News Summary
Generated by OK AI. Editorially reviewed.- सीआईबीले सेयर कारोबारी दीपेन्द्र अग्रवालसहित परिवार सदस्य र कारोबारमा संलग्न साझेदारका बैंक खाता रोक्का गरेको छ ।
- सीआईबीले अग्रवाललाई सेयर मूल्य कृत्रिम रूपमा बढाउने, झुटो कारोबार गर्ने र मूल्य प्रभावित पार्ने कसुरमा अनुसन्धान गरिरहेको छ ।
- अनुसन्धानमा अग्रवालसँग जोडिएका करिब ५५ अर्बको नेटवर्थ भेटिएपछि सम्पत्ति शुद्धीकरणको कसुरमा पनि अनुसन्धान भइरहेको छ ।
३ भदौ, काठमाडौं । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले सेयर कारोबारी दीपेन्द्र अग्रवाल सहित परिवार सदस्य तथा कारोबारमा संलग्न केही साझेदारको बैंक खाता रोक्का गरेको छ । सीआईबीले अग्रवाललाई सेयर मूल्य कृत्रिम रूपमा बढाएको र झुटो कारोबार तथा मूल्य प्रभावित कसुरमा अनुसन्धान गर्दै आएको थियो ।
यसअघि नेपाल धितोपत्र बोर्डले अनुसन्धान गरेर कारबाही गर्ने प्रक्रिया अघि बढाएको थियो । सोही अनुसार सीआईबीले गत पुसमा पक्राउ गरी १० दिन हिरासतमा बसेका अग्रवाल हाजिरी जमानीमा रिहा भएका थिए ।
सोही कसुरको अनुसन्धानका क्रममा उनी तथा उनले कारोबार गर्ने परिवार सदस्यको र अन्य साझेदारसँगको पनि खाता रोक्का गरिएको ब्यूरो स्रोतले बताएको छ ।
‘जारी अनुसन्धानका क्रममा दीपेन्द्र अग्रवालसँग कारोबारमा जोडिएका परिवार सदस्य तथा व्यक्तिहरूको बैंक खाता रोक्का गरिएको हो,’ स्रोतले भन्यो, ‘ठगी, झुटा सेयर कारोबार लगायतका आरोपमा ब्यूरोले अनुसन्धान गरिरहेको छ ।’
अग्रवाललाई पहिले आफूले सस्तोमा सेयर खरिद गर्ने र पछि गलत प्रचारप्रचार गरी मूल्य बढाइ बिक्री गर्ने गरेको आरोप लाग्ने गरेको छ । बोर्डको अध्ययनले पनि अग्रवालले झुटा कारोबार गर्ने गरेको ठहर गर्दै ब्यूरोलाई थप अनुसन्धानका लागि पठाएको थियो ।
बैंक खाता रोक्का भएको जानकारीपछि अग्रवाल ब्यूरो पुगेका थिए । ब्यूरोले अग्रवाललाई अनुसन्धानमा सहयोग गर्न अनुरोध गरेपछि फिर्ता भएका थिए । ब्यूरोको अनुसन्धाले करिब ५५ अर्बको नेटवर्थ पत्ता लगाएपछि सम्पत्ति शुद्धीकरणको कसुरमा समेत अनुसन्धान भइरहेको ब्यूरो स्रोतले अनलाइनखबरलाई जानकारी दियो ।
त्यस्तै अग्रवालले आपसी खरिद–बिक्री तथा आफन्त सम्बद्ध संस्थाबीच वास्तविक स्वामित्व नबदलिने गरी कारोबार गरेको समेत सीआईबीले जनाएको छ । अग्रवालले अन्य व्यक्तिका कारोबार खाता पनि आफै चलाउने र धितोपत्र ब्रोकरसँग लिनुपर्ने पैसा असुल गर्ने तर तिर्नुपर्ने पैसाका सन्दर्भमा अनेक लफडा गरेर भुक्तानी नदिने गरेका थिए । आफैले एक कारोबार खाताको पैसा अर्को व्यक्तिकोमा ट्रान्सफर गर्ने गरेको भन्दै बोर्डमा उजुरी परेको थियो ।
पछिल्लो समयमा उनी सिन्धुपाल्चोकको भोटेकोशी हेली रिसोर्टमा प्रवेश गरेर विवादमा आएका छन् । हाल उक्त रिर्सोट बन्द अवस्थामा छ भने बैंकले तेस्रो पटक लिलामी गर्ने क्रममा छ ।
साथै रिसोर्टका कर्मचारीहरू पनि पारिश्रमिक नपाएपछि श्रम विभागमा उजुरी दिएका छन् । होटल भने पूर्ण रुपमा अग्रवालको नियन्त्रणमा छ । तर, कम्पनी रजिष्ट्रारको कार्यालयमा भने उनले फर्जी सञ्चालक समिति बनाइ अद्यावधिक गरेका छन् ।
होटलको बहुसंख्यक सेयर लिएका अग्रवाल नै अध्यक्ष थिए, तर बैंकले रिसोर्ट लिलामी गर्ने भएपछि आफू कालोसूचीमा पर्नबाट जोगिन उनले फर्जी काम गरेको होटलका एक लगानीकर्ताले बताए ।
प्रतिक्रिया 4