News Summary
Generated by OK AI. Editorially reviewed.- हङकङका राज गुरुङको सगरमाथा आरोहणमा आधारित वृत्तचित्र ‘रोड टु एभरेस्ट’ को शनिबार काठमाडौँमा विश्व प्रिमियर गरिएको छ ।
- निर्माता तुलसीकुमार गुरुङले फिल्म नेटफ्लिक्समा रिलिज गर्ने तयारी रहेको र यसका सबै दृश्य वास्तविक भएको बताएका छन् ।
- निर्देशक निर्मल श्रेष्ठले फिल्मलाई विद्यालय र कलेजमा देखाउने तयारी भएको र यसले हिमाल र जलवायु संकटबारे सन्देश दिने बताएका छन् ।
काठमाडौं । हङकङका राज गुरुङ सानैदेखि प्रकृतिसँग नजिक हुन चाहन्थे । अक्करे भीर र चट्टान चढ्थे । साहसिक र जोखिमपूर्ण काम गर्न रुचाउँथे । थुप्रै साहसिक र जोखिमपूर्ण ट्रेलमा पदयात्रा गरेका छन् ।
समय पाउने वित्तिकै हङकङका जंगलका ट्रेलमा दौडिन्थे, त्यहाँका गगनचुम्बी भवन र उर्लिंदो समुन्द्रको पृष्ठभूमिमा सगरमाथा जित्ने सपना देख्थे । त्यो सपना पूरा गर्नु सजिलो भने थिएन ।
सगरमाथा जित्नुअघि उनले थुप्रै हिमाल आरोहण र डरलाग्दा ट्रेलमा साहसको परीक्षा दिए । उमेरले ५० को नेटो काटेका राजलाई आफ्नै घर्किंदो उमेर र समय चुनौती थियो । यो चुनौतीबीच उनले सर्वोच्च शिखरको चुचुरो चुम्ने अठोट लिए ।
उनको त्यो अठोटको यात्रालाई अरु कुनै कुराले छेक्न सकेन । फूर्वा तेन्जिङ शेर्पा र निमा ग्यालेन्जन शेर्पाजस्ता कीर्तिमानी आरोहीसँगै उनले समुन्द्रदेखि सर्वोच्च शिखरसम्मको साहसिक र प्रेरणादायी यात्रा गरे ।
५० वर्षको उमेरमा पनि आत्मबल बलियो भए दुःख र हिउँका सगरमाथा चुम्न सकिन्छ भन्ने उदाहरण हुन् उनी । उनको यो साहसलाई क्यामेरामा कैद गर्दै निर्देशक निर्मल श्रेष्ठले दृश्यभाषाको रुप दिए । अनि तयार भयो- ‘रोड टू एभरेस्ट ।’

५० मिनेट रनटाइमको यो वृत्तचित्र उनै राजको सामान्य हिमाल आरोहणको किस्सा मात्र होइन । साहस र विजयको एउटा गर्विलो सन्देश पनि हो । अर्कोतर्फ, निर्देशकले पग्लिँदा हिमालको विश्वब्यापी चिन्तालाई यो डकुमेन्ट्रीमार्फत संसारभरका दर्शकसामु पेश गरिदिएका छन् । यसकारण, ‘रोड टु एभरेस्ट’ जलवायु संकटको ‘वेक अप कल’ पनि हो ।
शनिबार दिउँसो फिल्म पारखी, संचारकर्मी, जलवायु अभियन्ता, राजनीतिक, गैरआवासीय नेपालीहरूको बीचमा फिल्मको विश्व प्रिमियर गरियो । फिल्म हेर्न क्यूएफएक्सको छायाँ हल खचाखच रह्यो ।
प्रिमियरअघि बोल्दै निर्माता संस्था ‘वी विल राइज’का अध्यक्ष तुलसीकुमार गुरुङले यो फिल्मलाई नेटफ्ल्क्सिमा रिलिज गर्ने आफूहरूको तयारी रहेको बताए । नेपालको सम्पदालाई विश्वभर चिनाउने र मुलुकको पर्यटन प्रवर्धन गर्ने आफूहरूको उद्देश्यअनुसार यो फिल्म बनाइएको बताए ।
फिल्ममा प्रयोग गरिएका सबै दृश्यहरू वास्तविक रहेको गुरुङले बताए । ‘यसमा प्रयोग गरिएका सबै दृश्य वास्तविक हुन् । भीएफएक्स गरिएको छैन’ उनले भने । सो अवसरमा फिल्मका कलाकारले दर्शकसँग अन्तक्रिया समेत गरेका थिए ।

निर्माता मध्येका गुरुङका अनुसार, फिल्मलाई विद्यालय र कलेजमा प्रदर्शन गरिने तयारी छ । ‘हामी आगामी पुस्तालाई हाम्रो हिमालबारे चिनाउन चाहन्छौं । उनीहरूलाई जलवायु संकटको असरबारे भन्न चाहन्छौं । यो एउटा अभिलेख पनि हुनेछ’ उनले भने ।
निर्देशक श्रेष्ठ संचारकर्मी मात्र होइनन, सामाजिक संजाल ‘वी विल राइज’मार्फत सामाजिक योगदानमा पनि उत्तिकै सक्रिय छन् । फिल्म छायांकनको क्रममा उनले सगरमाथा क्षेत्रमा महिनौं बिताएका छन् । उनका अनुसार, यो फिल्मलाई उचित समयमा नेपालका हलमा पनि प्रदर्शन तयारी छ ।
नेपालीको लगानी र प्राविधिकको संलग्नतामा फिल्म तयार भएको हो ।



प्रतिक्रिया 4