News Summary
Generated by OK AI. Editorially reviewed.- अस्ट्रेलियाको संघीय संसद्मा सिनेटर एन्ड्रयु ब्रागले नेपाली युवा उद्यमीहरूको संस्था फिने र तिनले आयोजना गरेको उद्यमशीलता सम्मेलनको उच्च प्रशंसा गरेका छन्।
- सिनेटर ब्रागले नेपाली समुदायको उद्यमशीलता र दक्षता उदाहरणीय रहेको बताउँदै भविष्यमा नेपाली मूलका व्यक्तिहरू संघीय संसद्मा पुग्ने विश्वास व्यक्त गरे।
- फिनेका महासचिव दीपेन घलेले अस्ट्रेलियन संसद्मा संस्था र कार्यक्रमको चर्चा हुनुलाई सिङ्गो नेपाली समुदायका लागि गौरव र महत्त्वपूर्ण उपलब्धि भएको बताए।
१ भदौ, काठमाडौँ । अस्ट्रेलियाको संघीय संसद्मा नेपाली युवा उद्यमीहरूको संस्था ‘फिने’ र यसले सिड्नीमा आयोजना गरेको अन्तर्राष्ट्रिय युवा उद्यमशीलता सम्मेलनको चर्चा भएको छ।
अस्ट्रेलियन सिनेटर एन्ड्रयु ब्रागले संसद्लाई सम्बोधन गर्दै नेपाली डायस्पोराको उद्यमशीलता, सीप र योगदानको खुलेर प्रशंसा गरेका हुन्।
फेडेरेसन अफ इन्टरनेसनल नेपाली युथ अन्टरप्रेनर्स’ (फिने) ले सिड्नीमा आयोजना गरेको उक्त सम्मेलनमा सहभागी भएका सिनेटर ब्रागले संसद्मा बोल्दै अस्ट्रेलियाको बहुसांस्कृतिक समाजलाई विश्वभरबाट आएका समुदायले समृद्ध बनाएको उल्लेख गरे। सो अवसरमा उनले नेपाली समुदायको उद्यमशीलता र दक्षता उदाहरणीय रहेको बताएका छन्।
सिनेटर ब्रागले संसद्मा भने, ‘हालै मलाई सिड्नीमा फिनेले आयोजना गरेको अन्तर्राष्ट्रिय युवा उद्यमशीलता सम्मेलनमा सहभागी हुने उत्कृष्ट अवसर मिल्यो।’
उनले अगाडि भने, ‘त्यहाँ नेपालबाट आएका सांसदहरू तथा सिड्नीमा रहेका नेपाली डायस्पोरासँग व्यापक छलफल भयो। नेपाली समुदाय निकै उद्यमशील छ, उनीहरूसँग उत्कृष्ट सीप छ र उनीहरूले समुदायमा राम्रो प्रभाव बनाएका छन्।’
उनले अस्ट्रेलियाको राजनीतिमा पनि नेपाली मूलका व्यक्तिको उपस्थिति बढ्दै गएको स्मरण गर्दै भविष्यमा नेपाली अस्ट्रेलियनलाई संघीय संसद्को सदस्यका रूपमा देख्न चाहेको बताए।
अस्ट्रेलियन संसद्मा संस्था र कार्यक्रमको औपचारिक चर्चा हुनुलाई फिनेले गौरवको क्षण बताएको छ। फिनेका महासचिव दीपेन घलेले यसलाई सिङ्गो नेपाली समुदाय र संस्थाका लागि महत्त्वपूर्ण उपलब्धि भन्दै उत्सवको क्षण भएको बताएका छन्।
‘हाम्रो सोच प्रभावमा बदलियो र अहिले अस्ट्रेलियन संघीय संसद्सम्म पुग्यो,’ फिनेले उल्लेख गरेको छ, ‘यो हाम्रो यात्राको सुरुआत मात्र हो।’
प्रतिक्रिया 4