+
+
Shares

किरण थापालाई बागमतीको मुख्यमन्त्री बनाउने एमालेको निर्णय

त्यस्तै संसदीय दलका नेतामा जगन्नाथ थपलियालाई नै निरन्तरता दिने निर्णय पनि बैठकले गरेको छ।

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ २ गते १५:५२

२ भदौ, काठमाडौं । नेकपा एमालेले प्रदेश सभा सदस्य किरण थापालाई बागमती प्रदेश सरकारको मुख्यमन्त्री बनाउने निर्णय गरेको छ। केहीबेरअघि बसेको संसदीय दलको बैठकले थापालाई मुख्यमन्त्री बनाउने निर्णय गरेको हो।

त्यस्तै संसदीय दलका नेतामा जगन्नाथ थपलियालाई नै निरन्तरता दिने निर्णय पनि बैठकले गरेको छ।

मुख्यमन्त्रीको कुर्सीका लागि एमाले नेताहरू बीच विवाद चर्किरहेको बे‍ला संसदीय दलको बैठकले टुंग्याएको हो। एमाले र नेपाली कम्युनिष्ट पार्टी (नेकपा)बीच नयाँ सत्ता समीकरणको सहमति भएसँगै प्रदेश सरकारहरूको भागबण्डामा बागमती प्रदेशको नेतृत्व एमालेले पाएको हो।

मुख्यमन्त्री आफ्नो भागमा परेसँगै एमालेमा कसलाई मुख्यमन्त्री बनाउने भन्ने सन्दर्भमा नेताहरूबीच तीव्र प्रतिस्पर्धा, खिचातानी र आन्तरिक संघर्ष चलेको थियो।

मुख्यमन्त्री बन्ने पक्कापक्की भएका थापा भक्तपुरबाट निर्वाचित सांसद हुन्। थपलिया र थापाबीच मुख्यमन्त्रीका विषयमा प्रतिस्पर्धा चलेपछि पार्टी अध्यक्ष केपी शर्मा ओली आफैँले निरन्तर छलफल गरेका थिए।

बागमती प्रदेशसभा १०४ सदस्यीय छ । यो अंकगणितअनुसार सरकार गठनका लागि ५३ जना सदस्यको बहुमत पुर्‍याउनुपर्ने हुन्छ । बागमती प्रदेशसभामा कांग्रेस ३६ सिटसहित सबैभन्दा ठूलो दल छ । नेकपाको २६ सिट, नेकपा एमालेको २५ सिट (उपसभामुखसहित) छ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को १२, नेपाल मजदुर किसान पार्टीको ३ र हाम्रो नेपाली पार्टीको २ सिट छ । राप्रपाले यहाँ तटस्थ बस्ने निर्णय गरिसकेको छ।

एमाले र नेकपा मिलेर ५१ सांसदका साथ सरकार बनाउँदा २ सिट अपुग हुन्छ । एमालेकी अप्सरा चापागाईं उपसभामुख रहेकाले सरकार गठनको प्रक्रियामै बहुमत पुर्‍याउन अन्य साना दलको साथ अपरिहार्य बनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?