News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल फर्किने उपयुक्त समय व्यक्तिको परिस्थिति, प्राथमिकता र मानसिक तयारीबीच सन्तुलन मिल्ने बेला हुने लेखमा उल्लेख छ।
- नेपाल फर्किनुअघि फर्किनुको कारण, आम्दानीको स्रोत, बसोबास र परिवार व्यवस्थापनबारे पूर्वतयारी आवश्यक पर्ने लेखमा भनिएको छ।
- नेपाल फर्किएपछि परिवारसँगको समय, समाजसँगको नजिकपन, भाषा, संस्कृति र आत्मसन्तुष्टि प्राप्त हुने लेखमा उल्लेख छ।
नेपाल फर्किएको करिब तीन महिना भइसकेपछि मैले यसअघि आफू नेपाल फर्किनुको कारण बारे ‘मैले अमेरिका किन छोडें’ भन्ने आलेख लेखेको थिएँ। उक्त आलेख अगाडि र त्यसपछि पनि मलाई सबैभन्दा धेरै आउने प्रश्नमध्ये एउटा हो- ‘नेपाल फर्किने उपयुक्त समय कहिले हो ?’
त्यसैले यो आलेख नेपाल फर्किने उपयुक्त समय कहिले हुन सक्छ र त्यसका लागि कस्तो तयारी आवश्यक पर्न सक्छ भन्ने विषयमा केन्द्रित हुनेछ।
पहिला एउटा सानो उदाहरणबाट शुरु गरौं। केही समयअघि आफन्तले पठाएको पार्सल इन्ड्राइभ मार्फत रिसिभ गर्ने क्रममा पार्सल डेलिभरी गरिदिने एक युवतीसँग मेरो छोटो कुराकानी भयो। कुराकानीका क्रममा थाहा भयो, उनी पेशाले मेडिकल प्रोफेसनल रहिछन्।
केही समय अस्ट्रेलिया र अमेरिका बसेर नेपाल फर्किएकी उनी नियमित काम सकेपछि बेलुकाको समय काठमाडौंलाई अझ नजिकबाट बुझ्ने र अन्वेषण गर्ने अवसरका रूपमा लिंदै इन्ड्राइभ मार्फत पार्सल डेलिभरी गर्ने काम पनि गर्दिरहिछन्।
यो उदाहरण यहाँ उल्लेख गर्नुको कारण छ। नेपाल फर्किने वा नफर्किने भन्ने कुरा धेरै हदसम्म हाम्रो सोच र दृष्टिकोणमा भर पर्ने कुरा हो। अस्ट्रेलिया वा अमेरिका लगायत विकसित देशहरूको तुलनात्मक रूपमा समृद्ध जीवनशैली छोडेर नेपाल फर्किनु एउटा महत्त्वपूर्ण निर्णय हो। तर त्यसभन्दा पनि महत्त्वपूर्ण कुरा, नेपाल फर्किएपछि आफ्नो जीवनलाई कसरी हेर्ने र कसरी जिउने भन्ने हो।
आफ्नो नियमित पेशागत काम सकेर साँझ स्कुटरमा पार्सल डेलिभरी गर्न निस्कने ती युवतीमा मैले एउटा फरक किसिमको आत्मविश्वास देखें। उनका लागि त्यो काम आर्थिक आवश्यकताभन्दा बढी नयाँ अनुभव थियो, काठमाडौंलाई नजिकबाट बुझ्ने एउटा माध्यम थियो। आफूले चाहेको जीवनशैली रोज्न सक्ने त्यस्तो आत्मविश्वासले पनि धेरै हदसम्म ‘नेपाल कहिले फर्किने ?’ भन्ने प्रश्नको उत्तर निर्धारण गर्छ।
नेपाल फर्किने समय निर्धारण गर्ने अन्य महत्त्वपूर्ण आधारमध्ये नेपाल फर्किएपछि ‘मैले के गुमाउँछु ?’ भन्दा ‘मैले के पाउन सक्छु ?’ भन्ने सम्भावना हेर्ने सोच पनि हो। आफ्नो विगतको जीवनशैलीसँग तुलना गरेर निरन्तर असन्तुष्ट भइरहनुभन्दा नयाँ परिवेशमा नयाँ सम्भावना खोज्ने सोच लिएर नेपाल फर्किने हो भने जीवन अझ सहज, उत्साहपूर्ण र आत्मसन्तुष्टिपूर्ण बन्न सक्ने सम्भावना रहन्छ।
फर्किने निर्णयभन्दा पहिले गर्नुपर्ने तयारी
नेपाल फर्किने निर्णय केवल भावनात्मक हुनुहुँदैन। विदेशमा लामो समय बसेपछि नेपाल फर्किंदा भावनाले महत्त्वपूर्ण भूमिका खेल्न सक्छ, तर त्यससँगै व्यावहारिक तयारी पनि उत्तिकै आवश्यक हुन्छ।
सबैभन्दा पहिले आफू किन फर्किन चाहेको हो भन्ने कुरा आफैंसँग स्पष्ट हुनुपर्छ। परिवार, सामाजिक जिम्मेवारी, आफ्नै देशमा केही गर्ने चाहना, पेशागत अवसर, व्यवसाय, अनुसन्धान वा नयाँ जीवनशैली— फर्किने कारण जे भए पनि त्यो स्पष्ट हुन आवश्यक छ।
त्यसैगरी आर्थिक तयारी पनि महत्त्वपूर्ण हुन्छ। विदेशमा कमाएको आम्दानी र नेपालमा हुने आम्दानी बीचको अन्तरलाई स्वीकार गर्न सक्ने मानसिकता आवश्यक हुन्छ। विदेशमा जस्तो सुविधा तत्काल नपाइन सक्छ। तर नेपालमा आफ्नो आवश्यकता र प्राथमिकता परिवर्तन गर्न सक्ने हो भने जीवनको मूल्यांकन गर्ने आधार पनि परिवर्तन हुन सक्छ।
अर्कोतर्फ, विदेशमा हुने उच्च आम्दानीसँगै त्यही अनुसारको जीवनयापन खर्च पनि हुने गर्छ। त्यसैले विदेशमा प्राप्त हुने आम्दानीलाई मात्र नेपालको आम्दानीसँग तुलना गर्नु पनि उचित हुँदैन। उदाहरणका लागि, यहाँको सामान्य चिकित्सकीय सेवा विदेशको तुलनामा अत्यन्तै सस्तो र सर्वसुलभ छ।
आँखाको उपचार र दाँतको उपचारका लागि समेत विदेश गएका नेपालीहरू नेपालमै आएर उपचार गराएर फर्किने गरेको देखिन्छ। स्वास्थ्य सेवाका सबै पक्ष विदेशभन्दा राम्रो छन् भन्ने होइन, तर कतिपय सेवामा नेपालले प्रदान गर्ने पहुँच र किफायतीपन पनि नेपालमै बस्न चाहनेहरूका लागि उत्साह प्रदान गर्ने पक्ष हुन सक्छ।
त्यसैगरी, दैनिक जीवनका अन्य धेरै खर्च पनि विदेशको तुलनामा नेपालमा कम हुन सक्छन्। त्यसैले राम्रो जीवनशैली कायम राख्न विदेशमा जस्तो उच्च आम्दानी नै आवश्यक हुन्छ भन्ने छैन। तर नेपाल फर्किएपछि आम्दानीको स्रोत के हुने भन्ने विषयमा भने पूर्वतयारी र स्पष्ट योजना आवश्यक हुन्छ।
यसैगरी फर्किनुअघि आफूले नेपालमा गर्न चाहेको योजना, आफ्नो बसोबासको स्थान वा व्यवस्थापन र आम्दानीको स्रोत बारे पूर्वतयारी आवश्यक हुन्छ। आफ्नो पेशागत क्षमता कसरी उपयोग गर्ने र सुरुआती केही वर्ष कसरी व्यवस्थापन गर्ने हो भन्ने बारे कम्तीमा एउटा आधारभूत योजना बनाउनु आवश्यक हुन्छ।
तर योजना बनाउँदा लचकता अपनाउनु अत्यन्त महत्त्वपूर्ण छ। नेपाल फर्किएपछि आफूले सोचे अनुसार सबै कुरा नहुन सक्छ। आफ्नो दक्षताभन्दा अलिकति फरक काम गर्नुपर्ने र नयाँ कुरा सिक्नुपर्ने हुन सक्छ। कतिपय अवस्थामा आफ्नो पहिलेदेखिको पेशा र सीपलाई केही समयका लागि छोडेर फेरि शुरुदेखि थालनी गर्नुपर्ने अवस्था आउन सक्छ।
त्यसैले नेपाल फर्किने तयारीको सबैभन्दा महत्त्वपूर्ण पक्षमध्ये विदेशमा आफूले बनाएको परिचय र हैसियतलाई नेपालमा पनि त्यही रूपमा निरन्तरता दिन नसके पनि वैकल्पिक सम्भावनालाई उत्तिकै महत्त्व दिन सक्ने सोच र त्यसका लागि मानसिक रूपमा तयार हुनु हो।
नेपाल फर्किएपछि जीवनमा के थपिन्छ ?
नेपाल फर्किने निर्णय गर्दा हामी प्रायः हामीले गुमाउने कुराको मात्र हिसाब गर्छौं— विदेशको आम्दानी, सुविधा, व्यवस्थित प्रणाली, स्वास्थ्य सेवा, शिक्षा, सामाजिक सुरक्षा आदि। यी सबैको आफ्नै महत्त्व छ।
तर प्रश्न यति मात्र होइन। नेपाल फर्किएपछि हामीले धेरै कुरा प्राप्त गरिरहेका हुन्छौं। त्यसैले के प्राप्त गर्न सक्छौं भन्ने पनि उत्तिकै महत्त्वपूर्ण छ।
सबैभन्दा पहिले त आफ्नो परिवारसँग समय बिताउन पाउनुको कुनै मूल्य नै हुँदैन। विदेशमा व्यस्त जीवन बिताउँदा धेरैपटक परिवारसँगै भएर पनि परिवारका लागि पर्याप्त समय दिन सकिंदैन। नेपाल फर्किएपछि परिवारसँगको दैनिक जीवन, आफन्तसँगको सम्बन्ध र आफ्नै समाजसँगको नजिकपनले जीवनको अर्को आयाम खोल्न सक्छ।
यसैगरी आफ्नै समाजसँग जोडिने अवसर, आफ्नो अनुभव र सीपलाई देशमै प्रयोग गर्ने सम्भावना, नयाँ पुस्तासँग काम गर्ने अवसर र आफ्नै देशमा केही परिवर्तन गर्न सक्दाको आत्मसन्तुष्टि- यी पनि जीवनका महत्त्वपूर्ण पक्ष हुन्।
विदेशमा रहँदा हामी प्रायः नेपाली खाना नै खोजिरहेका हुन्छौं। विदेशमा बस्दा हामीले सबैभन्दा बढी गुमाउने कुरामध्ये नेपालमा सहजै पाइने आफ्नै स्वादका खानेकुरा पनि हुन्। त्यसबाहेक यहाँको संस्कृति, चाडपर्व, पारिवारिक जमघट र अन्य सांस्कृतिक गतिविधिको आफ्नै महत्त्व छ।
नेपालमा हामीले यी सबै कुरा सहजै अनुभव गर्न सक्छौं। यस्ता कुराले भौतिक सुविधाभन्दा पर गएर मनभित्रैबाट एउटा किसिमको शान्ति र अपनत्व प्रदान गर्छन्, जुन विदेशमा रहँदा सधैं प्राप्त नहुन सक्छ।
त्यसैले नेपाल फर्किने निर्णयलाई केवल आर्थिक हिसाबले मात्र हेर्नुहुँदैन। यो जीवनको प्राथमिकता परिवर्तन गर्ने निर्णय पनि हुन सक्छ।
परिवारसँगै फर्किने निर्णयको चुनौती
हजारौं नेपाली नेपाल फर्किन नचाहेका होइनन्, तर नेपाल फर्किने निर्णयमा सबैभन्दा चुनौतीपूर्ण पक्ष प्रायः आफ्नै परिवार हुने गर्छ। दम्पतीमध्ये एक जना नेपाल फर्किन चाहने र अर्को जना नचाहने अवस्था हुँदा नेपाल फर्किने निर्णय अझ जटिल बन्न सक्छ। दुवैको पेशा, छोराछोरीको पढाइ, सामाजिक सम्बन्ध, आर्थिक अवस्था र भविष्यको योजना बीच सन्तुलन मिलाउनुपर्ने भएकाले यो केवल व्यक्तिगत नभई पारिवारिक निर्णय बन्न पुग्छ।
यसैगरी, छोराछोरीको व्यवस्थापन पनि अर्को महत्त्वपूर्ण चुनौती हो। विदेशमा जन्मिएका वा लामो समय विदेशमै हुर्किएका छोराछोरीलाई नेपाल ल्याउने निर्णय अभिभावकका लागि सहज हुँदैन। उनीहरूको उमेर, पढाइ, साथीहरूको समूह, सामाजिक वातावरण र भविष्यका अवसरलाई ध्यानमा राखेर निर्णय गर्नुपर्छ। अभिभावकले नेपाल फर्किने निर्णय गरिसकेपछि छोराछोरीले पनि त्यसलाई सहजै स्वीकार गर्छन् भन्ने हुँदैन।
त्यसैले उनीहरूसँग खुलेर कुराकानी गर्नु आवश्यक हुन्छ। नेपाल फर्किनुको कारण मात्र होइन, नेपालमा उनीहरूले पाउन सक्ने अवसर र सामना गर्नुपर्ने चुनौती दुवै बारे उनीहरूलाई बुझाउनुपर्छ। विशेषगरी किशोरावस्थाका छोराछोरीका लागि विद्यालय, साथी र सामाजिक वातावरण परिवर्तन गर्नु ठूलो चुनौती हुन सक्छ।
तर प्रायः हामी नेपालीले यसलाई गुमाउने कुराका रूपमा मात्र हेर्ने गर्छौं। नेपाल फर्किएपछि छोराछोरीले परिवारसँग नजिक भएर हुर्किने अवसर पाउँछन्, नेपाली भाषा र संस्कृतिसँग जोडिने वातावरण प्राप्त गर्छन् र आफ्नै देश तथा समाजलाई नजिकबाट बुझ्ने अवसर पाउँछन्। फरक सांस्कृतिक वातावरणमा हुर्किन पाउने यो अवसर उनीहरूको बौद्धिक र सामाजिक विकासका लागि पनि महत्त्वपूर्ण हुन सक्छ।
बाल विकास सम्बन्धी अनुसन्धानले पनि बालबालिकाको विकासमा परिवारसँगको सुरक्षित सम्बन्ध, सामाजिक अन्तरक्रिया, भाषिक वातावरण र विविध अनुभवको महत्त्व देखाएको छ। बाल्यकाल र किशोरावस्थामा परिवारसँगको गुणस्तरीय समय तथा सामाजिक सम्बन्धले भावनात्मक नियन्त्रण, सामाजिक सीप र आत्मविश्वासको विकासमा सहयोग गर्छ।
त्यसैगरी दुई वा बढी सांस्कृतिक तथा भाषिक वातावरणसँग परिचित हुने अवसरले बालबालिकामा फरक दृष्टिकोण बुझ्ने, सामाजिक तथा सांस्कृतिक विविधताप्रति सहज हुने र परिस्थिति अनुसार आफूलाई अनुकूल बनाउन सक्ने क्षमता विकास गर्न सहयोग पुर्याउन सक्छ।
त्यसैले विदेशमा हुर्किरहेका नेपाली बालबालिकाका लागि नेपालमा केही समय बस्नु केवल ‘विदेशको सुविधा गुमाउनु’ मात्र होइन; आफ्नो परिवार, भाषा, संस्कृति र समाजसँग गहिरो सम्बन्ध स्थापित गर्ने अवसर पनि हुन सक्छ। विशेषगरी परिवारसँग नजिकको सम्बन्ध र आफ्नै सांस्कृतिक पहिचानसँगको सम्बन्धले उनीहरूको भावनात्मक तथा सामाजिक विकासमा सकारात्मक भूमिका खेल्न सक्छ।
अन्ततः नेपाल फर्किने निर्णय अभिभावकको मात्र नभई परिवारको साझा यात्रा बन्न सक्यो भने संक्रमण धेरै सहज हुन सक्छ। छोराछोरीलाई निर्णयको निष्क्रिय सहभागी बनाउनुको सट्टा उनीहरूलाई बुझाउने, सुन्ने र नयाँ परिवेशमा आफूलाई स्थापित गर्न सहयोग गर्ने हो भने नेपाल फर्किनु परिवारका लागि चुनौती मात्र नभई नयाँ सम्भावनाको सुरुआत पनि बन्न सक्छ।
तयारी समयभन्दा महत्त्वपूर्ण
शायद नेपाल फर्किने सबैका लागि एउटै ‘उपयुक्त समय’ हुँदैन। कसैका लागि ३० वर्षको उमेर उपयुक्त हुन सक्छ, कसैका लागि ५० वर्ष। कसैका लागि छोराछोरी सानै हुँदा फर्किनु सहज हुन सक्छ भने कसैका लागि उनीहरूको पढाइ सकिएपछि।
मेरो विचारमा नेपाल फर्किने सही समय भनेको आफ्नो परिस्थिति, प्राथमिकता र मानसिक तयारी बीचको सही सन्तुलन मिल्ने समय हो।
तर यहाँ एउटा अत्यन्तै महत्त्वपूर्ण कुरा छ। सबै कुरा पूर्ण रूपमा मिलिसकेपछि मात्र नेपाल फर्किन्छु भनेर पर्खिरहने हो भने त्यो समय कहिल्यै नआउन सक्छ। ‘केही समयपछि मात्र नेपाल फर्किन्छु’ भन्दै समय बिताउँदै जाँदा धेरै नेपालीले आफ्ना बुवा–आमा र आफन्त गुमाएका छन्। कतिपयले लामो समयपछि नेपाल फर्किंदा आफ्ना नजिकका परिवारका सदस्यहरू नै नरहेको अवस्था पनि भोगिरहेका छन्। जीवनमा केही सम्बन्ध र केही समय फेरि फर्केर आउँदैनन्।
त्यसैले नेपाल फर्किने निर्णयमा तयारी जति महत्त्वपूर्ण छ, समयको महत्त्व पनि उत्तिकै छ। पूर्ण तयारीको प्रतीक्षा गर्दागर्दै जीवनका महत्त्वपूर्ण अवसर र सम्बन्धहरू गुमाउनु उचित हुँदैन। सकेसम्म समयमै तयारी शुरु गर्ने र आवश्यक तयारी पूरा भएपछि नेपाल फर्किने निर्णय लिनु उपयुक्त हुन्छ।
अर्कोतर्फ, केवल भावनामा बगेर तयारी विनै नेपाल फर्किने निर्णयले पनि अनावश्यक कठिनाइ निम्त्याउन सक्छ। त्यसैले भावनासँगै व्यावहारिक पक्षलाई पनि सँगसँगै अघि बढाउन आवश्यक हुन्छ।
अन्ततः प्रश्न ‘नेपाल कहिले फर्किने ?’ मात्र होइन। प्रश्न यो पनि हो- ‘नेपाल फर्किएपछि म कस्तो जीवन जिउन चाहन्छु ?’ यसको उत्तर आफूभित्रबाट स्पष्ट हुन थालेपछि नेपाल फर्किने समयको उत्तर पनि विस्तारै स्पष्ट हुँदै जान्छ।
प्रतिक्रिया 4