News Summary
Generated by OK AI. Editorially reviewed.- राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकालले देशको प्रशासनिक केन्द्र सिंहदरबारको नाम परिवर्तन गर्नुपर्ने धारणा राखेपछि यसको ऐतिहासिकता र सान्दर्भिकतामाथि राष्ट्रिय बहस सुरु भएको छ । सांसद ढकालले नेपालमा सिंह नपाइने तर्क गर्दै राणाकालीन सत्ताको प्रतीकका रूपमा रहेको सिंहदरबारको नाम फेरेर अनामनगर दरबार राख्न सकिने प्रस्ताव अघि सारेका छन् ।
- राणा प्रधानमन्त्री चन्द्रशमशेरले निजी निवासका रूपमा निर्माण गरेको सिंहदरबार पछि सरकारी ढुकुटीबाट रकम लिई सरकारलाई बेचेको इतिहास रहेको छ ।
२५ साउन, काठमाडौं । सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद हरि ढकालले सिंहदरबारको नाम परिवर्तन गर्नुपर्ने अभिव्यक्ति दिएपछि नेपालको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारको नाम र इतिहासबारे बहस सुरु भएको छ ।
उनको अभिव्यक्तिले राणाकालीन सत्ताको प्रतीकका रूपमा निर्माण भएको संरचना गणतन्त्र नेपालको शासन व्यवस्थाको केन्द्र कसरी बन्यो भन्ने ऐतिहासिक प्रश्नसमेत सतहमा ल्याएको छ ।
प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिका संयोजकसमेत रहेका ढकालले आइतबार ललितपुरमा आयोजित एक कार्यक्रममा राजनीतिक परिवर्तनपछि देशका विभिन्न स्थान र विमानस्थलहरूको नाम परिवर्तन गरिए पनि सिंहदरबारको नाम यथावत् रहेको भन्दै प्रश्न उठाएका थिए ।
जंगलको राजा मानिने सिंह नेपालमा नपाइने उल्लेख गर्दै उनले ‘सिंहदरबार’ नामको सान्दर्भिकतामाथि तर्क गरेका थिए । ढकालले नाम मात्र नभएर सिंहदरबारको कार्यशैली र हाउभाउमा समेत सुधारको आवश्यकता रहेको औंल्याएका थिए । प्रशासनिक केन्द्रको संरचना र भाषामा विद्यमान परम्परागत शैलीलाई चिर्नुपर्नेमा उनको जोड थियो ।
‘परिवर्तन पछाडि सबै ठाउँहरूको नाम परिवर्तन भयो, कहाँ–कहाँ एयरपोर्टहरूका नाम परिवर्तन भए । सिंहदरबारको नाम भने परिवर्तन भएन । न हामीसँग सिंह छ । तर त्यो सिंहदरबार भन्ने चिजको नाम परिवर्तन भएन,’ ढकालको भनाइ थियो, ‘त्यसलाई अनामनगर दरबार राख्दिएको भए हुन्थ्यो होला ।’
उनले थपे, ‘हामीसँग सिंह नै छैन, तर त्यसको नाम सिंहदरबार नै छ । त्यसको केही हाउभाउ, भावभङ्गीहरू पनि त्यो भाषा जस्तै छ । त्यसलाई चिर्नु पर्नेछ । मैले यो मुहानका विषयमा यति कुरा राखेँ ।’
सिंहदरबारको नाम फेर्ने अभिव्यक्ति दिएलगत्तै सामाजिक सञ्जालमा तीव्र आलोचना भएपछि रास्वपा सांसद ढकालले आइतबार साँझ आफ्नो तर्कमा अडिग रहेको प्रतिक्रिया दिए ।
सामाजिक सञ्जाल फेसबुकमा आइतबार साँझ अभिव्यक्ति सार्वजनिक गर्दै उनले सिंह दया र करुणाको प्रतीक नभएर घमण्डको प्रतीक रहेकाले आफ्नो तर्कमा अडिग रहेको जिकिर गरे ।
‘मृग (हरिण) ले सिंहलाई गरेको अगाध प्रेमको दुर्लभ दृश्य आज सामाजिक सञ्जालमा देखेँ । त्यो दरबार बनाउँदा श्रमिकमाथि गरिएको शोषणको इतिहास आज पढेको होइन, अलि पहिल्यै नै पढेको थिएँ,’ सांसद ढकालले लेखे, ‘त्यो दरबारको स्वभाव, भाव–भंङ्गी नाम जस्तै देखिने हुनुहुन्न भन्ने सन्दर्भ थियो, सत्यको लिगेसीको सन्दर्भ थियो ।’
राणा प्रधानमन्त्रीको निजी दरबार
आगलागी र भूकम्पका अनेक धक्काले थिलथिलो बनेको सिंहदरबारले नेपालमा भएका दशकौंका राजनीतिक उतारचढाव, शक्ति संघर्ष र फेरिँदै गएका सरकारका अनुहारहरू नजिकबाट देखेको छ ।
सिंहदरबारलाई आफ्नो शक्ति र सत्ताको केन्द्र ठान्नेहरू धेरै आए, धेरै गए । कोही छोटो समयका लागि यसको आश्रयमा पुगे, कोही लामो समयसम्म यहीँबाट राज्यसत्ताको बागडोर सम्हालिरहे ।
समयसँगै थुप्रै शासक फेरिए, कयौं सरकार परिवर्तन भए । जहाँनिया राणा शासनदेखि संघीय लोकतान्त्रिक गणतन्त्रसम्म आइपुग्दा सिंहदरबार इतिहासको साक्षी बनेर उभिइरहेको छ ।
सिंहदरबार तत्कालीन राणा प्रधानमन्त्री चन्द्रशमशेरसँग जोडिएको ऐतिहासिक संरचना हो । यसको निर्माण उनको प्रधानमन्त्रीत्वकालमा भएको थियो । सुरुमा यो चन्द्रशमशेरको निजी निवासका रूपमा निर्माण गरिएको थियो । तर पछि उनले सरकारी ढुकुटीबाट रकम लिएर सरकारलाई बिक्री गरेको इतिहास छ ।

पूर्वप्रशासक उमेशकुमार मैनालीले आफ्नो पुस्तक ‘सुनेको शासन, भोगेको प्रशासन’ मा वरिष्ठ पत्रकार भैरव रिसाललाई उद्धृत गर्दै सिंहदरबारको निर्माण १९५८ सालमा सुरु भएको उल्लेख गरेका छन् ।
‘यसको इतिहासको कुरा गर्दा १२२ वर्षअगाडि पुग्नुपर्ने हुन्छ । केही स्रोतहरूले सिंहदरबार १९५८ सालमा निर्माण सुरु भएको मानेका छन् । वरिष्ठ पत्रकार भैरव रिसालले एक लेखमा १९५८ साल असारमा सिंहदरबार निर्माण भएको भनेका छन्,’ मैनालीको पुस्तकमा उल्लेख छ ।
इतिहासअनुसार १९५८ साल असार १० गते तत्कालीन श्री ३ महाराज देवशमशेरलाई धनकुटा निष्काशन गरेकै दिन तत्कालीन प्रधानसेनापति चन्द्रशमशेरले तत्कालीन राजा पृथ्वीबाट श्री ३ महाराज, प्रधानमन्त्री तथा मार्शल पद र खिताबका साथै नेपाल अधिराज्यको सम्पूर्ण अधिकार प्रत्यायोजन गरेको ‘लालमोहर’ पाएका थिए ।
इतिहासकार पुरुषोत्तमशमशेर जबराका अनुसार चन्द्रशमशेरले सुरुमा स्व. श्री ३ वीरशमशेरको सेतो दरबार र लालदरबार खरिद गर्न चाहेका थिए । उनले त्यसका लागि शिल्लीशमशेर थापा र माहिला पन्डित काशीनाथ आचार्य दीक्षितलाई खटाएका थिए ।
चन्द्रशमशेरले खरिद गर्न चाहेका दरबारबारे इतिहासकार जबराले ‘श्री ३ हरूको तथ्य वृत्तान्त–२’ मा लेखेका छन्, ‘तेजशमशेरले आफ्नो लालदरबारका विषयमा– महाराजमा चाहिए लागोस् टक्र्याउँछु तर मुमाज्यू (श्री ३ कान्छी बडामहारानी तोपकुमारी देवी) लाई कहाँ राखूँ भनी प्रश्न पठाए ।’
जबराले पुस्तकमा तत्कालीन श्री ३ चन्द्रशमशेरले मन पराएको सेतो दरबारबारे पनि उल्लेख गरेका छन् । ‘गेहेन्द्रशमशेरले चाहिँ आफ्नो सेतो दरबारका विषयमा– ‘महाराजले मैले मागेको मोल बक्सन सकिबक्सन्छ कि बक्सदैन, पहिले सो बुझी आओ’ भनी उपरोक्त दुवै जनालाई फिर्ता गरी पठाए ।’
इतिहासकार पुरुषोत्तमशमशेर जबराका अनुसार वीरशमशेरका छोराहरूको जवाफपछि चन्द्रशमशेरले सेतो दरबार र लालदरबार लिने आँट गर्न सकेनन् ।
त्यसपछि जितशमशेरको लाजिम्पाट दरबार (हाल शंकर होटेल) र रुद्रशमशेरको चारबुर्जा दरबार (हाल निर्वाचन आयोग भवन) हरू जम्मा ६–६ लाख रुपैयाँ दिएर खरिद प्रक्रिया अघि बढेको पुस्तकमा उल्लेख छ ।
पुस्तकमा लेखिएअनुसार इन्जिनियर कर्णेल कुमारनरसिंह राणा र इन्जिनियर कर्णेल किशोरनरसिंह राणाको आग्रहमा चन्द्रशमशेरले ती दरबारहरू पनि खरिद गरेनन् । ‘इन्जिनियर कर्णेल कुमारनरसिंह राणा र इन्जिनियर कर्णेल किशोरनरसिंह राणाले ‘महाराज ! यिनी सोझाहरूको चित्त किन दुखाइबक्सन्छ, हुकुम भए वर्ष दिनमै महाराज लायकको नयाँ दरबार बनाई तयार गर्दछौं,’ सिंहदरबार निर्माणको पृष्ठभूमिबारे इतिहासकार जबराले भनेका छन् ।
डेढ करोड मुनाफा कमाएर सरकारलाई बिक्री
जबराको दाबीअनुसार श्री ३ चन्द्रशमशेरले सिंहदरबार निर्माणमा ५० लाख रुपैयाँभन्दा बढी खर्च गरेका थिएनन् । सिंहदरबार निर्माण भइसकेपछि श्री ३ चन्द्रले भारदारी सभा गठन गरेर सबै समक्ष, ‘अबदेखि जो श्री ३ महाराज हुन्छ ऊ यस सिंहदरबारमा बस्न पाउने छ । तसर्थ यो दरबार मैले नेपाल सरकारलाई आजदेखि बेचेँ’ भनी सरकारी ढुकुटी–कौसीबाट तुरुन्त दुई करोड रुपैयाँ झिकेर लिएको पनि जबराले उल्लेख गरेका छन् ।
‘स्व. श्री ३ जंगले संकटकालीन अवस्थामा, दैवी प्रकोप परेमा मात्र प्रयोग गर्नू भनी राखेको ११ करोड रुपैयाँबाट सर्वप्रथम यिनले झिकेर लिए,’ ‘श्री ३ हरूको तथ्य वृत्तान्त–२’ पुस्तकमा लेखिएको छ, ‘यसरी श्री ३ चन्द्रले कमसेकम डेढ करोड रुपैयाँ सिंहदरबार बेची आर्जन गरे ।’ श्री ३ चन्द्र सिंहदरबारमा आफू नमरुन्जेल (२८ वर्ष) सम्म बसेका थिए ।
‘सिंहदरबार बनेपछि कोटीहोम, रुद्री जस्ता धार्मिक विधि गरेर उनी थापाथली सिंहमहलबाट सिंहदरबार सरे र त्यहीँबाट २८ वर्ष लामो शासन गरे,’ पूर्वप्रशासनक मैनालीको पुस्तक ‘सुनेको शासन, भोगेको प्रशासन’ मा लेखिएको छ ।
कौसीबाट देखिएको बागदरबार र जन्मिएको ‘सिंहदरबार’ नाम
सिंहदरबारको नाम कसरी रह्यो भन्ने विषयमा एउटा रोचक ऐतिहासिक प्रसंग छ । दरबार निर्माण सम्पन्न भएपछि एक दिन राणा प्रधानमन्त्री चन्द्रशमशेर आफ्नी जेठी बडामहारानी लोकभक्त लक्ष्मीदेवीसँग विशाल दरबारको निरीक्षण गर्दै कौसीमा पुगेका थिए ।
कौसीबाट वरपरको दृश्य नियालिरहेका चन्द्रशमशेरले महारानी लोकभक्त लक्ष्मीदेवीलाई केही दुरीमा रहेको बागदरबार देखाए । जवाफमा लोकभक्त लक्ष्मीदेवीले चन्द्रशमशेरलाई आफ्नो दरबारको नाम ‘सिंहदरबार’ राख्न प्रस्ताव गरिन् । महारानीको सुझाव सुनेपछि चन्द्रशमशेर मुसुक्क हाँसे र त्यही विशाल दरबारको नाम ‘सिंहदरबार’ राखिदिए ।

‘दरबार बनिसकेपछि एक दिन चन्द्रशमशेर सो विशाल सिंहदरबारको निरीक्षण गर्दै जेठी बडामहारानी लोकभक्त लक्ष्मीदेवीसँग दरबारको कौसीमा पुगे,’ इतिहासकार जबराको पुस्तकमा लेखिएको छ, ‘चन्द्रशमशेरले कौसीबाट ‘बागदरबार’ देखेकाले औंल्याउँदै ‘ऊ बागदरबार’ भनी लोकभक्तलाई देखाए । लोकभक्त लक्ष्मीले ‘महाराज ! त्यो बागदरबार हो भने यो दरबारलाई सिंहदरबार भन्न कसो होला ?’ भनेर प्रश्न गरिन् । चन्द्रशमशेरले मुसुक्क हाँस्दै सो नयाँ दरबारको नाम ‘सिंहदरबार’ राखिदिए ।’
चन्द्रशमशेरपछि भीमशमशेर, जुद्धशमशेर, पद्मशमशेर र मोहनशमशेरले सिंहदरबारबाटै राजपाठ चलाएका थिए । चन्द्रशमशेरले सबभन्दा शक्तिशाली खड्ग निशाना अड्डा सिंहदरबारमा नै राखेको र चिठी निकसारी अड्डा. मुलुकी अड्डा, जिन्सी गोश्वारा जस्ता महत्वपूर्ण अड्डाहरू पनि सिंहदरबारभित्रै राखेको सरदार भीमबहादुर पाँडेको पुस्तक ‘त्यस बखतको नेपाल (भाग ५) मा उल्लेख छ ।
इतिहासकार पुरुषोत्तमशमशेर जबराका अनुसार चन्द्रशमशेरको सुरुवाती योजना विशाल दरबार बनाउने थिएन । तर पछि बनाउँदै जाँदा १०४ सय कोठाको हुन गएको थियो । जहानियाँ राणा शासन पनि झण्डै १०४ वर्षमा समाप्त भएको थियो ।
राणा शासनको क्रुरता र राजनीतिक संघर्षको साक्षी
सिंहदरबार केवल सत्ता र शासन सञ्चालनको केन्द्र मात्र होइन, यो नेपालको राजनीतिक इतिहासका अनेक कठोर र रोमाञ्चक घटनाको साक्षी पनि हो । राणा शासनको निरंकुशता, राजनीतिक दमन र प्रजातन्त्रका लागि भएका संघर्षका कैयौं अध्यायहरू सिंहदरबार परिसरले देखेको छ ।
राणा शासनविरुद्धको संघर्षमा उत्रिएको नेपाली कांग्रेसका संस्थापक बीपी कोइरालालाई सिंहदरबारमै बन्दी बनाइएको थियो । कांग्रेस नेता गणेशमान सिंहलाई सिंहदरबारस्थित पुतली बगैंचामा असैह्य यातना दिइएको थियो ।
‘राणा शासनको क्रुरताको साक्षी पनि यही दरबार बन्न गएको देखिन्छ,’ ‘देखेको शासन, भोगेको प्रशासन’ पुस्तकमा लेखिएको छ, ‘विश्वेश्वरप्रसाद कोइरालालाई यहीँ बन्दी बनाइनु, गणेशमान सिंहलाई यहीको पुतली बगैंचामा यातना दिनु यसका उदाहरण हुन् ।’
प्रजातन्त्रपछि पनि नजरबन्द केन्द्र
२००७ सालको राजनीतिक परिवर्तनपछि नेपालमा प्रजातन्त्र स्थापना भए पनि सिंहदरबारको इतिहासबाट राजनीतिक बन्दी र शक्ति संघर्षको अध्याय तत्कालै समाप्त भएन । प्रजातन्त्रपछि पनि डा. केआई सिंहलाई सिंहदरबारमै नजरबन्दमा राखिएको थियो ।
ग्रीष्मबहादुर देवकोटाको ‘नेपालको राजनीतिक दर्पण, भाग १५’ को हवाला दिँदै पूर्वप्रशासक मैनालीले पुस्तकमा लेखेका छन्, ‘डा. केआई सिंह सिंहदरबारको नजरबन्दीबाट गायब भएको र २००८ साल माघ १८ गते राति १२ बजेदेखि रक्षादलले विद्रोह गरी बारुदखाना, तोपखाना, बन्दुकखाना, मुलुकीखाना कब्जा गरी तार टेलिफोन लाइन काटिदिएको र त्यसपछि दिउँसो १२ बजेसम्ममा राष्ट्रिय सेनाले विद्रोहीहरू कब्जा गरी पुनः नियन्त्रणमा लिएको सन्दर्भ उल्लेख छ ।
यस्ता अनेक रोमाञ्चक घटना, परिघटनाको प्रत्यक्ष साक्षी सिंहदरबार अहिले पनि इतिहासको पाना बनेर ठिङ्ग उभिइरहेको छ ।’
राणा शासनको उदय र पतनदेखि प्रजातन्त्रको स्थापना, १० वर्षे सशस्त्र युद्धदेखि गणतन्त्रको स्थापना, राजनीतिक बन्दी, यातना, विद्रोह र पटक–पटक फेरिएको राज्यसत्तासम्म सिंहदरबारले इतिहासका अनेक उतार–चढाव प्रत्यक्ष देखेको छ ।
आगोले थलिएको सिंहदरबार
सिंहदरबारले राजनीतिक उतारचढाव मात्र नभएर प्राकृतिक विपत्ति र विनाशका अनेक घटना पनि बेहोरेको छ । जसमध्ये पछिल्लो घटना हो– २४ भदौ २०८२ । तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारविरुद्ध २३ भदौमा सुरु भएको जेनजी आन्दोलनका क्रममा आन्दोलनकारीमाथि सरकारले व्यापक दमन गर्यो ।
आन्दोलन नियन्त्रणमा लिने नाममा सरकारले अन्धाधुन्ध गोली चलाउँदा १९ जनाको ज्यान गएपछि भोलिपल्ट आन्दोलनकारीले विभिन्न सरकारी संरचनासँगै सिंहदरबारमा समेत आगजनी गरे ।
यसअघि २५ असार २०३० मा पनि सिंहदरबारमा भीषण आगलागी भएको थियो । आगलागीबारे मैनालीले पुस्तकमा लेखेका छन्, ‘आगलागी रातिको समय करिब १० बजे भएको थियो । यो यति डरलाग्दो रूपमा फैलियो कि सिंहदरबारलाई बचाउन गरिएका हर प्रयास असफल भए । लेखक त्यस बेला विद्यार्थीको रूपमा डिल्लीबजारमा डेरा गरी बसेकाले आफ्नै आँखाले देखेका घटनाहरू सम्झँदा पनि नरमाइलो लाग्छ ।’

उनले बिहान उठेर हेर्दा सिंहदरबारको आगलागीबाट डढेका कागज र त्यसको खरानी कुपन्डोल, नक्साल, विजेश्वरीसम्म पुगेको र सुरक्षाकर्मीहरूको जोगाउने प्रयास असफल भएपछि पश्चिमतर्फको अग्रभाग बम हानेर भत्काइएको पनि पुस्तकमा उल्लेख गरेका छन् ।
‘यस भागमा दूरसञ्चारका साधनहरू र अन्य बहुमूल्य कलाहरू थिए,’ मैनालीले ‘सुनेको शासन, भोगेको प्रशासन’मा लेखेका छन्, ‘आगोको ज्वाला र धुवाँ कैयन् दिन पछिसम्म देखिएको थियो ।’
सिंहदरबारमा भएको आगलागीको छानबिनका लागि गठित समितिले विद्युत् सर्ट भएर आगो सल्किएको प्रतिवेदन दिएको बताइन्छ । आगलागीपछि तत्कालीन प्रधानमन्त्री कीर्तिनिधि विष्टले नैतिकताका आधारमा राजीनामा दिएका थिए । राजाको अनिच्छा हुँदाहुँदै विष्टकै जोडमा राजीनामा स्वीकृत भएको थियो ।
२०७२ को भूकम्पले हल्लिएको सिंहदरबार
१२ वैशाख २०७२ मा गएको विनाशकारी भूकम्प सिंहदरबारको इतिहासमा अर्को ठूलो धक्का बन्न पुगेको थियो । भूकम्पका कारण २०३० सालको आगलागीपछि बाँकी रहेको सिंहदरबारको अग्रभागसमेत चर्किएको थियो । अग्रभाग चर्किएपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई अन्यत्र सारेर सिंहदरबारको पुनर्निर्माण गरिएको थियो ।

‘२०७२ साल वैशाख १२ को भूकम्पले सिंहदरबारको बचेको यो अग्रभाग पनि चर्कियो र प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय अहिले गृह मन्त्रालय रहेको भवनमा सारियो भने रक्षा मन्त्रालय सुरक्षा परिषद् रहेको भवनमा सारियो,’ तत्कालीन गृहसचिव मैनालीले लेखेका छन्, ‘नयाँ बनाउने कि प्रबलीकरण गर्ने भन्ने विषयले निकै समय लिएपछि अहिले प्रबलीकरण गरिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलगायत साविकका कार्यालयहरू फेरि यसै भवनमा सरिसकेका छन् ।’
प्रतिक्रिया 4