News Summary
Generated by OK AI. Editorially reviewed.- नेकपा सांसद घनश्याम रिजालले माइतीघर मण्डलामा धर्नामा रहेकी दीपा नेपालीसँग तत्काल वार्ता गर्न सरकारलाई संसद्ले रुलिङ गर्नुपर्ने माग गरेका छन् ।
- दीपा नेपालीले डेरामा हुने जातीय विभेदविरुद्ध चार महिनादेखि माइतीघर मण्डलामा ‘सरकार ! कोठा खाली छ ?’ भन्दै धर्ना जारी राखेकी छन् ।
- रिजालले दीपासँग संवादको आवश्यकता नठान्नु सिंगो दलित समुदायप्रतिको अपमान र अर्को विभेद भएको भन्दै सरकारमाथि प्रश्न उठाएका छन् ।
५ भदौ, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सांसद घनश्याम रिजालले माइतीघर मण्डलामा धर्नामा रहेकी दीपा नेपालीसँग वार्ता गर्न सरकारलाई संसद्ले रुलिङ गर्नुपर्ने माग गरेका छन् ।
दीपा नेपाली काठमाडौंको माइतीघर मण्डलामा डेरामा हुने जातीय विभेदविरुद्ध धर्नामा बसेकी हुन् । चार महिनादेखि ‘सरकार ! कोठा खाली छ ?’ भन्दै उनले धर्ना जारी राखेकी छन् ।
तर सरकारले उनको मागको सुनुवाइ गरेको छैन । यो विषय अब संसद्ले नै रुलिङ गर्नुपर्ने अवस्था आएको सांसद रिजालले बताएका हुन् ।
‘सरकारले दीपा नेपालीसँग संवादको समेत आवश्यकता नठान्नु सिंगो दलित समुदायप्रतिको अपमान हो, अर्को विभेद हो,’ उनले शुक्रबार राष्ट्रिय सभाको बैठकमा शुन्य समयमा बोल्दै भने ।
यसले दलित समुदायको भरोसा राज्यप्रति टुटाउँदै लगेको र विद्रोहको बिउ समेत रोपेको भन्दै उनले सरकारमाथि प्रश्न उठाएका हुन् ।
उनले भनेका छन्, ‘आन्दोलतरत दीपा नेपालीसँग तत्काल वार्ता गरी समस्या समाधान गर्न सरकारलाई रुलिङ गरियोस् भन्ने अध्यक्षज्यूसँग जोडदार माग गर्दछु ।’
सुदूरपश्चिमबाट काठमाडौं आउँदा गाउँमा भोगिएको जातीय विभेद राजधानीमा पनि अन्त्य नभइसकेको उनको भनाइ छ । काठमाडौँमा घरभाडामा बस्न थर के हो ? जात के हो ? भनेर सोधनी हुने गरेको भन्दै दीपा नेपाली यस्तो प्रवृत्तिको विरोधमा धर्नामा बसेकी हुन् ।
राजधानीमा जातका आधारमा हजारौं दलित आवासबाट वञ्चित हुने गरेको उनको भनाइ छ ।
उनका अनुसार काठमाडौँमा धेरै दलित विद्यार्थी र जागिरेहरू बाध्य भएर आफ्नो थर परिवर्तन गरेर बसिरहेका छन् । कतिले साथीको नागरिकता प्रयोग गरेर कोठा लिएर बसेका छन् ।
प्रतिक्रिया 4