्ण थापाले जानकारी दिए।
पुस्तकालयमा हाल करिब २५० को सङ्ख्यामा मात्रै पुस्तक सङ्कलित भएको बताउँदै उहाँले प्राचीन महत्वका धार्मिक पुस्तक उपलब्ध गराउन सबैमा आग्रह गरिएको बताए। उनका अनुसार पुस्तकालयलाई व्यवस्थित बनाउनका लागि बागमती प्रदेशको पर्यटन मन्त्रालयले गत आर्थिक वर्ष २०८१/०८२ मा रु दुई लाख उपलब्ध गराएको थियो ।
‘हामी पुस्तकालयलाई प्राचीन धर्मग्रन्थ सङ्कलन गरी अध्ययन अनुसन्धानको केन्द्रका रुपमा विकास गर्न चाहन्छौँ,’ उनले भने, ‘कोही कसैसँग घरमा यसै थन्किएर रहेका प्राचीन महत्वका धर्मग्रन्थ छन् भने पुस्तकालयलाई सहयोगस्वरुप उपलब्ध गराउन अनुरोध छ ।’
पुस्तकालयमा उपलब्ध गराइएका पुस्तक जो कोही विद्यार्थी तथा अनुसन्धाता सबैका लागि उपयोगी हुनाका साथै वर्षौंसम्म सुरक्षित रहने उनले बताए। देशका विभिन्न जिल्लाबाट आएका करिब ५० जना बटुक अध्ययनरत त्यस विद्यालयले ४० जनालाई आवासीय सुविधा उपलब्ध गराउँदै आएको छ । रासस
प्रतिक्रिया 4