५ भदौ, काठमाडौं । निर्वाचन आयोगले मतदाता नामावली अद्यावधिक गर्न अनुरोध गरेको छ ।
आयोगका सहसचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार मतदाता नामावलीलाई शुद्ध, अद्यावधिक, विश्वसनीय तथा वस्तुगत बनाउन नियमित रूपमा मतदाता नामावली अद्यावधिक गर्ने कार्य गर्दैआएको छ ।
यही बमोजिम मौजुद मतदाता नामावली अद्यावधिक गर्ने प्रयोजनका लागि आगामी असोज १ गते आयोगको वेबसाइटमा मतदाता नामावली प्रकाशन हुँदैछ ।
उक्त मतदाता नामावलीमा रहेका विवरण यथार्थ र अद्यावधिक वनाउन सम्बन्धित मतदाताको समेत महत्वपूर्ण भूमिका रहने भएकाले मतदाता नामावली अद्यावधिक गर्न निर्वाचन आयोगले अनुरोध गरेको हो ।
मतदाता नामावलीमा आफ्नो नाम, थर, उमेर, ठेगाना लगायतका विवरणमा भएको त्रुटि सच्याउनुपर्ने भएमा, कसैले झुट्टा विवरण दिई मतदाता नामावलीमा नाम समावेश गरेको जानकारी भएमा सच्याउन सकिनेछ ।
कुनै मतदाताको नाम एकभन्दा वढी स्थानमा समावेश रहेको भए एक स्थानमा मात्र कायम गर्न, बसाइँसराइ गरी वा विवाह भई स्थायी ठेगाना परिवर्तन भएको भएमा पनि त्यसअनुसारको विवरण अद्यावधिक गर्न भनिएको छ ।
मतदाता नामावलीको शुद्धता र नियमित अद्यावधिकता निर्वाचनको स्वच्छता, निष्पक्षता र विश्वसनीयता कायम गर्ने महत्वपूर्ण आधार भएकाले आफ्नो विवरण अद्यावधिक राख्न तथा मतदाता नामावलीमा रहेका त्रुटि, दोहोरो नाम वा अन्य गलत विवरण सच्याउन सम्बन्धित सबै नागरिकबाट सदाझै सहयोग प्राप्त हुने विश्वास आयोगले गरेको छ ।

प्रतिक्रिया 4