+
+
Shares

समाजका सकारात्मक परिवर्तन र नयाँ नेतृत्व पहिचान गर्नु मिडियाको जिम्मेवारी हो : अध्यक्ष भुसाल

फरक तरिकाले सोच्ने हिम्मत गर्ने, संघर्षलाई आफ्नो साधना ठान्ने र सोचलाई सफलतामा बदल्ने धैर्य राख्ने नेपालको भविष्यका सम्भावनाहरूलाई एकै फ्रेममा राख्ने प्रयास अनलाइनखबरले गरेको अनलाइनखबरका अध्यक्ष धर्मराज भुसालले बताए ।

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन २७ गते १९:०४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अनलाइनखबरका अध्यक्ष धर्मराज भुसालले मिडियाको भूमिका सूचना प्रवाह मात्र नभएर समाजका सकारात्मक परिवर्तन र नयाँ नेतृत्वको पहिचान गर्ने पनि भएको बताए।
  • राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा अध्यक्ष भुसालले ४० मुनिका ४० युवाको सूची सार्वजनिक गर्दै यो अभियान निरन्तर रहने प्रतिबद्धता व्यक्त गरे।
  • उहाँले चुनौतीका बाबजुद नयाँ नेपाल निर्माणमा जुटिरहेका विभिन्न क्षेत्रका युवाहरूको योगदानलाई सम्मान गर्दै यो सूची सामाजिक उत्तरदायित्वका रूपमा ल्याइएको उल्लेख गरे।

२७ साउन, ललितपुर । अनलाइनखबरका अध्यक्ष धर्मराज भुसालले मिडियाको जिम्मेवारी समाचार लेख्ने र सूचना दिनेमा मात्र सीमित हुन नहुने बताएका छन् । उनले समाजमा भइरहेका सकारात्मक परिवर्तनलाई पहिचान गर्नु र नयाँ नेतृत्वलाई सार्वजनिक बहसमा ल्याउने काम पनि मिडियाको भएको उल्लेख गरे ।

अनलाइनखबर ४० मुनिका ४० युवाहरूको सूची सार्वजनिक कार्यक्रममा स्वागत मन्तव्य राख्ने क्रममा उनले मिडियाको त्यही दायित्व अनलाइनखबरले पूरा गरिरहेको उल्लेख गरे ।

‘अनलाइनखबरका लागि यो कार्यक्रम केवल एउटा वार्षिक सूची हैन । मिडियाको जिम्मेवारी केवल समाचार लेख्ने र सूचना दिनेमा मात्र सीमित हुँदैन । समाजमा भइरहेका सकारात्मक परिवर्तनलाई पहिचान गर्नु, नयाँ नेतृत्वलाई सार्वजनिक बहसमा ल्याउनु र उनीहरुको यात्रालाई दस्तावेज गर्नु पनि हाम्रो जिम्मेवारी हो’ राष्ट्रपति रामचन्द्र पौडेल प्रमुख अतिथि रहेको कार्यक्रममा उनले भने,’हामीले सम्मान गरेका यी ४० जना युवाहरुले आजको नेपाल मात्र हैन, भोलिको सम्भावनाको पनि प्रतिनिधित्व गर्नुहुन्छ ।’

फरक तरिकाले सोच्ने हिम्मत गर्ने, संघर्षलाई आफ्नो साधना ठान्ने र सोचलाई सफलतामा बदल्ने धैर्य राख्ने नेपालको भविष्यका सम्भावनाहरूलाई एकै फ्रेममा राख्ने प्रयास अनलाइनखबरले गरेको उनले बताए ।

‘चालीस मुनिका चालीसभित्र एउटा उमेरको सीमा छ– चालीस वर्ष । तर यसको उद्देश्य उमेर गन्नु मात्र हैन । यसको उद्देश्य त्यो उमेरभित्र आफ्नो क्षेत्रमा केही फरक गर्ने, नयाँ सोच ल्याउने, जोखिम उठाउने, अवसर सिर्जना गर्ने र समाजमा प्रभाव पार्ने मानिसहरुलाई पहिचान गर्नु हो’ उनले भने ।

हरेक दशकमा हुने ठूला राजनीतिक परिवर्तनका अगाडि बेराजगारी, युवाको विदेश पलायन, आर्थिक संकट र अवसरको असमानता रहेको उनले उल्लेख गरे ।

‘परिवर्तनका लागि रगत बगाएका युवाहरु हातमा पासपोर्ट बोकेर पसिना बगाउन लामबद्ध छन् । तर, यी चुनौतीहरू बीच अर्को नेपाल पनि निर्माण भइरहेको छ’ उनले भने, ‘त्यो नेपाल निर्माण गरिरहेका छन्– नयाँ उद्यमीहरूले, प्रविधिमा काम गरिरहेका युवाहरुले, कलाकारले, खेलाडीहरुले, अनुसन्धानकर्ताले, सामाजिक अभियन्ताहरूले र संसारका विभिन्न कुनामा पुगेर आफ्नो क्षमता प्रमाणित गरिरहेका नेपालीहरूले ।’

४० जना युवाहरुले आजको नेपाल मात्र हैन, भोलिको सम्भावनाको पनि प्रतिनिधित्व गर्ने उनले बताए । उनले ४० जनाको सूची तयार पार्न अनलाइनखबरको टीमले झण्डै चार महिनासम्म अथक् मिहिनेत गरेको पनि जानकारी दिए ।

‘आवेदन र सिफारिस मार्फत प्राप्त सयौं नामबाट ४० जना छान्न हामीले समाचार कक्षका सहकर्मी, विभिन्न सरोकारवाला तथा स्रोतहरूको सहयोग लिएका छौं । प्रदेश, जिल्ला, पालिका तथा प्रवाससम्मका सहकर्मी र शुभेच्छुकहरूसँग हामीले सहकार्य गरेका छौं’ अध्यक्ष भुसालले भने ।

उनले यस्तो सूची हरेक वर्ष ल्याउने अनलाइनखबरले यो अभियानलाई व्यावसायिक भन्दा पनि आफ्नो सामाजिक उत्तरदायित्वको रुपमा निरन्तरता दिने प्रतिबद्धता जनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?