+
+
Shares
विचार :

जंगलका मौन शिक्षक

सबै बिरुवालाई एउटै वातावरण फाप्दैन; कोही उज्यालोमा हुर्कन्छन् त कोही छहारीमा। बिरुवाको यस्तो आनीबानी र प्रकृतिको विज्ञान बुझेर गरिने वन व्यवस्थापनले मात्रै जैविक विविधता जोगाउन र वनलाई दिगो बनाउन सक्छ।

प्रा.डा. राजेशकुमार राई प्रा.डा. राजेशकुमार राई
२०८३ भदौ २ गते ८:१४
Listen News
0:00
0:00
🔊

News Summary

Generated by OK AI. Editorially reviewed.
  • बिरुवाको प्रजातिपिच्छे घाम र छहारीप्रतिको रुचि फरक–फरक हुने हुनाले वन व्यवस्थापनमा उनीहरूको आनीबानी बुझेर मात्र वैज्ञानिक उपचार विधि अपनाउनुपर्छ।
  • सल्ला वा सालजस्ता प्रकाशार्थी प्रजाति बढी घाममा फस्टाउने भएकाले वन व्यवस्थापन गर्दा आवश्यक प्रकाशको मात्रा मिलाउनु सफल वन संरक्षणको आधार हो।
  • छाया सहने प्रजातिहरू हुर्कन धैर्यता आवश्यक पर्ने भएकाले प्राकृतिक रूपमा वनमा विविधता आउन समय लाग्ने कुरालाई वन व्यवस्थापनमा आत्मसाथ गर्नुपर्छ।

एक जना वन प्राविधिकले जिज्ञासा राखे– सल्लाको वनलाई चौडापाते (कटुस–चिलाउने) वनमा परिणत गर्ने भनेर वन सम्वर्धनका उपचार (वयस्क सल्लाका रूखहरू हटाउने) थालेको, तर पछि सल्ला नै उम्रियो। के गर्ने होला, लौ न !

कहींकहीं गुनगुनिन्छ– अहिले साल वनमा गरिएको वन व्यवस्थापनले सालको मात्र बिरुवा उमार्‍यो, अरू प्रजाति आउन दिएन, जैविक विविधता नाश गर्‍यो। यस्ता धेरै आवाज सुनिन्छन् वन व्यवस्थापनमा।

तपाईं पनि जंगलमा हिंड्दा कहिल्यै नियालेर हेर्नुभएको छ ? कतै खुला डाँडामा कुनै प्रजातिका साना बिरुवा ह्वात्तै बढिरहेका छन्। तर, त्यही जंगलको केही पर बाक्लो छहारीमुनि पनि अर्का थरीका बिरुवा हरिया र स्वस्थ भएर हुर्किरहेका छन्। किन केही प्रजातिका बिरुवा घाममा फस्टाउँछन् भने केही छहारीमै खुशी हुन्छन् ?

यो कुनै संयोग होइन। यसको पछाडि प्रकृतिको एउटा अद्भुत विज्ञान लुकेको छ। बिरुवाको प्रजातिपिच्छे फरक–फरक आनीबानी हुन्छ, जसको अध्ययनलाई ‘सिल्भिक्स’ भनिन्छ। बिरुवाका तिनै आनीबानी अनुसार नै उनीहरूको स्याहारसम्भारका लागि वन सम्वर्धन (सिल्भिकल्चर) का क्रियाकलापहरू निर्धारण गरिन्छन्।

मानिस जस्तै उनीहरूको पनि रुचि, आवश्यकता र बाँच्ने शैली फरक–फरक हुन्छ। त्यसैले त हिमालमा पाइने लालीगुराँस तराई झर्न सक्दैन। त्यस्तै तराईको साल, सिसौ जस्ता प्रजाति लेक चढ्न सक्दैनन्। तराईबाट पहाडतिर उक्लिँदा सालले सल्ला भेटेपछि उँभोतिर लाग्ने भारी त्यहीं बिसाउँछ। त्यसैगरी एकै वनभित्र पनि माथिल्लो छत्रमा पाइनेभन्दा तल्लो तलामा पाइने प्रजाति फरक हुन्छन्।

हामीलाई बिहानको घाम राम्रो लाग्न सक्छ, तर दिउँसोको चर्को घाममा धेरैबेर बस्न मन नलाग्न सक्छ। त्यस्तै, कसैलाई चिसो मौसम मन पर्छ भने कसैलाई न्यानो। बिरुवामा पनि यस्तै फरक स्वभाव हुन्छ। केही प्रजातिलाई दिनभरि घाम चाहिन्छ भने केहीलाई हल्का प्रकाश नै पर्याप्त हुन्छ। कसैलाई सानो हुँदा अलिकति छाया र ठूलोमा प्रशस्त घाम चाहिन्छ। यसकारण सबै बिरुवा एकैपटक अङ्कुरण हुने अपेक्षा पनि राख्न हुन्न।

सफल वन व्यवस्थापन भनेको सबै बिरुवालाई एउटै व्यवहार गर्नु होइन, प्रत्येकको आवश्यकता बुझ्नु हो।

बिरुवाहरू प्राथमिक उत्पादक हुन्, अर्थात् तिनले आफ्नो खाना आफैं बनाउँछन्। सूर्यको प्रकाश, हावामा रहेको कार्बन डाइअक्साइड र माटोबाट लिएको पानीको सहायताले उनीहरूले आफ्नो खाना तयार गर्छन्। यस प्रक्रियालाई प्रकाश संश्लेषण भनिन्छ। यही प्रक्रियाले उनीहरूलाई बढ्न र बाँच्न ऊर्जा दिन्छ र हामीलाई सास फेर्न आवश्यक अक्सिजन उपलब्ध गराउँछ। तर, सबै बिरुवाले प्रकाशलाई एउटै तरिकाले प्रयोग गर्दैनन्।

केही बिरुवा यस्ता हुन्छन्, जो धेरै घाम नपाएसम्म हुर्कंदैनन्। खुला आकाश, खाली जमिन वा आगलागीपछि खुलेको वनक्षेत्र उनीहरूका लागि उपयुक्त वातावरण हो। यस्ता बिरुवा छिटो बढ्छन्, तर छहारीमा परेपछि कमजोर बन्न सक्छन्। यिनीहरूलाई प्रकाशार्थी  भनिन्छ। साल, सल्ला, खयर, सिसौ यस्तै प्रजाति हुन्। यिनीहरू वन व्यवस्थापन अन्तर्गत कटान गरिएको क्षेत्रमा वा खाली क्षेत्रमा ह्वात्तै उम्रिन्छन्। पहाडमा पहिरो गएको स्थानमा नरोपे पनि उत्तिस उम्रिहाल्छ।

अर्कोतर्फ, केही बिरुवा भने धैर्यका प्रतीक हुन्। खुला आकाशमा भन्दा कुनै प्रजातिको सियाल (छाया) मा उम्रन्छन्। उनीहरू ठूला रूखको छहारीमुनि वर्षौंसम्म बाँच्न सक्छन्। थोरै प्रकाशमै जीवन धान्दै उचित अवसरको प्रतीक्षा गर्छन्। तिनीहरूलाई छाया सहने वा सियाल चाहिने प्रजाति भनिन्छ। प्रकृतिमा यस्तो धैर्य र समयको प्रतीक्षा साँच्चै अद्भुत छ। कटुस, बाझ, खर्स्यु, सिन्दुरे, जामुन, टाटरी यस्तै प्रजाति हुन्।

यही कारणले एउटै जंगलमा सबै प्रजातिका रूख समान उचाइका हुँदैनन्। तिनीहरू वनभित्र विभिन्न तलाहरू बनाएर बसेका हुन्छन्। कतै अग्ला रूख, कतै मध्यम आकारका र कतै भर्खर उम्रिएका बिरुवा देखिन्छन्। मुख्यतः माथिल्लो तलामा प्रकाशार्थी प्रजाति र तल्लो तलामा छाया सहने प्रजातिहरू पाइन्छन्। यो अव्यवस्था होइन, यो त प्रकृतिले बनाएको व्यवस्थित प्रणाली हो। यहीभित्र नै विविधता हुन्छ।

वन व्यवस्थापनमा यही कुरा सबैभन्दा महत्त्वपूर्ण हुन्छ। वन व्यवस्थापन भनेको केवल बिरुवा रोप्ने वा पुनरुत्पादन गर्ने काम मात्र होइन। कुन ठाउँमा कुन प्रजाति हुर्काउने ? तिनलाई चाहिने घाम वा छहारीको आवश्यकता अनुसार वन कति खुला बनाउने ? कति रूख राख्ने ? भन्ने कुराहरू महत्त्वपूर्ण हुन्छन्। यस्ता निर्णय बिरुवाको स्वभाव बुझेर मात्र गर्न सकिन्छ।

धेरै घाम मन पराउने प्रकाशार्थी प्रजाति बाक्लो छहारीमा राम्रोसँग बढ्दैन वा उम्रँदैन। त्यसैगरी छहारीमा हुर्कने प्रजातिलाई एक्कासि खुला घाममा राखियो भने त्यसले पनि संघर्ष गर्न बाध्य हुन्छ। त्यसैले सफल वन व्यवस्थापन भनेको सबै बिरुवालाई एउटै व्यवहार गर्नु होइन, प्रत्येकको आवश्यकता बुझ्नु हो।

यही भएर माथि उल्लिखित सल्लाको वनलाई चौडापातेमा परिणत गर्ने क्रममा आवश्यकताभन्दा बढी खुला गरिंदा सल्ला नै उम्रियो। किनकि चिलाउनेभन्दा सल्लाले बढी प्रकाश रुचाउँछ। बढी प्रकाश उपलब्ध भएको वातावरणमा सल्ला बढी प्रतिस्पर्धी बन्यो र उम्रियो। यदि ठिक्क मात्र खुला गरिएको भए त्यहाँ सल्लालाई चाहिनेभन्दा कम प्रकाश उपलब्ध हुन्थ्यो र चिलाउने उम्रन्थ्यो। सोही वनमा पछि चिलाउने हुर्कंदै गएर उपयुक्त छाया दिएपछि कटुसको बिरुवा छहारीमा आउँथ्यो। कालान्तरमा त्यही कटुस–चिलाउनेको वनमा रूपान्तरण हुन्थ्यो।

जंगलतिर जाँदा कुनै सानो बिरुवालाई ध्यान दिएर हेर्नुहोस्। त्यो खुला घाममा छ कि छहारीमुनि ? शायद त्यसले तपाईंलाई केही भनिरहेको हुन्छ- शब्दमा होइन, आफ्नो उपस्थिति मार्फत।

यसैले, साल वनमा पनि पुराना रूख हटाएर छत्र खुला गरिंदा सालकै बिरुवा बढी आउनु स्वाभाविक प्रक्रियाका रूपमा बुझ्न जरुरी छ। साल सँगसँगै ठिक्क प्रकाश चाहिने साज (असना), बोटधयेंरो, सिसौ, खयर कतैकतै अवस्था अनुसार आउँदछन्। यी प्रकाशार्थी प्रजातिहरू हुर्कंदै गएर छाया दिन थालेपछि सालको वनमा सिन्दुरे, जामुन, टाटरी जस्ता छाया सहने प्रजाति आउन थाल्दछन्।

जसले समयको क्रमसँगै वनमा विभिन्न तह निर्माण हुन्छ र प्रजाति विविधता बढाउँछ। यसैले केही वर्षमै वनभित्र विविधता पाउन सकिन्न, किनकि छाया सहने प्रजातिहरू उम्रनका लागि उचित वातावरण पर्खिएर बसेका हुन्छन्। त्यो वातावरण प्रकाशार्थी प्रजातिहरू हुर्किएपछि बन्नेछ। वन व्यवस्थापनमा बिरुवाको विविधता पाउन हतारिएर हुन्न, छाया सहने प्रजाति जस्तै धैर्यको आवश्यकता छ।

जंगलतिर जाँदा कुनै सानो बिरुवालाई ध्यान दिएर हेर्नुहोस्। त्यो खुला घाममा छ कि छहारीमुनि ? शायद त्यसले तपाईंलाई केही भनिरहेको हुन्छ- शब्दमा होइन, आफ्नो उपस्थिति मार्फत। उत्तिसका उम्रिएका बिरुवाले त्यो ठाउँमा पहिरो वा अन्य कारणले नयाँ माटो भएको संकेत गर्दछ। त्यस्तै तराईका नदी किनारमा हुर्किएका काँसले खयर, सिसौ, सतिसाल जस्ता प्रजाति आउँदैछन् है भन्ने सन्देश दिइरहेका हुन्छन्। यिनै बिरुवा हुर्कने क्रमसँगै विभिन्न प्रकारका जीवजन्तु देखापर्दै जान्छन्। यो नै प्रकृतिको नियम हो।

जलवायु परिवर्तनले यो विषयलाई अझ महत्त्वपूर्ण बनाइदिएको छ। वन डढेलो बढिरहेको छ, लामो खडेरी पर्न थालेको छ र वर्षात्‌को ढाँचा परिवर्तन हुँदै गएको छ। यसले वनभित्रको प्रकाश, तापक्रम र आर्द्रतामा परिवर्तन ल्याउँछ। त्यससँगै कुन प्रजाति फस्टाउने र कुन हराउँदै जाने भन्ने चित्र पनि बदलिन सक्छ। त्यसैले वन संरक्षणको भविष्य केवल धेरै बिरुवा रोप्नु वा उमार्नुमा मात्र छैन, कुन बिरुवालाई कहाँ र कसरी हुर्काउने भन्ने ज्ञानमा छ। जलवायु परिवर्तनको प्रभावलाई कसरी रोक्ने भनेर रणनीति तयार गर्नुमा पनि छ। त्यसैले प्रकृतिलाई सहज बनाउन आगलागी, बाढीपहिरो जस्ता विपत् अगाडि नै व्यवस्थापन गर्न जरुरी छ।

यो परिवर्तित अवस्थामा जंगलमा थुप्रिएका पातपतिङ्गर र सुक्खा ठुटा सूक्ष्म जीव र चराचुरुङ्गीको वासस्थान मात्र होइन, ठूला आगलागीको मतियार पनि हुन सक्छन् भनेर बुझ्न जरुरी छ। प्रकृति बोल्दिनन्, तर संकेत भने सधैं दिन्छिन्। बिरुवाको उपस्थिति हेरेर त्यो ठाउँको उचाइ, हावापानी सहज रूपमा जान्न सकिन्छ। ती संकेत बुझ्न सक्यौं भने हामीले वन मात्र होइन, जीवनलाई पनि नयाँ दृष्टिले हेर्न सिक्नेछौं।

(राई वन विज्ञान अध्ययन संस्थान, त्रिभुवन विश्वविद्यालयका प्राध्यापक हुन्।)

लेखक
प्रा.डा. राजेशकुमार राई

प्रा.डा. राजेशकुमार राई त्रिभुवन विश्वविद्यालय, वन विज्ञान अध्ययन संस्थानमा प्राध्यापन गर्छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?