+
+
Shares

बाजुराको गौमुलमा १० शय्याको अस्पताल सञ्चालन

आधारभूत अस्पताल सञ्चालनमा आएसँगै गौमुलबासीले सामान्य जाँच तथा उपचारका लागि सदरमुकाम मार्तडी वा धनगढी धाउनुपर्ने बाध्यता हट्ने अपेक्षा गरिएको छ ।

प्रकाश सिंह प्रकाश सिंह
२०८३ भदौ ४ गते १५:४५

४ भदौ, बाजुरा । बाजुराको गौमुल गाउँपालिकाले १० शय्याको अस्पताल सञ्चालनमा ल्याएको छ । निर्माण सम्पन्न भएको करिब डेढ वर्षपछि अस्पताल सञ्चालनमा आएको हो ।

गौमुल गाउँपालिका–२ मालिवनमा निर्माण गरिएको अस्पताल २०७७ चैतमा १३ करोड ८४ लाख ९१ हजार रुपैयाँमा ठेक्का सम्झौता गरी निर्माण सुरु गरिएको थियो । पीएस रोयल जेभी धनगढीले करिब चार वर्ष लगाएर अस्पताल निर्माण सम्पन्न गरेपछि २०८१ माघमा गाउँपालिकालाई हस्तान्तरण गरेको थियो ।

निर्माण सम्पन्न भए पनि विद्युत् सेवा, औषधि तथा उपकरण र जनशक्ति व्यवस्थापनमा केही ढिलाइ हुँदा अस्पताल सञ्चालनमा आउन सकेको थिएन ।

आवश्यक पूर्वाधार र जनशक्ति व्यवस्थापन गर्दै अहिले सीमित स्वास्थ्य सेवा सुरु गरिएको गाउँपालिका अध्यक्ष हरिबहादुर रोकायाले जानकारी दिए । अस्पतालमा मेडिकल अधिकृत सहितको जनशक्ति व्यवस्थापन गर्ने तयारी भए पनि तत्काल चिकित्सक उपलब्ध हुन नसकेपछि भएकै जनशक्तिबाट सेवा सुरु गरिएको अध्यक्ष रोकायाले बताए ।

‘मेडिकल अधिकृतका लागि धेरै खोज्यौँ, तर तत्काल पाउन सकिएन । केही सम्पर्कमा आएका चिकित्सकले पनि आउन मानेनन्,’ उनले भने, ‘अहिले आवश्यक अन्य जनशक्ति, औषधि र उपकरणको व्यवस्था गरिएको छ । अब तत्कालै चिकित्सकको व्यवस्था गरेर नागरिकलाई सहज र गुणस्तरीय स्वास्थ्य सेवा दिने तयारीमा छौँ ।’

गाउँपालिका अध्यक्ष रोकायाका अनुसार प्रारम्भिक चरणमा उपलब्ध जनशक्ति र स्रोतसाधनबाट सीमित सेवा सञ्चालन गरिएको भए पनि आवश्यक जनशक्ति र उपकरण थप गर्दै सेवा विस्तार गरिने छ । अस्पतालमा दुई जना एमबीबीएस चिकित्सकसहित २२ जना कर्मचारी रहने व्यवस्था छ ।

गाउँपालिकामै सुविधा सम्पन्न १० शय्याको अस्पताल सञ्चालनमा आएपछि नागरिकले स्थानीय तहमै स्वास्थ्य सेवा पाउने वातावरण बनेको गाउँपालिका उपाध्यक्ष सीता थापाले बताइन् । उनका अनुसार यसअघि सामान्य जाँच तथा उपचार बाहेकका स्वास्थ्य सेवाका लागि नागरिकले सदरमुकाम मार्तडी तथा धनगढी लगायतका विभिन्न शहरसम्म पुग्नुपर्ने बाध्यता थियो ।

‘यसअघि सामान्य उपचारका लागि पनि बाहिर जानुपर्ने अवस्था थियो । भौगोलिक रूपमा विकट गाउँका नागरिकले उपचारका लागि ठूलो रकम खर्च गर्नुपर्थ्यो,’ उपाध्यक्ष थापाले भनिन्, ‘अब विशेषज्ञ चिकित्सकसहित आवश्यक जनशक्ति र उपकरणको व्यवस्था गरेर पालिकामै गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने लक्ष्य छ ।’

यसअघि सामान्य स्वास्थ्य चौकीबाट उपलब्ध हुने सीमित सेवामा निर्भर रहेका त्यहाँका स्थानीयले अब क्रमश: थप स्वास्थ्य सेवा आफ्नै पालिकाबाट पाउने आशा व्यक्त गरेका छन् । आधारभूत अस्पताल सञ्चालनमा आएसँगै गौमुलबासीले सामान्य जाँच तथा उपचारका लागि सदरमुकाम मार्तडी वा धनगढी धाउनुपर्ने बाध्यता घट्दै जाने अपेक्षा गरिएको छ ।

स्थानीय तहमै चिकित्सकीय स्वास्थ्य सेवा विस्तार हुँदा समय, खर्च र दु:ख कम हुने स्थानीयले बताएका छन् । पालिकामै आधारभूत अस्पताल सञ्चालनमा आएसँगै विशेषज्ञ चिकित्सक तथा स्वास्थ्य सेवा उपलब्ध भए ठूलो राहत मिल्ने उनीहरूले बताए ।

गाउँपालिकामै १० शय्याको अस्पताल सञ्चालनमा आएसँगै जिल्लाका ९ वटा स्थानीय तहमध्ये गौमुल दोस्रो बनेको छ । यसअघि सबैभन्दा पहिले जगन्नाथ गाउँपालिकाले २०८० चैतमा १० शय्याको अस्पताल सञ्चालनमा ल्याएको थियो ।

हालसम्म बाजुराका दुई स्थानीय तहले अस्पताल निर्माण गरेर सञ्चालनमा ल्याइसकेका छन् भने बडीमालिका नगरपालिकाको भवन निर्माण सम्पन्न भए पनि सञ्चालनमा आउन सकेको छैन । अन्य पालिकामा भने अस्पताल निर्माणाधीन अवस्थामा छन् ।

लेखक
प्रकाश सिंह

परोपकारी पत्रकारितामा रूचि राख्ने सिंह बाजुराका पत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?