+
+
Shares

ऊर्जा प्रणालीमा देखिएका समस्या समाधान सरकारको मुख्य प्राथमिकता : मन्त्री श्रेष्ठ

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ २ गते १५:३८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • ऊर्जामन्त्री विराजभक्त श्रेष्ठले ऊर्जा प्रणालीका समस्या समाधान र वितरण प्रणाली सुदृढीकरण सरकारको मुख्य प्राथमिकता रहेको प्रतिनिधि सभामा बताए।
  • उनले आर्थिक वर्ष २०८२/८३ मा विद्युत् निर्यातबाट २९ अर्ब ३२ करोड ४७ लाख रुपैयाँ आम्दानी भएको र सुक्खायाममा १० अर्ब ५५ करोड रुपैयाँ बराबर विद्युत् आयात गर्नुपरेको बताए।
  • श्रेष्ठले वितरण प्रणालीको अध्ययन गर्न गठन भएको उच्चस्तरीय समितिको प्रतिवेदन कार्यान्वयनमा रहेको र स्मार्ट मिटरिङ, सब–स्टेशन अटोमेसन तथा डेडिकेटेड फिडरको काम तीव्र पारिएको जानकारी दिए।

२ भदौ, काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री विराजभक्त श्रेष्ठले देशको ऊर्जा प्रणालीमा देखिएका समस्या समाधान र वितरण प्रणालीको सुदृढीकरण सरकारको मुख्य प्राथमिकता रहेको बताएका छन् ।

प्रतिनिधि सभाको मंगलवारको बैठकमा सांसदहरूले सोधेका मौखिक प्रश्नहरूको उत्तर दिँदै मन्त्री श्रेष्ठले विद्युत् निर्यातसँगै आन्तरिक आपूर्तिलाई गुणस्तरीय बनाउन मन्त्रालय गम्भीर रहेको उल्लेख गरे ।

मन्त्री श्रेष्ठले आर्थिक वर्ष २०८२/८३ मा नेपालले विद्युत् निर्यातबाट २९ अर्ब ३२ करोड ४७ लाख रुपैयाँ आम्दानी गरेको पनि बताए ।

यद्यपि, नेपालका जलविद्युत् आयोजनाहरू मुख्यत: नदी प्रवाहमा आधारित (आरओआर) भएकाले वर्षायाममा बढी भएको विद्युत् निर्यात गर्नुपर्ने र सुक्खायाममा १० अर्ब ५५ करोड रुपैयाँ बराबरको विद्युत् आयात गर्नुपर्ने बाध्यात्मक अवस्था रहेको उनले बताए ।

‘विद्युत् निर्यात र स्वदेशी आपूर्ति एकअर्काका विरोधाभास होइनन् । अहिलेको मुख्य चुनौती उत्पादनमा मात्र नभई प्रशारण तथा वितरण पूर्वाधारको न्युन क्षमता र जीर्ण अवस्थामा छ,’ उनले भनेका छन् ।

वितरण प्रणालीमा देखिएका समस्या अध्ययन गर्न मन्त्रालयले २०८३ असार १६ गते गठन गरेको उच्चस्तरीय समितिको प्रतिवेदन कार्यान्वयनको चरणमा रहेको जानकारी समेत उनले दिए ।

उक्त प्रतिवेदनका सुझावहरू कार्यान्वयनका लागि २०८३ साउन २० गते नै नेपाल विद्युत् प्राधिकरणलाई पठाइसकिएको र सोही अनुरूप सुधारका कामहरू भइरहेको उनको भनाइ छ ।

मन्त्री श्रेष्ठले बढ्दो विद्युत् माग र पुराना संरचनाका कारण केही स्थानमा समस्या देखिएको स्वीकार गर्दै काठमाडौं उपत्यकासहित प्रमुख सहरहरूमा स्मार्ट मिटरिङ, सब–स्टेशन अटोमेसन र औद्योगिक क्षेत्रमा डेडिकेटेड फिडर निर्माणको काम तिब्र पारिएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?