News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली कांग्रेसका महामन्त्री गुरुराज घिमिरेले पार्टीभित्रको एक पक्षले पूर्वसभापति शेरबहादुर देउवाको नाम र व्यक्तित्वलाई दुरुपयोग गरी पार्टीलाई कमजोर बनाउने खेल खेलिरहेको आरोप लगाएका छन् ।
- महामन्त्री घिमिरेले देउवालाई मोहरा बनाएर पार्टीलाई भताभुङ्ग पार्ने प्रयत्न भइरहेको बताउँदै त्यस्ता गतिविधिप्रति सतर्क रहन केन्द्रीय कार्यसमितिमा आग्रह गरेका छन् ।
- पार्टीको महाधिवेशन र आन्तरिक सुदृढीकरणका विषयमा धारणा राख्दै उनले कांग्रेस अब नयाँ नेतृत्व र ऊर्जासहित पुनर्गठनको दिशामा अघि बढेको उल्लेख गरेका छन् ।
२७ साउन, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गुरुराज घिमिरेले पार्टीभित्रको एक पक्षले पूर्वसभापति शेरबहादुर देउवाको नाम र व्यक्तित्वलाई दुरुपयोग गरी पार्टीलाई कमजोर बनाउने खेल खेलिरहेको आरोप लगाएका छन् ।
नेपाली कांग्रेस केन्द्रिय कार्यसमितिको जारी बैठकमा बोल्दै महामन्त्री घिमिरेले देउवाको लामो राजनीतिक योगदानको सम्मान गर्नुपर्नेमा जोड दिँदै अर्को पक्षले उनको नाममा आफ्नो राजनीतिक अस्तित्व स्थापित गर्न खोज्नु गलत भएको बताएका हुन् ।
उपचारका क्रममा विदेशमा रहनुभएका देउवाको स्वास्थ्यलाभको कामना गर्दै घिमिरेले उनलाई केन्द्रमा राखेर भइरहेका गुटगत भेला र गतिविधिप्रति आपत्ति जनाए ।
घिमिरेले विगतमा देउवाकै नेतृत्वमा विभिन्न राजकीय र पार्टीगत जिम्मेवारी सम्हालेका नेताहरूले अहिले आफ्नै सामर्थ्यमा कार्यक्रम गर्न नसकेर देउवाको ‘ब्यानर’ खोज्नुलाई राजनीतिक कमजोरीको संज्ञा दिए ।
बैठकमा नेता घिमिरेले पार्टीको महाधिवेशन र आन्तरिक सुदृढीकरणको विषयमा समेत धारणा पनि राखे । ४८ दिनसम्म केन्द्रीय समितिको बैठक बस्दा पनि नियमित महाधिवेशनको तयारी हुन नसक्नु दुखद भएको उनको तर्क छ ।
‘तपाईंलाई गोटी बनाएर, तपाईंको काँधमा बन्दुक राखेर र तपाईंको चरम दुरुपयोग गरेर नेपाली कांग्रेसलाई भताभुङ्ग पार्ने प्रयत्न भइरहेको छ,’ उनले भने, ‘यसप्रति म सतर्क रहन केन्द्रीय कार्यसमितिमा विनम्रतापूर्वक आग्रह गर्न चाहन्छु । जब आफ्नो केही गर्ने सामर्थ्य र तागत छैन, तब शेरबहादुर दाइलाई मोहरा बनाएर के गर्न खोजिँदैछ ?’
पार्टीभित्रको विवाद र निर्वाचन आयोगको प्रक्रियाका बारेमा स्पष्ट पार्दै घिमिरेले आयोगले दुवै पक्षसँग पर्याप्त छलफल गरेको दाबी गरे ।
सर्वोच्च अदालतमा विचाराधीन मुद्दाका सन्दर्भमा उनले भने, ‘निर्वाचन आयोगले दुवै पक्षसँग लगातार छलफल गरेको अडियो र भिडियो रेकर्ड सुरक्षित छ । सुनुवाइको मौका नपाएको भन्ने आधारमा पुनरावलोकनको अनुमति दिनु तथ्यसँग मेल खाँदैन ।’
पार्टी सभापति गगन थापा र उपसभापति विश्वप्रकाश शर्माको बचाउ गर्दै घिमिरेले उहाँहरूले पार्टी र देशको समसामयिक विषयमा स्पष्ट धारणा राख्दै आएको उल्लेख गरे ।
कांग्रेस अब नयाँ नेतृत्व र ऊर्जासहित पुनर्गठनको दिशामा अघि बढेको बताउँदै घिमिरेले पार्टीलाई आधारभूत तहदेखि नै सुदृढ बनाइने दृढता व्यक्त गरे ।
प्रतिक्रिया 4