+

वाल स्ट्रिटबाट फर्किएर नेपालको टी-इस्टेट

वाल स्ट्रिटको जेपी मोर्गन चेज बैंकमा जागिर छँदैथियो तर, उनलाई नेपालका गल्लीहरूमा डेलिभरी भ्यान कुदाउने सपनाले आकर्षित गर्‍यो। उपाय लजिस्टिकलाई आकार र गति दिएपछि छात्रवृत्तिमा लण्डन स्कूल अफ इकोनोमिक्स पुगेका उनले पुनः नेपाल फर्किएर चिया संस्कारलाई औद्योगीकरण गर्न ‘नेपाल टी कलेक्टिभ’लाई विश्व ब्रान्ड बनाइसकेका छन्। कम्पनीको कारोबार ४ वर्षमा पाँच गुणा बढेर २० लाख डलर पुगेको छ।  
पूरा सूची
Shares
अमिगो खड्का
Listen News
0:00
0:00
🔊

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अमेरिकाको वाल स्ट्रिटमा काम गरेका अमिगो खड्का नेपाल फर्केर 'उपाय लजिस्टिक' नामक सफल स्टार्टअप सञ्चालन गरेका छन्।
  • खड्काले हाल 'नेपाल टी कलेक्टिभ' मार्फत नेपाली चियालाई अन्तर्राष्ट्रिय बजारमा ब्रान्डिङ गर्दै सामाजिक उद्यमशीलतामा जोड दिएका छन्।
  • उनले नेपालमै व्यावहारिक र स्तरीय उच्च शिक्षा प्रदान गर्ने उद्देश्यले 'कम्युनिभर्सिटी' नामक नौलो शैक्षिक कार्यक्रमको सुरुवात गरेका छन्।

बानेश्वरमा पढे-हुर्केका अमिगो खड्का अहिले सफल उद्यमीका रूपमा स्थापित हुने सङ्घर्षमा छन्। तर, उनको सुरुआती लक्ष्य भने उद्यमी बन्ने होइन, जसरी पनि विदेश जाने थियो। विदेश जान नपाइएला भन्ने डरले अध्ययनमा मरिहत्ते गर्दागर्दै उद्यमी बनेको उनको विगत रोचक छ।

सेन्ट जेभियर्स विद्यालयमा पढेका खड्काले उच्च शिक्षाको सुरुआत मल्पी इन्स्टिच्युटमा ए लेभलबाट गरे। ‘ए-लेभलको बिजनेस स्टडिजमा म नेपाल टप भएँ,’ खड्का सम्झिन्छन्, ‘राम्रो ग्रेड आएन भने विदेश जान पाइँदैन भनेर मिहिनेत गरेको थिएँ, रिजल्ट राम्रै आयो। बिजनेस स्टडिजमा नेपाल टप भएपछि उद्यममा केही छ कि क्या हो भन्ने लाग्न थाल्यो।’

विदेश जाने क्रेज यस्तो थियो कि अमेरिकी कलेजहरूमा पूर्ण छात्रवृत्ति पाउन सकियोस् भनेर उनले पढाइसँगै ‘भाइब्स’ मासिक पत्रिका पनि प्रकाशित गरे।

खड्काको मिहिनेतले रङ ल्यायो। अमेरिकाको कोल्बी–स्वयर कलेजमा उनले ट्युसन शुल्क तिर्न नपर्ने गरी पूर्ण छात्रवृत्ति पाए। त्यहाँ उनले बिजनेस एन्ड अकाउन्ट्ससँगै एन्थ्रोपोलोजी, रिलिजन र हिस्ट्री पनि अध्ययन गरे। तर उनको मुख्य केन्द्रबिन्दु बिजनेस र अकाउन्ट्स नै रह्यो।

वाल स्ट्रिटको जागिरदेखि ‘उपाय’ सम्म

अध्ययनपछि खड्काले वाल स्ट्रिटमा विश्वप्रसिद्ध जेपी मोर्गन चेज बैंकको इन्भेस्टमेन्ट बैंकिङ डिभिजनमा काम गर्ने अवसर पाए। तीन वर्षसम्म वारेन बफेट, टोमेटो केचप डिलर, उबरदेखि ठूला–ठूला ‘डिल’ मा काम गर्ने अवसर पाएका उनले त्यहाँबाट नतिजामुखी र रणनीतिक हुन सिके।

तीन वर्षको अनुभवपछि खड्काले एकाएक नेपाल फर्कने निर्णय गरे। ‘२०१४ मा ग्राजुएट भएर जागिर शुरु गरें, २०१७ को सेप्टेम्बरमा जे पर्ला पर्ला भनेर नेपाल आएँ’ उनी भन्छन्, ‘बाबुआमा, नातेदार सबैले नआउन अनुरोध गरेका थिए, तर मेरो मनले मानेन।’

नेपाल फर्केलगत्तै खड्काले फाइनान्स क्षेत्रका हस्तीहरू राधेश पन्त, सुमन रायमाझी, सुजीव शाक्य र अजय घिमिरेलाई भेटेर सुझाव लिए। अमेरिकामा हुँदा पनि उनीहरूसँग संवादमा रहेका खड्काले जागिरै खाने उद्देश्यले भेटघाट बाक्लो बनाएका थिए।

‘अहिलेको ‘उपाय’ का अध्यक्ष सुमन रायमाझी त्यतिबेला स्टार्टअपहरूमा लगानी गर्ने योजना सहित इन्भेस्टमेन्ट डिरेक्टरको खोजीमा हुनुहुँदोरहेछ’ खड्का भन्छन्, ‘दाइ, अब अरू त थाहा छैन म नेपाल आएको छु भनें। त्यसपछि हामी छलफलमा जुट्यौं।’

त्यतिबेला सुमन रायमाझी स्मार्ट टेलिकममा कार्यरत थिए। विस्तारै जागिर छाड्ने सहमति सहित उनीहरू मिलेर ‘उपाय लजिस्टिक’ कम्पनीको सुरुआत गरे।

शुरुमा कृषि वा सरकारी सेवालाई डिजिटाइज गर्ने सोच भए पनि भारतमा लजिस्टिक सेक्टरले फड्को मारिरहेको र टाटाले नै दुई-तीन वटा कम्पनीमा लगानी गरेको देखेपछि उनीहरूले लजिस्टिक क्षेत्र रोजेका थिए। सुमनले पहिला सिप्रदीमा काम गरेकाले उनको जनसम्पर्क मार्फत काम अघि बढाउन सहज भयो।

चार-पाँच जनाको टिमबाट शुरु भएको उपाय लजिस्टिकले शुरुमा ड्राइभरले चलाउन सक्ने एप बनायो र अन-डिमान्ड डेलिभरी शुरु गर्‍यो। भ्याट बिल जारी गरेर पारदर्शी रूपमा काम गरेकाले उपाय ग्राहकको रोजाइमा पर्‍यो। ‘कम्पनीले नाफा दिने अवस्थामा पुग्दा पनि नाफा वितरण नगरी झन् आक्रामक रूपमा व्यवस्थापन विस्तार गर्‍यौं’, खड्का भन्छन्।

विस्तारै डोल्मा इम्प्याक्ट फन्ड मार्फत करिब २५-३० करोडको लगानी भित्रिएपछि उपायको आकार निकै ठूलो भयो। ४ वर्ष उपायमा काम गर्दा टिमको सङ्ख्या ४-५ सय जना पुगिसकेको थियो। उपायमा डोल्मा इम्प्याक्ट फन्डको पैसा आएपछि कम्पनी अब सिस्टमले नै चल्ने विश्वास भयो र खड्काले मास्टर्स गर्ने योजना बनाए। बेलायतको प्रतिष्ठित चेभनिङ छात्रवृत्ति पाएपछि उनी लन्डन स्कूल अफ इकोनोमिक्समा इनोभेसन एन्ड अन्टरप्रेनरसिप पढ्न बेलायत उडे। उपायको प्रत्यक्ष जिम्मेवारी छाडे पनि उनी अझै उपायका सेयरधनी हुन्।

‘नेपाल टी कलेक्टिभ’ को जन्म र विस्तार

लन्डनको बसाइमा खड्काले चिया संस्कार र चियाका विविधतालाई नजिकबाट अनुभव गर्ने मौका पाए। उनका बालसखा निश्चल बास्कोटाले परिवारको लिगेसी (कञ्चनजङ्घा टी इस्टेट) लाई अघि बढाउँदै ‘नेपाल टी कलेक्टिभ’ नामबाट चियाको व्यवसाय शुरु गरिसकेका थिए।

खड्का लन्डनमै हुँदा निश्चल र उनको युरोप भ्रमण तय भयो। त्यही क्रममा नेपाल टी कलेक्टिभलाई अन्तर्राष्ट्रिय ब्रान्ड बनाउन सहकार्य गर्ने निर्णय भयो।

‘निश्चल एकदम सिर्जनशील, बलियो इच्छाशक्ति भएको ऊर्जावान् युवा हो, तर एक्लै थियो,’ खड्का भन्छन्, ‘यसलाई ग्लोबल हाउसहोल्ड ब्रान्ड बनाउनुपर्छ र किसानको आर्थिक अवस्थामा सुधार ल्याउनुपर्छ भन्ने मन्त्र लिएर हामीले काम शुरु गर्‍यौं।’

सुरुआती चरणमा निश्चलले कञ्चनजङ्घाको चियासँगै साना किसानको चिया खरिद गरेर ब्रान्डिङ र स्टोरी टेलिङ मार्फत अमेरिकामा बिक्री गर्दै आएका थिए। पछि टिमलाई बलियो बनाउन अर्का साथी प्रतीक रिजाललाई भित्र्याइयो, जसले वाल स्ट्रिटको बैंकको जागिर छाडेका थिए। प्रतीक ‘सिस्टम’ बनाउन माहिर थिए भने खड्काले विश्वव्यापी रणनीति र लगानी जुटाउने काम सम्हाले।

‘तीन जनाको टिम बनेपछि हामीले विभिन्न फार्मका चियालाई नेपाल टी कलेक्टिभको ब्रान्डमा प्याकेजिङ गरेर अमेजन, आफ्नै वेबसाइट र होलसेल मार्फत अमेरिकामा बेच्न थाल्यौं’, खड्का भन्छन्। विस्तारै उनीहरूले हरेक प्याकेजिङमा चिया किसान तथा उत्पादकको कथा राख्न थाले।

सन् २०२२ देखि २०२६ सम्म आइपुग्दा कम्पनीको कारोबार ४ लाख डलरबाट बढेर करिब २० लाख डलर पुगेको छ। नेपालमा एउटा र अमेरिकामा अर्को कम्पनी दर्ता छ भने अमेरिकी कम्पनीबाट नेपालको कम्पनीमा प्रत्यक्ष वैदेशिक लगानी ल्याइएको छ।

चियाको अनुभव बेच्ने ‘टी एज अ सर्भिस’

नेपाल टी कलेक्टिभले चिया मात्र बेच्दैन, ‘टी एज अ सर्भिस’ मोडेल पनि सञ्चालन गरिरहेको छ।

वाइन वा ह्विस्कीको जस्तै चियाको पनि टेस्टिङ गराइन्छ। गुगल, फेसबुक जस्ता ठूला कम्पनीहरूमा यस्तो सामूहिक टेस्टिङ गराउने खड्का बताउँछन्।

यसका साथै उनीहरूले चिया पर्यटन पनि गराउँछन्। ‘हरेक वर्ष ३० जना जति विदेशीहरू उच्च शुल्क तिरेर इलामका फार्ममा जान्छन्। आफैं डोको बोक्छन्, पत्ती टिप्छन् र ग्रीन टी वा ब्ल्याक टी बनाउने क्लास लिन्छन्’, उनी भन्छन्।

अमेरिकाको न्युजर्सीमा एउटा चिया क्याफे छ भने नेपालमा १० वटा टी आउटलेट छन्। हिमालयन जाभाका करिब ७० वटा आउटलेटदेखि ठूला होटल र रिसोर्टहरूमा नेपाल टी कलेक्टिभकै चिया पाइन्छ। काठमाडौं गेस्ट हाउसको आउटलेटमा अमेरिकी डेपुटी सेक्रेटरीले समेत टी टेस्टिङ गरेको खड्का सम्झिन्छन्।

‘हाम्रो फोकस नेपाली मार्केटमा रिटेल प्याकेजिङ बेच्ने मात्र होइन, चियाको वरिपरिको अनुभव बिक्री गर्ने हो’ उनी भन्छन्, ‘प्याकेजिङमा पत्ती टिपेको मिति, गार्डन, पत्ती टिप्ने मान्छेको फोटो र प्रोसेस भएको मिति सहितको डिटेल हुन्छ।’

‘बी-कर्प’ मान्यताप्राप्त सामाजिक उद्यम

आफूहरूलाई ‘रेगुलर’ नभई सामाजिक उद्यमी मान्ने खड्का नाफा सेयरहोल्डरलाई मात्र नभई ‘स्टेकहोल्डर’ अर्थात् सरोकारवाला/किसानलाई पनि जानुपर्ने बताउँछन्।

नेपाल टी कलेक्टिभले कुल कारोबारको एक प्रतिशत रकम सीधै चिया किसानलाई बाँड्छ। ‘कम्पनी घाटामा भए पनि कारोबारको एक प्रतिशत रकम किसानलाई जान्छ’, खड्का भन्छन्।

यति मात्र होइन, कम्पनीका कर्मचारीहरूलाई पनि सेयरहोल्डर बनाइएको छ। अहिले कम्पनीको १०–१२ प्रतिशत सेयर हिस्सा कर्मचारीको हातमा छ। यिनै अभ्यासका कारण नेपाल टी कलेक्टिभले विश्वकै प्रतिष्ठित ‘बी-कर्प सर्टिफिकेसन’ समेत पाएको छ।

शिक्षा क्षेत्र सुधारको हुटहुटी: ‘कम्युनिभर्सिटी’

समस्याको पहिचान गरेर बजारमा समाधान बेच्न माहिर खड्कालाई नेपालको शिक्षा क्षेत्र सुधार गर्ने हुटहुटी पनि छ। ‘नेपालमै स्तरीय उच्च शिक्षा भए विद्यार्थी बाध्यताले विदेशिनु पर्दैनथ्यो’, उनी भन्छन्।

नेपालमा विदेशी विश्वविद्यालयको डिग्री पढाउने वा नयाँ विश्वविद्यालय खोल्न कानूनी जटिलता देखेपछि उनले ‘कम्युनिभर्सिटी’ को अवधारणा ल्याए। ‘लोकल्ली रुटेड, विश्वव्यापी प्रतिष्पर्धा गर्न सक्ने शिक्षा दिनुपर्छ भनेर हामीले ह्वाइट पेपर र रिसर्च पेपर लेख्यौं’, उनी भन्छन्।

विद्यार्थीले एक्स्पोजर र व्यावहारिक ज्ञान खोजेको निष्कर्ष सहित उनले यस्तो कोर्स तयार गरे, जहाँ एक सेमेस्टर मधेशमा, अर्को पहाडमा र अर्को हिमालमा पढाइन्छ। ‘यसलाई काठमाडौं विश्वविद्यालयले शर्त सहित मञ्जुरी दिएको छ। नेपालमा पहिलो पटक ९ र १५ महिनाको स्नातकोत्तर कार्यक्रम शुरु भएको छ’, खड्का भन्छन्।

तीन जनाको टिमबाट शुरु भएको नेपाल टी कलेक्टिभमा अहिले ७५ जना जोडिएका छन्। चियाको अनुभवलाई ब्रान्ड बनाएर युरोप र अमेरिकाको बजारमा दबदबा जमाइरहेका अमिगो खड्काको उद्यमशीलताको भोक भने अझै मेटिएको छैन।

लेखक
भुवन पौडेल

अनलाइनखबर डटकमको आर्थिक ब्युरोमा कार्यरत पौडेल बैंक, वित्तीय तथा नेपाल धितोपत्र बजारमा रिपोर्टिङ गर्छन् ।