+
+
Shares

होटल श्रमिकको १० प्रतिशत सेवा शुल्क निरन्तरता दिन माग

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)  सांसद लिमा अधिकारीले होटल तथा पर्यटन क्षेत्रमा कार्यरत श्रमिकले पाउँदैआएको १० प्रतिशत सेवा शुल्कलाई निरन्तरता दिन सरकारसँग माग गरेकी छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ ३ गते १५:५६

३ भदौ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)  सांसद लिमा अधिकारीले होटल तथा पर्यटन क्षेत्रमा कार्यरत श्रमिकले पाउँदैआएको १० प्रतिशत सेवा शुल्कलाई निरन्तरता दिन सरकारसँग माग गरेकी छन् ।

बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै अधिकारीले सेवा शुल्कसम्बन्धी कानुनी अन्योलका कारण श्रमिकको पारिश्रमिक र सामाजिक सुरक्षामा असर परेको बताइन् ।

उनले श्रम ऐन तत्काल संशोधन गरी १० प्रतिशत सेवा शुल्क उठाउने र वितरण गर्ने स्पष्ट कानुनी व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराइन् ।

होटल तथा पर्यटन क्षेत्रमा कार्यरत श्रमिकले लामो समयदेखि सेवा शुल्क पाउँदै आएको भएपनि पछिल्लो समय कानुनी विवादका कारण यसको व्यवस्था अन्योलमा परेको उनले बताइन् ।

सेवा शुल्क श्रमिकको आम्दानीसँग प्रत्यक्ष जोडिएको विषय भएकाले यसको व्यवस्था हट्दा श्रमिक परिवारको पालनपोषणमा समेत असर पर्ने उनको भनाइ थियो ।

‘श्रमिकको अधिकार भनेको पारिश्रमिकमा मात्र सीमित हुँदैन । उनीहरूको सामाजिक सुरक्षा सुनिश्चित गर्नु पनि राज्यको दायित्व हो,’ अधिकारीले भनिन्, ‘त्यसैले श्रम ऐन तत्काल संशोधन गरेर १० प्रतिशत सेवा शुल्क उठाउने र वितरण गर्ने स्पष्ट कानुनी व्यवस्था गरिनुपर्छ ।’

उनले होटल तथा पर्यटन क्षेत्रमा काम गर्ने श्रमिकको सामाजिक सुरक्षा सुनिश्चित गर्न नसके त्यसले श्रम बजारमा असुरक्षा बढाउने बताइन् ।

श्रमिकको अधिकार संरक्षण हुने गरी कानुनी व्यवस्था स्पष्ट पार्न र पर्यटन क्षेत्रलाई मर्यादित श्रम क्षेत्रका रूपमा विकास गर्न उनले सरकारसँग आग्रह गरिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?