News Summary
Generated by OK AI. Editorially reviewed.- सांसद भुवनबहादुर सुनारले वर्तमान सरकार सुशासन र सदाचारको मर्मअनुरूप अगाडि बढ्न नसकेको भन्दै चिन्ता व्यक्त गरेका छन्।
- उनले सरकारका काम–कारबाहीहरू अझै पनि पूर्ण रूपमा सुशासनमैत्री हुन नसकेको टिप्पणी गर्दै यसमा दृढताका साथ काम गर्न सुझाव दिएका छन्।
- समाजमा बढ्दो विकृति नियन्त्रण गर्न नैतिक शिक्षाको महत्व रहेको बताउँदै उनले राष्ट्रिय सदाचार नीति वडा तहसम्मै प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्ने उल्लेख गरे।
२५ साउन, काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका सांसद भुवनबहादुर सुनारले सरकारले सुशासन र सदाचारको क्षेत्रमा पर्याप्त ध्यान दिन नसकेको भन्दै चिन्ता व्यक्त गरेका छन् ।
सोमबार विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा ‘राष्ट्रिय सदाचार नीति, २०८३’ को कार्यान्वयनका सम्बन्धमा भएको छलफलमा उनले यस्तो बताएका हुन् ।
सांसद सुनारले सरकारका हालसम्मका गतिविधिहरू सुशासन र सदाचारको मर्मअनुरूप नदेखिएको टिप्पणी पनि गरे । नीति कार्यान्वयनको प्रक्रिया सहज नभए पनि यसलाई दृढताका साथ अगाडि बढाउनुपर्नेमा उनको जोड थियो ।
‘सरकार नयाँ भएर हो वा राजनीतिक असहजताका कारण, तर सुशासन र सदाचारमा जुन स्तरको ध्यान दिनुपर्ने थियो, त्यो पुगेको देखिँदैन । सरकारका काम–कारबाहीहरू अझै पनि पूर्ण रूपमा सदाचारी र सुशासनमैत्री हुन सकेका छैनन्,’ उनले भने ।
विगतमा विद्यालयको पाठ्यक्रममा नैतिक शिक्षा समावेश हुने गरेको स्मरण गर्दै उनले वर्तमान समयमा यसको सान्दर्भिकता अझ बढेको उल्लेख गरे ।
‘पछिल्लो समय समाजमा बढ्दो विकृति, विसङ्गति र अराजकतालाई नियन्त्रण गर्न नैतिक शिक्षा र सदाचारको ठूलो महत्व छ,’ सांसद सुनारले भने ।
प्रश्तावित नीतिलाई दस्ताबेजमा मात्र सिमित नराखी वडा तहसम्मै जिम्मेवार अधिकारी तोकेर कार्यान्वयन गर्नुपर्ने उनको सुझाव छ ।
प्रतिक्रिया 4