+
+
Shares

भ्रष्टाचार नेपालमा, कारोबार यूएईमा

सार्वजनिक खरिदको निर्णय नेपालमा हुन्छ । तर विदेशी कम्पनीसँग सम्झौता, बिचौलिया कम्पनी खडा गर्नेदेखि कमिसनको कारोबार विदेशमै हुन्छ । यो थाहा पाएर पनि अख्तियार केही गर्न सक्दैन ।

रघुनाथ बजगाईं रघुनाथ बजगाईं
२०८३ भदौ ४ गते २२:१२
Listen News
0:00
0:00
🔊

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अख्तियार प्रमुख प्रेमकुमार राईले नेपालका ठूला भ्रष्टाचारका डिलिङ केन्द्र संयुक्त अरब इमिरेट्स, अमेरिका र सिंगापुर भएको र म्युचुअल लिगल एसिस्टेन्ट एग्रिमेन्ट नभएकाले सूचना नआउने बताए ।
  • उनले २०७७/०७८ देखि २०८२/०८३ सम्म १११ भीआईपीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको र प्रधानमन्त्रीदेखि मन्त्रीसम्मका मुद्दा अघि बढेको बताए ।
  • राईले विदेशमा रहेका बैंक खाता र कम्पनी विवरण नपाउँदा अनुसन्धान जटिल हुने भन्दै पारस्परिक कानुनी सहायता सन्धि आवश्यक रहेको बताए ।

४ भदौ, काठमाडौं । परम्परागत भ्रष्टाचारमा घुस लिने र दिने व्यक्ति एउटै देशमा भेटिन्थे । सरकारी अधिकारीले ठेकेदारसँग पैसा लिन्थे, बिचौलियाले नगद पुर्‍याउँथे र सम्पत्ति नेपालमै जोड्थे ।

तर, अन्तरदेशीय संरचनामा भ्रष्टाचार हुन थालेपछि नियन्त्रण गर्न धेरै देशको लागि चुनौती बनेको सम्बन्धित अधिकारीहरू बताउँछन् । यस्तो समस्याबाट नेपाल पनि प्रताडित छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अधिकारीहरूका अनुसार विगतमा नेपालमा हुने भ्रष्टाचारको डिलिङ ठाउँ वा केन्द्रमा सिंहदरबार, मन्त्रालय, विकास आयोजना स्थल आदि हुन्थे । अहिले ठूला भ्रष्टाचारको डिलिङको सन्दर्भमा अवस्था फरक छ ।

अख्तियारका प्रमुख आयुक्त प्रेमकुमार राईका अनुसार नेपालमा हुने ठूला भ्रष्टाचारको सबैभन्दा बढी डिलिङ हुने ठाउँ संयुक्त अरब इमिरेट्स (यूएई) हो । यसबाहेक अमेरिका र सिंगापुरमा पनि डिलिङ हुन्छ ।

सार्वजनिक खरिदको निर्णय नेपालमा हुन्छ । तर विदेशी कम्पनीसँग सम्झौता, बिचौलिया कम्पनी खडा गर्नेदेखि कमिसनको डिलिङ विदेशमै हुन्छ । यो थाहा पाएर पनि अख्तियार केही गर्न सक्दैन ।

‘अहिले नेपालमा हुने भ्रष्टाचारको डिलिङ सबैभन्दा बढी यूएईमा हुन्छ । थाहा छ, तर हामीसँग त्यो एग्रिमेन्ट (म्युचुअल लिगल एसिस्टेन्ट एग्रिमेन्ट) छैन । जसका कारण केही इन्फर्मेसन आउँदैन,’ अख्तियार प्रमुख राई भन्छन्, ‘करप्सन यहाँ (नेपाल)मा, काम यहाँ हुन्छ, डिलिङ उता (विदेश)मा हुन्छ र उहीँ डेलिभरी हुन्छ । सिचुएसन यो खालको छ ।’

बिहीबार प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिमा अख्तियारको कामकारबाहीको विषयमा छलफल थियो । जहाँ सांसदहरूले नेपालमा ‘यत्रतत्र भ्रष्टाचार’ रहेको भनेर सरकारको ध्यानाकर्षण गराए । अनि, अख्तियार के गर्दैछ भनेर प्रश्न गरे ।

जवाफमा प्रमुख राईले अख्तियारको अनुसन्धानको सीमाको व्यख्या गरे । विदेशमा हुने डिलिङ र त्यसपछाडि सम्बन्धित देशसँग लिनुपर्ने सूचना लिन नसक्ने अवस्थाको चित्रण गरे ।

सहजीकरणका लागि कानुन खोजे । म्युचुअल लिगल एसिस्टेन्ट एग्रिमेन्ट अर्थात्, पारस्परिक कानुनी सहायता सन्धिको आवश्यकता औंल्याए ।

नेपालमा हुने भ्रष्टाचारको कारोबार सबैभन्दा बढी यूएईमा हुन्छ, थाहा छ । तर हामीसँग म्युचुअल लिगल एसिस्टेन्ट एग्रिमेन्ट छैन । यसकारण केही सूचना आउँदैन– प्रेमकुमार राई, प्रमुख आयुक्त, अख्तियार दुरुपयोग अनुसन्धान आयोग

पारस्परिक कानुनी सहायता सन्धि भनेको दुई वा दुईभन्दा बढी राष्ट्रहरूबीच आपराधिक तथा वित्तीय कसुरहरूको अनुसन्धान, अभियोजन र अदालतको कारबाहीमा एकअर्कालाई सहयोग गर्ने द्विपक्षीय वा बहुपक्षीय सम्झौता हो । यस्तो सम्झौता नेपालले धेरै देशसँग गरेको छैन । नेपालमा हुने ठूला भ्रष्टाचारको डिलिङ केन्द्र रहेका देशहरू यूएई, अमेरिका र सिंगापुरसँग पनि नेपालले पारस्परिक कानुनी सहायता सन्धि गरेको छैन ।

नेपालमा हुने भ्रष्टाचारको सबैभन्दा बढी डिलिङ यूएईमै हुनुको कारण के हो ? यसबारे भने अख्तियार मौन छ ।

अनौपचारिक रूपमा अख्तियारका अधिकारीहरू दुबई के हो भनेर बुझ्न सुझाउँछन् । उनीहरूका नजरमा दुबई विश्वव्यापी व्यापार, लगानी, वित्तीय कारोबार र अन्तर्राष्ट्रिय आवतजावतको ठूलो केन्द्र हो । त्यसैले वैध कारोबार त्यहाँ हुन्छ र अवैध रकम लुकाउने वा घुमाउने प्रयास पनि त्यही वित्तीय संरचनाको दुरुपयोग गरेर हुने गर्छ ।

दुबईसँग नेपालको श्रम, व्यापार, रेमिट्यान्स तथा व्यक्तिगत वित्तीय कारोबारको सम्बन्ध छ । यो वैध कारोबारको माध्यम हो । तर यही वैध कारोबारभित्र अस्वाभाविक कारोबार लुकाउन सजिलो हुने भएकाले नेपालको सन्दर्भमा यूएई ठूला भ्रष्टाचारको डिलिङ केन्द्र बन्न पुगेको हो ।

यो थाहा पाउन अख्तियारले अनुसन्धानको धेरै प्रक्रिया पूरा गर्नुपर्छ । अख्तियारमा उजुरी आएपछि प्रारम्भिक अनुसन्धान, प्रमाण संकलन, विस्तृत अनुसन्धान हुन्छ । यस क्रममा आयोग भ्रष्टाचारको डिलिङ केन्द्रसम्म पुग्छ । अनुसन्धान अधिकृतले प्रतिवेदन तयार पारेपछि सरकारी वकिलले परीक्षण गर्छन् । त्यसपछि मात्रै आयोगले निर्णय गरेर मुद्दा अदालत लौजान्छ ।

यस प्रक्रियामा प्रमाण नेपाल बाहिर छ भने अनुसन्धान जटिल बन्छ ।

अख्तियारका अनुसार नेपालको अनुसन्धान अधिकृतले यूएईमा रहेको बैंक खाता हेर्न सक्दैन । दुबईमा दर्ता कम्पनीको वास्तविक मालिकको विवरण आफैं निकाल्न सक्दैनन् । सूचना माग गर्दा पाउँदैनन् ।

यूएईमा रहेको बैंकमा रकम कुन खाताबाट आयो र कहाँ गयो भन्ने जानकारी प्रत्यक्ष प्राप्त गर्न नसक्दा अनुसन्धानमा कठिनाइ हुन्छ । यसका लागि अन्तर्राष्ट्रिय कानुनी तथा वित्तीय सहयोग आवश्यक हुन्छ ।

यही कारण पारस्परिक कानुनी सहायता, बैंकिङ सूचना आदानप्रदान र विदेशी अनुसन्धान निकायसँग समन्वय हुने सन्धि आवश्यक रहेको अख्तियार प्रमुख राईले बताएका हुन् ।

उदाहरण विकल र सुनिल

विदेशमा डिलिङ गर्ने र नेपालमा काम गरेर पैसा विदेशमै लैजाने प्रवृत्तिको उजागर गर्ने उदाहरण दिँदा अख्तियार प्रमुख राईले विकल पौडेल र सुनिल पौडेलको नाम लिए ।

‘आईटीको इकुपमेन्ट सफ्टवेयर खरिदमा यो (विदेशमै डिलिङ र योजना) हुँदो रहेछ,’ राई भन्छन्, ‘आईटी सेक्टरमा विकल पौडेल र सुनिल पौडेल जसले सिंगापुरमा र अमेरिकामै डिलिङ गरे, पैसा पनि उतै लगे ।’

राष्ट्रिय सूचना प्रविधि केन्द्रका पूर्वकार्यकारी निर्देशक तथा नेपाल टेलिकमका पूर्वप्रबन्ध निर्देशक सुनिल पौडेल राष्ट्रिय भुक्तानी प्रणाली (नेसनल पेमेन्ट गेटवे) र अवैध सम्पत्ति आर्जन तथा घुस प्रकरणमा दोषी ठहर भई अदालतबाट जेल सजाय र जरिबाना पाएका व्यक्ति हुन् । उनको कारोबार सिंगापुरका बैंकहरूसँग जोडिएको विषयमा अख्तियारले मुद्दा चलाएको थियो ।

सेक्युरिटी प्रिन्टिङ सेन्टरका पूर्वकार्यकारी निर्देशक विकल पौडेल पनि भ्रष्टाचार र अकुत सम्पत्ति आर्जनको मुद्दामा दोषी ठहर भएका हुन् । यी दुवै जनाको हकमा नेपालमा भ्रष्टाचार मुद्दा चल्यो । उनीहरूको सम्बन्धमा अख्तियारले सिंगापुर र अमेरिकासँग सूचना माग्यो, तर पाएन ।

‘अमेरिकाले एक पटक यति पैसा छ भनेर पठाइदियो । सिंगापुरले पनि एक पटक पठायो । दोस्रो पटकदेखि रकमको बारेमा हामीले सोध्दा केही जवाफ दिएनन्, फोन उठाउँदैनन्, रेस्पोन्स पनि गर्दैनन्’ राई भन्छन्, ‘सूचना चाहिने भए म्युचुअल लिगल एसिस्टेन्ट ल चाहिन्छ भन्छन् । सेप्टेम्बर १५ भन्दा अघि बाइलेटरल एग्रिमेन्ट भयो भने सूचना दिन्छौं भनेका छन् ।’

राईका अनुसार यो विषयमा अख्तियारले राष्ट्र बैंकमार्फत पहल गर्‍यो । तर काम भएन । बैंकको ट्रान्जेक्सनको सूचना मात्रै दिन सक्ने र भ्रष्टाचारको केसमा केही गर्न नसक्ने जवाफ अख्तियारले पायो ।

यस्तोमा पारस्परिक कानुनी सहायता सन्धि हुँदा रहज हुने अख्तियारको भनाइ छ ।

नेपालमा अन्तर्राष्ट्रिय सार्वजनिक खरिदमा भ्रष्टाचारको सम्भावित अन्तरदेशीय संरचना बुझ्ने अर्को उदाहरण नेपाल वायुसेवा निगमको वाइडबडी विमान खरिद प्रकरण हो ।

नेपाल एयरलाइन्सले दुई वटा एयरबस विमान खरिद गर्न अमेरिकी कम्पनी एएआर कर्पोरेसनसँग कारोबार गरेको थियो । विमान खरिदको मूल्य करिब २० करोड डलरको थियो । यही कारोबारमा पछि अमेरिकी न्याय विभागको अनुसन्धानले एएआरसँग जोडिएको भ्रष्टाचारसम्बन्धी विषय बाहिर ल्यायो ।

यो मुद्दामा पूर्वमहाप्रबन्धक सुगतरत्न कंसकारसहितका व्यक्तिहरू दोषी ठहर भएका छन् । यसमा अन्य केहीलाई सफाइ दिएको फैसला चित्त नबुझाएर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्वोच्च अदालतमा पुनरावेदन दिएको छ ।

५ वर्षमा १११ भीआईपीविरुद्ध भ्रष्टाचार मुद्दा

संसदीय समितिमा सांसदहरूले अख्तियारले भ्रष्टाचारको सन्दर्भमा थोरै रकम र कमजोर व्यक्तिहरूविरुद्ध मात्रै अनुसन्धान र अभियोजन गरेको टिप्पणी गरेका थिए ।

जवाफमा प्रमुख आयुक्त राईले तथ्यांकले यस्तो दाबी सही नदेखाउने बताए ।

उनका अनुसार आर्थिक वर्ष २०७७/०७८ देखि आर्थिक वर्ष २०८२/०८३ सम्म १११ जना भीआईपीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । यसभित्र पूर्वप्रधानमन्त्री, पूर्वसभामुख, पूर्वमन्त्री, स्थानीय तहका प्रमुख र उपप्रमुख रहेका छन् ।

यस्तो तथ्यांक प्रस्तुत गर्दै अख्तियार प्रमुख राईले आफूले आयोगको नेतृत्व लिएयता साना माछा मात्रै नभएर प्रधानमन्त्रीदेखि सांसद र मन्त्रीसम्म जोडिएका भ्रष्टाचारका मुद्दा अघि बढेको बताएका हुन् ।

उदाहरणका रूपमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा भएको अनियमितता, वाइडबडी र पतञ्जलि लगायतका मुद्दा देखाए । पोखरा विमानस्थलसम्बन्धी तीन वटा मुद्दा अदालत पुगेका छन् र त्यसमा मन्त्री तथा सचिवसमेत प्रतिवादी रहेका छन् ।

अख्तियार प्रमुख राई भन्छन्, ‘साना होइन ठूलै मुद्दा गएका छन् । प्रधानमन्त्रीदेखि, मन्त्री, सांसदविरुद्ध मुद्दा गए । यसरी मुद्दा गइसकेपछि अब ठूला र साना माछाको कुरा त हराएको अवस्था छ ।’

बरु नीतिगत विषय अख्तियारले हेर्‍यो भनेर कतिपयले भनेको भनेर उनले खण्डन गरे । पतञ्जलिको विषयमा नीतिगत निर्णय भनेर मुद्दा नलगेको प्रष्टीकरण दिए ।

‘यसमा स्पष्ट हुनुपर्छ । हामीले व्यक्तिगत निर्णय भनेर लागेको छौं । त्यहाँ तत्कालीन भूमिसुधार मन्त्रीले तत्कालीन प्रधानमन्त्रीज्यूको निर्देशनबमोजिम जग्गा बिक्री वितरण गर्न प्रस्ताव पेस गरेको छु भनेको हुनाले व्यक्तिगत डिसिजन भनेर त्यो मुद्दा लगेको हो । त्यसलाई हामीले त्यो नीतिगत भन्दैनौं,’ उनले भने ।

पतञ्जलि जग्गा प्रकरण पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल लगायतमाथि हदबन्दी छुटको जग्गा दुरुपयोग र अनियमितता गरेको आरोपमा विशेष अदालतमा दायर भएको भ्रष्टाचार मुद्दा हो ।

२०६६ माघ १८ गते प्रधानमन्त्रीको रूपमा माधवकुमार नेपालले ठाडो आदेशमार्फत पतञ्जलि योगपीठ तथा आयुर्वेद कम्पनीलाई काभ्रे र अन्य ठाउँमा हदबन्दीभन्दा बढी जग्गा राख्न छुट दिने निर्णय गरेका थिए । यसलाई व्यक्तिगत रूपमा कानुन उल्लंघन गरेको रूपमा व्याख्या गर्दै अख्तियारले मुद्दा चलाएको हो ।

यस प्रकरणमा प्रचलित कानुन र जग्गा हदबन्दीको प्रावधानविपरीत निर्णय गराइएको र पछि सोही जग्गाको उद्देश्यविपरीत प्रयोग वा बेचबिखन भएको दाबी गरिएको छ ।

यस्तोमा अख्तियारले नीतिगत निर्णय हेर्न पाउनुपर्ने बताउँदै आएको छ । यसो हुन सकेको खण्डमा नेपालभित्र हुने ठूला भ्रष्टाचार र भीआईपीको संलग्नता अझ धेरै खुल्न सक्ने अख्तियार प्रमुख राई सुझाउँछन् ।

उनी भन्छन्, ‘नीतिगत निर्णयको सन्दर्भमा जबसम्म हामीले करेक्सन गर्दैनांै, नीतिगत निर्णयको नाममा मन्त्रिपरिषद्को निर्णय अख्तियारले हेर्न नसक्ने भन्छौं, तबसम्म क्याबिनेटले गरेका डिसिजनमाथि मुद्दा लान सक्दैनौँ ।’

लेखक
रघुनाथ बजगाईं

अनलाइनखबरको राजनीतिक ब्यूरोमा आबद्ध बजगाईं संसदीय मामिलामा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?