+

छुर्पी विदेशमा, कमाइ किसानको खातामा

हिमालय डग च्यू उत्पादन गर्ने अर्चनाको कम्पनी एक्सेन्ट एक्स्पोर्टस् नेपालकै सबैभन्दा ठूलो छुर्पी निर्यातकमध्येको एक हो । यो कम्पनीको ८० प्रतिशत आम्दानी सीधै पूर्वी नेपालका इलाम, पाँचथर, ताप्लेजुङ लगायत जिल्लाका एक हजारभन्दा बढी किसानका खातामा पुग्छ । काठमाडौं कपनस्थित उद्योगमा रहेका ८७ जना कामदारमा ८० प्रतिशत महिला छन्। 
पूरा सूची
Shares
अर्चना तुलाधर 
Listen News
0:00
0:00
🔊

News Summary

Generated by OK AI. Editorially reviewed.
  • चार्टर्ड एकाउन्टेन्ट अर्चना तुलाधरले स्थापना गरेको एक्सेन्ट एक्स्पोर्टस् हिमालयन डग च्यू (छुर्पी) उत्पादन र निर्यात गर्ने नेपालको अग्रणी कम्पनी बनेको छ।
  • उक्त कम्पनीले पूर्वी नेपालका १५० भन्दा बढी सङ्कलकमार्फत एक हजारभन्दा बढी किसान परिवारलाई प्रत्यक्ष लाभान्वित गर्दै ग्रामीण अर्थतन्त्रमा उल्लेख्य योगदान पुर्‍याएको छ।
  • अन्तर्राष्ट्रिय गुणस्तर मापदण्ड पूरा गरी कम्पनीले वार्षिक साढे चार लाख किलो छुर्पी निर्यात गर्दै नेपाली अर्थतन्त्रमा महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको छ।

कुकुर र मानिस बीचको प्रेम कति गहिरो हुन सक्छ ? एकछिन कल्पना गर्नुहोस् त ! एउटा कुकुर, जो घरको सदस्य बनेर १८ वर्षसम्म सुख–दुःखको साक्षी बन्छ। बाटोमा हिंड्दा भेटिने बेवारिसे सडक कुकुरहरूको भोको अनुहार देख्दा कसैको मन पग्लिन्छ र तिनलाई आश्रय दिन पुग्छ। धेरैका लागि यो ‘जनावरप्रतिको दया’ मात्र हुन सक्छ।

तर, अर्चना तुलाधरका लागि कुकुरप्रतिको यही अगाध प्रेम र करुणा एउटा यस्तो ‘टर्निङ प्वाइन्ट’ बन्यो, जसले उनको जीवनको दिशा मात्र बदलेन, नेपालको परम्परागत उत्पादनलाई विश्व बजारमा स्थापित गर्ने एउटा ठूलो उद्योग नै खडा गरिदियो।

चार्टर्ड एकाउन्टेन्सी (सीए) जस्तो वित्तीय पृष्ठभूमिकी अर्चनाले जब आफ्नो ‘कुकुरप्रतिको लगाव’ र ‘वित्तीय सुशासनको ज्ञान’लाई एकै ठाउँमा जोडिन्, तब जन्मियो- ‘एक्सेन्ट एक्स्पोर्टस्’। आज यही कम्पनी हिमालयन डग च्यू (छुर्पी) उत्पादन र निर्यात गर्ने नेपालकै सबैभन्दा ठूलोमध्येको एक कम्पनी बनेको छ।

नेपाल उद्योग परिसङ्घ (सीएनआई) बाट ‘सबैभन्दा ठूलो छुर्पी निर्यातक’ को प्रतिष्ठित अवार्ड चुम्न सफल उद्यमी अर्चनाको यो व्यापारिक यात्रा मात्र नाफा कमाउने उद्देश्यमा सीमित छैन; यो त एउटा ‘डग लभर’ ले विश्वभरिका कुकुरहरूका लागि पस्किएको शुद्ध र स्वास्थ्यवर्द्धक कोसेली पनि हो।

यसबाहेक, उनी प्रविधि र पर्यटनलाई जोड्ने अनलाइन ट्राभल प्लाटफर्म ‘ट्रिप टर्बो’ र वित्तीय रणनीतिक सेवा प्रदान गर्ने ‘एक्सेन्टेक एड्भाइजर्स’ की निर्देशक समेत हुन्।

नरदेवीको गल्लीदेखि उद्यमशीलताको बीजारोपणसम्म 

काठमाडौं न्युरोडस्थित एक सामान्य मध्यमवर्गीय नेवार परिवारमा जन्मिएकी अर्चना परिवारकी कान्छी छोरी हुन्। उनी उद्यमी बन्नुको श्रेय उनकी आमालाई पनि जान्छ।

लामो समयदेखि आमाले सञ्चालन गर्दै आएको ‘चण्डेश्वरी लेडिज टेलर्स’ ले उनको बालमस्तिष्कमा गहिरो प्रभाव पारेको थियो। आमाको कडा परिश्रम, व्यवसायप्रतिको लगनशीलता र आत्मनिर्भरता देख्दै हुर्किएकी अर्चनाले सानै उमेरमा सिकिसकेकी थिइन्- आफैंले केही सिर्जना गर्नुको मज्जा र महत्त्व कति हुन्छ।

‘मेरो घरको मुख्य खम्बा नै मेरी आमा हुनुहुन्छ। उहाँको मिहिनेतले नै मलाई सानैदेखि केही गर्नुपर्छ, बन्नुपर्छ भन्ने लाग्थ्यो’ उनले सुनाइन्, ‘आमाबुबाले सिलाइ–बुनाइको काम गरे पनि छोराछोरीले यही काम गर्नुपर्छ भनेर उहाँहरूले सोच्नुभएन, हामीलाई फरक क्षेत्रमा पठाउनुभयो।’

सानोमा भने उनी कलाप्रेमी थिइन्। उनलाई नाच्न र गाउन असाध्यै मन पर्थ्यो। उनलाई कला क्षेत्रमै जाउँ भन्ने खुबै लाग्थ्यो। तर, उनका बुबा अलि कडा मिजासका भएकाले ‘पढाइभन्दा अन्त धेरै ध्यान नदेऊ’ भनिरहन्थे। उनले बुबाले भनेको मानेर आफ्नो पढाइप्रति मात्रै फोकस भएको सुनाउँछिन्।

शैक्षिक यात्रा र वित्तीय सुशासनको जग 

पछि बुबाआमा न्युरोडबाट नरदेवी बसाइँ सरे। त्यसपछि उनले नरदेवीमै आफ्नो प्रारम्भिक शिक्षा हासिल गरिन्। अर्चनाले नेशनल इन्टिग्रेटेड कलेज (एनआईसी) बाट प्लस टु पूरा गरिन्।

व्यापारका वित्तीय जटिलताहरूलाई नजिकबाट बुझ्ने हुटहुटीले उनलाई चार्टर्ड एकाउन्टेन्सीको कठिन तर प्रतिष्ठित बाटो रोज्न प्रेरित गर्‍यो। उनले प्राइम कलेजबाट सुरुआती अध्ययन गर्दै भारतको प्रतिष्ठित आईसीएआई बोर्डअन्तर्गत रहेर सीएको अध्ययन अगाडि बढाइन्।

यही अध्ययनको सिलसिलामा उनले ‘एएसआरएन एसोसिएट्स’ नामक सीए फर्ममा तीन वर्षको आर्टिकलसिप (व्यावहारिक अभ्यास) पूरा गरिन् र त्यसपछि त्यहीं आबद्ध भइन्। फर्ममा काम गर्दा उनले विभिन्न कम्पनीका अडिट, कर्पोरेट सुशासन र व्यापारिक रणनीतिका सूक्ष्म पाटाहरू सिकिन्। अरूका कम्पनीको वित्तीय स्वास्थ्य परीक्षण गर्दागर्दै उनमा आफ्नै एउटा मजबुत कम्पनी खडा गर्ने आत्मविश्वास जागिसकेको थियो।

अर्चनाको यो कर्पोरेट र वित्तीय क्षेत्रको व्यस्त यात्रा बीच उनको व्यक्तिगत जीवनले पनि एउटा सुन्दर र रोमान्टिक मोड लिएको थियो। अध्ययनकै क्रममा ‘एएसआरएन एसोसिएट्स’ मा काम गर्दा उनको भेट फर्मका सञ्चालक सानेपाका अङ्कुशकुमार जजोडियासँग भयो। शुरुमा विशुद्ध व्यावसायिक सहकार्य र एकअर्काप्रतिको सम्मानबाट अघि बढेको उनीहरूको सम्बन्ध सँगै काम गर्ने क्रममा बिस्तारै गहिरो प्रेममा परिणत भयो।

तर, आफ्नो यो प्रेमलाई विवाहको मण्डपसम्म पुर्‍याउने यात्रा भने उनीहरूका लागि त्यति सहज थिएन। फरक पारिवारिक पृष्ठभूमि र संस्कारका कारण आफ्नो प्रेम र विवाहको निर्णयबारे घरपरिवारलाई बुझाउन र सहमत गराउन उनीहरूलाई पूरै एक वर्षभन्दा लामो समय लाग्यो। अन्ततः उनीहरूको प्रेमले पारिवारिक स्वीकृति पायो। ‘शुरुमा बुबाले मान्नुभएको थिएन, लामै समय लगाएर भए पनि मनाउन सफल भइयो’, उनले हाँस्दै सुनाइन्।

हिजो एउटै फर्ममा सँगै काम गर्दा जोडिएको त्यही सम्बन्ध आज ‘एक्सेन्ट एक्स्पोर्टस्’ जस्तो ठूलो उद्योगको बलियो जग र अर्चनाको जीवनको सबैभन्दा सुन्दर हिस्सा बनेको छ।

हिमालयन डग च्यू (छुर्पी) उत्पादन र निर्यात गर्ने नेपालकै सबैभन्दा ठूलोमध्येको एक कम्पनी बनेको छ।

अर्चनालाई बिजनेस सम्हाल्न परिवारको निकै बलियो साथ छ। श्रीमान् र सासूआमाको साथले आफूले निर्धक्क भएर निरन्तर काम गर्न सकेको उनी सुनाउँछिन्। ‘परिवारबाट साथ-सपोर्ट नभए त काम गर्न गाह्रो हुँदो हो’ उनी भन्छिन्, ‘आमा, श्रीमान्, माइतीतिर पनि सबैको साथ भएर नै स्वतन्त्र रूपले काम गर्न सकेकी छु।’

ग्रामीण अर्थतन्त्रमा मौन क्रान्ति र अन्तर्राष्ट्रिय बजारमा दबदबा 

सन् २०१८/१९ मा अर्चनाले श्रीमान् जजोडिया र अर्का साझेदार अमित खेतानसँग मिलेर एक्सेन्ट एक्स्पोर्टस् र माउन्टेन पेट प्रडक्ट्स मार्फत छुर्पी निर्यातको कामलाई व्यवस्थित रूप दिइन्। कम्पनीमा उनले वित्तीय व्यवस्थापन र रणनीतिको जिम्मेवारी सम्हाल्छिन् भने अपरेसनको पाटो श्रीमान् र खेतानले हेर्ने गर्छन्।

अर्चनाको नेतृत्वमा रहेको यस व्यवसायले नाफा मात्र कमाएको छैन, नेपालको ग्रामीण अर्थतन्त्रमै ठूलो सकारात्मक प्रभाव पारेको छ। अर्चनाको कम्पनीले पूर्वी नेपालका इलाम, पाँचथर, ताप्लेजुङ, धनकुटा र तेह्रथुमका करिब १५० भन्दा बढी सङ्कलक (कलेक्टर) मार्फत सिधै किसानबाट छुर्पी खरिद गर्ने प्रणाली विकास गरेको छ। यसबाट करिब एक हजारभन्दा बढी किसान परिवार प्रत्यक्ष लाभान्वित छन्। कम्पनीले निर्यातबाट आर्जन गर्ने कुल रकमको करिब ८० प्रतिशत हिस्सा सोझै किसान र ग्रामीण अर्थतन्त्रमा पुग्ने गरेको छ।

अन्तर्राष्ट्रिय बजारमा नेपाली छुर्पीलाई स्थापित गर्न गुणस्तर सबैभन्दा ठूलो चुनौती थियो। तर, अर्चना र उनको टिमको अठोटले कम्पनीलाई विश्वकै सबैभन्दा कडा खाद्य सुरक्षा मापदण्ड मानिने ‘ब्रिटिस रिटेल कन्सोर्टियम ग्लोबल स्ट्यान्डर्डस्’ (बीआरसीजीएस) प्रमाणीकरण दिलाउन सफल भयो। १० प्रतिशतभन्दा कम मोइस्चर, ६० प्रतिशतभन्दा बढी प्रोटिन, सौर्य विकिरण उपचार (युभी ट्रिटमेन्ट) र कडा भिजुअल इन्स्पेक्सन जस्ता अन्तर्राष्ट्रिय मापदण्डहरू पूरा गरेर मात्र उनीहरूका उत्पादन अमेरिका र क्यानाडा पुग्छन्।

व्यावसायिक सफलताका उचाइहरू चुम्दै गर्दा अर्चनाले नेपालको निर्यात उद्योगले भोग्नुपरेका चुनौती र सरकारका कमजोरीहरूलाई पनि नजिकबाट नियालेकी छिन्। अन्तर्राष्ट्रिय बजारमा नेपाली छुर्पी (डग च्यू) को यति ठूलो सम्भावना र माग हुँदाहुँदै पनि सरकारी तवरबाट पाउनुपर्ने नीतिगत सहयोग र पूर्वाधारको ठूलो अभाव खट्किएको उनको अनुभव छ।

विशेषगरी युरोपियन युनियन, अस्ट्रेलिया र जापान जस्ता विशाल बजारहरूमा नेपाली उत्पादन पठाउन त्यहाँको कडा क्वारेन्टाइन र स्वास्थ्य मापदण्ड पूरा गर्नुपर्ने हुन्छ। उदाहरणका लागि युरोपमा नेपाली डेरी प्रडक्ट प्रतिबन्धित छ । यस्ता समस्या समाधानका लागि सरकारी स्तरमै आवश्यक सम्झौता र नीतिगत पहल हुनुपर्छ। तर, सरकारले कूटनीतिक र प्राविधिक पहल गर्न नसक्दा ती ठूला अन्तर्राष्ट्रिय बजारहरू नेपाली व्यवसायीका लागि अझै बन्द छन्।

‘नेपालमा अन्तर्राष्ट्रियस्तरको मान्यता प्राप्त गुणस्तर परीक्षण गर्ने ल्याबको अभाव, झन्झटिलो प्रशासनिक र निर्यात प्रक्रिया तथा स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्ने स्पष्ट नीतिको कमी अर्को ठूलो चुनौती हो’ उनी भन्छिन्, ‘सरकारले अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको नीति र पूर्वाधार नबनाइदिंदा धेरै निर्यातकर्ता व्यवसायीहरूले आफ्नै व्यक्तिगत प्रयास र भारी लगानीमा बीआरसीजीएस जस्ता महँगा अन्तर्राष्ट्रिय प्रमाणीकरणहरू लिनुपर्ने बाध्यता छ।’

यदि सरकारले समयमै आवश्यक प्राविधिक पूर्वाधार, ल्याब सुविधा र अन्तर्राष्ट्रिय बजार खुलाउन कूटनीतिक पहल मात्रै गरिदिने हो भने नेपाली छुर्पी उद्योगले देशको अर्थतन्त्रमै अझ ठूलो क्रान्ति ल्याउन सक्ने उनको दृढ विश्वास छ।

गुणस्तरप्रतिको सम्झौताहीन नीतिका कारण आज अर्चनाको कम्पनीले वार्षिक करिब ४ देखि साढे ४ लाख किलो (४५० टन) छुर्पी निर्यात गरिरहेको छ, जुन नेपालबाट हुने कुल छुर्पी निर्यातको करिब २० देखि २२ प्रतिशत हिस्सा हो। गत आर्थिक वर्ष नेपालबाट करिब ४ अर्ब ८१ करोडको छुर्पी निर्यात भएको छ । एक्सेन्ट एक्स्पोर्टस्‌ले त्यसमध्ये ८० देखि ८५ करोड रुपैयाँको निर्यात गरेको उनी बताउँछिन् ।

इमानदारीलाई व्यापारको मूल मन्त्र मान्ने उनी किसानलाई समयमै भुक्तानी दिने र दूधमा कुनै पनि मिसावट हुन नदिने नीतिमा अडिग छिन्। उनी भन्छिन्, ‘जसले उत्पादन हामीलाई दिइरहनुभएको छ, उहाँहरूलाई नै हामीले दुःख दियौं भने हाम्रो यात्रा सफल हुन सक्दैन। हामी आफ्ना उत्पादकको विशेष ख्याल गर्छौं।’

बहुआयामिक नेतृत्व र महिला सशक्तीकरण 

छुर्पी निर्यातको साम्राज्य खडा गर्नुका अलावा अर्चना प्रविधि र वित्तीय परामर्शको क्षेत्रमा पनि उत्तिकै सक्रिय छिन्। ‘ट्रिप टर्बो’ मार्फत उनले नेपालको पर्यटनलाई डिजिटलाइज गर्दै छिन् भने ‘एक्सेन्टेक एड्भाइजर्स’ मार्फत विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कम्पनीहरूलाई वित्तीय रणनीति, विदेशी लगानी भित्र्याउने प्रक्रिया र कर्पोरेट सुशासनमा सघाउँदै आएकी छन्।

एक सफल महिला उद्यमीका रूपमा उनी महिला सशक्तीकरणलाई सिद्धान्तमा होइन, व्यवहारमा उतार्नमा विश्वास गर्छिन्। काठमाडौं कपनस्थित उनको फ्याक्ट्रीमा मात्रै ८७ जनाले प्रत्यक्ष रोजगारी पाएका छन्, जसमध्ये ८० प्रतिशत महिला कामदार छन्। महिलाहरू उद्यम र नेतृत्वमा आउनका लागि आन्तरिक क्षमता र परिवारको बलियो साथ दुवै आवश्यक पर्ने उनको बुझाइ छ।

‘पहिलेको तुलनामा अहिले धेरै महिलाहरू उद्यमी बनेका छन्, नयाँ-नयाँ आइडियाका साथमा स्टार्टअप पनि सफल तरिकाले हाँकिरहेका छन्’ उनी भन्छिन्, ‘यसमा सबैभन्दा पहिला त पढाइ धेरै महत्त्वपूर्ण छ। शिक्षाका साथै परिवारको साथ-सहयोगले निकै प्रभाव पार्छ।’

अर्चनाको कथा एक सफल व्यापारीको कथा मात्र होइन, यो त करुणालाई पुँजी, इमानदारीलाई रणनीति र महिला नेतृत्वलाई शक्तिका रूपमा रूपान्तरण गर्न सकिन्छ भन्ने ज्वलन्त उदाहरण हो। ३३ वर्षको युवा उमेरमै उनले हासिल गरेको यो बहुआयामिक सफलताले नेपालको कर्पोरेट क्षेत्रमा अरूलाई पनि मिहिनेत गर्न र अगाडि बढ्न प्रेरित गरेको छ।

लेखक
ऋतु काफ्ले

काफ्ले अनलाइनखबरकाे बिजनेस ब्युराे संवाददाता हुन् ।