५ भदौ, काठमाडौं । चीनका विदेशमन्त्री वाङ यिले बिहीबार दक्षिण कोरियालाई वास्तविक रणनीतिक स्वायत्तता अपनाउन आग्रह गरेका छन्। उनले दक्षिण कोरियालाई ठूला शक्तिहरूबीचको प्रतिस्पर्धामा कुनै एक पक्ष नलिन भनेका छन्। उनले बेइजिङ र वासिङ्टनसँग समान रूपमा सम्बन्ध विस्तार गर्न सोललाई आग्रह गरेका छन्।
चीनको परराष्ट्र मन्त्रालयका अनुसार वाङले दक्षिण कोरियाका राष्ट्रिय सुरक्षा सल्लाहकार वि सुङ-लाकसँग भेट गरेका छन्। भेटका क्रममा वाङले भने, ‘चीन आशा गर्दछ कि सोलले रणनीतिक स्वायत्तता प्राप्त गर्नेछ, गुटबन्दी वा कुनै पक्ष लिनबाट बच्नेछ र चीन र अमेरिका जस्ता ठूला शक्तिहरूसँग आपसमा नबाझिने गरी एकैसाथ सम्बन्ध विकास गर्नेछ।’
सोलमा भएको भेटमा वाङले कोरियाली प्रायद्वीपमा दीर्घकालीन शान्ति स्थापनाका विषयमा पनि कुरा गरेका छन्। द्वन्द्वका मुख्य कारणहरूलाई सम्बोधन गरेर मात्र शान्ति सम्भव हुने उनले बताएका छन्। उनले उत्तर कोरियाप्रतिको वासिङ्टनको शत्रुतापूर्ण व्यवहार अन्त्य हुनुपर्ने कुरामा जोड दिएका छन्।
वाङले भने, ‘चीन आशा गर्छ कि सबै पक्षहरूले संवाद पुन: सुरु गर्न ठोस कदम चाल्नेछन्। यसले आपसी विश्वास पुनर्स्थापित गर्न मद्दत गर्नेछ। प्रायद्वीप शान्तिपूर्ण सहअस्तित्वतर्फ अघि बढेको चीन हेर्न चाहन्छ। अन्ततः युद्धविरामको व्यवस्थाबाट दीर्घकालीन शान्तिमा रूपान्तरण हासिल हुनेछ।’
छुट्टै भेटमा दक्षिण कोरियाली राष्ट्रपति ली जे म्योङले वाङलाई आगामी एपेक शिखर सम्मेलन उपयोग गरेर द्विपक्षीय सम्बन्ध उकास्ने बताएका छन्। उक्त सम्मेलन दक्षिणी चीनमा हुँदैछ।
चीनको सिन्ह्वा समाचार एजेन्सीका अनुसार लीले भनेका छन्, ‘म नोभेम्बरमा एपेक शिखर सम्मेलनमा भाग लिन शेन्जेन जाने प्रतीक्षामा छु। म दक्षिण कोरिया-चीन रणनीतिक सहकार्यको साझेदारीलाई उच्च स्तरमा पुर्याउन चीनसँग काम गर्ने यस अवसरलाई प्रयोग गर्न चाहन्छु।’
दक्षिण कोरियामा चीनप्रतिको आम धारणा सुधार भएकोमा लीले प्रशंसा गरेका छन्। लीले वाङलाई चीनसँगको व्यापक सहकार्य सुदृढ हुनेमा उच्च अपेक्षा रहेको बताएका छन्।
भेटमा वाङले ‘तर्कसंगत, व्यावहारिक र सकारात्मक’ चीन नीति सोलको हित अनुकूल हुने बताएका छन्। उनले दक्षिण कोरियालाई चीनप्रति मैत्रीपूर्ण नीति कायम राख्न आग्रह गरेका छन्।
संसारका अन्य ठाउँमा बढ्दो व्यापार संरक्षणवादलाई औंल्याउँदै वाङले चीन-दक्षिण कोरिया दुईतर्फि स्वतन्त्र व्यापार सम्झौताको दोस्रो चरणको वार्तालाई तीव्र बनाउन आह्वान गरेका छन्।
सेप्टेम्बर २०२१ पछि वाङको सोलमा यो पहिलो व्यक्तिगत मन्त्रीस्तरीय भ्रमण हो। यद्यपि उनले अघिल्लो वर्ष दक्षिण कोरियामा भएको एपेक शिखर सम्मेलनमा चिनियाँ राष्ट्रपति सि जिनपिङसँग भ्रमण गरेका थिए।
बिहीबार चोङ वा दे राष्ट्रपति कार्यालयमा भएको वाङको भेटघाट र वि सुङ-लाकसँगको दिवाभोजले द्विपक्षीय सम्बन्धमा सुधार भइरहेको सङ्केत गर्छ।
लीको नेतृत्वमा सोल आफ्ना पूर्ववर्ती युन सुक-योलको कट्टर अमेरिका समर्थक अडानबाट पछि हटेको छ। उसले बेइजिङसँग व्यावहारिक सम्बन्ध बनाउनेतर्फ पाइला चालेको छ।
द्विपक्षीय सम्बन्धमा ‘नयाँ चरण’ को सुरुवात गर्न जनवरीमा लीले बेइजिङको राजकीय भ्रमण गरेका थिए। यस भ्रमणले यो सम्बन्धलाई अझ मजबुत बनाएको थियो।
बुधबार सोलमा आफ्ना दक्षिण कोरियाली समकक्षी चो ह्युनसँगको वार्तामा वाङले बेइजिङ कोरियाली प्रायद्वीपमा स्थिरताका लागि प्रतिबद्ध रहेको बताएका छन्। उनले दुई कोरिया शान्तिपूर्ण सहअस्तित्वतर्फ अघि बढेकोमा स्वागत गरेका छन्।
यसैबीच दक्षिण कोरियाली परराष्ट्र मन्त्रालयले एक विज्ञप्ति जारी गरेको छ। मन्त्रालयका अनुसार वाङले आगामी एपेक शिखर सम्मेलनका क्रममा सि र लीबीच भेटघाट गराउन बेइजिङले ‘सक्रियतापूर्वक विचार गरिरहेको’ जानकारी चोलाई दिएका छन्।
वाङको यो दुई दिने भ्रमण अमेरिका र दक्षिण कोरियाको सुरक्षा गठबन्धनभित्र उल्लेख्य तनाव उत्पन्न भएको समयमा भएको छ। वासिङ्टनको नाफा-घाटामा आधारित कूटनीतिले सोललाई बढ्दो रूपमा असन्तुष्ट बनाएको छ।
सोमबार सुरु भएको संयुक्त वार्षिक सैन्य अभ्यास ट्रम्प प्रशासनको अनुरोधमा छ दिन घटाएर छोट्याइएको छ।
आइतबार सामाजिक सञ्जालमा लेख्दै अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले सैन्य अभ्यास घटाउनुको कारण उत्तर कोरियाली नेता किम जोङ-अनसँगको आफ्नो व्यक्तिगत सम्बन्धलाई जोडेका छन्। साथै इरानमा अमेरिकी सैन्य कारबाहीलाई सहयोग गर्न सोलले अनिच्छा देखाएकोमा उनले असन्तुष्टि व्यक्त गरेका छन्।
उत्तर कोरियाका आणविक मुद्दाहरूमा अड्किएको कूटनीतिलाई पुनः ब्युँताउन ट्रम्पले किमसँग अर्को शिखर वार्ता गर्न खोजेका छन्। यसैकारण ती सैन्य अभ्यासहरू छोट्याइएका थिए। यी दुई नेताहरूबीचको वार्ता सन् २०१९ देखि रोकिएको छ। सञ्चार माध्यमका अनुसार ट्रम्पले आफ्ना सहयोगीहरूलाई द्विपक्षीय भेटघाटको सम्भावना खोज्न दबाब दिएका थिए। उनले एपेक शिखर सम्मेलनको लागि गर्ने एसिया भ्रमणका क्रममा यो भेटघाट हुन सक्ने बताइएको छ।
तर पनि पनि प्योङयाङले यसमा शङ्का व्यक्त गरेको छ। उत्तर कोरियाली नेताकी प्रभावकारी बहिनी तथा वरिष्ठ पार्टी अधिकारी किम यो-जोङले बुधबार आफूलाई हालैका कुनै पनि सम्पर्कबारे जानकारी नभएको बताएकी छन्। यसले किमसँग “अत्यन्तै सकारात्मक” कुराकानी भएको ट्रम्पको हालैको दाबीलाई खण्डन गरेको छ।
उत्तर कोरियाको सरकारी सञ्चार माध्यम कोरियन सेन्ट्रल न्युज एजेन्सीका अनुसार किम यो-जोङले देशका नेतासँग ट्रम्पका सकारात्मक व्यक्तिगत यादहरू रहेको बताएकी छन्। तर जारी अमेरिकी सैन्य अभ्यासहरूले प्योङयाङप्रतिको शत्रुतापूर्ण अडानलाई नै दर्शाउने कुरामा उनले जोड दिएकी छन्।
आफ्नो पहिलो कार्यकालमा ट्रम्पले निरस्त्रीकरणको मुद्दामा किम जोङ-अनसँग धेरै पटक ऐतिहासिक वार्ताहरू गरेका थिए। तर ती प्रयासहरू असफल भएका थिए।
अहिले प्योङयाङले अमेरिकासँग हुने भविष्यका कुनै पनि वार्ताका लागि वासिङ्टनले निरस्त्रीकरणको माग छोड्नुपर्ने शर्त राखेको छ। उसले उत्तर कोरियालाई स्थायी आणविक हतियारधारी राज्यको रूपमा मान्यता दिनुपर्ने माग पनि गरेको छ।
चीनका परराष्ट्र मन्त्रालयका प्रवक्ता लिन जियानले बिहीबार सम्भावित ट्रम्प-किम शिखर वार्ताबारे आफूसँग कुनै टिप्पणी नरहेको बताएका छन्।
( साउथ चाइना मर्निंग पोस्टबाट )
प्रतिक्रिया 4