+
+
Shares
विचार :

प्रकोप पूर्वसूचना प्रणालीको ऐतिहासिक यात्रा र अब लिनुपर्ने कदम

पूर्वसूचनामा अवसर समयको निर्णायक भूमिका हुन्छ। जापानको २०११ को सुनामीमा पर्याप्त अवसर समय उपलब्ध भयो। तर, सन् २०१८ को अक्टोबरमा इन्डोनेशियामा आएको सुनामीमा जम्मा ४ मिनेट मात्र अग्रिम समय भएकाले जोगिन अवसर निकै कम भयो।

दीनानाथ भण्डारी दीनानाथ भण्डारी
२०८३ साउन २६ गते १६:११

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपालमा मौसमजन्य प्रकोपबाट हुने मानवीय क्षति न्यूनीकरण गर्न जल तथा मौसम विज्ञान विभागले बाढी, पहिरो र शीतलहरसहित दर्जनौं विपद्को पूर्वसूचना दिने व्यवस्था मिलाएको छ।
  • राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले प्रभावकारी समन्वयमार्फत पूर्वसूचना प्रणालीलाई थप व्यवस्थित गर्दै जनधनको सुरक्षामा महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ।
  • विश्वभर बहुप्रकोप पूर्वसूचना प्रणाली लागू भएका देशहरूमा सो नभएका देशहरूको तुलनामा विपद्जन्य मृत्युदर छ गुणासम्म कम हुने अनुसन्धानबाट पुष्टि भएको छ।

कुनै प्रकोप आउँदैछ वा आउन सक्छ भनेर पहिले नै सम्बन्धित सबैलाई गरिने खबर पूर्वसूचना हो। पूर्वसूचनामा मुख्य तीन सन्देश हुन्छन्‌- सूचना, चेतावनी र सुझाव/निर्देशन। सूचना वा खबरमा कुन प्रकोप, कहाँबाट कसरी कहिले आउँदैछ भन्ने जानकारी हुन्छ। त्योसँगै सम्भावित प्रकोपले कहाँ, कहिले, को-कसलाई, के, कस्तो असर गर्न सक्छ भन्ने चेतावनी हुन्छ।

सम्भावित प्रकोपबाट हुनसक्ने हानिनोक्सानी कम गर्न कसले के गर्ने, कहिले गर्ने भन्ने सुझाव निर्देशन दिइएको हुन्छ। पूर्वसूचनासँगै दिइने सुझावहरूमा प्रत्याशित प्रकोपले गर्नसक्ने हानिनोक्सानीबाट जोगाएर विपद्‌ जोखिम र प्रभाव कम गर्ने लक्ष्य हुन्छ। जोखिम भएका क्षेत्रमा प्रकोप नपुग्दै समुदाय र सम्बन्धित अधिकारीहरूले बचावटको लागि आवश्यक उपाय गर्न सक्ने गरी सूचना पुग्‍नुपर्छ। त्यसैले यसलाई पूर्वसूचना भनिएको हो।

हामीले सामना गर्नुपर्ने प्रकोपहरू एउटै प्रकृतिका हुँदैनन्‌। त्यसको अर्थ हो प्रकोपबाट जोगिन अपनाउनुपर्ने उपाय पनि फरक फरक हुन्छ। भूकम्प, हुरीबतास, खडेरी र बाढीको प्रकृति र प्रभाव क्षेत्र फरक छ। भूकम्प पृथ्वीको गर्भमा विकसित हुन्छ र एक्‍कासी आउँछ। भूकम्प आउनु भन्दा अलि पहिले नै थाहा पाउन सकिने प्रविधि आइसकेको छैन। मौसमी प्रक्रिया वायुमण्डलमा विकास हुन्छ। स्थानीय अवलोकन तथा दूरसंवेदन प्रविधिको सहायताले मौसमी प्रक्रियाको अध्ययन गरी मौसमजन्य प्रकोपको खोजीनिती, निगरानी र पूर्वानुमान गर्न सकिन्छ। प्रविधिको विकासले हिजोआज मौसमजन्य प्रकोपको पूर्वानुमान गर्न सम्भव भएको छ।

सरुवा रोग, आगलागी जस्ता प्रकोपहरू कुनै एक ठाउँबाट अन्यत्र फैलिन सक्छन्। भोकमरी, सुख्खा जस्ता प्रकोपहरूको असर समय घर्कंदै जाँदा गम्भीर हुन सक्छ। भूकम्प, महामारी, अतिवृष्टि, सुख्खा जस्ता प्रकोपहरूले पहिरो, बाढी, आगलागी जस्ता अरू प्रकोप ल्याउँछन्। प्रकोपको प्रकृति र मात्रा हेरी पछिको अवस्था आकलन गर्न र पूर्वसूचना दिन सकिन्छ।

पुरानो चलनदेखि स्वचालित प्रविधिसम्म

पूर्वसूचना प्रणालीको इतिहास अध्ययन गर्दा मानिसहरूले परापूर्वकालदेखि नै विभिन्न प्रकारले पूर्वसूचना आदान-प्रदान गर्ने गरेको पाइन्छ। मानिसमा मात्र नभई अन्य धेरै पशुपक्षीमा पनि खतरा देखिएमा आफ्नो नजिककालाई सचेत बनाउने गुण हुन्छ। कतिपय पशुपक्षीको व्यवहारलाई मानिसहरूले सम्भावित जोखिम सूचकको रूपमा उपयोग गरेका पनि उदाहरण छन्‌। समुद्री किनारामा छालहरूको प्रकृति, बादल, चराचुरुङ्गी एवम्‌ जीवजन्तुहरूको चालमालबाट पाइने सङ्केतबाट मानिसहरूले मौसमी घटनाहरूको पूर्वाभास पाउँथे र त्यसै अनुसार आफ्नो दैनिकी बनाउँथे।

चेतावनीको लागि विभिन्न समुदायले ढोल, शङ्ख, घण्ट बजाएर जोखिमको चेतावनी दिने अभ्यासबाट पूर्वचेतावनीको यान्त्रीकरण शुरु भएको देखिन्छ। साइरन र विद्युतीय उपकरणहरूको उपयोग चाहिं बीसौं शताब्दीमा पहिलो र दोस्रो विश्‍वयुद्धबाट शुरु भएको कुरा टेलिग्राफियाले आफ्नो ब्लगमा उल्लेख गरेको छ।

पूर्वानुमानहरूबाट खेतीपाती तथा लेकबेंसीको बसाइँसराइ आदिको लागि मार्गदर्शन पनि हुने गर्दथ्यो। मानिसहरूले आर्जन गरेको ज्ञान र अनुभव मौखिक रूपमा साथै अभ्यासको माध्यमबाट एक समुदायबाट अर्को समुदायमा सर्दै गयो। एवम्‌ रितले पछिल्लो पुस्तामा सर्दै र थप विकसित हुँदै आयो। उदाहरणको रूपमा गङ्गा तथा ब्रह्मपुत्र नदीका सहायक नदीहरूको मार्ग क्षेत्रका मानिसहरूले कर्‍याङकुरुङ चरा उत्तर लागेपछि झालपातको बीउ रोप्ने प्रचलनलाई लिन सकिन्छ।

चेतावनीको लागि विभिन्न समुदायले ढोल, शङ्ख, घण्ट बजाएर जोखिमको चेतावनी दिने अभ्यासबाट पूर्वचेतावनीको यान्त्रीकरण शुरु भएको देखिन्छ। साइरन र विद्युतीय उपकरणहरूको उपयोग चाहिं बीसौं शताब्दीमा पहिलो र दोस्रो विश्‍वयुद्धबाट शुरु भएको कुरा टेलिग्राफियाले आफ्नो ब्लगमा उल्लेख गरेको छ।

कतिपय रैथाने ज्ञान र अभ्यासहरूमा वैज्ञानिक आधार कम र मनोसामाजिक विश्वास बढी पाइन्छन्। वैज्ञानिक खोज पड्तालबाट असत्य सावित भएर, शहरीकरण, मानिसहरूको धेरै टाढा बसाइँसराइ वा आधुनिक प्रविधिले प्रतिस्थापन गरेर हिजोआज पूर्वानुमानका पुराना प्रचलन हराउँदै गएका छन्‌। आधुनिक पूर्वसूचना प्रणालीको उद्‌विकास सुनामीको आकलन र नदीमा बाढीको चेतावनी गर्ने अभ्यासहरूबाट प्रादुर्भाव भएको पाइन्छ।

संस्थागत प्रयास

सन्‌ १९८५ को दशकमा पूर्वसूचना प्रणालीको विकास र विस्तारका लागि अन्तर्राष्ट्रिय पहलहरू भए। यी पहलहरूलाई एकत्रित गरेर अघि बढ्न पहिलो अन्तर्राष्ट्रिय पूर्वसूचना प्रणाली सम्मेलन सन्‌ १९९८ मा भएको थियो। त्यसपछि सन्‌ २००३ र २००६ मा क्रमशः दोस्रो र तेस्रो सम्मेलन भए। त्यसपछि विपद्‌ न्यूनीकरण सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन सँगसँगै पूर्वसूचना सम्बन्धी भेला, बैठक गर्ने चलन छ।

विपद् न्यूनीकरण सम्बन्धी ह्योगो कार्ययोजना (२००५-२०१५) र सेण्दाई कार्ययोजना (२०१६-२०३०) मा पूर्वसूचनालाई प्राथमिकता दिइएको छ। सेण्दाई कार्ययोजनाले निर्धारण गरेका लक्ष्यहरू मध्ये पाँचौं र सातौं लक्ष्यमा बहुप्रकोप पूर्वसूचनाको विकास स्थापना र सञ्‍चालन गर्ने क्रियाकलाप छन्। सातौं लक्ष्य पूरै पूर्वसूचनामा केन्द्रित छ। यसले पूर्वसूचना प्रणालीका चार मुख्‍य अवयवलाई आधार बनाएको छ। ती हुन्‌- (क) जोखिमको ज्ञान, (ख) प्रकोपको खोजीनिती, निगरानी, अनुगमन, विश्लेषण र पूर्वानुमान, (ग) सूचना सम्प्रेषण तथा सञ्‍चार र (घ) प्रतिकार्य। सेण्दाई योजनाको अनुगमन र मूल्याङ्कनका सूचकहरू पनि यिनै चार खण्डमा आधारित छन्‌।

जलवायु परिवर्तनको सन्दर्भमा प्रभावकारी पूर्वसूचना अपरिहार्य भएको छ। पेरिस सम्झौतामा जलवायु परिवर्तन अनुकूलन तथा मौसम सम्बन्धी सूचनामा जोखिममा रहेका जनताको पहुँचलाई प्राथमिकतामा राखिएको छ। सम्झौताको दफा ७ र ८ मा सम्झौताका पक्षहरूले पूर्वसूचनाको जानकारी, विकास, स्थापना र सञ्चालनमा आपसी सहयोग र समन्वय गर्नुपर्ने व्यवस्था छ। संयुक्त राष्ट्रसंघले सन्‌ २०२२ मा विश्वका सबै जनतालाई पूर्वसूचना सेवामा पहुँच पुर्‍याउने लक्ष्य सहितको कार्ययोजना (२०२३-२०२७) शुरु गरेको छ।

नेपालमा पूर्वसूचना प्रणालीको विकास

नेपालले पूर्वसूचना प्रणालीको स्थापना र सञ्‍चालनको लागि विगतदेखि नै पहलकदमी लिंदै आएको छ। २०४९ सालमा जल तथा ऊर्जा आयोगको सचिवालयले दोलखामा रहेको च्छो रोल्पा हिमताल फुट्न सक्ने जोखिमको अध्ययन गरेको थियो। यस अनुसन्धानकै आधारमा वि.सं. २०५४ मा जल तथा मौसम विज्ञान विभागले रोल्वालिङ र तामाकोशी नदी क्षेत्रमा च्‍छो रोल्पा हिमताल फुटेर आउने बाढीको पूर्वसूचना प्रणाली स्थापना गर्‍यो।

यस अघि योकोहामा रणनीति र कार्ययोजना (सन्‌ १९९४-२००४) अनुरूप २०५२ सालमा तयार गरिएको नेपालको विपद् व्यवस्थापन सम्बन्धी पहिलो दशवर्षे राष्ट्रिय कार्ययोजनाको मस्यौदामा प्रमुख नदीहरूमा बाढीको जोखिम अध्ययन र बाढी पूर्वानुमान तथा चेतावनी प्रणालीको स्थापना गर्ने विषयहरू समावेश गरिएका थिए। तर विभिन्न कारणले गर्दा त्यो योजना स्वीकृत हुन सकेन।

२०७६ सालमा राष्ट्रिय विपद्‌ जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको स्थापना भयो। प्राधिकरणले पूर्वसूचनाको उपयोग गरी क्षति कम गर्न समन्वय गरिरहेको छ।

वि.सं.२०५९ देखि समुदायमा आधारित बाढी पूर्वसूचना प्रणालीको सुरुआत भयो। गैरसरकारी संघसंस्थाहरूको पहलमा चितवन जिल्लाको राप्ती नदी तटीय क्षेत्रका पिप्ले र भण्डारामा समुदायमा आधारित

पूर्वसूचना प्रणालीको स्थापना गरिएको थियो। वि.सं. २०६३ देखि जल तथा मौसम विज्ञान विभागले नदीमा बाढीको जलस्तरका बारेमा तत्कालै जानकारी दिन थालेपछि संघ–संस्थाहरूको पहलमा तराईका जिल्लाका मुख्य नदी किनारका समुदायमा बाढी पूर्वसूचना प्रणाली विस्तार भयो।

पूर्वसूचना प्रणालीको विकास र विस्तार गर्नमा गैससहरू, इसिमोड तथा संयुक्त राष्ट्रसंघीय निकाय र सञ्‍चार क्षेत्रको उल्लेख्य सहयोग रहेको छ। वि.सं. २०७२ देखि जल तथा मौसम विज्ञान विभागले नेपाल टेलिकम र एनसेलसँग सहकार्य गरेर मोबाइल फोन मार्फत बाढीको पूर्वसूचना पठाउन थालेपछि पूर्वसूचनाले नयाँ उचाइ प्राप्त गर्‍यो। रेडियो, टेलिभिजन तथा अनलाइन सञ्चारमाध्यमहरूको भरपुर सहयोगमा अहिले पूर्वसूचना राष्ट्रिय चासोको विषय भएको छ।

विकास साझेदारहरूको सहयोग र सरकारी तथा गैरसरकारी क्षेत्रको पहलकदमीमा पूर्वसूचना प्रणाली विस्तार भएको छ यद्यपि पूर्वानुमानको विश्वसनीयतमा व्यापक सुधार गर्नुपर्ने छ। २०८० देखि जल तथा मौसम विज्ञान विभागले भारी वर्षा, बाढी, शीतलहर, लू, हुरीबतास लगायत करीब एक दर्जन मौसमजन्य प्रकोपको पूर्वसूचना दिन थालेको छ। यी प्रकोपको तीन दिनसम्मको विशेष पूर्वानुमान बुलेटिनहरू मार्फत पूर्वसूचना दिने गरिएको छ। विभागले देशका साना-ठूला २७२ नदी जलाधार क्षेत्रमा बाढी पहिरोको एसएमएस अलर्ट पठाउँछ।

२०७६ सालमा राष्ट्रिय विपद्‌ जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको स्थापना भयो। प्राधिकरणले पूर्वसूचनाको उपयोग गरी क्षति कम गर्न समन्वय गरिरहेको छ। अठ्ठाइस वर्ष अघि २०५४ मा रोल्वालिङ्ग उपत्यका र तामाकोशी नदी किनारामा साइरनहरू जडान गरी शुरु भएको नेपालको पूर्वसूचना प्रणाली विपद्‌ न्यूनीकरणको अभिन्न अङ्गका रूपमा स्थापित भएको छ। स्थापना र संस्थागत गर्न विकास साझेदार, गैरसरकारी संघसंस्था र सञ्‍चार क्षेत्रको योगदान यस प्रणालीको गुणस्तर सुधार र दिगो सञ्‍चालनमा पनि निरन्तर कायम रहन अपरिहार्य छ।

जनधनको सुरक्षा गर्न मिलेका सफलता

विश्वव्यापी रूपमा विगत तीन दशकमा पूर्वसूचना प्रणालीको सहायताले विपद्‌ क्षति उल्लेख्य रूपमा कम भएको छ। दूरसंवेदन तथा दूरसञ्‍चार प्रविधिको विकास र विस्तारले पूर्वसूचनाको प्रभावकारिता बढेको छ। समुद्री आँधीबाट सन्‌ १९७० को दशकमा दुई लाख भन्दा बढी मानिसको मृत्यु भएकोमा गत दशकमा भएका त्यस्ता प्रकृतिका अझ शक्तिशाली प्रकोपमा मृतकको संख्या २०० भन्दा कम हुनु ठूलो उपलब्धि हो।

विगत केही वर्षदेखि प्रकोप पूर्वानुमानको आधारमा घटना अगावै सङ्कटासन्न समुदायलाई नगद तथा सामग्री दिने अभ्यास थालिएको छ।

सन् २०१९ मा प्रकाशित विपद् न्यूनीकरण सम्बन्धी विश्वव्यापी मूल्याङ्कन प्रतिवेदनका अनुसार सन् २००५ देखि २०१५ सम्ममा विभिन्न प्रकोपबाट हुने मृत्युदर कम हुनुमा मुख्यतया आर्थिक विकास र सुदृढ विपद् व्यवस्थापनको योगदान रहेको उल्लेख छ। खासगरी पूर्वसूचना सम्भव हुने प्रकोपहरूमा मृत्युदर कम भएको छ। यस अवधिका सिकाइले तथ्याङ्क सङ्कलन र जोखिम लेखाजोखामा अझै सुधार गर्नुपर्ने सुझाएका छन्। प्रतिवेदनले पूर्वसूचना प्रणाली पूर्वनिर्धारित र बनिबनाउ नभई स्थानविशेषको परिवेश अनुरूपका विविध नमूना र अभ्यासहरू हुनसक्छन् भनेको छ। यस परिप्रेक्ष्यमा राष्ट्रसंघीय विपद् जोखिम न्यूनीकरण कार्यालयले पूर्वसूचना प्रणालीको संख्‍यामा नभई कार्यक्षमतामा केन्द्रित हुन सुझाएको छ।

जलवायुजन्य प्रकोपबाट हुने विपद्‌का घटनाको संख्या र आर्थिक क्षति बढ्दै गएको छ तापनि पूर्वसूचना तथा पूर्वतयारीको कारण मृत्युको संख्या घटाउन मद्दत पुगेको छ। राष्ट्रसंघीय विपद्‌ जोखिम न्यूनीकरण कार्यालय र विश्व मौसम सङ्गठनले प्रकाशन गरेको ‘सन्‌ २०२५ मा बहुप्रकोप पूर्वसूचना प्रणालीको विश्वव्यापी अवस्था’ सम्बन्धी प्रकाशनमा गत दशकमा विपद्‌बाट मानिसको मृत्यु हुने संख्या बढ्न रोकिएको उल्लेख छ। प्रतिवेदनले बहुप्रकोप पूर्वसूचना प्रणाली राम्रो भएका देशहरूमा सो नभएका देशहरूमा भन्दा विपद्‌जन्य मृत्युदर ६ गुणासम्म कम भएको निष्कर्ष निकालेको छ।

नवीन अभ्यास, अवसर र चुनौती

सन्‌ २००४ देखि रेडक्रसले अफ्रिकी र क्रमशः अन्य देशहरूमा राहत सहायतामा सामग्रीको सट्टा नगद दिने र सन्‌ २००७ देखि ‘अर्लि वार्निङ्ग – अर्लि एक्सन’ अवधारणामा पूर्वसूचनामा आधारित राहत कार्यक्रम सञ्‍चालन गरेको थियो। सन्‌ २०१४ मा प्रकाशित अध्ययन प्रतिवेदनहरूबाट दुवै उपायहरू सफल र प्रभावकारी भएको पाइएपछि मानवीय सहायता क्षेत्रमा पूर्वसूचनाको स्वीकार्यता बढ्यो।

पूर्वसूचनामा मानवीय सहायता संघसंस्थाहरूको के भूमिका हुन सक्छ भन्ने चासोको विषय थियो। मानवीय सहायता संस्थाहरूले विपद्‌ व्यवस्थापनमा ठूलो भूमिका निभाउँछन्‌। रेडक्रस तथा राष्ट्रसंघीय निकायहरूले परीक्षणको रूपमा लागू गरेका अभ्यासहरूबाट पूर्वानुमानको आधारमा मानवीय सहायता परिचालन गर्दा विपद्‌ प्रभाव कम हुने साथै खर्च र उपलब्धिको अनुपात १:७ सम्म हुने पाइएपछि मानवीय सहायता संस्थाहरूले पूर्वसूचनालाई प्राथमिकतामा राखेका छन्‌।

विगत केही वर्षदेखि प्रकोप पूर्वानुमानको आधारमा घटना अगावै सङ्कटासन्न समुदायलाई नगद तथा सामग्री दिने अभ्यास थालिएको छ। सरकारले औपचारिक स्वीकृति दिएको छैन तापनि संघसंस्थाले भारी वर्षा वा बाढीको पूर्वसूचनापछि जोखिम क्षेत्रका सङ्कटासन्न व्यक्ति र परिवारलाई नगद वा सामग्री दिन्छन्‌।

कुन अवस्थामा, के उद्देश्यको लागि नगद र सरसामान बाँड्ने भनेर निष्पक्ष रूपमा परिभाषित मापदण्ड छैनन्‌। पूर्वानुमान अनुसार प्रकोप घटना नभएर प्रत्याशित प्रकोपले अग्रिम सहयोग नपाएका मानिसको हानिनोक्सानी गर्दा समुदायमा द्वन्द्व बढ्न सक्छ। विगत वर्षहरूमा यस्ता केही घटना भए। हरेक पूर्वसूचनापछि केही मानिसलाई निरन्तर सहायता दिने हो भने त्यस्तो सहायताको आशामा जोखिम क्षेत्रमा जनसंख्या बढ्दै जान्छ भन्ने चिन्ता पनि व्यक्त भएका छन्‌। यी द्विविधा परीक्षण र अभ्यासबाट स्पष्ट हुँदै जाने अपेक्षा गर्न सकिन्छ।

पूर्वसूचनाको कुरा सहजै छ तर प्रभावकारी पूर्वसूचनाको लागि विभिन्न खण्डमा चुनौतीपूर्ण काम गर्नुपर्छ। पूर्वसूचना प्रणालीका अवयवहरूमा जटिल प्राविधिक, कानूनी, सामाजिक, सांस्कृतिक एवं आर्थिक विषयहरू जोडिन्छन्‌। पहिलो, हामीलाई प्रकोपको प्रकृति र त्यसबाट हुने कहाँ, के, कसरी जोखिम हुन्छ भन्ने ज्ञान हुनुपर्दछ। दोस्रो, प्रकोपको उद्‌गममा, त्यसको बाटोमा र जोखिम हुने क्षेत्र एवम्‌ समुदायमा निरन्तर निगरानी गर्नुपर्छ र अब के हुन सक्छ भन्ने भरपर्दो अनुमान लगाउन सक्नुपर्छ। तेस्रो, त्यस्तो भरपर्दो अनुमानलाई सजिलै बुझ्‍ने भाषामा छोटोछरितो सूचना बनाएर जोखिममा रहेका समुदाय साथै विपद्‌ व्यवस्थापनमा काम गर्ने अधिकारीहरूलाई पठाउनुपर्छ। र अन्त्यमा, सूचनाको उपयोग गरेर प्रकोपले क्षति पुर्‍याउनु अगावै जनधनको सुरक्षा गर्न सक्नुपर्छ।

पूर्वानुमानको विश्वसनीयता बढाउनुपर्ने गम्भीर चुनौती छ। मौसमी उतारचढावको कारणले पूर्वानुमानहरू नमिल्ने प्राविधिक सम्भावना सधैं रहिरहन्छ। कुनै पूर्वानुमान नमिले समुदाय तथा सरोकारवालाहरूले विश्वास गर्न छोड्छन्‌। विश्वास जगाइराख्‍न घनीभूत प्रयत्‍न गर्नैपर्ने हुन्छ। सञ्‍चारमा पनि चुनौती छन्‌। हिजोआज सामाजिक सञ्‍जालले सञ्‍चारलाई सहज बनाएको छ। अर्कोतर्फ, यी सञ्जालहरू अनियन्त्रित हुँदा अफवाह फैलिने जोखिम हुनाले चुनौती पनि निकै बढेको छ।

प्राकृतिक प्रकोप तथा द्वन्द्वको कारणबाट मानवीय सहायताको आवश्यकताको परिमाण बढ्दै गएको छ। परन्तु, मागको आधारमा मानवीय सहायताको राशि बढ्न सकेको छैन।

पूर्वसूचनामा अवसर समयको निर्णायक भूमिका हुन्छ। जापानको २०११ को सुनामीमा पर्याप्त अवसर समय उपलब्ध भयो। तर, सन् २०१८ को अक्टोबरमा इन्डोनेशियामा आएको सुनामीमा जम्मा ४ मिनेट मात्र अग्रिम समय भएकाले जोगिन अवसर निकै कम भयो।

प्राकृतिक प्रकोप तथा द्वन्द्वको कारणबाट मानवीय सहायताको आवश्यकताको परिमाण बढ्दै गएको छ। परन्तु, मागको आधारमा मानवीय सहायताको राशि बढ्न सकेको छैन। सन्‌ २०२५ मा करीब ४६ विलियन डलरको आवश्यकता अनुमान गरिएकोमा १० विलियन डलर मात्र उठेको अनुमान छ। यसबाट गैरसरकारी संघसंस्थाहरूको सहभागितामा प्रत्यक्ष असर पर्छ। यसको साथै पूर्वसूचना जस्ता महत्वपूर्ण क्षेत्रमा लगानी गर्न चाहिने अनुदानमा पनि परेको छ।

विपद्‌ न्यूनीकरणमा उपलब्ध हुने रकम घट्दै गएको चुनौतीका माझ जलवायु परिवर्तन अनुकूलनमा गरिने लगानीबाट पूर्वसूचनाको विकास र विस्तार गर्न सकिने अवसर देखिएको छ। इन्डोनेशिया, फिलिपिन्स, मेक्सिको, नेपाल लगायत देशहरूमा पूर्वसूचना प्रणालीलाई राष्ट्रिय अनुकूलन योजनाहरूमा समावेश गरिएको छ। रुवाण्डा लगायत केही देशहरूमा यसलाई राष्ट्रिय हरितवृद्धि एवं जलवायु उत्थानशील योजनामा संलग्न गरिएको छ। जलवायु कोषबाट पूर्वसूचना प्रणालीको लागि रकम उपलब्ध हुन सक्छ।

निष्कर्ष र आगामी बाटो

नेपालले पूर्वसूचना प्रणालीको उपयोग गर्न तदारुकता देखाएको छ। सीमित स्रोतसाधनका बावजुद सरकारले गैरसरकारी तथा सञ्‍चार सेवा प्रदायक निजी क्षेत्रसँगको सहकार्यमा पूर्वसूचना सेवालाई निरन्तरता दिएको छ। संघ–संस्थाको पहलमा एवं परीक्षणको रूपमा लागू भएका अभ्यासहरू सफल भएपछि संस्थागत गरिएको छ।

पूर्वसूचनाको उपयोग गरी बाढी, पहिरो, शीतलहर लगायत केही मौसमजन्य प्रकोपबाट जनधनको क्षति र आर्थिक प्रभाव कम गर्न सफलता मिलेको छ तापनि पूर्वानुमानको विश्वसनीयता बढाउन अझ धेरै काम गर्न बाँकी छ। मुलुकमा उच्च गुणस्तरको बहुप्रकोप पूर्वसूचना प्रणालीको आवश्यकता छ। यो आवश्यकता परिपूर्ति गर्न तत्कालै निम्‍न काम गर्न जरुरी छ-

  • संघ, प्रदेश र स्थानीय तहमा सम्बन्धित सबै सरकारी निकायको स्पष्ट जिम्मेवारी र जवाफदेहीको सिमाङ्कन सहित चुस्त तथा जिम्मेवार संस्थागत संयन्त्र।
  • प्रकोप पूर्वानुमानको विश्वसनीयतामा सुधार तथा प्रभाव केन्द्रित पूर्वसूचना।
  • प्रभावकारी सीमापार, क्षेत्रीय तथा अन्तर्राष्ट्रिय सूचना आदान–प्रदान र सहकार्य।
  • राष्ट्रिय स्तरमा एकीकृत पूर्वसूचना विधि।
  • हरेक स्थानीय तहमा प्रकोप पूर्वसूचना प्राप्ति, विश्लेषण, प्रभाव आकलन र सुझाव-निर्देशन तयार गरी सम्प्रेषण गर्न बहुविषयक संस्थागत संयन्त्र ।
  • पूर्वसूचनाका सबै खण्डमा उन्नत प्रविधिको सदुपयोग: रोबोट, भूउपग्रह, ड्रोन आधारित दूरसंवेदन प्रविधि, स्वचालित स्थानीय अलर्टिङ्ग प्रणाली, लोरा, उच्च क्षमताको कम्प्युटर प्रविधि, कृत्रिम बुद्धिमत्ता (एआई), इन्टरनेट प्रविधि सञ्जाल, मेशिन लर्निङ्ग, मोबाइल फोन प्रसारण र दक्ष प्रतिबद्ध जनशक्ति।
  • जनचेतना अभिवृद्धि, समुदायमा आधारित पूर्वतयारी, जोखिम संवेदी शिक्षा एवं संस्कृतिको विकास।
  • सशक्त अनुगमन तथा प्रभावकारिता मूल्याङ्कन र समयानुकूल सुधार गर्ने प्रणाली।

(भण्डारी विगत दुई दशकभन्दा बढी समयदेखि नेपालमा पूर्वसूचना प्रणालीको विकास, अनुसन्धान तथा नीतिगत सुधारको क्षेत्रमा कार्यरत छन्‌।)

लेखक
दीनानाथ भण्डारी

भण्डारी समुदाय केन्द्रित जलवायु परिवर्तन अनुकूलन, बाढी पहिरोको लागि पूर्वसूचना प्रणालीको विकास र विपद्‌ जोखिम न्यूनीकरण सम्बन्धी अनुसन्धानमा सक्रिय छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?