+
+
Shares

दल दर्ता गर्नुअघि नै फुटे दुर्गा र धवल

एउटा पक्ष दल दर्ता गर्न जाँदै, अर्कोको छुट्टै भेला

दुई पक्ष मिलेर निर्वाचन आयोगमा दल दर्ता गर्न सहमति नजुटेपछि छुट्टै पार्टी छिट्टै गठन गर्ने अभियन्ता प्रसाईंले जानकारी गराएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन २९ गते १२:००

News Summary

Generated by OK AI. Editorially reviewed.
  • डा. धवलशमशेर राणा र अभियन्ता दुर्गा प्रसाईंबीचको राजनीतिक सहकार्य दल दर्ता नहुँदै भंग भएको छ ।
  • राणा पक्ष आजै दल दर्ताका लागि निर्वाचन आयोग जाने तयारीमा छ भने प्रसाईं पक्षले छुट्टै कार्यक्रम आयोजना गरेको छ ।
  • पार्टी नेतृत्वमा अधिकार बाँडफाँट र दर्ताको समयसीमाबारे कुरा नमिलेपछि दुवै पक्ष अलग भएका हुन् ।

२९ साउन, काठमाडौं । डा. धवलशमशेर राणा र अभियन्ता दुर्गा प्रसाईं पक्षबीच कुरा नमिलेपछि निर्वाचन आयोगमा दल दर्ता नहुँदै छुट्टिएका छन् ।

दुई पक्षले जय नेपाल पार्टी गठन गर्ने सहमति गरेको थियो । सभापति राणा र सर्वोच्च नेतामा प्रसाईं हुनेगरी बनेको सहमति दल दर्ता नहुँदै भंग भएको छ ।

राणा पक्ष आज दल दर्ताका लागि निर्वाचन आयोग जान लागेको छ भने प्रसाईंले छुट्टै कार्यक्रम राखेर आफ्नो धारणा राख्दैछन् । कलंकीस्थित शिखर पार्टी प्यालेसमा कार्यक्रम राखिएको प्रसाईं निकट माधव कल्पितले जानकारी गराए ।

भदौ ५ गते पार्टी दर्ता गर्ने राम्रो साइत भएकोले त्यसबेलासम्म प्रतिक्षा गर्न राणा पक्ष तयार नभएको कल्पितले अनलाइनखबरसँग बताए ।

‘हाम्रो ध्यान गरिब निमुखा जनता बचाऔं न भन्ने हो । लघुवित्त, बैंक पीडितहरू खाली खुट्टा काठमाडौं आइरहेका छन् । उनीहरूलाई पर्खौं न भनेको मान्नुभएन,’ कल्पितले भने, ‘आफैंले  नेता बनाएर दल दर्ता गर्ने काममा लाग्नुभयो । हाम्रो ध्यान नागरिक बचाउन छ ।’

दुई पक्ष मिलेर निर्वाचन आयोगमा दल दर्ता गर्न सहमति नजुटेपछि छुट्टै पार्टी छिट्टै गठन गर्ने अभियन्ता दुर्गा प्रसाईंले जानकारी गराएका छन् ।

गरिबीको रेखामुनि रहेका सर्वहारा वर्ग, भुइँमान्छे, उत्पीडित वर्ग, भूमिहीन सुकुमवासी तथा लघुवित्त, सहकारी, बैंक र मिटरब्याजीहरूको चर्को चक्रवर्ती ब्याजमा परी घरबार गुमाएर सडकका पेटी र खोला किनारमा अव्यवस्थित बसोबास गर्न बाध्य नागरिकहरूको जीवनस्तर जहीँको त्यहीँ रहेको प्रसाईंले सामाजिक सञ्जलामा लेखेका छन् ।

‘त्यसैले कुनै पनि पार्टी ती नागरिकहरूको वास्तविक पार्टी बन्न सकेन,’ प्रसाईं भन्छन्, ‘अब बन्ने हाम्रो पार्टी सबै नेपाली नागरिकहरूको, सबै जातजाति र सबै धर्मको साझा पार्टी बन्नेछ । वैदिक सनातनी हिन्दु अधिराज्यसहितको यो पार्टी देशका पीडित, शोषित, उत्पीडित तथा आम नागरिकको हक, अधिकार र न्यायका लागि समर्पित हुनेछ ।’

नयाँ पार्टीको विधान बनाउन संयोजक तोकिएका कल्पितले दुई दिन अघि विज्ञप्ति निकालेर निर्वाचन आयोगमा दल दर्ता गरिने बताएका थिए ।

राणा पक्षका एक नेताले भने, ‘निर्वाचनको बेला उम्मेदवारमा हस्ताक्षर गर्न पाउनुपर्ने माग उहाँले राख्नुभयो । सभापतिको अधिकार सबै लिन खोजेपछि सहमति जुट्न सकेन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?