+
+
Shares

प्राप्त अधिकारलाई संस्थागत र पुस्तान्तरण गर्नुपर्छ : ऊर्जामन्त्री

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन २४ गते १७:०३
फाइल तस्वीर

News Summary

Generated by OK AI. Editorially reviewed.
  • ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले आदिवासी जनजाति समुदायले प्राप्त गरेका अधिकारहरूलाई संस्थागत गर्दै आगामी पुस्तामा हस्तान्तरण गर्नुपर्नेमा जोड दिएका छन् ।
  • मन्त्री श्रेष्ठले आदिवासी जनजातिको भाषा, संस्कृति र पहिचान रक्षाका लागि भएको संघर्षको स्मरण गर्दै प्राप्त उपलब्धिको रक्षा गर्नु आजको मुख्य दायित्व भएको बताएका छन् ।
  • उनले परम्परागत ज्ञान र सीपलाई विज्ञान तथा प्रविधिसँग जोड्दै अर्थतन्त्रको शक्ति बनाउनुपर्ने र जल, जमिन तथा जङ्गलको संरक्षणमा सबैको ऐक्यवद्धता आवश्यक रहेको बताएका छन् ।

२४ साउन, काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले आदिवासी जनजाति समुदायले प्राप्त गरेका अधिकारहरूलाई संस्थागत गर्दै आगामी पुस्तामा हस्तान्तरण गर्नुपर्नेमा जोड दिएका छन् ।

३२औँ विश्व आदिवासी जनजाति दिवसका अवसरमा आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

मन्त्री श्रेष्ठले आदिवासी जनजातिको भाषा, संस्कृति, सम्पदा र पहिचान रक्षाका लागि पुस्ताौँदेखि भएको संघर्षको स्मरण गर्दै प्राप्त उपलब्धिको रक्षा गर्नु आजको मुख्य दायित्व भएको बताए ।

नेपालको संविधानले समानुपातिक समावेशिता, सामाजिक न्याय र पहिचानका क्षेत्रमा अधिकार सुनिश्चित गरेको उल्लेख गर्दै मन्त्री श्रेष्ठले संघीय लोकतान्त्रिक गणतन्त्रको संरचनाले राज्यका निकायहरूमा विविध समुदायको प्रतिनिधित्वको ढोका खोलेको बताए ।

वर्तमान सरकारले आफ्नो नीति, कार्यक्रम तथा बजेटमार्फत आदिवासी समुदायको परम्परागत सीप र सांस्कृतिक मूल्यलाई राष्ट्रिय सम्पदाका रूपमा संरक्षण गर्ने प्रण गरेको उनले जानकारी दिए ।

मन्त्री श्रेष्ठले प्राप्त अधिकारहरूलाई अवसर र अर्थतन्त्रसँग जोड्नुपर्ने आवश्यकता औँल्याए ।

मन्त्री श्रेष्ठले भने, ‘आजको दिन उत्सव मनाउने मात्र नभई इतिहासको समीक्षा गर्ने र भावी पुस्ताको भविष्य सुनिश्चित गर्न संकल्प गर्ने दिन पनि हो । हाम्रो संस्कृति केवल पर्वमा प्रदर्शन गर्ने विषय मात्र नभई पहिचान र अर्थतन्त्रको शक्ति बन्नुपर्छ । परम्परागत ज्ञान र सीपलाई विज्ञान तथा प्रविधिसँग जोड्दै नयाँ पुस्तामा हस्तान्तरण गर्न सक्नुपर्छ ।’

बसाइँसराइ, तिब्र आधुनिकीकरण र जलवायु परिवर्तनका कारण आदिवासी जनजाति समुदाय सबैभन्दा बढी प्रभावित भइरहेको प्रति सचेत गराउँदै मन्त्री श्रेष्ठले जल, जमिन र जङ्गलको संरक्षणमा सबैको ऐक्यवद्धता आवश्यक रहेको बताए ।

नेपालको विविधता नै राष्ट्रको मुख्य शक्ति भएको चर्चा गर्दै उहाँले मौलिक कला र अमूर्त सांस्कृतिक सम्पदाको संरक्षण गर्नु राज्य र समुदायको साझा कर्तव्य भएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?