+
+
Shares

गर्मीले सास्ती भोगिरहेका पाकिस्तानी इँटा मजदुर

पाकिस्तानमा बढ्दो तापक्रमले इँटा भट्टीमा काम गर्ने मजदुरको कठिन जीवन झनै जोखिमपूर्ण बनाएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन २५ गते १६:३०

२५ साउन, शेखुपुरा (पाकिस्तान) (रासस/एएफपी)। पाकिस्तानमा बढ्दो तापक्रमले इँटा भट्टीमा काम गर्ने मजदुरको कठिन जीवन झनै जोखिमपूर्ण बनाएको छ । चर्को घाममुनि ४० डिग्री सेल्सियसभन्दा बढी तापक्रम सहँदै काम गर्ने मजदुरले खुट्टामुनिबाट निस्कने भट्टीको तातो र माथिबाट पर्ने सूर्यको ताप दुवै खेप्नुपरेको छ ।

पाकिस्तानको शेखुपुरा जिल्लास्थित एक इँटा भट्टीमा मजदुरहरू खुट्टामुनिका साना प्वालबाट कोइला तलको आगोको कोठामा हालिरहेका छन् । उनीहरूको टाउकोमाथि भने भट्टीबाट निस्किएको बाक्लो कालो धुवाँ फैलिएको छ ।

परम्परागत इँटा भट्टीमा तापक्रम एक हजार डिग्री सेल्सियसभन्दा माथि पुग्छ । इँटा राम्रोसँग पाकेको सुनिश्चित गर्न मजदुरले भट्टीको तापक्रम निरन्तर निगरानी गर्नुपर्छ । पाकिस्तानमा पहिले नै अत्यधिक गर्मी हुने भए पनि जलवायु परिवर्तनका कारण तापक्रम अझ बढ्दै गएपछि यस्तो काम झनै कठिन बनेको छ ।

पैँतिस वर्षीय मजदुर आबिद हुसेनको कपडा भट्टीबाट निस्किएको कालो धुवाँ र धुलोले ढाकिएको थियो । उनले आफू तल र माथिबाट आउने आगोको तापबीच फसेजस्तो महसुस हुने बताए । ‘गर्मी निःसन्देह चरम छ तर घरको आर्थिक दबाब सम्झँदा काम गरिरहनुबाहेक विकल्प हुँदैन’ उनले भने।

हुसेनजस्तै सयौँ हजार मजदुर पाकिस्तानको इँटा उद्योगमा कार्यरत छन् । श्रम अधिकारकर्मीहरूका अनुसार यो क्षेत्र कमजोर नियमन, न्यून ज्याला र जोखिमपूर्ण कार्य अवस्थाका कारण समस्याग्रस्त छ । पाकिस्तानमा तीव्र गतिमा भइरहेको निर्माण गतिविधिले इँटाको माग बढाए पनि मजदुरको आम्दानी भने अत्यन्त न्यून छ । उनीहरूले दैनिक करिब तीन अमेरिकी डलर मात्र कमाउने गरेका छन् ।

चर्को घाम, धुलो र तातो हावाबीच मजदुरहरू घन्टौँसम्म भट्टीको सतहमा काम गर्छन् । बन्डेड लेबर लिबरेसन फ्रन्ट पाकिस्तानकी महासचिव सैदा गुलाम फातिमाले इँटा भट्टीलाई मजदुरका लागि ‘कैदको ठाउँ’ जस्तै भएको बताए।

‘कामदारले माथिको घामको अथक ताप सहनुपर्छ भने भट्टीबाट निस्कने तीव्र गर्मी तलबाट शरीरतर्फ आउँछ’ उनले भने।

‍फातिमाका अनुसार मजदुरहरू ऋण, चरम गर्मी र बिग्रँदो स्वास्थ्यको चक्रमा फसेका छन् । बढ्दो विश्वव्यापी तापक्रमले उनीहरूको जोखिम थप बढाएको उनको भनाइ छ ।

शेखुपुरा पाकिस्तानको ठूलो इँटा भट्टी उद्योगको प्रमुख केन्द्र हो । सन् २०१८ को जलवायु तथा स्वच्छ वायु गठबन्धनको तथ्याङ्कअनुसार पाकिस्तानभर १८ हजारभन्दा बढी इँटा भट्टी सञ्चालनमा छन् र तिनमा १० लाखभन्दा बढी मानिस कार्यरत छन् ।

जलवायु विज्ञहरूका अनुसार पाकिस्तान विश्वमा जलवायु परिवर्तनको प्रभावबाट सबैभन्दा बढी जोखिममा रहेका मुलुकमध्ये एक हो । फातिमाले धेरै मजदुरले अग्रिम रकम लिने भएकाले ऋणको बोझमा पर्ने र त्यसपछि जोखिमपूर्ण अवस्थामा पनि काम छाड्न नसक्ने बताए।

हुसेनले आफूले मासिक करिब २५ हजार पाकिस्तानी रुपैयाँ अर्थात् ९० अमेरिकी डलर कमाउने बताए। उक्त रकमले घरभाडा र बालबालिकाका आधारभूत आवश्यकता पूरा गर्न मात्र पुग्ने उनको भनाइ छ ।

‘हामी बिरामी भए पनि वा पारिवारिक समस्या भए पनि काम गर्नैपर्छ’, उनले भने, ‘समय निकालेर काम नगरे परिवार समस्यामा पर्छ।’

इँटा भट्टीबाट हुने वायु प्रदूषण र स्वास्थ्य जोखिम घटाउन पञ्जाब प्रान्तीय सरकारले परम्परागत भट्टीलाई ‘जिगज्याग’ प्रविधिमा रूपान्तरण गर्न दबाब दिइरहेको छ । यसले उद्योगलाई थप आधुनिक र कम प्रदूषणयुक्त बनाउन सक्ने अपेक्षा गरिएको छ ।

स्वास्थ्य विज्ञहरूका अनुसार विशेषगरी परम्परागत भट्टीमा लामो समयसम्म अत्यधिक गर्मीमा काम गर्दा छालासम्बन्धी समस्या, श्वासप्रश्वासमा कठिनाइ र मिर्गौलासम्बन्धी रोगको जोखिम बढ्न सक्छ ।

तर भट्टीको तापक्रम स्थिर राख्नुपर्ने भएकाले लामो विश्राम दिन कठिन रहेको ४५ वर्षीय सुपरभाइजर मुजीब उल्लाले बताए। ‘चरम गर्मी होस्, चिसो होस् वा वर्षा, काम निरन्तर गर्नुपर्छ’, उनले भने। मजदुरलाई पिउने पानी र कहिलेकाहीँ छोटो विश्राम उपलब्ध गराउने गरिएको उनको भनाइ छ ।

भट्टीको अर्को भागमा २८ वर्षीय मुहम्मद आजिम भिजेको माटो मिसाएर काठको साँचेमा हातैले इँटा बनाइरहेका थिए। पाकिसकेका इँटाका पङ्क्तिबीच उनको काम पनि उत्तिकै थकाइलाग्दो थियो । आफ्नो कामको कठिनाइबारे आजिमले भने, ‘मौसम राम्रो होस् वा नराम्रो, काम त काम नै हो । गर्नैपर्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?