+
+
Shares

उखुको समर्थन मूल्य तोक्ने तयारी, तराईका ११ जिल्लामा लागत अध्ययन सुरु

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ ९ गते ११:५९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सरकारले उखु किसानलाई उचित मूल्य दिलाउन यस वर्षको उखुको न्यूनतम समर्थन मूल्य तोक्ने तयारी अघि बढाएको छ।
  • कृषि विभागले सुनसरीदेखि कञ्चनपुरसम्म तराईका ११ जिल्लामा उत्पादन लागत र अन्य खर्चको स्थलगत अध्ययन थालेको छ।
  • विभागको प्रतिवेदनपछि मन्त्रालयमा छलफल भएर मन्त्रिपरिषद्ले उखुको खरिद मूल्य र अनुदान रकमको अन्तिम टुंगो लगाउनेछ।

९ भदौ, काठमाडौं । उखु किसानहरूलाई उचित मूल्य दिलाउने उद्देश्यसहित सरकारले यस वर्षका लागि उखुको न्यूनतम समर्थन मूल्य तोक्ने तयारी अघि बढाएको छ ।

यसका लागि कृषि विभागले उखुखेती धेरै हुने तराईका ११ वटा जिल्लाहरूमा स्थलगत अध्ययन सुरु गरिसकेको छ ।

विभागको टोलीले सुनसरी, मोरङ, सिराहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, नवलपरासी, बर्दिया, कैलाली र कञ्चनपुरमा पुगेर किसानको वास्तविक उत्पादन लागत र अन्य खर्चको तथ्यांक जुटाइरहेको विभागले जानकारी दिएको छ ।

विभागका महानिर्देशक प्रकाशकुमार सञ्जेलका अनुसार यसै सर्वेक्षणबाट प्राप्त यथार्थ विवरणका आधारमा नयाँ समर्थन मूल्य प्रस्ताव गरिनेछ । अहिले भइरहेको अध्ययनमा अघिल्ला वर्षहरूको तुलनामा ढुवानी, उत्पादन तथा अन्य विविध खर्चमा आएको परिवर्तनको समेत सुक्ष्म मूल्यांकन गरिने उनले जानकारी दिए ।

विभागले यो अध्ययन प्रतिवेदन तयार पारिसकेपछि थप छलफल र सहमतिका लागि कृषि वन तथा पर्यावरण मन्त्रालयमा पेस गर्नेछ । त्यसपछि मन्त्रिपरिषद्को बैठकले उखुको खरिद मूल्य र किसानलाई सरकारले उपलब्ध गराउने अनुदान रकमको अन्तिम टुंगो लगाउने महानिर्देशक सञ्जेलले बताए ।

बजारमा कृषिउपजको भाउ घट्दा किसानले ठूलो घाटा व्यहोर्नु नपरोस् र उनीहरूको लगानी सुरक्षित होस् भन्नका लागि सरकारले वर्षेनी उखु, धान लगायतका बालीको न्यूनतम समर्थन मूल्य तोक्दै आएको छ । अघिल्लो वर्ष सरकारले उखुको खरिद मूल्य प्रतिक्विन्टल ६ सय २० रुपैयाँ र किसानलाई दिइने अनुदान ७० रुपैयाँ कायम गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?