+

एस्टन भिल्लालाई हराउँदै पीएसजीले रक्षा गर्‍यो यूईएफए सुपर कपको उपाधि

२०८३ साउन  २८ गते १२:०७ २०८३ साउन २८ गते १२:०७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • पेरिस सेन्ट जर्मेन (पीएसजी) ले एस्टन भिल्लालाई २–१ गोल अन्तरले पराजित गर्दै लगातार दोस्रो पटक यूईएफए सुपर कपको उपाधि जितेको छ।
  • खेलको २०औं मिनेटमा ख्भिचा भरात्स्खेलियाले गोल गर्दै पीएसजीलाई अग्रता दिलाएका थिए भने ६२औं मिनेटमा डिजाएर डुएले निर्णायक गोल गरे।
  • भिल्लाका १७ वर्षीय खेलाडी ब्रायन माडजोले गोल गर्दै सुपर कपको इतिहासमा गोल गर्ने सबैभन्दा कम उमेरका खेलाडीको कीर्तिमान कायम गरेका छन्।

२८ साउन, काठमाडौं । फ्रेन्च च्याम्पियन पेरिस सेन्ट जर्मेन (पीएसजी) ले एस्टन भिल्लालाई पराजित गर्दै यूईएफए सुपर कपको उपाधि रक्षा गरेको छ ।

अस्ट्रियाको साल्जबर्गस्थित रेड बुल एरिनामा बिहीबार राति भएको खेलमा पीएसजीले भिल्लामाथि २–१ को जित निकाल्यो । च्याम्पियन्स लिग विजेता पीएसजीका लागि ख्भिचा भरात्स्खेलियाले २०औं मिनेटमा गोल गर्दै सुरुआती अग्रता दिलाएका थिए ।

भिल्लाका १७ वर्षीय ब्रायन माडजोले पहिलो हाफको अन्तिम मिनेटमा बराबरी गोल फर्काए । जोन म्याकगिनको क्रसमा भलीमार्फत गोल गर्दै माडजोले सुपर कपमा गोल गर्ने सबैभन्दा कम उमेरका खेलाडीको कीर्तिमान बनाए ।

तर ६२औं मिनेटमा डिजाएर डुएले गोल गर्दै पीएसजीलाई पुनः अग्रता दिलाए । उनको गोललाई अफसाइडको आशंकामा भीएआरबाट जाँच गरिएको थियो । जाँचपछि गोलले मान्यता पाएसँगै पीएसजीले अग्रता जोगाउँदै उपाधि हात पार्‍यो ।

भिल्लाका लागि माडजोले उत्कृष्ट प्रदर्शन गरे पनि उनको गोल टोलीलाई उपाधि दिलाउन पर्याप्त भएन । खेलमा भिल्लाले केही राम्रा अवसर सिर्जना गरे पनि पीएसजीका गोलरक्षक माट्भे साफोनोभले केही उत्कृष्ट बचाउ गरे ।

भिल्लाले गत मेमा युरोपा लिगको उपाधि जितेपछि सुपर कपमा स्थान बनाएको थियो भने पीएसजीले गत सिजन च्याम्पियन्स लिग जित्दै प्रतियोगितामा स्थान बनाएको थियो ।

पीएसजीले गत वर्ष टोटनह्यामलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै पहिलो पटक सुपर कप जितेको थियो । यससँगै फ्रान्सेली क्लबले उपाधि लगातार दोस्रो वर्ष आफ्नो नाममा राखेको छ ।

एस्टन भिल्ला पीएसजी यूईएफए सुपर कप
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय