+
+
Shares

रासायनिक मलको खोजीमा धनकुटाका किसान, मागको ४० प्रतिशत मात्रै आपूर्ति

मल किन्न किसानको लाइन छ । हेलो सरकारमा स्थानीय तहले तोकेको भन्दा बढी मूल्यमा मल बिक्री गरिएको गुनासो आएको छ । अनुगमनका क्रममा कतिपय सहकारीमा बिल प्याड प्रयोग नभएको पाइएको छ ।

ईश्वर थापा ईश्वर थापा
२०८३ साउन ३० गते ७:३६

३० साउन, धनकुटा । धनकुटा नगरपालिका वडा नं. ९ बेलहाराको रोइला टोलस्थित जाल्पादेवी कृषि सहकारीको बिक्री केन्द्रमा आउने किसानको एउटा मात्रै अपेक्षा रहेको हुन्छ, त्यो हो आफ्नो बालीका लागि आवश्यक रासायनिक मल पाइयोस् । तर, सहकारीमा जुन अपेक्षाले किसान त्यहाँ पुग्छन् निराश भएर फर्कन बाध्य रहेका छन् ।

सहकारीमा पुग्ने २ सय ५० देखि ३ सय किसानमध्ये अधिकांश निराश भएर फर्किनुपर्ने अवस्था छ । धान, कोदो र गोलभेडा लगायतका बालीमा रासायनिक मल प्रयोग गर्ने मुख्य समयमा नै मल नपाउँदा किसानको चिन्ता बढेको छ । खेतमा बाली हुर्किरहेको छ, तर त्यसलाई आवश्यक युरिया र डिएपी भने किसानको पहुँचमा छैन ।

बेलहराका किसानका लागि मलको अभाव यस वर्षको खेतीपातीमा थपिएको गम्भीर समस्या बनेको छ । समयमै मल नपाउँदा बालीको वृद्धि प्रभावित भएको र उत्पादन घट्ने जोखिम बढेको किसानहरु बताउँछन् । आवश्यक समयमा मल नपाउँदा बाली राम्रोसँग सप्रिन नसकेको क्रान्ति अर्धव्यवसायिक कृषक समूहका अध्यक्ष वेदप्रसाद रोइलाले बताए । ‘बालीमा मल हाल्ने बेला यही हो, तर आवश्यक मल नै पाइँदैन’, उनले भने, ‘समयमै मल नपाए उत्पादनमा असर पर्ने चिन्ता रहेको छ ।’ सहकारीले कृषि सामग्री तथा साल्ड ट्रेडिङबाट मल ल्याएर दिने बताउने गरेको भएपनि त्यो कहाँ हो, कहिले ल्याउने बारे जानकारी नभएको रोइलाले बताए ।

जाल्पादेवी कृषि सहकारीले किसानको मागअनुसार हरेक महिना करिब ३ सय बोरा रासायनिक मल माग गर्ने गरेको छ । तर कृषि सामग्री कम्पनीबाट सहकारीले प्राप्त गर्ने मलको मात्रा मागको तुलनामा निकै कम छ । सहकारीले अहिले मासिक २५ देखि ३० बोरा मात्रै मल प्राप्त भइरहेको छ ।

माग र आपूर्तिबीचको ठूलो अन्तरका कारण सहकारीलाई किसानलाई आवश्यक परिमाणमा मल वितरण गर्न कठिन भएको सहकारीका व्यवस्थापक विष्णुप्रसाद रोइलाले बताए । ‘एक किसानलाई एक बोरा मल आवश्यक पर्छ भने पनि हामीले ५ किलोदेखि बढीमा २५ किलोसम्म मात्रै दिनुपर्ने अवस्था छ’, उनले भने ।

मलको सीमित आपूर्तिका कारण सहकारीमा आउने सबै किसानलाई समान रुपमा मल वितरण गर्न पनि चुनौती भइरहेको छ । किसानको आवश्यकता ठूलो भए पनि उपलब्धता न्यून हुँदा सहकारीले मागअनुसार मल दिन सकेको छैन । धनकुटाको बेलहाराका किसान र जाल्पादेवि सहकारी मल अभाव झेलिरहेका उदाहरण मात्रै हुन् । धनकुटामा रासायनिक मलको अभाव बेलाहरामा मात्रै मात्रै सीमित छैन ।

धनकुटामा किसानको मागको करिब ४० प्रतिशत मात्रै युरिया र डिएपी उपलब्ध गराउन सकिएको कृषि सामग्री कम्पनी धनकुटाले जनाएको छ । धनकुटाका लागि एकपटकमा करिब २ सय मेट्रिक टन युरिया र एक सय मेट्रिक टन डिएपीको कोटा निर्धारण हुने गरेको छ ।

वर्षमा १३ देखि १४ पटकसम्म कोटाअनुसार मल आयात हुने व्यवस्था भए पनि पछिल्लो समय मागको करिब ४० प्रतिशत मात्रै आपूर्ति हुन सकेको कृषि सामग्री कम्पनी धनकुटाका निमित्त प्रमुख कृष्णनन्दन साहले बताए । उनका अनुसार पछिल्लो समय आपूर्ति कम भएकाले जिल्लामा किसानको मागअनुसार मल वितरण गर्न कठिन भइरहेको छ ।

मलको आपूर्ति नियमित नहुँदा यसको प्रत्यक्ष असर खेतीपातीमा पर्न थालेको किसानको भनाइ छ । धान र कोदोको उत्पादनमा मात्रै होइन, व्यावसायिक रुपमा गोलभेडा खेती गर्ने किसानसमेत मलको अभावबाट प्रभावित भएका छन् । मलको अभावले किसानलाई दुईतर्फी जोखिम बढाएको छ ।

एकातिर मल नपाउँदा बालीको वृद्धि कमजोर हुने चिन्ता छ भने अर्कोतिर समयमा मल प्रयोग गर्न नसके उत्पादनमा कमी आउन सक्ने किसानको भनाइ छ । किसानका अनुसार मल बालीमा प्रयोग गर्ने निश्चित समय हुन्छ । त्यो समय बितेपछि पछि मल उपलब्ध भए पनि त्यसले अपेक्षित परिणाम दिन नसक्ने भएकाले अहिलेको अभावले किसानलाई निकै चिन्ताले सताएको किसानको भनाइ छ ।

मल अभावसँगै कालोबजारीको गुनासो

मल किन्न पालो पर्खिरहेका किसान

मलको अभाव बढिरहेका बेला केही सहकारीले मल लुकाएर राख्ने तथा तोकिएको मूल्यभन्दा बढीमा बिक्री गर्ने गरेको गुनासो समेत प्रशासनमा पुगेको छ । मल आपूर्तिका विषयमा गुनासो आएपछि जिल्ला प्रशासन कार्यालय धनकुटाले विभिन्न सहकारीमा छड्के अनुगमन समेत गरेको छ । सहकारीले मल लुकाएर कालोबजारी गरेको गुनासोका आधारमा अनुगमन गरिएको धनकुटाका सहायक प्रमुख जिल्ला अधिकारी लेखनाथ न्यौपानेले जानकारी दिए ।

उनका अनुसार हेलो सरकारमार्फत स्थानीय तहले तोकेको भन्दा बढी मूल्यमा मल बिक्री गरिएको गुनासो आएको थियो । अनुगमनका क्रममा कतिपय सहकारीमा बिल प्याड प्रयोग भएको नपाइएको न्यौपानेले बताए । प्रशासनले मलको वास्तविक आपूर्ति, वितरण प्रक्रिया र बिक्री मूल्यबारे निगरानी बढाउन थालेको जनाएको छ । सहायक प्रमुख जिल्ला अधिकारी न्यौपानेले किसानले सहज रुपमा मल पाउन सहजीकरण भइरहेको बताए ।

   

लेखक
ईश्वर थापा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?