+
+
Shares

शिवम् सिमेन्टमा अनुबन्धित आयुष कुँवरले तोडे ३० वर्ष पुरानो राष्ट्रिय कीर्तिमान

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ २ गते १६:५८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • लण्डनमा अगस्ट ९ मा आयुष कुँवरले २०० मिटर दौड २१.६६ सेकेन्डमा पूरा गर्दै आफ्नै २१.८७ सेकेन्डको राष्ट्रिय कीर्तिमान तोडेका छन्।
  • आयुषले यसअघि अमेरिकाको लस एन्जलसमा २१.८७ सेकेन्डमा २०० मिटर दौडेर ३० वर्ष पुरानो राष्ट्रिय कीर्तिमान भङ्ग गरेका थिए।
  • उनले ६० मिटर दौडमा पनि ७.०२ सेकेन्डको राष्ट्रिय कीर्तिमान बनाएका छन्, जसलाई वर्ल्ड एथलेटिक्सको आधिकारिक अभिलेखमा समावेश गरिएको छ।

२ भदौ, काठमाडौं । शिवम् सिमेन्टमा अनुबन्धित नेपाली स्प्रिन्टर आयुष कुँवरले २०० मिटर दौडमा आफ्नै राष्ट्रिय कीर्तिमान सुधार गर्दै नेपाली एथलेटिक्समा नयाँ इतिहास रचेका छन्।

अगस्ट ९ मा लण्डनमा सम्पन्न २०० मिटर दौडमा आयुषले २१.६६ सेकेन्डमा दौड पूरा गर्दै यसअघि आफ्नै नाममा रहेको २१.८७ सेकेन्डको राष्ट्रिय कीर्तिमान तोडेका हुन्।

यसअघि अमेरिकाको लस एन्जलसमा आयोजित प्रतियोगितामा आयुषले २१.८७ सेकेन्डमा २०० मिटर पूरा गर्दै सन् २९९५ देखि कायम रहेको ३० वर्ष पुरानो राष्ट्रिय कीर्तिमान तोडेका थिए।

आयुषले यसअघि ६० मिटर दौडमा पनि राष्ट्रिय कीर्तिमान बनाइसकेका छन् । उनले सन् २००१ मा रामकृष्ण चौधरीले कायम गरेको ७.०९ सेकेन्डको कीर्तिमान सुधार गर्दै ७.०२ सेकेन्डको नयाँ राष्ट्रिय कीर्तिमान बनाएका थिए। उनका यी कीर्तिमान वर्ल्ड एथलेटिक्सको आधिकारिक अभिलेखमा समेत समावेश छन्।

नेपाली खेलकुद, विशेषगरी एथलेटिक्समा अन्तर्राष्ट्रिय स्तरका प्रतियोगितामा सहभागी हुने अवसर सीमित रहेको अवस्थामा आयुषले स्वयम् अवसर खोज्दै वर्ल्ड एथलेटिक्सबाट स्वीकृत प्रतियोगितामा सहभागिता जनाउँदै आएका छन्। राष्ट्रिय कीर्तिमान तोड्ने लक्ष्य उनले सन् २०२३ देखि नै राखेका थिए।

वर्ल्ड एथलेटिक्स अन्तर्राष्ट्रिय एथलेटिक्स खेलको नियामक संस्था हो। यसले अन्तर्राष्ट्रिय प्रतियोगिताका नियम तथा मापदण्ड निर्धारण गर्नुका साथै आधिकारिक कीर्तिमानलाई मान्यता दिने गर्छ। त्यसैले वर्ल्ड एथलेटिक्सबाट स्वीकृत प्रतियोगितामा कायम भएका कीर्तिमानलाई आधिकारिक अन्तर्राष्ट्रिय अभिलेखमा समावेश गरिन्छ।

आयुषलाई नेपाली खेलकुदको प्रवर्द्धन तथा प्रतिभावान खेलाडीलाई प्रोत्साहन गर्ने उद्देश्यले शिवम् सिमेन्टले सन् २०२३ देखि अनुबन्धित गर्दै आएको छ। कम्पनीले उनको प्रशिक्षण तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिताका लागि हवाई टिकट, खेल पोशाकलगायत आवश्यक सहयोग उपलब्ध गराउँदै आएको जनाएको छ।

सन् २०२५ मा दक्षिण कोरियाको गुमीमा आयोजित एसियाली एथलेटिक्स प्रतियोगिताका क्रममा ह्यामस्ट्रिङ चोटका कारण प्रतिस्पर्धाबाट बाहिरिन बाध्य भएका आयुषले चोटपछि कठिन पुनरागमन गरेका हुन्। सीमित स्रोतसाधन र संस्थागत चुनौतीका बाबजुद निरन्तर प्रशिक्षण र मेहनतलाई कायम राख्दै उनले एक वर्षपछि आफ्नै राष्ट्रिय कीर्तिमान सुधार गर्न सफल भएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?