अमेजनमा ब्रान्ड साम्राज्य खडा गर्ने नेपाली युवा
News Summary
Generated by OK AI. Editorially reviewed.- काठमाडौंमा जन्मेका अजर राजभण्डारीले अमेरिकामा स्थापना गरेको स्टार्टअप कम्पनी ‘हर्ड’ ले पहिलो वर्षमै करिब सवा दुई अर्ब रुपैयाँ आम्दानी गर्न सफल भएको छ।
- अमेजनमा आधारित ई-कमर्स व्यवसाय र एआई प्रविधिको सफल प्रयोगका कारण फोर्ब्सले उनलाई ‘थर्टी अन्डर थर्टी’ सूचीमा समावेश गरेको छ।
- राजभण्डारीले सात जनाको टिममार्फत एआई प्रणालीको प्रयोग गर्दै विश्वभर आफ्नो व्यवसाय विस्तार गर्ने योजना अघि सारेका छन्।
काठमाडौंमा जन्मेका अजर राजभण्डारी ५ वर्षको उमेरमा मातापितासँगै अमेरिका पुगे। विद्यालय र विश्वविद्यालयको शिक्षा उतै हासिल गरेका उनले वेल्स फार्गो जस्तो विशाल तर परम्परागत बैंकदेखि एक्विको जस्तो आधुनिक स्टार्टअपसम्म काम गरे।
त्यहाँ हासिल गरेको अनुभवका आधारमा उनले दुई वर्षअघि मात्रै आफ्नै स्वलगानीमा स्टार्टअप कम्पनी हर्ड स्थापना गरे। यो कम्पनीले स्थापनाको एक वर्षमै १ करोड ५० लाख डलर (करिब सवा २ अर्ब रुपैयाँ) आम्दानी गर्न सफल भयो। यसको विस्तार अझै तीव्र गतिमा भइरहेको छ।
यही छलाङ र उपलब्धिका कारण विश्वप्रसिद्ध म्यागजिन फोर्ब्सले उनलाई रिटेल र ई–कमर्स विधामा ‘थर्टी अन्डर थर्टी’का ३० प्रभावशाली युवाको सूचीमा राखेको छ।
व्यापारिक पारिवारिक पृष्ठभूमि
ललितपुरको पुल्चोकस्थित पढेलेखेको परिवारमा जन्मेका हुन्, अजर। उनका हजुरबुवा अच्युत राजभण्डारी नेपाल सरकारका सचिव थिए। पुल्चोकमै जन्मिएका उनी ५ वर्षसम्म हजुरबुवा–हजुरआमासँग हुर्के, किनभने उनका बुवाआमा अध्ययनका लागि अमेरिका गइसकेका थिए।
हजुरबुवा नेपाल सरकारको सेवामा भए पनि परिवार भने व्यापारमै थियो। हजुरबुवा र उनका भाइ मिलेर नेपाल डेरी स्थापना गरेका थिए। उता, आमातर्फका हजुरबुवा पनि व्यापारी नै थिए, जसले नेपालबाट जर्मनीमा चिया निर्यात गर्थे। अहिले उनको मामाघर गठ्ठाघरमा जर्मन होम्स भन्ने होटल छ।
बुवाआमा पनि नेपालमै व्यापार गरिरहेका थिए, तर उच्च अध्ययनका लागि अमेरिका गएपछि उनी ५ वर्षको हुँदा उनलाई पनि उतै लगे। त्यसबेला उनीहरू मिनेसोटाको मिनेयापोलिसमा बस्थे। अजरको विद्यालय शिक्षा त्यहीं भयो। पछि उनको परिवार भर्जिनिया सर्यो।

कर्पोरेट जागिरदेखि अमेजनको दुनियाँसम्म
अजरले जर्जियाको एमोरी युनिभर्सिटीबाट व्यवस्थापनमा स्नातक (बीबीए) गरे। कलेज सिद्धिएपछि उनलाई अमेरिकाकै एउटा पुरानो र ठूलो बैंक वेल्स फार्गोबाट कामको अफर आयो जहाँ उनले एक वर्ष काम गरे।
बोर्ड बैठकहरूमा बसेर नोट लिने, प्रशासनदेखि भाइस प्रेसिडेन्ट र म्यानेजिङ डाइरेक्टरहरूले गरेका निर्णयहरू टिपेर मिटिङको सहजीकरण गर्ने काम उनको थियो। तर, सन् २०२०–२१ तिर उनलाई त्यो काम त्यति रोमाञ्चक लागेन। अरूले जे भन्छन्, ठ्याक्कै त्यही मात्रै गर्नुपर्ने परम्परागत शैलीबाट उनी केही सिर्जनात्मक काम गर्न चाहन्थे जसमा आफ्नै मस्तिष्कको प्रयोग बढीभन्दा बढी गर्न पाइयोस् ।
अर्को अवसर खोज्दै जाँदा उनलाई न्युयोर्कको एउटा प्राइभेट इक्विटी फर्मबाट अफर आयो। त्यो एउटा नयाँ स्टार्टअप थियो- ‘एक्विको’ जसले अमेजनमा कारोबार गर्ने कम्पनीहरू किन्ने काम गर्थ्यो। एक्विकोमा एनालिस्टका रूपमा काम शुरु गरेका अजरको तीन वर्षभित्र लगातार तीनपटक पदोन्नति भयो र उनी सिनियर म्यानेजर बने। उनले त्यहाँ काम गर्दा करिब ५० वटा कम्पनीहरू किनिएका थिए।
एक्विकोको काम नै अमेजनमा व्यापार गर्ने कम्पनी किन्ने र तिनलाई विस्तार गर्ने भएकाले उनले त्यहाँ ई-कमर्सको व्यापार सम्बन्धी धेरै कुरा सिक्ने अवसर पाए। अमेजन उनका लागि यसै पनि नौलो थिएन। उनका बुवाआमाले नेपालबाट विभिन्न सप्लायर मार्फत लुगा ल्याएर अमेरिकामा अमेजनबाटै बिक्री गर्थे।
‘अमेजनमा व्यापार गर्नुअघि उनीहरूको पसल नै थियो। पसलमा धेरै कपडाहरू फिर्ता आउँथे। ती कपडा के गर्ने भन्ने सोच्दै जाँदा आमाले तिनलाई अनलाइनमा एकदमै सस्तो दाममा बेच्न शुरु गर्नुभयो’, अजर सम्झिन्छन्। संसारमा ई-कमर्स यति धेरै फस्टाउनुअघि नै उनले आफ्नो परिवार मार्फत रिटेल पसलबाट अनलाइनमा सरेको, गोदाम लिएको र सामान व्यवस्थापन गरेको प्रत्यक्ष देखेका थिए।
५० हजार डलरको लगानी र ‘हर्ड’ को जन्म
एक्विकोमा तीन वर्षको अनुभव हासिल गरेपछि उनलाई लाग्यो- ‘यस्तै काम म आफ्नै विचार र आफ्नै तरिकाले पनि गर्न सक्छु।’
त्यसपछि उनले शुरु गरे ‘हर्ड’। हर्ड यस्तो कम्पनी हो, जसले आफ्नै ब्रान्डका सामानहरू अमेजनमा बिक्री गर्छ। प्रायः स्टार्टअपहरूले लगानीकर्ताबाट लगानी जुटाउँछन्, तर अजरले आफैंले कमाएर बचाएको ५० हजार अमेरिकी डलरबाट यो कम्पनी शुरु गरे। अर्थात्, उनले ‘बुटस्ट्र्यापिङ’ मोडल रोजे।
लगानीकर्ताबाट किन पैसा नलिएको त? उनी भन्छन्, ‘अरूको पैसा लियो भने उनीहरूले भने अनुसार काम गर्नुपर्ने हुन्छ। मसँग व्यापार कसरी गर्ने भन्ने आफ्नै स्पष्ट अवधारणा थियो। अर्को कुरा, मेरो अवधारणा एकदमै विशिष्ट थियो, जसले गर्दा मलाई अरूसँग प्रतिस्पर्धा गर्न हतारमा लगानी उठाउनु परेन।’

उनले ३–४ वटा ब्रान्ड शुरु गरे, जसमध्ये दुईवटा निकै चले। त्यसमध्ये एउटाले त असाधारण प्रदर्शन नै गर्यो। त्यो हो- ‘मिनी माइक प्रो’। कन्टेन्ट क्रिएटरले प्रयोग गर्ने यो माइक अमेजनमा निरन्तर बेस्ट सेलर भइरहेको छ।
माइकको क्षेत्रमा ‘लोजिटेक’ वा ‘डीजेआई’ जस्ता स्थापित र ठूला ब्रान्डहरू छन्। तर, मिनी माइक प्रोले यस्ता ठूला खेलाडीलाई पछि पार्नुको प्रमुख कारण कन्टेन्ट क्रिएसन स्ट्राटेजी रहेको उनी बताउँछन्।
‘मानिसहरू टिकटक, इन्स्टाग्राम र फेसबुकमा भिडियो बनाउनका लागि यस्तो माइक्रोफोन किन्छन्। डीजेआई जस्ता कम्पनीका माइक्रोफोन २०० देखि ३०० डलरसम्म पर्छन्। तर, हाम्रो उत्पादन २४.९९ डलरमै उपलब्ध हुने भएकाले उपभोक्ताले धेरै सोचविचार नगरी सहजै किन्छन्’, उनी भन्छन्।
एआईको कमाल: ७ जनाको टिम, करोडौंको व्यापार
अजरको कम्पनीले आफ्नो ब्रान्ड बनाउन मात्र होइन, बजारमा पठाउन पनि आर्टिफिसियल इन्टेलिजेन्सको भरपुर प्रयोग गर्छ।
‘हामीसँग अमेजन लगायत डिजिटल बजारहरूमा सामान बिक्रीको सम्पूर्ण तथ्याङ्क हुन्छ। हामी एआई मार्फत करोडौं डेटा पोइन्टको विश्लेषण गर्छौं’ उनी भन्छन्, ‘त्यसबाट मानिसहरू कस्ता सामान किन्न रुचाउँछन्, उनीहरूले किनेका सामानमा के–कस्ता कमी–कमजोरी छन् र कसरी अझ राम्रो बनाउन सकिन्छ भन्ने पत्ता लगाउँछौं।’
कम्पनीले ‘हाउस अफ ब्रान्ड्स’ मोडलमा काम गरिरहेको छ। हर्डले इलेक्ट्रोनिक्स ब्रान्ड मिनी माइक प्रोसँगै ब्युटी ब्रान्ड ‘ट्रान्ससेन्ड’ को फेस मास्क पनि बिक्री गर्छ। चीन लगायत देशमा रहेका साझेदार उद्योगबाट उत्पादन गर्ने, अमेरिकामा भण्डारण र अमेजन मार्फत बिक्री गर्ने काम कम्पनीले गर्छ।
‘हामी १० वटा ब्रान्ड शुरु गर्छौं भने तीमध्ये २–३ वटाले मात्रै राम्रो काम गर्छन् र तिनैबाट ठूलो आम्दानी हुन्छ’, उनी भन्छन्। हाल कम्पनीले दाँतको हेरचाह र घरपालुवा जनावरका लागि एआई प्रविधियुक्त स्मार्ट ट्र्याकिङ कलर (कुकुर वा बिरालोको गलामा बाँध्ने पेटी) पनि बजारमा ल्याएको छ।

यति धेरै उत्पादन कसरी व्यवस्थापन हुन्छ त? अजरका अनुसार, कम्पनीसँग आफ्नै इन-हाउस एआई प्रणाली छ। यसले आपूर्ति शृङ्खलाबाट सामान अर्डर गर्नेदेखि प्याकेजिङ र ग्राहकका समीक्षाहरू विश्लेषण गर्नेसम्मका सबै काम गर्छ।
‘पहिला यति ठूलो कारोबार गर्न २०० जनाभन्दा बढी मानिस चाहिन्थ्यो होला। तर अहिले हामी जम्मा ७ जनाको टिमले काम गरिरहेका छौं। यो सबै एआईका कारण सम्भव भएको हो।’
पहिलो वर्ष १ करोड ५० लाख डलर व्यापार गरेको कम्पनीले यो वर्ष २ करोड २० लाख डलरको व्यापार गर्ने उनको अनुमान छ। ठूला खर्चहरू नभएकाले कम्पनीको नाफाको मार्जिन पनि निकै उच्च छ।
वालमार्टदेखि विश्वबजारसम्मको लक्ष्य
आगामी ५ वर्षमा १० करोड डलरको कारोबार पुर्याउने लक्ष्य अजरको छ। त्यसका लागि अनलाइन मात्रै होइन, अमेरिकाको भौतिक रिटेल बजार (खासगरी वालमार्ट र टार्गेट) मार्फत उत्पादन बिक्री गर्ने योजनामा उनी छन्। वालमार्टका संसारभर १० हजार (अमेरिकामा ४७००) र टार्गेटका २ हजारभन्दा बढी स्टोरहरू छन्।
त्यसबाहेक, अन्तर्राष्ट्रिय विस्तार उनको दोस्रो मुख्य प्राथमिकता हो। अहिले पनि बेलायत, जर्मनी र क्यानाडामा निर्यात गरिरहेका उनी अमेजनसँगको प्रत्यक्ष साझेदारी मार्फत अफ्रिका, युरोप, एशिया र अस्ट्रेलियाका बजारमा पुग्ने तयारीमा छन्।
‘सर्टकट’ हुँदैन, परिणामको स्वामित्व आफैं लिनुस्
फोर्ब्सको ‘थर्टी अन्डर थर्टी’ सूचीमा परेपछि उनी नेपाल र नेपाली समुदायलाई केही न केही ‘गिभ ब्याक’ गर्न चाहन्छन्।
‘म पनि नेपालमा हुर्केका अरू सामान्य बालबालिका जस्तै नै हुँ। फरक यति मात्र हो- मैले आफूमाथि विश्वास गरें र आँट गरेर अघि बढें’ उनी भन्छन्, ‘अमेरिका आउँदा हामीसँग धेरै पैसा पनि थिएन, चिनेजानेका मान्छे पनि कोही थिएनन्।’
एआईको क्षेत्रमा काम गर्न चाहने युवालाई उनी सधैं उत्सुक हुन र जोखिम लिन नडराउन सल्लाह दिन्छन्। सफलताको कुनै जादुमय रहस्य वा सर्टकट अथवा छोटो बाटो नहुने उनको बुझाइ छ।
‘ई–कमर्समा आफ्नै व्यापार शुरु गर्न खोजिरहेका नेपाली युवालाई म दीर्घकालीन लक्ष्य लिएर अघि बढ्न सल्लाह दिन्छु’ उनी भन्छन्, ‘जीवनमा परिणामको स्वामित्व आफैंले लिनु एकदमै महत्त्वपूर्ण हुन्छ। धेरै मानिस केही गर्ने सोच त बनाउँछन्, तर एक्सनमा अगाडि बढ्दैनन्।’
उनको अन्तिम तर शक्तिशाली सन्देश छ, ‘अहिले व्यापार गर्न अमेरिका नै आउनुपर्छ भन्ने छैन। इन्टरनेटको प्रयोग गरेर नेपालमै बसेर पनि विश्वभर व्यापार गर्न र अमेरिकी उपभोक्ताहरूलाई सामान बेच्न सकिन्छ।’
ट्रेन्डिङ
सम्बन्धित
५० प्रभावशाली महिला २०८१
सञ्जिता नेपालचार्टर्ड एकाउन्टटेन्ट
सीता पोखरेलसमाजसेवी
मित्रकुमारी परियारवडाध्यक्ष
पूर्णिमा श्रेष्ठपर्वतारोही
मनिषा द्वाखगोलविद्
भावना पुलामीमगरउद्यमी
अलिसा श्रेष्ठउद्यमी
पूजा महतोक्रिकेटर
बिन्दवासिनी कंसाकारप्रतिनिधिसभा सदस्य
सुभासिनी श्रेष्ठसमाजसेवी
डा. निर्मला फुयालअनुसन्धाता
गोमा खनालउद्यमी
डोल्मामाया गोलेउपाध्यक्ष, महाङ्काल गाउँपालिका
मीना अर्यालप्रशासक
पलेशा गोबर्धनखेलाडी
५० प्रभावशाली महिला - २०८०
सञ्जिता नेपालचार्टर्ड एकाउन्टटेन्ट
सीता पोखरेलसमाजसेवी
मित्रकुमारी परियारवडाध्यक्ष
पूर्णिमा श्रेष्ठपर्वतारोही
मनिषा द्वाखगोलविद्
भावना पुलामीमगरउद्यमी
अलिसा श्रेष्ठउद्यमी
पूजा महतोक्रिकेटर
बिन्दवासिनी कंसाकारप्रतिनिधिसभा सदस्य
सुभासिनी श्रेष्ठसमाजसेवी
डा. निर्मला फुयालअनुसन्धाता
गोमा खनालउद्यमी
डोल्मामाया गोलेउपाध्यक्ष, महाङ्काल गाउँपालिका
मीना अर्यालप्रशासक
पलेशा गोबर्धनखेलाडी