News Summary
Generated by OK AI. Editorially reviewed.- भीमफेदी गाउँपालिकाको राष्ट्रिय कविता प्रतियोगितामा जुम्लाका हेमप्रकाश मञ्जिलको ‘छुटेपछि देश’ प्रथम भई ५० हजार रुपैयाँ पुरस्कार जितेको छ।
- सर्लाहीका सुमन घिमिरेको ‘म देश कसरी बनाउँ ?’ दोस्रो र झापाका योगराज पौडेलको ‘मातृगाथा’ तृतीय भई क्रमशः ३० हजार र २० हजार रुपैयाँ पाए।
- तुल्सी थापाको स्मृति दिवसमा भीमफेदी-२ भैंसेस्थित श्रीकृष्ण माध्यमिक विद्यालय परिसरमा उनको अर्धकदको प्रतिमा अनावरण गरिएको छ।
८ भदौ, भीमफेदी । ‘छुटेपछि देश’ शीर्षकको कविताले भीमफेदी गाउँपालिकामा आयोजित राष्ट्रिय कविता प्रतियोगितामा प्रथम स्थान हासिल गरेको छ ।
जुम्लाको गुठचौर गाउँपालिका-४ का हेमप्रकाश मञ्जिलले प्रस्तुत गरेको उक्त कविताले प्रथम स्थान हासिल गर्दै ५० हजार रुपैयाँ नगद पुरस्कार जितेको हो ।
साहित्यकार तुल्सी थापाको स्मृति दिवसका अवसरमा भीमफेदी गाउँपालिकाले आयोजना गरेको राष्ट्रिय कविता प्रतियोगितामा देश प्रेम, समसामयिक समाज र मानवीय संवेदनाका विषय समेटिएका कविता प्रस्तुत भएका थिए।
प्रतियोगितामा सर्लाहीको लालबन्दी नगरपालिका-४ का सुमन घिमिरेको ‘म देश कसरी बनाउँ ?’ कविता दोस्रो भयो । घिमिरेले ३० हजार रुपैयाँ नगद पुरस्कार पाए ।
झापाको अर्जुनधारा नगरपालिका-५ का योगराज पौडेलको ‘मातृगाथा’ कविता तृतीय हुँदै २० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्यो ।
यस्तै, काठमाडौंकी चेतना शर्माको ‘रातो क्यानभास’ र कञ्चनपुरको भीमदत्त नगरपालिका-१८ का धीरज नाथको ‘बगैँचा’ कविताले प्रोत्साहन पुरस्कार पाए । उनीहरूले जनही १० हजार रुपैयाँ प्राप्त गरेका छन् । भीमफेदी गाउँपालिका अध्यक्ष हिदम लामाले पुरस्कार वितरण गरे ।
साहित्यकार तुल्सी थापाको स्मृति दिवसकै अवसरमा भीमफेदी गाउँपालिका-२ भैंसेस्थित श्रीकृष्ण माध्यमिक विद्यालय परिसरमा उनको अर्धकदको प्रतिमा समेत अनावरण गरिएको छ ।
विद्यावारिधि (पीएचडी) गर्ने मकवानपुरका पहिलो व्यक्ति गणेश लामाको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा साहित्यकार श्रवण मुकारुङ, पूर्वजिल्ला विकास समिति सभापति रामेश्वर रानालगायतको उपस्थिति थियो ।
२०१० सालमा स्थापित श्रीकृष्ण माध्यमिक विद्यालयमा थापाले अध्ययन गरेका थिए भने पछि सोही विद्यालयको प्रधानाध्यापकसमेत भएका थिए । विद्यालय परिसरमा स्थापित उनको प्रतिमा बहिनी बेली थापाले अनावरण गरेकी हुन् ।
चेपाङ र तामाङ भाषाको उत्थानमा साहित्यकार थापाको महत्वपूर्ण योगदान रहेको छ । उनले पत्रिका सञ्चालनदेखि साहित्य सिर्जनासम्मका माध्यमबाट ती भाषाको संरक्षण, विकास र प्रवर्द्धनमा योगदान पुर्याएका थिए ।
देशभरबाट प्राप्त ४१२ वटा कवितामध्ये मूल्यांकन समितिले उत्कृष्ट १० वटा कविता छनाैट गरेकाे गाउँपालिका अध्यक्ष हिदम लामाले जानकारी दिए ।
गाउँपालिकाले गत १२ साउनमा सूचना प्रकाशित गरी प्रतियोगितामा सहभागी हुन आह्वान गरेको थियो ।
प्राप्त कवितालाई विषयवस्तु, भाषा, सिर्जनात्मकता र सन्देशलगायतका आधारमा मूल्यांकन गरी उत्कृष्ट कविताहरू छनोट गरिएको उनको भनाइ छ ।
अध्यक्ष लामाले साहित्यिक सिर्जनामार्फत समाजका विविध पक्षलाई उजागर गर्ने तथा स्थानीय स्तरमा साहित्यिक गतिविधिलाई प्रोत्साहन गर्ने उद्देश्यले राष्ट्रिय कविता प्रतियोगिता आयोजना गरिएको बताए ।
धिरज नाथको ‘बगैँचा’, सुमन घिमिरेको ‘म देश कसरी बनाउँ ?’, योगराज पौडेलको ‘मातृगाथा’, उमेश पुनको ‘यसरी पनि देशले आत्महत्या गर्न सक्छ’, चेतना शर्माको ‘रातो क्यानभास’ कविता छनोट भएको हो ।
यस्तै, एमडी फिराकको ‘सालिक’, प्रदीप वालाचनको ‘शब्दमा तिमी’, त्रिलोचन सुवेदीको ‘बनमाराको नागरिकता’, तारानाथ पराजुलीको ‘नेपाल यो के भयो ?’ र हेम प्रकाश मञ्जिलको ‘छुटेपछि देश’ पनि उत्कृष्ट १० भित्र परेको थियो ।
प्रतिक्रिया 4