+

एसियन गेम्समा नेपाल : ७५ वर्षमा ३ रजत र २३ कांस्य, अझै स्वर्णको प्रतीक्षा

२०८३ भदौ  ८ गते १३:२८ २०८३ भदौ ८ गते १३:२८

एसियन गेम्सको सात दशक भन्दा लामो इतिहासमा नेपालको प्रदर्शनलाई एक लाइनमा भन्दा अहिलेसम्म ३ रजत र २३ कांस्य जितेको छ ।

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपालले १९५१ देखि एसियन गेम्समा १७ संस्करण खेलेर ३ रजत र २३ कांस्यसहित २६ पदक जितेको छ ।
  • हन्झाउ एसियाडमा करातेकी एरिका गुरुङले रजत र महिला कबड्डी टोलीले कांस्य जितेर नेपाललाई १७ वर्षपछि एकै संस्करणमा दुई पदक दिलाएका छन् ।
  • आइची–नागोया एसियाड सेप्टेम्बर १९ देखि अक्टोबर ४ सम्म हुनेछ, जहाँ नेपालले २२ खेलमा १३७ खेलाडी सहभागी गराउनेछ ।

८ भदौ, काठमाडौं । एसियाको सबैभन्दा ठूलो खेलकुद प्रतियोगिता एसियन गेम्स (एसियाड)मा नेपालले सन् १९५१ मा भारतको नयाँ दिल्लीमा भएको पहिलो संस्करणदेखि नै सहभागिता जनाउँदै आएको छ । यो हिसावले हेर्दा नेपालले एसियन गेम्समा खेल्न थालेको ७५ वर्ष पुगिसकेको छ ।

सन् १९५१ मा भारतको नयाँ दिल्ली देखि २०२३ मा चीनको हान्झाउमा भएको १९औं संस्करणसम्म आइपुग्दा नेपालले अहिलेसम्म १७ संस्करणमा सहभागी भएको छ । दोस्रो र चौथो संस्करणमा नेपाल सहभागी भएन ।

एसियन गेम्सको सात दशक भन्दा लामो इतिहासमा नेपालको प्रदर्शनलाई एक लाइनमा भन्दा अहिलेसम्म ३ रजत र २३ कांस्य जितेको छ । तर एसियाडमा यति लामो यात्रामा पनि नेपालका कुनै पनि खेलाडीले अहिलेसम्म स्वर्ण पदक जित्न सकेका छैनन् ।

सन् १९५१ को पहिलो संस्करणमा सहभागी नेपालले त्यसपछिका १९५४ र १९६२ का संस्करणमा भने सहभागिता जनाएको थिएन । त्यस बाहेक भने नेपालले लगातार एसियाडमा सहभागिता जनाएको छ । एसियाडमा नेपालले १७ संस्करणमा हालसम्म ३ रजत र २३ कांस्य गरी २६ पदक मात्र जितेको छ ।

अहिले नेपाली खेलकुद जापानको आइची–नागोयामा सेप्टेम्बर १९ देखि अक्टोबर ४ सम्म हुने २०औं एसियन गेम्सको तयारीमा छ । यस पटक नेपालले २२ खेलमा १३७ खेलाडी सहभागी गराउँदैछ ।

आइची–नागोया एसियाडमा ४५ राष्ट्रका ११ हजारभन्दा बढी खेलाडी सहभागी हुनेछन् । उनीहरूले ४३ खेलको ७१ डिसिप्लिन र ४६९ इभेन्टमा प्रतिस्पर्धा गर्नेछन् ।

पहिलो पदकका लागि ३५ वर्षको पर्खाइ

एसियन गेम्समा पहिलो पटक आयोजना हुँदा नेपालबाट एथ्लेटिक्स खेल मात्र सहभागी थियो । तर नेपालले पहिलो पदक जित्न भने साढे तीन दशक अर्थात ३५ वर्ष कुर्नुपर्‍यो ।

सुरुवाती ९ संस्करणमा ७ संस्करण भाग लिँदा नेपालले कुनै पदक जित्न सकेन । नेपाललको पदकको पर्खाइ ३५ वर्षपछि अन्त्य भयो । नेपालले सन् १९८६ मा दक्षिण कोरियाको स्योलमा भएको १०औं एसियन गेम्समा पहिलो पटक जित्यो । तेक्वान्दोका विधान लामाले नेपाललाई पहिलो पदक दिलाए । त्यो संस्करण नेपालका लागि ऐतिहासिक बन्यो । नेपालले एक होइन दुई होइन ८ पदक जित्यो ।

तेक्वान्दो र बक्सिङमा नेपालले ४-४ कांस्य जित्दै एसियन गेम्स इतिहासमा पदकको खाता खोल्यो ।

बक्सिङतर्फ दलबहादुर रानामगर, मनोजबहादुर श्रेष्ठ, सुशील पोखरेल र तुलबहादुर थापा तथा तेक्वान्दोतर्फ विधान लामा, राजकुमार बुढाथोकी, राजकुमार राई र रामबहादुर घर्ती क्षेत्रीले कांस्य पदक जितेका थिए ।

संख्याका हिसाबले अहिलेसम्म पनि स्योल एसियाड नै नेपालले सबैभन्दा धेरै पदक जितेको संस्करणको रूपमा कायम छ ।

त्यसको चार वर्षपछि सन् १९९० को बेइजिङ एसियाडमा नेपालले जम्मा एक पदक मात्र जित्यो । बक्सिङका चित्रबहादुर गुरुङले कांस्य जित्दै नेपाललाई पदक तालिकामा समावेश गराए । सन् १९९४ मा जापानको हिरोसिमामा नेपालले दुई कांस्य (तेक्वान्दोका मानबहादुर शाही र करातेकी सीता राई) पदक जित्यो ।

सविताको ऐतिहासिक रजत पदक

नेपालले लगातार तीन संस्करणमा कांस्य पदक मात्र जितेपछि सन् १९९८ मा ऐतिहासिक रजत पदक जित्यो ।

थाइल्यान्डको बैंककमा भएको १३औं एसियाडमा तेक्वान्दोकी सविता राजभण्डारीले नेपाललाई पहिलो रजत पदक दिलाइन् ।

पहिलो एसियन गेम्स देखि सहभागी भएको नेपालले पहिलो रजत जित्न झण्डै पाँच दशक नै पर्खनुपर्‍यो । सविताको उक्त पदक एसियाडमा तेक्वान्दोको अहिलेसम्मको सबैभन्दा ठूलो पदक हो भने नेपालको पनि एसियाड इतिहासमा ठूलो पदक मध्ये एक हो । व्यक्तिगत हिसाबले त्यस समयमा त्यो ठूलो उपलब्धि थियो ।

सविता राजभण्डारी

सोही संस्करणमा तेक्वान्दोकै किशोर श्रेष्ठ र सपना मल्लले पनि कांस्य जिते भने करातेबाट साम्बरबहादुर गोलेले कांस्य जिते ।

त्यसपछि तेक्वान्दोको गोल्डेन एराले निरन्तरता पायो । एसियन गेम्सको तेक्वान्दो हावी बन्यो ।

सन् २००२ को बुसान एसियाडमा तेक्वान्दोका दीपक विष्ट, रेनुका मगर र ऋतु जिमी राईले कांस्य जिते । यस्तै सन् २००६ मा भएको दोहा एसियाडमा पनि नेपालले तेक्वान्दोबाटै तीन कांस्य जित्यो । जहाँ दीपक विष्टले लगातार दोस्रो पटक पदक जिते । तेक्वान्दोकै आयशा शाक्य र मनिता शाहीले पनि कांस्य जिते ।

नेपाली खेलकुद इतिहासकै सफल खेलाडीमध्ये एक दीपक विष्ट एसियाड इतिहासमा लगातार दुई संस्करणमा पदक जित्ने पहिलो नेपाली खेलाडी बने र यो कीर्तिमान अझैसम्म पनि कायम छ ।

सफल खेल हुँदै खुम्चिएको तेक्वान्दो

एसियन गेम्समा नेपालको सबैभन्दा सफल खेल तेक्वान्दो हो । तथ्याङ्कले पनि यो पुष्टि गर्छ ।

नेपालले अहिलेसम्म एसियाडमा जितेका २६ पदकमध्ये आधा भन्दा बढी अर्थात १४ पदक तेक्वान्दोबाट मात्रै छ । त्यसमा पनि १ रजत पदक समावेश छ भने १३ कांस्य छ ।

सन् १९९६ मा स्योल एसियाडमा पदकको खाता खोलेपछि सन् २००६ सम्म (१९९० मा बाहेक) तेक्वान्दोले लगातार पदक जित्यो ।

तेक्वान्दोले सन १९८६ मा ४ कांस्य जितेको थियो । त्यसपछि १९९० मा जित्न सकेन ।

सन् १९९४ मा १ कांस्य, १९९८ मा १ रजत र २ कांस्य जित्दा सन् २००२ र २००६ मा ३-३ कांस्य जित्यो ।

तर त्यसपछि भने नेपाली तेक्वान्दोको अवस्था फरक बन्यो । कुनै समय एसियाडमा लगातार पदक जितेको खेल तेक्वान्दोले त्यसपछि लगातार पदक जित्न असफल हुँदै आएको छ ।

पछिल्लो चार संस्करणमा तेक्वान्दो खुम्चियो । कुनै पनि खेलाडिले त्यसयता पदक जित्न सकेनन् । दीपक विष्टको पुस्तापछि एसियाडमा तेक्वान्दोमा पदक जित्न खेलाडी जन्मन सकेनन् । भविष्यमा के हुन्छ भन्न सकिन्न तर अहिलेको अवस्थामा तेक्वान्दो खेल नै खुम्चिएको र कतै हराएको जस्तो बनेको छ ।

कुनै समय तेक्वान्दो खेल नेपालको अन्तर्राष्ट्रिय पहिचान नै बनेको थियो तर अहिले एसियाडमा लगातार पदकविहीन बन्दा तेक्वान्दो खेलले अब धेरै सोच्नुपर्ने बेला आएको छ ।

पदकको संख्या पनि घट्यो

नेपालले सन् १९९६ देखि २००६ मा लगातार उत्कृष्ट प्रदर्शन गरेको थियो । सन् १९९० को संस्करणलाई छाडेर हरेक संस्करणमा एक भन्दा बढी पदक जितेको थियो ।

२० वर्षको अवधिमा नेपालले १ रजतसहित २१ पदक जितेको थियो । त्यस बेला नेपालले तेक्वान्दो, बक्सिङ र करातेबाट मात्र पदक जितेको थियो ।

तर सन् २००६ पछि भने एसियाडमा नेपालको पदक संख्या पनि निरन्तर घट्दै गयो । नेपालले एक संस्करणमा एक पदक जित्न पनि मुस्किल अवस्था बन्यो ।

सन् २०१० को ग्वाङ्झाउ एसियाडमा बक्सिङका दीपक महर्जनले एक मात्र कांस्य जिते । सन् २०१४ को इन्चोन एसियाडमा करातेकी विमला तामाङले कांस्य (काता) जितिन् ।

सन् २०१८ मा इन्डोनेसियाको जाकार्ता र पालेम्बुङमा भएको १९औं एसियाडमा नेपालले अर्को ऐतिहासिक पदक जित्यो । दुई दशकपछि नेपालले अर्को रजत जित्यो । यस पटक प्याराग्लाइडिङ टिमले नेपालको साख जोगायो । तर अन्य पदक भने जित्न सकेन । एक पदकमै सिमित भयो ।

पुरुष टिम क्रस कन्ट्रीमा नेपालमा लागि विजय गौतम, विमल अधिकारी, सुशील गुरुङ, युकेश गुरुङ र विशाल थापा सम्मिलित टोलीले रजत जितेको थियो । त्यसबेला नेपाल जापानभन्दा केवल २७ अंकले पछि पर्दै दोस्रो स्थानमा रहेको थियो । लगातार ती संस्करणसम्म नेपालले १-१ पदक मात्र जित्न सक्यो ।

एरिकाले जगाएको आशा

चीनको हान्झाउमा भएको १९औं एसियन गेम्समा नेपालले एक रजत र एक कांस्य गरी दुई पदक जित्यो । यस पटक करातेकी एरिका गुरुङले अर्को ऐतिहासिक पदक जितिन् भने महिला कबड्डी टोलीले पहिलो एसियाड सहभागितामै कांस्य जिते ।

एरिकाङले महिला कुमिते ६८ केजीभन्दा माथिको तौल समूहमा रजत जितिन् । सन् १९९८ मा तेक्वान्दोकी सविता राजभण्डारीपछि एरिका एसियाडमा व्यक्तिगत विधामा रजत जित्ने पहिलो खेलाडी बनिन् ।

एरिकाको रजत विशेष रह्यो । उनी नेपालका लागि एसियाडमा रजत जित्ने तेस्रो खेलाडी/टोली बनिन् । यसअघि तेक्वान्दोकी सविता राजभण्डारी (१९९८) र प्याराग्लाइडिङ (२०१८)ले रजत जितेका थिए ।

यस्तै महिला कबड्डी टोलीको कांस्य पनि ऐतिहासिक बन्यो । यो दुई पदकपछि नेपालले १७ वर्षपछि एसियाडमा एकै संस्करणमा एक भन्दा बढी पदक जितेको थियो ।

साढे ७ दशक सहभागिता तर स्वर्ण अझै टाढा

१९औं एसियाडमा करातेकी एरिकाले उत्ष्ट प्रदर्शन गर्दै स्वर्णको सम्भावना देखाएपनि उनी फाइनलमा कजाखस्तानकी सोफिया बेरुत्सेभासँग पराजित भइन् ।

एरिकाले त्यसबेलै नेपाल पनि स्वर्णको हकदार बन्न सक्छ भनेर प्रमाणित गरेकी थिइन् । उनले रजत जितेको भन्दा पनि स्वर्ण गुमेको विषयलाई बढी जोड दिएकी थिइन् । एरिकाले जितेको रजतको धेरै चर्चा पनि भयो । त्यो रजतपछि नेपालले एसियाडमा अब स्वर्ण पनि जित्न सक्छ भनेर चर्चा पनि भएको थियो ।

तर सँगै अर्को प्रश्न पनि जन्मायो, नेपालले स्वर्ण कहिले जित्ने ? यो हरेक एसियन गेम्स आउँदा उठ्ने सबैभन्दा ठूलो प्रश्न हो । किनभने पहिलो संस्करणदेखि एसियन गेम्समा सहभागी भएको १९ मध्ये १७ संस्करण खेलेको नेपालले एसियाड इतिहासमा अहिलेसम्म स्वर्ण जित्न नसकेको विषय सत्य हो ।

खेलकुद संरचना र स्रोत र क्षमताको हिसाबले पनि नेपालभन्दा कमजोर मानिएका कतिपय एसियाली राष्ट्रले पनि एसियन गेम्समा स्वर्ण जितिसकेका छन् । नेपाल एसियाडमा पदकको खाता खोलेको चार दशम र पहिलो रजत जितेको तीन दशक पुग्न लाग्दा पनि अहिलेसम्म स्वर्णविहिन छ ।

१९औं संस्करणपछि नै २०औं एसियन गेम्समा स्वर्णसहित दोहोरो अंकमा पदक जित्ने लक्ष्यसहित राष्ट्रिय खेलकुद परिषदले ‘मिसन २०२६’ अभियान सुरु गरेको थियो । त्यसमा १० खेलका खेलाडीहरू समावेश थिए ।

अहिले त्यही मिसनका खेलाडीहरू र त्यतिकै संख्या भन्दा बढी गरी कूल २२ खेलमा नेपालले सहभागिता जनाउँदैछ । तर नेपालले यस पटक कति पदक जित्छ कुन पदक जित्न सक्छ र कति खेलाडी पदकको दाबेदार छन् भनेर यकिन रूपमा पहिचान गरेर तयारी गर्न सकेको छैन ।

नेपालले स्वर्णको लक्ष्य राखे पनि त्यो अनुसारको तयारी, प्रशिक्षण, अन्तर्राष्ठ्रिय एक्सपोजर लगायत विविध विषयमा कति लगानी गर्‍यो कति चासो दियो भन्ने मुख्य बहसको विषय बनेको छ ।

१९औं एसियाडमा रजत जितेकी एरिका गुरुङ यस पटक स्वभाविक रूपमा पदकको दाबेदार छिन् भने मार्सल आर्ट्सकै अन्य केही खेल र महिला कबड्डीबाट पनि नेपालले पदक जित्ने लक्ष्य/आशा राखेको छ ।

अब आइची–नागोया एसियाडले नेपालले कुन खेलबाट कति पदक जित्छ भन्ने जवाफ सेप्टेम्बर १९ देखि अक्टोबर ४ सम्म हुने प्रतिस्पर्धा पछि थाहा हुनेछ ।

२०औं एसियन गेम्स एसियन गेम्स
लेखक
गोविन्दराज नेपाल
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय