+
+
Shares

रोल्पामा टेलिफोन टावर छ, भरपर्दो सेवा छैन

सूर्यप्रकाश बुढामगर सूर्यप्रकाश बुढामगर
२०८३ भदौ ७ गते ११:२१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • रोल्पाका दुर्गम बस्तीमा बर्खा सुरु भएपछि सौर्य ऊर्जामा निर्भर टेलिफोन टावरमा समस्या आएर सेवा अवरुद्ध हुने गरेको छ।
  • रातामाटाको रिपिटर टावरमा समस्या आउँदा पश्चिमोत्तर क्षेत्रका धेरै टावर र करिब २२ जिल्लाको सञ्चार सेवा प्रभावित हुने गरेको छ।
  • दूरसञ्चार कार्यालय रोल्पाले चालु वर्ष ७ देखि ८ वटा टावरमा विद्युत् प्रसारण लाइन पुर्‍याउने लक्ष्य लिएको छ।

७ भदौ, रोल्पा । रोल्पाका दुर्गम बस्तीमा टेलिफोनका टावर भए पनि भरपर्दो सेवा उपलब्ध हुन सकेको छैन। विशेषगरी बर्खा सुरु भएपछि अधिकांश टावरमा समस्या आउँदा स्थानीय बासिन्दा सञ्चार सेवाबाट वञ्चित हुने गरेका छन्।

बादलले डाँडाकाँडा ढाक्ने, पानी पर्ने र चट्याङसहितको मौसम सुरु भएपछि टेलिफोन सेवा प्रभावित हुने गरेको स्थानीयको गुनासो छ। रोल्पामा दुई दर्जनभन्दा बढी टेलिफोन टावर रहेका छन्। तीमध्ये अधिकांश टावरमा बर्खाको समयमा समस्या देखिने गरेको स्थानीय बताउँछन्।

सरकारले ठूला सहरमा फाइभ-जी सेवा विस्तार गरिरहँदा रोल्पाका दुर्गम क्षेत्रमा भने थ्री-जी र फोर-जी सेवासमेत भरपर्दो छैन। परिवर्तन गाउँपालिका–६ का स्थानीय दलबहादुर बुढामगरका अनुसार आवश्यक काम पर्दा आफन्त तथा साथीभाइलाई फोन गर्नसमेत समस्या हुने गरेको छ। ‘आवश्यक काम परेको बेला आफन्त, साथीभाइलाई फोन गर्न खोज्दा उपलब्ध हुन सकेन भन्छ। कहिलेकाहीं स्वीच अफ भनेर पनि भन्छ’, उनले भने।

थबाङ गाउँपालिका–२ की सरिता रोकालाई भने साँझ परेपछि आफू संसारबाटै अलग भएको महसुस हुन्छ। ‘जब साँझ हुन्छ, संसारबाट अलग भएको अनुभूति हुने गरेको छ,’ उनले भनिन् ।

उनका अनुसार घाम लागेका बेला टेलिफोनले काम गरे पनि साँझ परेपछि टावरले काम गर्न छाड्ने समस्या छ। ‘हाम्रो थबाङमा घाम लाग्दा टेलिफोन सेवाले काम गर्छ, साँझ परेपछि फोनको टावर नै हुँदैन’, रोकाले भनिन्।

रोल्पाका अधिकांश टेलिफोन टावर अझै सौर्य ऊर्जाबाट सञ्चालन भइरहेका छन् । ऐतिहासिक गाउँ थबाङमा समेत सोलार प्यानलबाट टावर सञ्चालन भइरहेकाले बिहान र साँझको समयमा सेवा प्रभावित हुने गरेको स्थानीयको भनाइ छ।

रातामाटाको टावरमा समस्या आउँदा धेरै ठाउँ प्रभावित

गङ्गादेव गाउँपालिका–६ राँकको रातामाटामा रहेको रिपिटर टावरमा समस्या आउँदा आसपासका धेरै टावरले समेत काम गर्न छाड्ने गरेको स्थानीय बताउँछन् ।

रातामाटाको टावरमा समस्या देखिएपछि पश्चिमोत्तर क्षेत्रका अधिकांश टावरमा सेवा प्रभावित हुने गरेको बताइन्छ। उक्त टावरसँग अन्य टावरसमेत जोडिएकाले त्यहाँ समस्या आउँदा अन्य क्षेत्रमा समेत असर पर्ने गरेको हो।

रिपिटर टावरका कर्मचारी ललित वलीका अनुसार टावरमा विद्युत् प्रसारण लाइन जोड्न पटक–पटक जानकारी गराए पनि अहिलेसम्म स्थायी समाधान हुन सकेको छैन । ‘टावरको समस्या र विद्युत् प्रसारण लाइनको आवश्यकताबारे राज्यका निकायलाई पटक-पटक जानकारी गराएका छौँ। तर, अहिलेसम्म भनेजस्तो विद्युत् प्रसारण लाइनको व्यवस्था हुन सकेको छैन’, वलीले भने।

रातामाटामा रहेको टावर पश्चिम नेपालको ठूलो क्षमताको टावरमध्ये एक मानिन्छ। उक्त टावरबाट करिब २२ जिल्लामा सेवा विस्तार भएको बताइएको छ। त्यसैले त्यहाँ आउने प्राविधिक समस्याले ठूलो भूगोलको सञ्चार सेवामा असर पार्ने गरेको स्थानीयको भनाइ छ ।

जनप्रतिनिधि पनि स्वीकार्छन्– सेवा भरपर्दो छैन

बर्खाको समयमा आफ्नो वडाका विभिन्न बस्तीमा टेलिफोन सेवा अवरुद्ध हुने गरेको परिवर्तन गाउँपालिका–१ का वडा अध्यक्ष मैते बुढामगरले बताए। ‘यता फोनको समस्या छ। बर्खा सुरु भएदेखि भनेको बेला फोन सेवाले काम नगर्ने अवस्था छ’, उनले भने।

थबाङ गाउँपालिका–४ का वडा अध्यक्ष हिकमत घर्तीमगरले पनि आफ्नो वडामा टेलिफोन सेवा भरपर्दो नभएको बताए। ‘जब साँझ पर्छ, हामी कुन संसारमा छौँ जस्तो हुन्छ। यहाँका नागरिक सञ्चार सेवाबाट वञ्चित हुन्छन्’, उनले भने।

गङ्गादेव गाउँपालिकाका अध्यक्ष हरिबहादुर पुनले पनि केन्द्रीय विद्युत् प्रसारण लाइन विस्तार नहुँदा गाउँपालिकाभित्र रहेका टेलिफोन टावरमा समस्या आउने गरेको बताए। ‘गाउँपालिकाभित्र रहेका टेलिफोन टावरमा केन्द्रीय विद्युत् पुग्न सकेको छैन। सौर्य ऊर्जाबाट सञ्चालन भइरहेकाले कहिलेकाहीँ टेलिफोन सेवामा समस्या आउने गर्छ’, पुनले भने।

सुनछहरी गाउँपालिकाका अध्यक्ष धनबहादुर पुनका अनुसार गाउँपालिकाका वडा नम्बर १, २ र ३ मा टेलिफोन सेवाको समस्या बढी छ। अन्य वडामा समेत आंशिक समस्या रहेको उनले बताए। ‘टावर सौर्य ऊर्जाबाट सञ्चालन भएका छन्। ब्याट्रीले पर्याप्त पावर नदिँदा समस्या देखिन्छ’, उनले भने।

यस्तो छ दूरसञ्चार कार्यालयको तयारी

दूरसञ्चार कार्यालय रोल्पाका प्रमुख कैलाश आचार्यले केन्द्रीय विद्युत् प्रसारण लाइन नपुगेका केही टावरमा बर्खाको समयमा समस्या देखिने गरेको बताए। ‘रोल्पाका डाँडाडाँडामा टावर रहेका छन्। त्यहाँ विद्युत् पुर्‍याउन पनि समस्या छ। सौर्य ऊर्जाबाट सञ्चालन भएका केही टावरमा समस्या आएको देखिन्छ’, आचार्यले भने।

उनका अनुसार चालु वर्ष ७–८ वटा टावरमा विद्युत् प्रसारण लाइन पुर्‍याउने लक्ष्य राखिएको छ। ‘हामीले यो वर्ष ७–८ वटा टावरमा विद्युत् लाइन पुर्‍याउने लक्ष्य लिएका छौं । ती टावरमा विद्युत् लाइन जडान भएपछि रोल्पाको करिब ८० प्रतिशत टेलिफोन सेवासम्बन्धी समस्या न्यूनीकरण गर्न सकिन्छ’, आचार्यले भने।

लेखक
सूर्यप्रकाश बुढामगर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?