News Summary
Generated by OK AI. Editorially reviewed.- अमेरिकामा क्यान्सर जीवविज्ञानीका रूपमा कार्यरत उपप्राध्यापकले स्वदेशमा अनुसन्धान र संस्था निर्माणमा योगदान दिन स्थायी रूपमा नेपाल फर्कने निर्णय गरेका छन् ।
- उनले प्रवासमा आर्जित ज्ञान, अनुभव र सीपको उपयोग गर्दै नेपालमा विश्वस्तरीय अनुसन्धान केन्द्रका रूपमा \'निरी नेपाल\' स्थापना गरी संस्थागत विकासको अभियान थालेका छन् ।
यो आलेख कोर्दै गर्दा म भर्खरै पशुपति आर्यघाटबाट फर्किएको छु। आज त्यहाँ ‘हाई-ग्रेड र्याब्डोमायोसारकोमा’ का कारण मात्र २५ वर्षको अल्पायुमै ज्यान गुमाएकी एक युवतीको अन्त्येष्टिमा सहभागी भएको थिएँ। र्याब्डोमायोसारकोमा शरीरका नरम तन्तुहरू, खासगरी हाडसँग जोडिने स्केलेटन मांसपेशीमा विकसित हुने दुर्लभ तर छिटो फैलिने प्रकारको क्यान्सर हो।
उनको असामयिक निधनले मलाई फेरि एकपटक गम्भीर प्रश्नतर्फ धकेलिदियो- यदि हाम्रो देशमा समयमै सही निदान र उपयुक्त उपचार उपलब्ध भइदिएको भए, शायद उनले यति छिट्टै ज्यान गुमाउने थिइनन्।
प्रत्येक देशका आफ्नै मौलिक स्वास्थ्य चुनौती हुन्छन्, र तिनको समाधान पनि त्यही देशको सामाजिक, आर्थिक एवं संस्थागत यथार्थको धरातलमै खोजिनुपर्छ। मलाई सधैं लाग्दै आयो- नेपालको जनस्वास्थ्यका समस्यासँग प्रत्यक्ष जोडिएर, यहींकै माटोमा अनुसन्धान गर्दै स्थानीय आवश्यकता अनुसारका समाधान पहिल्याउनु नै मेरो ज्ञान, सीप र अनुभवको सबैभन्दा सार्थक उपयोग हो। यही दृढ विश्वास नै अन्ततः मलाई नेपाल फर्काउने मुख्य प्रस्थानविन्दु बन्यो।
यस लेख मार्फत मैले स्थायी रूपमा स्वदेश फर्किने मेरो निर्णयका अन्तर्यहरू, त्यो निर्णयसम्म पुग्दाका वैचारिक मन्थन र यस यात्राका केही अनुभव साझा गर्ने प्रयास गरेको छु। पाँच वर्ष बेलायत र त्यसपछि एक दशक अमेरिका गरेर डेढ दशक प्रवासमा बिताएपछि, म तीन महिनाअघि मात्र स्थायी रूपमा नेपाल फर्किएको हुँ।
पेशाले क्यान्सर जीवविज्ञानीका रूपमा मैले हालसम्म अमेरिकाको एक प्रतिष्ठित विश्वविद्यालयमा उपप्राध्यापकका रूपमा प्राध्यापन र अनुसन्धान गरिरहेको थिएँ। अनुसन्धान, अध्यापन र संस्थागत नेतृत्वको एउटा स्थापित यात्रालाई थाती राख्दै, मैले त्यो सुरक्षित पदबाट राजीनामा दिएर नेपाल फर्किने निर्णय गरें।
यो लेखको आधार मेरा नितान्त व्यक्तिगत अनुभवहरू भए पनि यसको उद्देश्य विदेशमा रहेका दक्ष नेपाली किन फर्किन सक्छन्, किन फर्किनुपर्छ, र फर्किन चाहनेहरूले कस्तो मानसिक, आर्थिक तथा सामाजिक तयारी गर्नुपर्छ भन्ने विषयमा एउटा बृहत् र वैचारिक संवाद शुरु गर्नु हो।
विशेषगरी, नेपाल फर्किने तीव्र इच्छा हुँदाहुँदै पनि विभिन्न व्यावहारिक वा मनोवैज्ञानिक संशयका कारण निर्णय लिन नसकिरहेका प्रवासी नेपालीका लागि यी अनुभवहरू केही हदसम्म मार्गदर्शक बन्न सके मेरो प्रयास सार्थक हुनेछ।
प्रतिभाको पलायन होइन, प्रतिभाको पुनरागमन
नेपालको सार्वजनिक बहसमा प्रतिभा पलायनको विषय लामो समयदेखि उठ्दै आएको छ। तर, यस बहसको अर्को महत्त्वपूर्ण पक्ष प्रतिभाको पुनरागमन (ब्रेन गेन) र ज्ञानको पुनःप्रवाहमाथि अपेक्षाकृत कम चर्चा हुने गरेको छ।
आजको विश्वमा प्रतिभा कुनै एक देशको स्थायी सम्पत्ति होइन। मानिसहरू अध्ययनका लागि एउटा देशमा जान्छन्, अनुसन्धान अर्को देशमा गर्छन्, र आफ्नो ज्ञान तथा अनुभव तेस्रो देशमा प्रयोग गर्न सक्छन्। त्यसैले मूल प्रश्न ‘मानिस कहाँ बस्छ’ भन्ने होइन; बरु उसले आफ्नो ज्ञान, सीप र अनुभव कहाँ र कसरी उपयोग गर्छ भन्ने हो।
बेलायत र अमेरिका नि:सन्देह अवसरका भूमि हुन्। त्यहाँ विश्वका उत्कृष्ट विश्वविद्यालयहरू, अत्याधुनिक अनुसन्धान प्रयोगशाला, विशाल आर्थिक स्रोत र असाधारण प्रतिभाहरूको जमघट छ। एक अनुसन्धानकर्ताका रूपमा मैले पनि त्यही वातावरणमा आफ्नो व्यावसायिक पहिचान निर्माण गर्ने अवसर पाएँ।
वैज्ञानिक अनुसन्धानका लागि आवश्यक पूर्वाधार, अन्तर्राष्ट्रिय सहकार्य र बौद्धिक स्वतन्त्रताको मैले पूर्ण लाभ उठाएँ। यद्यपि, यति हुँदाहुँदै पनि राम्रोसँग अघि बढिरहेको वैज्ञानिक अनुसन्धान, अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको स्थिर र आशाजनक करिअर तथा प्रतिष्ठित विश्वविद्यालयको स्थायी पद छोडेर नेपाल फर्किने निर्णय बाहिरबाट हेर्दा धेरैलाई अस्वाभाविक वा अतार्किक लाग्न सक्छ।
तर, जीवनका सबै निर्णय आर्थिक लाभ, पेशागत उपलब्धि वा व्यक्तिगत सुविधाको हिसाबले मात्र गरिंदैनन्। जीवनको कुनै न कुनै चरणमा प्रत्येक व्यक्तिले मेरो ज्ञान, मेरो अनुभव र मेरो उपस्थितिको आवश्यकता वास्तवमा कहाँ बढी छ भन्ने एउटा गम्भीर प्रश्नको सामना गर्नुपर्छ।
करिअरभन्दा माथि: मेरो आवश्यकता कहाँ छ?
अमेरिका प्रतिभाको खानी हो। विश्वका उत्कृष्ट वैज्ञानिक, चिकित्सक, इन्जिनियर, उद्यमी र नीति–निर्माता त्यहाँ छन्। म त्यहाँ नरहँदा पनि अमेरिकी प्राज्ञिक तथा व्यावसायिक प्रणालीलाई कुनै तात्त्विक फरक पर्दैन। तर, नेपाल जस्तो सीमित जनशक्ति र स्रोत भएको मुलुकमा एक जना मात्र पनि सक्षम व्यक्ति फर्किंदा त्यसको सकारात्मक प्रभाव अपेक्षाकृत निकै गुणा बढी हुन सक्छ।
मैले यही प्रश्नको उत्तर आफ्नै जीवनमा खोज्ने प्रयास गरें। धेरै वर्षको आत्ममन्थनपछि मैले महसुस गरें कि मेरो योगदानको सबैभन्दा ठूलो आवश्यकता मेरै देशमा छ। त्यसैले मैले अमेरिका छोड्ने र बाँकी जीवन नेपालमै बसेर काम गर्ने निर्णय गरें।
यस्तो संवेदनशील समयमा विदेशमा बसेर देशको चिन्ता गर्नु र स्वदेशमै फर्किएर त्यो चिन्तालाई ‘कर्म’ मा रूपान्तरण गर्नु बीच गुणात्मक अन्तर हुन्छ। नेपाललाई अन्तर्राष्ट्रिय अनुभव, अनुसन्धान र संस्था निर्माणको क्षमताबोध भएका मानिसहरूको खाँचो छ।
यसका साथै मेरो बुझाइमा नेपालको मूल समस्या स्रोतको अभाव मात्र होइन; बलियो संस्था निर्माण गर्ने मानिसहरूको खडेरी हो। हामीले दशकौंदेखि उत्कृष्ट युवा त उत्पादन गर्यौं, तर उनीहरूलाई देशभित्रै टिकाएर दीर्घकालीन रूपमा काम गराउने संस्थागत वातावरण दिन सकेनौं। फलस्वरूप, व्यक्तिहरू त सफल भए, तर हाम्रा संस्थाहरू कहिल्यै बलिया हुन सकेनन्।
विकसित मुलुकहरूको असली सामर्थ्य केवल उनीहरूको अर्थतन्त्रमा मात्र हुँदैन, बरु उनीहरूले स्थापना गरेका बलिया संस्थाहरूमा हुन्छ। गुणस्तरीय विश्वविद्यालय, अनुसन्धान केन्द्र, सुदृढ जनस्वास्थ्य प्रणाली, थिंक ट्यांक र गतिशील सार्वजनिक निकायहरू- यी सबै संस्थागत निरन्तरताकै नतिजा हुन्। नेपालले पनि यदि दिगो समृद्धि हासिल गर्ने हो भने अब व्यक्ति-केन्द्रित होइन, संस्था-केन्द्रित विकासको मार्ग समात्नै पर्छ।
त्यसैले, मेरा लागि अमेरिका छोड्नु भनेको एउटा जागिर वा सुविधायुक्त जीवन त्याग्नु मात्र होइन, स्वदेशमा संस्था निर्माणको एउटा बृहत् र दीर्घकालीन यात्रामा आफूलाई समाहित गर्नु हो।
संस्था निर्माणको यात्रा : नेपाल फर्कौं महाअभियान हुँदै निरी नेपालको स्थापना
मेरो हकमा नेपाल फर्किने निर्णयको अर्को महत्त्वपूर्ण आयाम ‘संस्थानिर्माण’ सँग जोडिएको छ। त्यसैले म स्थायी रूपमा फर्किनुअघि नै नेपालसँग जोडिएको निरी नेपाल भन्ने संस्था मार्फत संस्थागत यात्रामा संलग्न भइसकेको थिएँ।
केही वर्षअघि हामीले विदेशबाट नेपाल फर्किन चाहने नेपालीलाई सहयोग गर्ने र प्रेरणा दिने उद्देश्यका साथ नेपाल फर्कौं महाअभियान शुरु गरेका थियौं। उक्त अभियान केवल भावनात्मक लहरमा सीमित हुनुहुँदैन भन्नेमा हामी उत्तिकै सचेत थियौं। हाम्रो एउटा अटुट विश्वास के पनि थियो भने प्रवासमा रहेका नेपालीले आर्जित गरेका ज्ञान, अनुभव, सीप र अन्तर्राष्ट्रिय सञ्जाललाई नेपालको दीर्घकालीन विकाससँग जोड्न नेपालमै फर्किन सक्ने हो भने हामीले योगदान दिने दायरा अझ फराकिलो बन्न सक्थ्यो।
यिनै छलफल र संवादका क्रममा केही समान सोच भएका साथीसँग मिलेर हामीले करिब पाँच वर्षअघि नेक्सस इन्स्टिच्युट अफ रिसर्च एन्ड इन्नोभेसन (निरी) को स्थापना गर्यौं। हाम्रो उद्देश्य कुनै एउटा परियोजना सञ्चालन गर्नु वा अल्पकालीन उपलब्धि हासिल गर्नु मात्र थिएन। बरु, नेपालमा विश्वस्तरीय अनुसन्धान, नवप्रवर्तन र ज्ञान उत्पादनको संस्कृति निर्माण गर्न सक्ने एउटा बलियो संस्था खडा गर्ने दीर्घकालीन सोच थियो।
पछिल्ला पाँच वर्षदेखि हामीमध्ये धेरैले निरीलाई विश्वस्तरीय अनुसन्धान केन्द्र बनाउने योजनाका साथ अघि बढाइरहेका छौं। विदेशका विश्वविद्यालय, अनुसन्धान संस्था र विभिन्न पेशागत क्षेत्रहरूमा कार्यरत नेपालीले आफ्नो समय, अनुभव र बौद्धिक ऊर्जा नेपालका लागि समर्पित गर्दै आएका छन्। यस यात्रा मार्फत हामीहरूमाझ राष्ट्र निर्माणमा अन्ततः व्यक्तिको भन्दा बढी संस्थाको भूमिका महत्त्वपूर्ण हुन्छ भन्ने कुरा अझ बलियो रूपमा स्थापित हुँदै गएको पाएका छौं।
हामी प्रायः सफल व्यक्तिहरूको चर्चा गर्छौं, तर सफल राष्ट्रहरू सफल संस्थाहरूका कारण बन्छन्। एउटा पुस्ताले संस्था निर्माण गर्छ, अर्को पुस्ताले त्यसलाई बलियो बनाउँछ, र त्यसपछिका पुस्ताहरूले त्यसको लाभ उठाउँछन्। त्यसैले निरी नेपालको सपना यसमा आबद्ध साथीहरूको पेशागत उपलब्धिमा मात्र सीमित छैन। हाम्रो चाहना निरी नेपाललाई एउटा यस्तो मञ्च निर्माण गर्ने हो, जहाँ हाम्रो पुस्ताले मात्र होइन, आगामी पुस्ताले पनि अनुसन्धान र नवप्रवर्तन गर्न सकून्, र विश्वस्तरको काम नेपालमै बसेर पनि फस्टाउन सकोस्।
शायद हाम्रो पुस्ताले यसको सम्पूर्ण परिणाम देख्न नपाउला। तर यदि हामीले आज सही संस्थागत जग बसाल्न सक्यौं भने, भोलिका नेपालीले अवसर खोज्दै बाहिरिनुपर्ने बाध्यता कम हुनेछ। उनीहरूले आफ्ना आकांक्षा पूरा गर्ने, ज्ञान सिर्जना र विश्वसँग प्रतिस्पर्धा गर्ने वातावरण आफ्नै देशमा पाउनेछन्। मेरो दृष्टिमा, नेपाल फर्किनुको सबैभन्दा गहिरो अर्थ यही हो। यो व्यक्तिगत करिअरको निर्णयभन्दा पर, भविष्यका पुस्ताहरूका लागि संस्था निर्माण गर्ने यात्रामा आफूलाई समर्पित गर्ने एउटा दृढ संकल्प हो।
प्रतिक्रिया 4