News Summary
Generated by OK AI. Editorially reviewed.- सन्धिखर्क नगरपालिकामा जेठ १२ गतेदेखि करदाता सेवा प्रवाह शुरु भएपछि स्थानीयले सहज, छिटो र झन्झटमुक्त सेवा पाएका छन्।
- साउन मसान्तसम्म १ सय ६० फर्म र करदाताले सेवा लिएका छन्, जसमा ३९ व्यवसाय प्यान र ३३ व्यक्तिगत प्यान जारी भएका छन्।
- नगरपालिकाका अनुसार ४३ फर्मले व्यवसाय प्यान बन्द गरेका छन्, १८ ले कारोवार संशोधन तथा प्रतिलिपि र २७ ले करचुक्ता प्रमाणपत्र लगेका छन्।
३ भदौ, अर्घाखाँची । अर्घाखाँचीको सन्धिखर्क नगरपालिकामा शुरु भएको करदाता सेवा प्रवाहले स्थानीय लाभान्वित भएका छन् । स्थानीय तहबाटै करसम्बन्धी सेवा प्राप्त गरेपछि सहज, छिटो र झन्झटमुक्त सेवा पाएको भन्दै सेवाग्राहीहरू खुशी भएका हुन् ।
सन्धिखर्क नगरपालिकामा ३५ सय भन्दा बढी करदाता सेवाग्राही रहेका छन् । गएको जेठ १२ गते देखि करदाताको सेवा प्रवाह शुरु भएको थियो । शुरु भएको छोटो समयमै अर्थात गएको जेठ १२ गतेबाट साउन मसान्त सम्म विभिन्न प्रकृतिका १ सय ६० वटा फर्म तथा करदाताले सेवा प्राप्त गरेको नगरपमलिकाका सूचना प्रविधि अधिकृत विशाल महतले बताएका छन् ।
यस अवधिमा ३९ वटा व्यवसाय प्यान र ३३ वटा व्यक्तिगत प्यान जारी भएका छन् । ४३ वटा फर्मले व्यवसाय प्यान बन्द गरेका छन् । १८ वटा फर्मले कारोवार संसोधन तथा प्रतिलिपि लगेको र २७ फर्मले करचुक्ता प्रमाणपत्र लगेको सूचना प्रविधि अधिकृत महतको भनाइ छ ।
नगर प्रमुख कृष्णप्रसाद श्रेष्ठले स्थानीय सरकार नागरिकको घरदैलोमै सेवा पुर्याउने उद्देश्यअनुसार कर सेवा सञ्चालन गरिएको बताउँदै नागरिकले सामान्य करसम्बन्धी सेवा लिन टाढा धाउनुपर्ने बाध्यता अन्त्य भएको र आगामी दिनमा थप प्रविधिमैत्री, छिटो र प्रभावकारी सेवा विस्तार गरिने जानकारी दिए ।
स्थानीय तहबाट कर सेवा सुरु भएसँगै नगरपालिकाप्रति नागरिकको विश्वास अझ मजबुत बनेको प्रमुख प्रशासकीय अधिकृत प्रमोद खनालले विश्वास व्यक्त गरे । नगरपालिकाले सेवा प्रवाहलाई थप व्यवस्थित बनाउँदै करदातामैत्री वातावरण सिर्जना गर्ने लक्ष्य लिएको छ ।
यसअघि सामान्य करसम्बन्धी सेवा लिन सेवाग्राहीहरूलाई कपिलबस्तुको कृष्णनगर सम्म पुग्नुपर्ने बाध्यता थियो ।
प्रतिक्रिया 4