News Summary
Generated by OK AI. Editorially reviewed.- झापाको कनकाई नगरपालिकाका थप १३ जना भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई जिल्ला भूमि समस्या समाधान समितिले जग्गाधनी पुर्जा वितरण गरेको छ।
- कनकाई नगरपालिकामा हालसम्म कुल २५८ जनाले जग्गाधनी पुर्जा प्राप्त गरिसकेको भूमि प्रशासन शाखा प्रमुख बद्रीकुमार दाहालले जानकारी दिए।
- जिल्लाभर पुर्जा वितरणका लागि लगत संकलन तथा वितरण प्रक्रियालाई तीव्रता दिइएको प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले बताए।
२८ साउन, झापा । कनकाई नगरपालिका ३ र ६ का थप १३ जनालाई जग्गाधनी पुर्जा वितरण गरिएको छ ।
जिल्ला भूमि समस्या समाधान समितिले उहाँलाई जग्गाधनी पुर्जा वितरण गरेको हो । जग्गाधनी पुर्जा प्राप्त गर्नेमा भूमिहीन दलित एक, भूमिहीन सुकुमवासी पाँच र अव्यवस्थित बसोबासी सात जना रहेका छन् ।
यसअघि यही ८ साउनमा समितिले कनकाईका पाँच जनालाई जग्गाधनी पुर्जा वितरण गरेको थियो । नगरपालिकाको भूमि प्रशासन शाखाका अनुसार गत वर्ष असारमा १५७ जनालाई धनीपुर्जा वितरण गरिएको थियो ।
तत्कालीन भूमि आयोगले आर्थिक वर्ष २०७९/८० देखि लगत संकलनको काम सुरु गरेकोमा यस नगरपालिकामा हालसम्म २५८ जनालाई जग्गाधनी पुर्जा वितरण गरिसकिएको भूमि प्रशासन शाखा प्रमुख बद्रीकुमार दाहालले जानकारी दिए ।
उनका अनुसार लगत संकलनका क्रममा नगरपालिकामा भूमिहीन दलित ३७५, भूमिहीन सुकुमवासी दुई हजार २४४ र अव्यवस्थित बसोबासी चार हजार ५८८ जनाको विवरण संकलन गरिएको छ ।
नगरप्रमुख राजेन्द्रकुमार पोखरेलले बाँकी रहेका लाभग्राहीलाई पनि क्रमशः जग्गाधनी पुर्जा वितरण गर्दै जाने बताए ।
जिल्ला भूमि समस्या समाधान समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले जिल्लाभरि जग्गाधनी पुर्जा वितरणका लागि लगत संकलन तथा वितरण प्रक्रियालाई तीव्रता दिइएको बताए ।
समितिका सदस्य सचिव तथा जिल्ला नापी कार्यालय, भद्रपुरका प्रमुख शिवप्रसाद लम्सालका अनुसार यसै महिना जिल्लाको अर्जुनधारा नगरपालिका र बुद्धशान्ति गाउँपालिकामा पनि पुर्जा वितरण सुरु भएको छ ।
बुद्धशान्तिमा आगामी हप्ता थप जग्गाधनी पुर्जा वितरण गर्ने तयारी भइरहेको उनले जानकारी दिए ।
प्रतिक्रिया 4