News Summary
Generated by OK AI. Editorially reviewed.- गँगटाले शरीर बढाउने क्रममा पुरानो खोल फुकालेर फ्याँक्ने गर्छन् र नयाँ खोल कडा नबनुन्जेलसम्म सुरक्षित स्थानमा लुकेर बस्ने गर्छन्।
- समुद्री जीव लब्स्टरमा टेलोमरेज इन्जाइमको निरन्तर सक्रियताका कारण यसका कोषहरू कहिल्यै बूढा हुँदैनन् र उमेर बढ्दै गए पनि यिनीहरू शारीरिक रूपमा स्वस्थ रहन्छन्।
- शरीरको आकार निकै ठूलो भइसकेपछि नयाँ खोल बनाउन आवश्यक पर्ने अत्यधिक ऊर्जा जुटाउन नसक्दा अन्ततः लब्स्टरको पनि मृत्यु हुने गर्छ।
खेतको आलीमा भेटिने गँगटाको खोस्टा साँघुरो भएर छाडेको उसको पुरानो खोल मात्रै हो, गँगटा मरेको हुँदैन। यस्तै खोल फेर्ने बानी बोकेको गँगटाको समुद्री आफन्त लब्स्टरलाई बुढ्यौली नै लाग्दैन। टेलोमरेज इन्जाइमले लब्स्टरका कोषहरूलाई अमर बनाउँछ, तर हाम्रो शरीरले त्यसैलाई साँचो लगाएर राखेको छ।
खेतका आलीमा भेटिने गँगटाको खाली खोल
मेरा लागि, स्कूलको गर्मी बिदा, बर्खे खेतको हिलोमा खेलेरै बित्ने गर्थ्यो। खेतमा गँगटोसँग भेट हुन्छ कि भनेर सधैं डर लाग्ने। खेतको आलीमा घर बनाएका हुन्थे, प्वालबाट पानी चुहिएर हैरान पार्ने। कहिलेकाहीं, खेतका आलीमा गँगटै आकारको गँगटाको खोल भेटिन्थ्यो- दुइटा डण्डी (क्लअ), आठवटा खुट्टा, आँखा अडिने खोपिल्टासम्म जस्ताको तस्तै, तर भित्र पूरै खाली। एउटा भए पनि गँगटो मरेछ भनेर विघ्नै खुशी हुन्थें।
स्कूल छाडेको धेरैपछि मात्रै थाहा पाएँ, मैले मरेको ठानेको गँगटो त गँगटाले साँघुरो भएर छाडेको पुरानो खोल पो रहेछ। गँगटाको शरीरमा हड्डी हुँदैन, बाहिरको खोल नै उनीहरूको हड्डी हो। गँगटा बढ्दै जाँदा उनीहरूको शरीर त ठूलो हुँदै जान्छ, तर उनीहरूको बाहिरको खोल जत्राको तत्रै रहन्छ। त्यसैले, शरीर ठूलो भएपछि गँगटा आफैंले पुरानो खोल पछाडिबाट चिरेर बाहिर निस्कनुपर्छ– जीवनभर, पटक पटक नयाँ खोल बनाइरहनुपर्छ।
मैले झापाको खेतको आलीमा भेटेको त्यो गँगटाले पनि पुरानो खोल फुकालेर, खोस्टाभित्रको गँगटा भने अलि पर दुलोभित्र नयाँ खोल कडा नबनुन्जेल लुकेर बसेको मात्रै थियो।
गँगटाले जस्तो खोल फेर्ने बानी बोकेको यसका आफन्तहरू धेरै छन्। गँगटाको विशाल आफन्त समुद्रमा पाइन्छ– लब्स्टर। बनोट उही हो: बाहिरी खोल, दश खुट्टा, अगाडि दुइटा ठूला डण्डी। फरक यत्ति हुन्छ, लब्स्टर नुनिलो पानीमा बस्छ, धेरै ठूलो हुन्छ र गँगटाभन्दा धेरै लामो समय बाँच्छ।
४०० वर्षअघि बाल्टिन बोकेर टिपिने समुद्री जीव – लब्स्टर
आजभन्दा ४०० वर्षअघि उत्तर अमेरिकाको न्यु इङ्ल्यान्ड (बोस्टन)तिर लब्स्टर छ्याप-छ्याप्ती पाइन्थ्यो। युरोपबाट बसाइँसरी आएकाहरूले लेखेको पत्याउने हो भने, हरेक बिहान समुद्री छालले किनारामा “लब्स्टरको दुई फिटको थुप्रो” लगाएको हुन्थ्यो। बाल्टिन लिएर टिप्न गए जति पनि लब्स्टर लिन पुग्ने। तर, खान-बेच्नको लागि होइन, किसानहरूले लब्स्टरलाई खेतमा मल झैं प्रयोग गर्थे।
समुद्रभरि जताततै पाइने यसलाई पानीको साङ्लो भनिन्थ्यो। नाम यसै राखिएको थिएन, यो गरिब, नोकर र कैदीहरूको खानेकुरा थियो। अठारौं शताब्दीमा त, अमेरिकाका कैदीहरूले खानामा हप्ताको तीन पटकभन्दा बढी नराखियोस् भनेर आन्दोलन नै गरेका थिए रे। आज सुन्दा अचम्म लाग्छ। तर, त्यतिबेला लब्स्टरलाई कसैले रुचाउँदैनथे।
आजभोलि एक प्लेट लब्स्टरको झन्डै १०० डलर पर्छ। हामी यसलाई विलासी खाना भनेर गन्ती गर्छौं। न्यु इङ्ल्यान्डको जुन पानीमा तीन-चार सय वर्षअघि छ्याप-छ्याप्ती पाइन्थ्यो, आज त्यही पानीबाट लब्स्टरहरू हराइरहेका छन्। मानिसको अत्यधिक सिकार त एउटा कारण भइहाल्यो, तातिंदै गएको समुद्रले यिनको सङ्ख्या वर्षेनि घट्दो छ।
तातो पानीमा यिनीहरूको खोलमा रोग लाग्ने सम्भावना बढी हुन्छ, साना बच्चाहरू हुर्कन गाह्रो हुन्छ। त्यसैले, न्यु इङ्ल्यान्डका लब्स्टरहरू चिसो पानीको खोजीमा विस्तारै उत्तरतिर धकेलिंदै छन्।
कहिल्यै बुढो नहुने जीव
यहाँसम्म त लब्स्टरको कथा अरू जीवहरू जस्तै साधारण लाग्छ– समुद्र तात्यो, चिसो पानी खोज्दै उत्तरतिर गए।
समुद्रमा लब्स्टरको सङ्ख्या वर्षेनि घट्दो छ। तर, सबैभन्दा अचम्म त यहाँनेर छ– प्रायः सबै जीवहरू बुढो हुन्छन् र बुढ्यौलीकै कारण मर्छन् पनि। लब्स्टर अरू जीवहरू भन्दा यसै कारणले भिन्न हुन्छ – प्रकृतिले कुनै पनि जीवलाई यदि अमर बनाएको छ भने त्यो लब्स्टर नै हो।
मैले आलीमा भेटेको गँगटाहरू बुढो भएर एक दिन मर्छन्, उनीहरूको जीवनचक्र सीमित हुन्छ। तर, लब्स्टर कहिल्यै बुढो हुँदैन, उनीहरूमा बुढ्यौलीको कुनै चिह्न देखिंदैन। समुद्रबाट सय वर्षको लब्स्टर र दश वर्षको लब्स्टर झिकेर जाँच्नुभयो भने आनुवंशिक तहमा खास भिन्नता पाउनुहुन्न। उमेर बढे अनुसार शरीर ठूलो त भएको हुन्छ, तर, मांसपेशीहरू उत्तिकै बलियो हुन्छन्। फुल पार्ने क्षमता उमेरसँग घट्दैन, बरु शरीर ठूलो हुँदै जाँदा बढ्दै जान्छ। मांसपेशी मात्रै होइन, शरीरका कोषहरूको विभाजन गर्ने क्षमता पनि सबै उमेरका लब्स्टरमा उस्तै रहन्छ।
अर्थात्, भर्खरैको लब्स्टरमा कोष – मांसपेशी र शारीरिक क्षमता जति हुन्छ, सय वर्षपछि पनि उस्तै रहन्छ। हामी मानिसहरू तीस वर्ष पुगेपछि हरेक आठ वर्षमा जैविक कारणले मर्ने सम्भावना दोब्बर हुँदै जान्छ; लब्स्टरमा त्यो सम्भावना जति वर्षको भए पनि समान रहन्छ, बढ्दैन। लब्स्टरले खोल फेरिरहन सक्ने भए तिनीहरू सधैंभरि बाँचिरहन सक्छन्। तर, कोषहरू कहिल्यै बुढा नहुने भए पनि, शरीर ठूलो हुँदै गएपछि एक दिन लब्स्टरहरू नयाँ खोल बनाउन छाडिदिन्छन्।
हामीले अहिलेसम्म भेट्टाएका सबैभन्दा बुढा लब्स्टर करिब १४०-१५० वर्षका मात्रै छन्। यहींनेर प्रश्न आउँछ – लब्स्टरहरू साँच्चिकै सधैंभरि बाँच्न सक्ने भए, उनीहरू किन मर्छन् त ?
बहुकोषीय हुनु, मृत्यु स्वीकार्नु हो
हामीले यसको जवाफ खोज्न एकछिन लब्स्टर छाडेर धेरै पछाडि, पृथ्वीमा एककोषीय जीवन मात्रै भएको समयमा पुग्नुपर्छ।
पोखरीको पानीमा एउटा ब्याक्टेरिया छ। खाना पुगेको छ, तापक्रम ठीक छ। यसले शरीर लम्ब्याउँछ, भित्रको डीएनएको प्रतिलिपि बनाउँछ, अनि बीचबाट दुई टुक्रा हुन्छ। कुन आमा र कुन छोरा-छोरी हो, छुट्याउने उपाय हुँदैन; दुवै उही हुन्, दुवै नयाँ हुन्। ब्याक्टेरिया मर्छ– भोकले, तापले, विषले, अरू जीवले मारेर। तर, उमेर पुगेर ब्याक्टेरिया मर्दैन, बुढ्यौली उनीहरूको जीवनमा हुँदै हुँदैन।
पृथ्वीमा जीवन, शुरुका करिब तीन अर्ब वर्ष त्यसै गरी नै चलेको थियो– मृत्यु त थियो, बुढ्यौली थिएन। आजभन्दा करिब एक अर्ब वर्षअघि मात्रै एककोषीय जीवहरू बहुकोषीय बन्न थालेका हुन्। कोष विभाजन (सेल डिभिजन) प्रक्रियापछि छुट्टिनुको सट्टा केही कोषहरू टाँसिएर बस्न थाले, र तिनको कार्य विभाजन हुन थाल्यो– कोही बाहिरी पत्र बने, कोही खाना पचाउने भए, कोही चाल दिने भए।
एउटा मात्र कोष भएको जीव अनुकूल वातावरण पाएमा अनन्त कालसम्म विभाजन गरेर बाँचिरहन सक्छ। तर, जब खर्बौं कोषहरू मिलेर एउटा मुटु, मस्तिष्क र शरीर बनाउने निर्णय गर्छन्, उनीहरूले अनुशासित हुनैपर्छ– आवश्यक भएको बेला मात्र विभाजन गर्ने, आफ्नो क्षति आफैं मर्मत गर्ने, र मर्मत नसके शरीरको हितका लागि आफैं हट्ने।
कोषहरूले अब ब्याक्टेरियाले जस्तै अमरता खोजेनन्, बरु काम बाँडफाँट गर्न थाले। वंश चलाइरहने जिम्मा गन्तीका केही कोषहरूले लिए, जसलाई ‘जर्म सेल’ (प्रजनन कोष) भनिन्छ। शरीरको प्रतिरक्षा प्रणालीलाई नयाँ कोष चाहिरहन्छ, त्यसलाई पूरा गर्ने सानो भन्डार हुन्छ– ‘स्टेम सेल’ (मूल कोष)। बाँकी सबै– मुटुका, छालाका, कलेजोका– शरीर धान्ने ‘सोमाटिक सेल’ (साधारण कोष) बने। उमेर बढ्दै जाँदा हरेक ‘सोमाटिक सेल’ को प्रतिलिपि बनाउने क्षमता घट्दै जान्छ। शरीरका जीर्ण कोषहरू फेर्ने सकस उमेरसँगै बढ्दै जान्छ, यसैलाई बुढ्यौली भनिएको हो।
शरीरका कोषहरूको उमेर कहाँ लेखिएको हुन्छ?
हामी सबैले जुत्ताको तुनाको दुवै छेउमा प्लास्टिकको सानो खोल लगाएको देखेका छौं। प्लास्टिकको त्यो सानो खोलले तुनाको केही काम गर्दैन– न बलियो बनाउँछ, न लामो। जुत्ताको तुना, दुई छेउबाट नउध्रियोस् भनेर राखिएका ती खोल जुत्ता जति पुरानो भयो त्यति नै टुक्रिंदै जान्छन्। त्यही प्लास्टिकको खोललाई हेरेर, कसैले त्यो जुत्ता कति पटक लगायो होला भनेर सजिलै अन्दाज गर्न सकिन्छ।
जुत्ताको तुनामा झैं हरेक क्रोमोजोमको दुई टुप्पामा कोषहरूले कति पटक विभाजन गर्न सक्छन् वा गरिसकेका छन् भनेर हिसाब लेखिएको हुन्छ। हरेक क्रोमोजोमको दुवै टुप्पामा न्युक्लियोटाइडहरूको दोहोरिरहने एउटा अक्षरमाला हुन्छ– TTAGGG, TTAGGG (लब्स्टरमा TTAGG, TTAGG), हजारौं पटक। टेलोमियर (Telomere) भनिने यसले कुनै प्रोटिन बनाउँदैन, शरीरको कुनै गुण बोक्दैन। जुत्ताको तुनामा भएको प्लास्टिकको खोल जस्तै यसले काम गर्छ, भित्रको काम लाग्ने डीएनएलाई उध्रन नदिएर बचाइराखेको हुन्छ।
हरेक पटक कोष विभाजन हुँदा, क्रोमोजोमको नयाँ प्रतिलिपि बनाउनुपर्छ। क्रोमोजोमको नक्कल गर्ने जिम्मा डीएनए पोलिमरेज इन्जाइमको हुन्छ, र समस्या यसैबाट शुरु हुन्छ। डीएनए पोलिमरेजले क्रोमोजोमको एकदमै टुप्पोसम्म पुगेर ठ्याक्कै प्रतिलिपि बनाउन सक्दैन। त्यसैले, हरेक पटक कोष विभाजन हुँदा टेलोमियरका केही दर्जन न्युक्लियोटाइड छोटिन्छ।

हरेक पटक जुत्ता लगाउँदा, तुनाको प्लास्टिक अलिअलि टुक्रिए जस्तै, हरेक नयाँ कोष विभाजनले टेलोमियरको लम्बाइ छोटाउँदै जान्छ। शुरु-शुरुमा त यसले केही बिगार्दैन। तर, कति छोटो भए फरक पर्दैन, त्यसको पनि सीमा हुन्छ। मानिसमा, सोमाटिक सेलहरूको विभाजन सरदर करिब ५० पटक हुन्छ। त्यसपछि, छोटिएको टेलोमियरले क्रोमोजोमको संरचना बचाएर राख्न सक्दैन। टेलोमियर त्यतिसम्म छोटो भएर क्रोमोजोम नभत्किने यो सीमालाई वैज्ञानिकहरूले हेफ्लिक लिमिट (Hayflick limit) भन्छन्।
टेलोमियरले यो सीमा नाघ्यो भने क्रोमोजोमको संरचना भत्कन थाल्छ। कोषभित्र खबरदारी गरी हिंड्ने एकखाले सिपाहीहरू हुन्छन्– एटीएम र एटीआर काइनेज (ATM and ATR Kinase)। टेलोमियर छोटो भएका क्रोमोजोमलाई यिनले भत्किएको डीएनए भनेर चिन्छन्। यिनको सन्देश पी-५३ सम्म पुग्छ, यो कोषभित्रको खबरदारी गर्ने सबैभन्दा बलियो सिपाही हो। खबर थाहा पाएपछि पी-५३ ले कोषलाई अब विभाजन नगर् भनेर आदेश दिन्छ। फेरि विभाजन हुन नसक्ने कोषहरूलाई ‘सेनेसेन्ट सेल’ (जीर्ण कोष) भनिएको हो।
सेनेसेन्ट सेलहरू मर्दैनन्, तर फेरि विभाजन गर्न पनि सक्दैनन्। नयाँ कोषहरूमा फेरिन नसके पनि यिनीहरू चुपचाप बसिरहेका हुँदैनन्। शरीरमा ‘इन्फ्लामेसन’ (सुजन) बढाउने अणुहरू र छेउका तन्तुहरू गलाउने इन्जाइम बाहिर चुहाइरहन्छन्।
हामी करिब २०-२५ वर्षको हुँदासम्म त शरीरमा सेनेसेन्ट सेलहरूको खासै फरक पर्दैन। यसैले घाउ छिटो पुर्न प्रतिरक्षा प्रणालीलाई खबर पुर्याउँछ। तर, उमेर बढ्दै जाँदा प्रतिरक्षा प्रणालीले सबैतिर राम्ररी सफा गर्न भ्याउँदैन, तिनको सङ्ख्या थुप्रिंदै जान्छ, शरीरमा निरन्तर इन्फ्लामेसन भइरहन्छ। शरीरलाई बुढ्यौलीले गाँजेको भनेर यसैलाई बुझिन्छ।
जुत्ताको तुनाको प्लास्टिक जस्तै, क्रोमोजोमको टुप्पामा रहेको टेलोमियर हरेक सेल डिभिजनमा छोटिंदै जान्छ।
लब्स्टरमा कहिल्यै बुढो नहुने रहस्य – टेलोमरेज इन्जाइम
लब्स्टरका कोषहरूमा सधैं काम गरिरहने इन्जाइम हुन्छ – टेलोमरेज (Telomerase)। यसले, हरेक पटक कोष विभाजन हुँदा क्रोमोजोमको छेउका टेलोमियरलाई छोटो हुन दिंदैन। यिनको काम हरेक पटक कोष विभाजन हुँदा, हराएका टेलोमियरका अक्षरहरू फेरि थपिदिनु हो। लब्स्टरको ‘सोमाटिक सेलहरूमा’ टेलोमरेजले सधैं काम गरिरहेको हुन्छ। जति पटक शरीरमा नयाँ कोषहरू फेरिए पनि क्रोमोजोमको टुप्पो उस्तै रहन्छ।
लब्स्टरको अमरताको रहस्य यही टेलोमरेजमा लुकेको हुन्छ। हाम्रो शरीरमा पनि लब्स्टरको झैं टेलोमरेज हुन्छ। तर, शरीरले त्यसलाई साँचो लगाएर थन्क्याएको हुन्छ। हाम्रो शरीरका जर्म सेल, स्टेम सेल र केही प्रतिरक्षा प्रणालीका कोषहरू बाहेक सबै सोमाटिक सेलहरूमा यो टेलोमरेज इन्जाइम बनाउने जीन सधैंभरि बन्द राखिएको हुन्छ।
त्यसैले हाम्रा छाला, कलेजो र मांसपेशीका कोषहरूमा टेलोमियर एक पटक घट्न शुरु भएपछि फेरि लामो हुन सक्दैन। जुत्ताको तुनाको त्यो प्लास्टिकको खोल एक पटक टुक्रिन थालेपछि फेरि पुरानै अवस्थामा फर्कन नसकेको जस्तै। लब्स्टरका कोषहरूमा यही उल्टो हुन्छ। उसका मांसपेशी, कलेजो, स्नायु, अण्डाशय– जुनसुकै अङ्गका कोषहरू झिकेर जाँच्दा त्यहाँ टेलोमरेज चालु हुन्छ।
नतिजा सोझो छ, जति पटक कोष विभाजन भए पनि क्रोमोजोमको टुप्पो उस्तै रहन्छ। टेलोमियर हेफ्लिक लिमिटसम्म कहिल्यै पुग्दैन, एटीएम र एटीआर काइनेजले टुक्रिएको डीएनएको सङ्केत पाउँदैनन्, पी-५३ डाकिंदैन, र कोषहरू सेनेसेन्ट अथवा बुढो बन्नै पर्दैनन्।
१०० वर्ष हुर्केको र भर्खरै १० वर्ष पुगेको, दुवै लब्स्टरका क्रोमोजोममा टेलोमियरको लम्बाइ समान हुन्छ। टेलोमियर छोटो हुनु नै हामीलाई बुढ्यौलीतिर धकेल्ने सबैभन्दा ठूलो घडी हो, लब्स्टरमा यो घडी नै हुँदैन।
हाम्रो शरीरले टेलोमरेजमा किन साँचो लगायो?
त्यसो भए, लब्स्टरमा सधैंभरि चलिरहने टेलोमरेज इन्जाइम हाम्रोमा किन बन्द हुन्छ? टेलोमरेजको साँचो खोलिदिए हुँदैन ? हाम्रा सोमाटिक सेलहरूले पनि सधैंभरि टेलोमियर लामो बनाइरहन पाए बुढ्यौली नै नआउने रहेछ। हामीलाई प्रकृतिले लब्स्टर जस्तो किन बनाएन?
वास्तवमा हाम्रो शरीरभित्र यो सुविधाको प्रयोग दिनहुँ भइरहेको हुन्छ। त्यो प्रयोगको नाम क्यान्सर हो।
क्यान्सर बाहिरबाट आएको शत्रु होइन। यो हाम्रै सोमाटिक सेलले एक अर्ब वर्षअघि गरेको सम्झौता तोडेर पुरानो, एककोषीय जीवनशैलीमा फर्कने गरेको प्रयास हो। छिमेकी सेलको सङ्केत सुन्न छाड्नु, डीएनएमा क्षति भइसकेको चेतावनी बेवास्ता गर्नु, र आफ्नै प्रतिलिपि बनाउने दौडमा लाग्नु– यी सबै ब्याक्टेरियाका लागि स्वाभाविक हुन्। तर, खर्बौं सेल मिलेर बनेको शरीरभित्र यही व्यवहार घातक बन्छ।
यसरी ब्याक्टेरिया जस्तो बन्न खोज्ने कोषहरूले पनि पचास पटकभन्दा बढी विभाजन गर्न सक्दैनन्, उसलाई पनि त्यही हेफ्लिक लिमिटले रोकिदिन्छ। त्यसैले त क्यान्सर बन्न, सबैभन्दा पहिले क्यान्सरजन्य कोषहरूले टेलोमियर छोटिनबाट रोक्नुपर्छ। करिब ९० प्रतिशत क्यान्सरमा त्यही भेटिन्छ – टेलोमरेजको साँचो खोलिएको हुन्छ। पहिले उत्परिवर्तन थुप्रिंदै जान्छ र क्यान्सर बनिसक्दा टेलोमरेज बनाउने टीईआरटी (TERT) जीनलाई बाँधेर राख्ने साङ्लाहरू फुस्किन्छन् र अवरोध विना ट्युमर फैलिन्छ।
लब्स्टरका कोषहरू झैं क्यान्सर पनि अमर हुन्छ। सन् १९५१ मा पाठेघरको मुखको क्यान्सर भएर बाल्टिमोरको एक अस्पतालमा पुग्दा हेनरिएटा ल्याक्स ३१ वर्षकी थिइन्। उपचारको क्रममा, उनको ट्युमरबाट सानो टुक्रा झिकेर प्रयोगशालामा हुर्काउन (cell culture) पठाइएको थियो। हेनरिएटाको त्यही वर्ष मृत्यु भयो तर, हेनरिएटाको ट्युमर मरेन, विभाजन भइरह्यो, र भइरह्यो। उनको ट्युमरबाट निकालिएका “हेला (HELA) सेलहरू” सत्तरी वर्षपछि पनि प्रयोगशालाहरूमा बाँचिरहेका छन्।
त्यसो भए लब्स्टर क्यान्सरको कारखाना किन बनेन?
यहींनेर, सोझो प्रश्न आउन सक्छ– यदि लब्स्टरमा टेलोमरेजले सधैं काम गरिरहेको हुन्छ भने यिनीहरू क्यान्सरको कारखाना हुनुपर्ने होइन र? तर, लब्स्टरमा क्यान्सर भेटिएको छैन भन्दा हुन्छ– अहिलेसम्म तिनमा ट्युमर देखिएको प्रमाण नगन्य छ।
यसका केही कारण अनुमान गर्न सकिन्छ। पहिलो त, क्यान्सर हुनका लागि टेलोमरेज भएर मात्रै पुग्दैन। टेलोमरेज त एउटा साँचो मात्रै हो; क्यान्सर बन्न अरू धेरै प्रणाली एकपछि अर्को गर्दै भत्काउनुपर्छ।
हाम्रो शरीरमा पनि टेलोमियरको लम्बाइ धेरै पर्खालमध्ये एक हो– लब्स्टरमा त्यो एउटा पर्खाल छैन भनेको बाँकी सबै पर्खाल भत्किएका छन् भन्ने होइन। लब्स्टरमा टेलोमरेजले काम गरिरहेर टेलोमियर नछोटिए पनि क्यान्सर हुन नदिने अरू खबरदारीहरू काम गरिरहेका हुन्छन्।
दोस्रो, लब्स्टरको शरीरमा हामी जस्तो दिनहुँ विभाजन भइरहनुपर्ने अङ्ग थोरै छन्। हाम्रो आन्द्रा, छाला र मासीका कोषहरू हरेक दिन नयाँ बन्नुपर्छ। जति धेरै कोष विभाजन हुन्छ, उत्परिवर्तन हुने मौका त्यति नै धेरै। क्यान्सर पनि त प्रायः त्यस्तै छिटो विभाजन हुने ठाउँबाटै शुरु हुन्छ।
लब्स्टरले टेलोमरेज उत्पादन गरेर शरीरको उमेर जनाउने घडी बन्द गर्छन्। टेलोमियर छोटिंदैन र हामीलाई जस्तो यिनीहरूलाई क्यान्सर पनि लाग्दैन। लब्स्टरहरू तैपनि मर्छन्, कारण उनीहरूको बुढो शरीर होइन, नयाँ खोल बनाउने क्षमता हो।
अनि एक दिन लब्स्टरले खोल फेर्न छाड्छ
गँगटाकै जस्तो, लब्स्टरको बाहिरको खोल नै यिनीहरूको हड्डी हो, जुन बढ्दैन। शरीर ठूलो बनाउनुपर्यो भने खोल फेर्नैपर्छ। तर, शरीर जति ठूलो हुँदै जान्छ, नयाँ खोल त्यति नै बाक्लो र गह्रौं बनाउनुपर्छ। त्यसका लागि चाहिने ऊर्जा र क्याल्सियम शरीरको आकारसँगै कैयौं गुणा बढेर जान्छ। सानो छँदा वर्षमा दुई-तीन पटक खोल फेर्ने लब्स्टरले ठूलो भएपछि दुई-तीन वर्षमा एक पटक मात्रै फेर्न सक्छ।
खोल फेर्ने काम आफैंमा जोखिमपूर्ण छ। पुरानो खोल चिरेर बाहिर निस्कँदा १० खुट्टा, दुइटा ठूला डण्डी र सबै अङ्ग एउटै साँघुरो मुखबाट तान्नुपर्छ। ठूला लब्स्टरका लागि यो सजिलो हुँदैन – पुरानो खोल आधा चिरेर, आधा शरीर बाहिर निकालेकै अवस्थामा कतिपय त थाकेर त्यहीं मर्छन्।
जति धेरै बाँच्यो, खोल फेर्न त्यति नै बढी शक्ति खर्च गर्नुपर्ने। उमेर र शरीर दुवै बढ्दै गएपछि खोल फेर्ने ऊर्जा जुटाउन झन् कठिन हुँदै जान्छ। एक दिन उसलाई थकाइ लाग्छ र खोल फेर्नै छाडेर पुरानै खोलमा बसिरहन्छ। खोल फेर्न छाडेपछि समस्या झन् बढ्छ– पुरानो खोलमा लाग्ने ब्याक्टेरियल रोग विस्तारै शरीरसम्म पुग्छ, र त्यही सङ्क्रमणले उसको ज्यान लिन्छ।
लब्स्टर जस्तै बुढा नहुने अरू जीव
लब्स्टर जस्तै विचित्रका जीवहरू अरू पनि धेरै छन्। पोखरीको पानीमा बस्ने मेरुदण्ड नभएको सानो जीव हुन्छ– हाइड्रा। करिब एक सेन्टिमिटर लामो हाइड्रालाई बुढ्यौली लाग्दैन – यिनीहरूको शरीर ‘स्टेम सेल’ले बनेको हुन्छ, र चाहिए अनुसार नयाँ कोष फेरिरहन सक्छ। भूमध्यसागरमा एक खाले जेलीफिस पाइन्छ, टुरिटोप्सिस डोर्नी। यो त, लब्स्टर या हाइड्राभन्दा एक कदम अगाडि हुन्छ, भोक या चोट लाग्यो भने बाल्य अवस्थामा फर्केर जीवनचक्र शुरुदेखि दोहोर्याउँछ।
बाल्यकालमा मलाई जीव विज्ञानमा तानेको सलामान्डर त हाम्रैतिर पाइन्छ। खुट्टा काटियो भने नयाँ उमार्छ; हड्डी, मांसपेशी, नसा, छाला, सबै सहित। पुच्छर त छेपारोले पनि नयाँ बनाउँछ, तर यसले आँखाको लेन्स, मुटुको टुक्रा, टाउकोसम्म फेरि बनाउन सक्छ। सलामान्डरहरूमा टेलोमरेज र स्टेम सेल दुवै सुचारु गर्ने क्षमता हुन्छ, तर यी दुवै अमर हुँदैनन्। टुक्रिएको शरीर जति नै मर्मत गर्ने क्षमता राखे पनि यिनीहरू अमर होइनन्।
अन्त्यमा, हाइड्राले शरीर सरल राखेर बुढ्यौली टार्यो। जेलीफिसले घडी उल्टो घुमायो। सलामान्डरले भत्केको पुर्ने क्षमता राख्यो। लब्स्टरले टेलोमरेजको साँचो खुला छाड्यो। चार फरक बाटा, तर सबैको शरीर अन्ततः सकिन्छ। यिनीहरू बुढ्यौली बाहेक अरू सबै कारणले मर्छन्।
झापाको खेतमा मैले भेटेको खोल, गँगटाको कङ्काल थिएन। तर, समुद्रको पिंधमा कतै आधा चिरिएको खोलमा लब्स्टरले मृत्यु पर्खिरहेको हुन्छ। लब्स्टरको कथाले यही सिकाउँछ – बुढ्यौली नलाग्नु भनेको अमर हुनु होइन। लब्स्टर होस् या मानिस, बहुकोषीय प्राणीहरू सबैमा मृत्यु अनिवार्य हो।
प्रतिक्रिया 4