१८ असार, डोल्पा । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जगदुल्ला जलविद्युत् आयोजनाको निर्माण सम्पन्न भए कर्णालीको विकासमा ठूलो फड्को हुने बताएका छन् ।
बिहीबार डोल्पाको मुड्केचुला र जगदुल्ला गाउँपालिकामा निर्माणाधीन आयोजनास्थल पुगेर उनले यस्तो बताएका हुन् ।
सो अवसरमा उनले १०६ मेगावाट क्षमताको जगदुल्ला अर्धजलाशययुक्त जलविद्युत् आयोजना बन्दा कर्णालीलाई ठूलो लाभ हुने बताएका हुन् । ‘जगदुल्ला जलविद्युत् आयोजना डोल्पाको मात्र नभई समग्र कर्णाली प्रदेशको आर्थिक तथा सामाजिक विकासको आधार बन्छ,’ उनले भने, ‘यो जलविद्युत आयोजनाले स्थानीय उत्पादनले सहज बजार पाउने, रोजगारीका अवसर सिर्जना हुने तथा मुड्केचुलाका नागरिकको जीवनस्तर उकास्न महत्वपूर्ण भूमिका खेल्नेछ ।’ उनले यो आयोजनाले कर्णालीलाई ऊर्जा क्षेत्रमा दिगो र आत्मनिर्भर बनाउन मद्दत गर्ने बताए ।

सरकारले कर्णालीका विकास आयोजनालाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेको बताउँदै उनले देश विकासका लागि सबै तहका सरकार, निजी क्षेत्र र स्थानीय समुदायबीच सहकार्य आवश्यक रहेको बताए ।
मन्त्री श्रेष्ठ जलविद्युत् आयोजना अन्तर्गत निर्माण सम्पन्न भएका कार्यालय, आवास भवन र पहुँचमार्गमा निर्माण गरिएका बेलिब्रिजको उद्घाटन गर्न कैलाश हेलिकप्टरबाट डोल्पा पुगेका हुन् ।


प्रतिक्रिया 4