+
+
Shares

दुर्गा प्रसाईंको घरमा प्रहरीले किन चलायो सर्च अपरेसन ?

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ ५ गते १८:१५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • भक्तपुर प्रहरीले काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयसँगै दुर्गा प्रसाईंको भक्तपुरस्थित घरमा बिहीबार करिब ३ घण्टा खानतलासी गरेको छ।
  • खानतलासीमा प्रसाईंको मोबाइल, आइप्याडसहित डिजिटल उपकरण उठाइएको र प्रहरीको औपचारिक प्रतिक्रिया आएको छैन।
  • सुरक्षा स्रोतका अनुसार लघुवित्त र मिटरब्याज पीडितलाई उचालेर आन्दोलन र आत्मदाहसम्मको तयारी गराएको आशंकामा छापा मारिएको हो।

५ भदौ, काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंको भक्तपुरस्थित घरमा बिहीबार प्रहरीले छापा मार्‍यो । भक्तपुर प्रहरी र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले प्रसाईंको घरमा छापा मारेको थियो ।

दिउँसोदेखि साँझसम्म खानतलासी गरेको प्रहरीले उनको मोबाइलसहित आइप्याड लगायतका डिटिजल डिभाइस उठाएर लग्यो ।

ठूलो संख्यामा सादा पोशाकका प्रहरीसमेत परिचालन गरेर खानतलासी गरिएको थियो । खानतलासी गर्दा प्रसाईंका लत्ताकपडा तथा कागजातहरू यत्रतत्र छरिएका थिए । यद्यपि, यो खानतलासीबारे प्रहरीले अहिलेसम्म औपचारिक रूपमा केही बोलेको छैन ।

यसबारे जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी दीपककुमार कार्कीसँग बुझ्दा उनले आफूलाई केही जानकारी नभएको दाबी गरे । ‘खानतलासीबारे मलाई केही जानकारी छैन,’ डीएसपी कार्कीले भने ।

तर, प्रहरीले प्रसाईंको घरमा करिब ३ घण्टा लामो सर्च अपरेसन चलाएको थियो । यसअघि मोरङ प्रहरीले व्यवसायीको घरमा सर्च अपरेसन गर्दा केही नभेटिएको भनेपछि ठूलो आलोचना भएको थियो । तर प्रसाईंको घरमा भएको सर्च अपरेसनबारे प्रहरी अहिलेसम्म मौन छ ।

आफ्नो घरमा खानतलासी गरेपछि प्रसाईं आक्रोशित भएका थिए । उनले प्रधानमन्त्रीदेखि गृहमन्त्रीसम्म आक्रोश पोखे । ‘पटकपटक मलाई किन दु:ख दिएको ? न म लागुऔषध व्यापारी, न हतियार सप्लाइ गर्ने मान्छे, न चेलिबेटी बेचिखन गर्ने मान्छे । राज्यलाई ट्याक्स तिरेको छु । ५ हजारलाई रोजगार दिएको छु । अनि मलाई नै पटकपटक दु:ख दिने ?,’ प्रसाईंको प्रश्न थियो ।

प्रहरीले प्रसाईंको घर खानतलासी गरेपछिको दृश्य भने निकै भद्रगोल देखिन्थ्यो । आफ्नो घरमा पाहुना आएको बेलामा एक्कासि खानतलासी गरेर दु:ख दिने काम गरेको उनको भनाइ छ ।

यता, प्रसाईंको घरमा खानतलासी गर्नुको कारण भने निकै संवेदनशील रहेको सुरक्षा स्रोतको दाबी छ ।

पछिल्लो समय लघुवित्त तथा मिटरब्याज पीडितहरूलाई उचालेर प्रसाईंले आन्दोलन गर्न उक्साएको आरोप छ । लघुवित्त पीडितहरूले आत्मदाहसम्मको तयारी गरेको सूचना पाएको सुरक्षा संयन्त्रले दाबी गरेका छन् ।

‘मानव अधिकार आयोगमा धर्ना दिनेदेखि राज्यले माग सम्बोधन नगरे आत्मदाहसम्म गर्ने तयारी गरिएको बुझिएको थियो । लघु वित्त पीडितहरूलाई उचाल्ने काम प्रसाईंले गरेको पाइएपछि खानतलासी गरिएको हो,’ एक सुरक्षा अधिकृतले भने ।

भित्री तयारी निकै आक्रामक र संवेदनशील भएको सूचना पाएपछि प्रसाईं समूहसँग वार्ता गर्न भन्दै समितिसमेत गठन गरिएको थियो ।

प्रधानमन्त्री कार्यालयका सहसचिव लिलाधर सुवेदीको संयोकत्वमा वार्ता गर्न भन्दै सरकारले समिति गठन गरेको थियो । प्रसाईं समूहबाट विष्णु बोहरा क्षेत्रीको नेतृत्वमा ९ सदस्यीय समिति गठन गरिएको थियो ।

उनीहरूबीच २ भदौमा छलफल पनि भएको थियो । यद्यपि, यो छलफल कुनै निष्कर्षमा पुगेको छैन । त्यसपछि सुरक्षा संयन्त्रले प्रसाईंको घरमा छापा मारेको हो । यो विषय अनुसन्धानकै चरणमा रहेको सुरक्षा स्रोतका भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?