News Summary
Generated by OK AI. Editorially reviewed.- हलिउडका कलाकार जेन्डाया र टम हल्यान्डले यस वर्ष विश्वव्यापी बक्स अफिसमा आफ्नो अभिनय रहेको फिल्ममार्फत ऐतिहासिक दबदबा कायम गरेका छन् ।
- ‘स्पाइडर-म्यानः ब्रान्ड न्यू डे’ ले विश्वभर ९२७ मिलियन डलरको ओपनिङ गर्दै बक्स अफिस इतिहासकै दोस्रो ठूलो ओपनिङ सप्ताहन्तको कीर्तिमान कायम गरेको छ ।
- यी दुई कलाकारले अभिनय गरेका फिल्महरूको वर्षको कुल कमाइ १.८ अर्ब डलरभन्दा माथि पुगेको छ र उनीहरूले आफ्नो व्यावसायिक सफलतालाई थप उचाइमा पुर्याएका छन् ।
हलिउडमा शक्तिशाली जोडी धेरै छन्, तर यस गर्मी याममा जेन्डाया र टम हल्यान्डले एकैसाथ विश्वव्यापी बक्स अफिसमा कायम गरेको दबदबा फरक देखिएको छ । हलिउडमा दुई कलाकारले एकै समयमा विश्वव्यापी बक्स अफिसमा यसरी प्रभुत्व जमाएको विरलै देखिन्छ ।
टम हल्यान्ड र जेन्डाया अभिनीत ‘स्पाइडर-म्यानः ब्रान्ड न्यूडे’ले उत्तर अमेरिकामा ३५५ मिलियन डलर र विश्वभर ९२७ मिलियन डलरको ओपनिङ गरेको छ । यो ‘एभेन्जर्सः एन्डगेम’ पछि बक्स अफिस इतिहासकै दोस्रो ठूलो विश्वव्यापी ओपनिङ सप्ताहन्त हो ।
अगस्टको बाँकी अवधिमा ठूलो प्रतिस्पर्धी फिल्म नभएकाले ‘स्पाइडर-म्यानः ब्रान्ड न्यु डे’ले प्रदर्शनको पहिलो साताभित्रै विश्वव्यापी कमाइ १ अर्ब डलर पार गर्ने अपेक्षा गरिएको छ । यसको सफलतासँगै क्रिस्टोफर नोलनको ‘द ओडिसी’ले पनि प्रदर्शनको तीन सप्ताहन्तमा विश्वभर ९११ मिलियन डलर कमाएको छ। यस फिल्ममा पनि हल्यान्ड र जेन्डायाले अभिनय गरेका छन् ।
यी दुई फिल्मले उत्तर अमेरिकामा संयुक्त रूपमा करिब ४३० मिलियन डलर कमाउँदै अहिलेसम्मकै सबैभन्दा ठूलो घरेलु बक्स अफिस सप्ताहन्त बनाउन योगदान गरेका छन् । जेन्डायाका लागि यी आँकडाले बलियो वर्षलाई थप उल्लेखनीय बनाएका छन् । ‘द ड्रामा’, ‘द ओडिसी’ र ‘स्पाइडर-म्यानः ब्रान्ड न्यु डे’ गरी उनका फिल्मले विश्वभर करिब २ अर्ब डलर कमाएका छन् ।

जेन्डायाको सन् २०२६ अझै सकिएको छैन । ‘ड्यून पार्ट थ्री’ डिसेम्बरमा प्रदर्शन हुँदैछ । यससँगै उनले यही वर्ष अर्को फ्रेन्चाइजको समापन देख्नेछिन् । ‘युफोरिया’ यस वर्षको पहिलो फ्रेन्चाइज समापन थियो ।
यदि ‘ड्युनःपार्ट थ्री’ले यसअघिका ‘ड्युनः पार्ट वन’को ४१० मिलियन डलर र ‘ड्युनः पार्ट टू’को विश्वव्यापी ७१४ मिलियन डलरको कमाइअनुरूप प्रदर्शन गरेमा जेन्डाया अभिनेत्रीका लागि एकै वर्षमा सर्वाधिक विश्वव्यापी बक्स अफिस कमाइको ब्री लार्सनको सन् २०१९ को कीर्तिमान नजिक पुग्नेछिन् ।
लार्सनले सन् २०१९ मा ‘क्याप्टेन मार्भल’ र ‘एभेन्जर्सः एन्डगेम’मा अभिनय गरेकी थिइन् ।
‘द ओडिसी’मा जेन्डायासँगै अभिनय गरेका बेनी सफ्डी ‘द सुपर मारियो ग्यालेक्सी मुभी’ र ‘द ओडिसी’मा सहायक भूमिकाका कारण यस वर्षको बक्स अफिस प्रतिफलमा शीर्ष स्थानमा छन्, तर जेन्डाया र हल्यान्ड पनि उनीभन्दा धेरै पछाडि छैनन् ।
हल्यान्डले ‘द ओडिसी’ ‘स्पाइडर–म्यानः ब्रान्ड न्यु डे’मार्फत यस वर्ष विश्वव्यापी रूपमा संयुक्त करिब १.८ अर्ब डलरको कमाइ पार गरेका छन् ।
उनी आगामी ‘एभेन्जर्सः डुम्सडे’मा पनि देखिन सक्छन् । पछिल्लो ‘एभेन्जर्स’ फिल्मले अझै विभिन्न आर्थिक कीर्तिमान कायम राखेकाले हल्यान्ड उक्त फिल्ममा देखिए वर्षको अन्त्यअघि उनको बक्स अफिस कमाइ नयाँ उचाइमा पुग्न सक्छ ।
हल्यान्ड र जेन्डायाले करिब एक दशकअघि पहिलोपटक ‘स्पाइडर–म्यानः होमकमिङ’मा सँगै काम गरेका थिए । त्यसयता दुवै फ्रेन्चाइज स्टारबाट फरक किसिमका दर्शकलाई हलसम्म तान्न सक्ने प्रमुख कलाकारका रूपमा विकसित भएका छन् ।

हल्यान्डले यसै वर्ष आफूहरू विवाहित भएको पनि पुष्टि गरेका थिए ।
नोलनको ‘द ओडिसी’ आईम्याक्सका लागि छायांकन गरिएको प्रतिष्ठित ब्लकबस्टर रूपान्तरण हो, जसले सामान्य सुपरहिरो फिल्मका दर्शकभन्दा बाहिरका दर्शकलाई पनि आकर्षित गरेको छ ।
‘स्पाइडर–म्यानः ब्रान्ड न्यु डे’ले भने ‘स्पाइडर–म्यानः नो वे होम’का घटनापछि पिटर पार्करलाई पुनः व्यक्तिगत कथातर्फ फर्काएको छ । फिल्मले सुपरहिरो दृश्यसँगै एक्लोपन र आफ्नो पहिचान त्याग्नुपरेको विषयलाई केन्द्रमा राखेको छ ।
फिल्मले समीक्षकबाट ‘रटन टोमेटोज’मा ९० प्रतिशत स्कोर पाएको छ ।दर्शकले यसलाई ‘सिनेमास्कोर’मा ‘ए’ र ‘रटन टोमेटोज’मा ९८ प्रतिशत दर्शक रेटिङ दिएका छन् । अन्तर्राष्ट्रिय बजारमा ‘स्पाइडर–म्यानः ब्रान्ड न्यु डे’ जेन्डाया र टम हल्यान्डको अहिलेसम्मकै सबैभन्दा सफल फिल्म बनेको छ । फिल्मले सबै प्रमुख बजारमा बलियो प्रदर्शन गरेको छ ।
उत्तर अमेरिकाबाहिर चीनले १२१ मिलियन डलरसहित नेतृत्व गरेको छ । बेलायत, मेक्सिको, दक्षिण कोरिया र भारतमा पनि फिल्मले फ्रेन्चाइजकै उत्कृष्ट वा कीर्तिमान नजिकको ओपनिङ गरेको छ । ‘स्पाइडर–म्यानः ब्रान्ड न्यू डे’को अन्त्यमा स्पाइडर–म्यान पुनः फर्किने सुनिश्चित गरिएको छ । तर उनी आगामी ‘एभेन्जर्सः डुम्सडे’मै फर्किने हुन् वा होइनन् भन्ने पुष्टि भएको छैन ।
‘एभेन्जर्स डुम्सडे’ र ‘डयून पार्ट ३’ एउटै दिन प्रदर्शन हुँदैछन् ।
‘ड्युन पार्ट थ्री’मा टिमोथी चालामेट र जेन्डायासहित थुप्रै चर्चित कलाकारले अभिनय गरेका छन् । जेन्डायाको लामो समयदेखि ढिलाइ भएको ‘श्रेक ५’ पनि सन् २०२७ मा आउँदैछ । जेन्डायाले ‘इन्टरटेनमेन्ट टुनाइट’सँग आफ्ना हालका परियोजना र तिनको प्रचार अभियान सकिएपछि आफू ‘केही समयका लागि हराउने योजना रहेको बताएकी छन् ।
प्रतिक्रिया 4