+
+
Shares

देउवालाई बाजागाजा र झाँकीसहित स्वागत गरिने

नेपाली कांग्रेसको संस्थापन इतर समूहले पूर्वसभापति शेरबहादुर देउवालाई बाजागाजा र सांस्कृतिक झाँकीसहित स्वागतको तयारी गरेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन २७ गते १७:३८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा छ महिनाको उपचारपछि बिहीबार दिउँसो साढे १२ बजे स्वदेश फर्किँदैछन् ।
  • कांग्रेसको संस्थापन इतर समूहले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बाजागाजा र सांस्कृतिक झाँकीसहित पूर्वसभापति देउवालाई भव्य स्वागत गर्ने तयारी गरेको छ ।
  • देउवा शुक्रबार सुकेधारामा आयोजना हुने इतर समूहको तीनदिने राष्ट्रिय भेलामा सहभागी हुनुहुनेछ जसमा पाँच हजार नेता–कार्यकर्ताको उपस्थिति रहने अनुमान गरिएको छ ।

२७ साउन, काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर समूहले पूर्वसभापति शेरबहादुर देउवालाई बाजागाजा र सांस्कृतिक झाँकीसहित स्वागतको तयारी गरेको छ ।

झण्डै ६ महिनापछि बिहीबार स्वदेश फर्किन लागेको देउवालाई इतर समूहले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बाजागाजा र सांस्कृतिक झाँकीसहित स्वागत गर्न लागिएको हो ।

इतर समूहले राष्ट्रिय भेलाका लागि गठन गरेको सांस्कृतिक समिति संयोजक विद्या तिमिल्सिनाले पूर्वसभापति देउवाको स्वागतका लागि बाजागाजासहित सांस्कृतिक झाँकी निकालिने जानकारी दिइन् ।

कांग्रेस नेता डा. प्रकाशशरण महतकाअनुसार पूर्वप्रधानमन्त्रीसमेत रहेका देउवा बिहीबार मध्यान्ह साढे १२ बजे काठमाडौं अवतरण हुने छन् । उनी थाई एयरबाट स्वदेश फर्किन लागेका हुन् ।

जेनजी आन्दोलनका क्रममा भएको सांघातिक आक्रमणमा परी घाइते भएका पूर्वसभापति देउवा १३ फागुनको राति सिंगापुर एयरलाइन्सको उडानबाट सिंगापुर गएका थिए । उनी ७ चैत २०८२ मा सिंगापुरबाट थप उपचारका लागि भन्दै हङकङ पुगेका थिए ।

स्वदेश फर्किएपछि देउवा शुक्रबार सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा आयोजना हुने इतर समूहको राष्ट्रिय भेलामा सहभागी हुने छन् । इतर समूहको प्रचार–प्रसार समिति संयोजक मीन विश्वकर्माले भेलाको उद्घाटन समारोह शुक्रबार दिउँसो १ बजे सुरु हुने पनि बताएका छन् ।

तीन दिनसम्मे चल्ने भनिएको राष्ट्रिय भेलामा पाँच हजार नेता–कार्यकर्ताहरूको उपस्थिति हुने अनुमान इतर समूहले गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?