+
+
Shares

जुनिचाँदेका पहिरो पीडित अलपत्र, रिसाङका विस्थापितलाई ३ ठाउँमा राख्ने सहमति

हेमन्त केसी हेमन्त केसी
२०८३ भदौ ६ गते ८:५८

६ भदौ, जाजरकोट । भेरी नगरपालिका-२ रिसाङमा गएको पहिरोबाट विस्थापित भएका नागरिकलाई तीन स्थानमा अस्थायी सेल्टर निर्माण गरी राखिने भएको छ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण (एनडिआरआरएमए) को टोलीले स्थलगत अनुगमन गरेपछि पीडितलाई सुरक्षित स्थानमा राख्ने सहमति भएको हो।

जाजरकोटका प्रमुख जिल्ला अधिकारी खडानन्द अधिकारीका अनुसार रिसाङमा विस्थापित नागरिकका लागि रिसाङ विद्यालय नजिक, विद्यालयभन्दा माथिको क्षेत्रमा र कल्याणपुरमा अस्थायी सेल्टर निर्माण गर्ने गरी जग्गाको टुंगो लगाइएको छ।

विपद् प्राधिकरणको सुझाव तथा स्थानीय तहसँगको समन्वयमा तीन स्थान छनोट गरिएको हो। अस्थायी सेल्टर निर्माणका लागि आवश्यक जग्गाको भाडा स्थानीय तहले बेहोर्ने सहमति भएको छ।

पहिरोबाट घर तथा बस्तीमा क्षति पुगेपछि ठूलो संख्यामा स्थानीय नागरिक विस्थापित भएका छन्। उनीहरूलाई सुरक्षित र व्यवस्थित रूपमा राख्न तत्काल अस्थायी आवासको व्यवस्था गर्न लागिएको प्रशासनले जनाएको छ।

वर्षायाम अझै जारी रहेकाले पहिरो तथा बाढीको जोखिममा रहेका नागरिकलाई सुरक्षित स्थानमा सार्नुपर्ने अवस्था रहेको छ। १६८ घरधुरीका ८९७ जनालाई ति अस्थायी सेल्टरमा राखिने छ ।

प्राद्यिकरणले भेरी नगरपालिकाको १,२,३ र ४ नम्वर वडाहरुको भूगोल अध्ययन गरेको थियो । भेरी नगरपालिका र जग्गा धनिको विचमा सहमति भई शनिबार देखि त्रिपाल लगायतका सामग्रीहरु निर्माण गर्न लागिएको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण (एनडिआरआरएमए) को टोलीका संयोजक सुरेश सुनारले काठमाडौँ गएर मात्र फाइनल प्रतिवेदन बन्ने जानकारी दिए ।

अहिले सबै ठाउँमा हेर्ने काम जारी रहेको भन्दै उनले फाइनल प्रतिवेदन गरेर मात्र अन्य जानकारी दिन सकिने उनले जानकारी दिए । चार जनाको मृत्यु र १० जना घाइते भएपछि रिसाङवासी सोक र त्रासमा रहेका छन् ।

बस्ती नै पूरै जोखिममा परेको छ । विद्यालयमा रहेको होल्डिङ सेन्टरमा रहेका विस्थापितलाई अब मकै रहेको जग्गामा राखिने भएको छ ।

जुनिचाँदेको बस्ती अझै सम्पर्कविहीन, २ जना बेपत्ता भेटिएनन्

यता, जुनीचाँदे गाउँपालिका-६ मा रहेको सिर्प बस्तीका नागरिक अझै घटनास्थलमै अलपत्र अवस्थामा रहेको जनाइएको छ। सिर्क र सेती खोलामा आएको बाढीका कारण बस्तीमा पुग्ने बाटो अवरुद्ध भएपछि राहत सामग्रीसमेत पुर्‍याउन कठिनाइ भएको छ।

जुनीचाँदे-६ को सिर्प बस्तीमा करिब ८० घरधुरी रहेको बताइएको छ। बाढी र पहिरोका कारण स्थानीयको आवतजावत प्रभावित भएको छ भने खाद्यान्न तथा अन्य अत्यावश्यक राहत सामग्रीको अभाव हुन थालेको छ ।

प्रतिनिधिसभा सदस्य खड्गबहादुर बुढाका अनुसार सुरक्षाकर्मी घटनास्थलतर्फ गए पनि अझै नागरिक बसोबास गरिरहेको स्थानसम्म सहज रूपमा पुग्न सकिएको छैन ।

उनले बाढी तथा पहिरोका कारण अवरुद्ध भएका बाटो खुलाएर तत्काल राहत सामग्री पुर्‍याउनुपर्ने आवश्यकता रहेको बताए । दुई जना बेपत्ताहरू अझै नभेटिएको जाजरकोटका प्रहरी प्रमुख बुद्धीसागर पुरीले जानकारी दिए ।

यसैबीच, जिल्ला सदरमुकाममा समेत खानेपानीको समस्या देखिएको छ। लगातारको वर्षा र विभिन्न स्थानमा भएको क्षतिका कारण खानेपानी आपूर्तिमा समस्या आएपछि सदरमुकामका नागरिकले खानेपानीको अभाव झेल्नुपरेको छ।

स्थानीय प्रशासनले विपद्का कारण प्रभावित खानेपानी तथा सडक पूर्वाधारलाई प्राथमिकताका साथ सञ्चालनमा ल्याउन पहल भइरहेको जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?