४ भदौ, काठमाडौं । बाह्रखरी मिडियाले आठौँ संस्करणको कथा प्रतियोगिता घोषणा गरेको छ। काठमाडौँमा भदौ ४ गते पत्रकार सम्मेलन गर्दै मिडियाले ‘डिगो आठौँ बाह्रखरी कथा प्रतियोगिता, २०८३’ का लागि कथा आह्वान गरेको हो।
संसारभरका नेपाली भाषाका कथाकारले प्रतियोगितामा भाग लिन सक्नेछन्। सहभागीले आगामी असोज ३ गतेभित्र आफ्नो कथा इमेलमार्फत पठाउनुपर्नेछ।
‘नेपालको कथा लेखन प्रतियोगिताको सबैभन्दा ठूलो पुरस्कार राशि रहेको यस कथा प्रतियोगितामा यही असोज ३ गतेसम्म सम्पूर्ण प्रतियोगीहरूले 12kharibooks@gmail.com मा इमेल गरेर कथा पठाउनुपर्नेछ,’ विज्ञप्तिमा भनिएको छ, ‘नेपाली भाषाका सर्जकहरूले संसारभरिबाट कथा पठाउन सक्नेछन् ।’
प्रतियोगितामा पहिलो हुनेले दुई लाख रुपैयाँ पाउनेछन्। दोस्रो हुनेले एक लाख र तेस्रो हुनेले ६० हजार रुपैयाँ नगद पुरस्कार पाउनेछन्। यसबाहेक उत्कृष्ट २५ भित्र पर्ने अन्य २२ जना कथाकारले जनही सात हजार रुपैयाँ पुरस्कार पाउनेछन्।
यस वर्षको निर्णायक समूहको संयोजकमा भुवन ढुंगाना रहेका छन्। निर्णायक समूहका सदस्यमा डा. ज्ञानु अधिकारी र खगेन्द्र लामिछाने छन्। आन्तरिक समूहले प्रारम्भिक चरणमा छनोट गरेका ५० कथा निर्णायक टोलीलाई बुझाउनेछ।
प्रतियोगिताका लागि कथा न्यूनतम १,५०० देखि अधिकतम ४ हजार शब्दसम्मको हुनुपर्नेछ। कथा वर्ड फाइलमा मात्र पठाउनुपर्नेछ। पूर्वप्रकाशित वा पूर्वप्रसारित कथा पठाउन पाइनेछैन। विगतका संस्करणमा पठाइएका कथा पनि पठाउन पाइनेछैन।
प्रतियोगीले कथासँगै आफ्नो छोटो परिचय, फोन नम्बर र हालै खिचिएको फोटो पठाउनुपर्नेछ। प्रतियोगिताको नतिजा २०८३ मंसिरमा सार्वजनिक हुनेछ। सोही दिन उत्कृष्ट २५ कथा समेटिएको ‘उत्कृष्ट कथा, २०८३’ पुस्तकको लोकार्पण पनि हुनेछ।
गत वर्षझैँ यस वर्ष पनि उत्कृष्ट कथासंग्रहको प्रकाशन फाइनप्रिन्टले गर्नेछ। प्रतियोगिताको टाइटल स्पोन्सर डिगो रहेको छ। यस्तै सांस्कृतिक अभियानका लागि सूर्य नेपाल गाथाको साथ रहेको छ।
प्रतियोगिताका अन्य सहयोगी संस्थाहरूमा एनआईएमबी बैंक, नासा सेक्युरिटीज, सिटी एक्सप्रेस मनी ट्रान्सफर र युनाइटेड अजोड इन्स्योरेन्स लि. रहेका छन्। यस्तै यति एयरलाइन्स, वेदालय तथा करुणा फाउन्डेसन नेपाल पनि सहयोगी संस्थाका रूपमा रहेका छन्।
विगत सात वर्षमा विश्वभरका करिब ६ हजार कथाकारले यस प्रतियोगितामा सहभागिता जनाइसकेका छन्। गत वर्ष यस प्रतियोगितामा एक हजार १ सय ६८ वटा कथा प्राप्त भएका थिए।
प्रतिक्रिया 4