+
२०औं एसियाड :

प्रशिक्षणमा रहेका खेलाडीलाई सरकारले दिन्छ १५ डलर, पुग्दैन खान–बस्न

२०८३ भदौ  ९ गते १४:२८ २०८३ भदौ ९ गते १४:२८

देशका लागि पदक ल्याउन पसिना बगाइरहेका खेलाडीहरू अहिले खान र बस्नकै लागि अन्तर्राष्ट्रिय संघसँग हारगुहार गर्न बाध्य छन् ।

News Summary

Generated by OK AI. Editorially reviewed.
  • जापानमा हुने २०औं एसियन गेम्सका लागि बन्द प्रशिक्षणमा रहेका नेपाली खेलाडीलाई सरकारले प्रतिदिन १५ डलर मात्र दिएको छ।
  • विदेशमा प्रशिक्षण गरिरहेका खेलाडीले उक्त रकमले खान र बस्न नपुग्ने भन्दै व्यक्तिगत पैसा खर्च गर्नुपरेको गुनासो गरेका छन्।
  • राखेपले खेलाडीका लागि प्रतिदिन ४० डलर प्रस्ताव गरे पनि अर्थ मन्त्रालयले १५ डलर मात्र दिने निर्णय गरेको छ।

९ भदौ, काठमाडौं । आगामी ३ असोजबाट जापानमा हुने २०औं एसियन गेम्स (एसियाड) का लागि नेपाली खेलाडीहरू बन्द प्रशिक्षणमा छ । एसियाडमा सहभागी हुनेमध्ये केही खेलाडी स्वदेशमै प्रशिक्षण गरिरहेका छन् त केही खेलाडी प्रशिक्षणका लागि विदेश पुगेका छन् ।

स्वदेश तथा विदेशमा प्रशिक्षण गरिरहेका खेलाडीका लागि सरकारले प्रतिदिन १५ डलर छुट्याएको छ । उक्त रकमले बस्न, खानदेखि सबै प्रयोजनका लागि पुर्‍याउनुपर्छ ।

स्वदेशमा प्रशिक्षणमा गरिरहेका खेलाडीलाई रोयल र पशुपति बुटिकमा राखिएको छ । स्वदेशमा प्रशिक्षण गरिरहेका खेलाडीहरूले सरकारले दिएको २३ सय (१५ डलर) मध्ये १९ सय रुपैयाँ होटललाई बुझाउँछन् । बाँकी ४०० रुपैयाँ डाइटसहितका अन्य प्रयोजनका लागि प्रयोग गर्छन् ।

यसअघि सरकारले सम्बन्धित खेल संघको खातामा खेलाडीको पैसा पठाउँथ्यो र खेल संघले नै खाने–बस्ने व्यवस्था गर्थे । तर यस पटक उक्त रकम खेलाडीकै खातामा आउने व्यवस्था गरिएको छ ।

राखेपका अनुसार स्केटबोर्ड, टेनिस, पौडी, कुस्ती, क्यानोइङ, पुरुष/महिला कबड्डी, साइक्लिङ र गल्फसहितका खेलाडीहरू प्रशिक्षणका क्रममा विदेशमा छन् । उनीहरूलाई राखेपले प्रशिक्षणका लागि भारत, थाइल्यान्ड, अमेरिका र क्यानडालगायत देशमा पठाएको हो ।

विदेशी भूमिमा प्रशिक्षण गरिरहेका खेलाडी/प्रशिक्षकले सोही १५ डलरमै खाने, बस्ने सबै व्यवस्था गर्नुपर्ने अवस्था छ । जसले खेलाडीलाई खान र बस्न पनि नपुग्ने स्थिति रहेको खेलाडीहरू गुनासो गर्छन् ।

वैदेशिक भ्रमण जाने जोकोहीले खाने, बस्नेसहित दैनिक भत्ता पाउँछन् । तर खेलाडीहरूले भत्ता त परको कुरा, खान–बस्नका लागि पनि पर्याप्त रकम पाउन सकेका छैनन् ।

‘त्यसले त पुग्दैन तर हामीलाई केही सहयोग गर्छु भन्ने प्रतिबद्धता सदस्यसचिवले दिनुभएको छ । त्यसैले यहाँ आएको हो,’ भारतमा प्रशिक्षण गरिरहेका एक खेलाडीले भने ।

सरकारले दिएको पैसाले नपुग्दा डाइटका लागि खेलाडीहरूले व्यक्तिगत पैसा हाल्नुपर्ने अवस्था भएको भारतमा प्रशिक्षणमा रहेका एक खेलका प्रशिक्षक बताउँछन् ।

‘सरकारले दिने दैनिक (२३ सय रुपैयाँ) भत्ताले बस्न र खान पुग्न पनि कठिन छ,’ उनले भने, ‘खेलाडीहरूले डाइटको रूपमा अण्डा, फलफूल र जुस जस्ता पोसिलो खानेकुरा आफैंले किनेर खाइरहेका छन् । चोटपटकको जोखिम बढी हुन्छ । तर खेलाडीहरूले खेलका लागि चाहिने टेप र अन्य औषधिहरू आफ्नै पैसाले किनेका छन् ।’

पुराना साथीहरूसँगको व्यक्तिगत सम्बन्धले प्रशिक्षण चलाइरहेको ती प्रशिक्षकको अनुभव छ । ‘२३ सयले पुग्दैन । आफ्ना पुराना साथी र कोचहरूसँगको व्यक्तिगत सम्बन्धका कारण मात्र चलाइरहेका छौं,’ उनले भने ।

राखेपले साउन १७ गतेदेखि खेलाडीहरूलाई बन्द प्रशिक्षणमा राखेको छ । सोही दिनदेखि खेलाडीलाई सरकारले प्रतिदिन १५ डलरका दरले पैसा दिँदै आएको छ । राखेपले १५ डलरमै सबै व्यवस्थापन गर्न भनेको एक खेल संघका पदाधिकारी बताउँछन् ।

‘टिकट लिने भए बस्ने, खाने व्यवस्था अन्तर्राष्ट्रिय संघहरूसँग सहकार्य गरेर मिलाउनु । नभए १५ डलरबाटै सबै खर्च व्यवस्थापन गर्नु भन्नुभएको छ,’ उनले भने ।

खान र बस्नका लागि पनि अन्तर्राष्ट्रिय संघसँग हारगुहार गर्नुपर्ने अवस्था रहेको ती पदाधिकारीको अनुभव छ । ‘अन्तर्राष्ट्रिय फेडेरेसनसँग मिलेर धेरै कुरा मिलाएका छौं । नत्र त सरकारले दिएको पैसाले बस्नै पुग्दैन । सबै कुरा अरूसँग मागेर गर्नुपरेको छ,’ उनले भने ।

राखेपअन्तर्गत राष्ट्रिय टिम तयारीका उपनिर्देशक दीपक श्रेष्ठ विदेशमा प्रशिक्षण गर्ने खेलाडीका लागि १५ डलर अपुग हुने स्वीकार गर्छन् ।

सामान्यतया खेलाडीहरू वैदेशिक प्रशिक्षण तथा प्रतियोगितामा जाँदा खाने, बस्ने व्यवस्थासँगै कुनै निश्चित रकम खेलाडीलाई ‘पकेट मनी’को रूपमा दिने गरिन्छ । वैदेशिक भ्रमण जानेहरूले पनि खाने, बस्नेसहित दैनिक भत्ता पाउने व्यवस्था छ । तर खेलाडीले भत्ता त परको कुरा, खान–बस्नका लागि पनि पर्याप्त रकम पाउन सकेका छैनन् ।

नेपाल कराँते महासंघका अध्यक्ष एवं राखेपका पूर्व सदस्यसचिव युवराज लामा सरकारले खेलाडीमाथि अत्याचार गरेको बताउँछन् । ‘अर्थ मन्त्रालयका सचिव, उपसचिव, कर्मचारीहरूलाई विदेश जाँदा १००, १५० डलर भत्ता दिने अनि खेलाडीलाई १५ डलरमा खाए खा नखाए घिच गर्न लाज लाग्दैन ?,’ उनको प्रश्न छ ।

लामाले थपे, ‘आफू विदेश भ्रमण गर्ने तर देशका लागि रगतपसिना बगाउने खेलाडीलाई १५ डलर छुट्याएको छु भन्ने ? खेलकुदलाई योभन्दा ठूलो अत्याचार के हुन्छ ।’

राखेपअन्तर्गत राष्ट्रिय टिम तयारीका उपनिर्देशक दीपक श्रेष्ठ विदेशमा प्रशिक्षण गर्ने खेलाडीका लागि १५ डलर अपुग हुने स्वीकार गर्छन् । ‘विदेशमा १५ डलरले पुग्दैन । तर कुनैलाई राखेप, कुनैलाई ओलम्पिकले पैसा दिएको छ । कुनै खेलाडी अन्तर्राष्ट्रिय संघहरूको सहयोगबाट प्रशिक्षण गरिरहेका छन्,’ उनी भन्छन् ।

२०औं एसियन गेम्ससँगै २१औं र १४औं दक्षिण एसियाली खेलकुद (साग)को तयारीका लागि भनेर सरकारले एकमुष्ट २ करोड ८० लाख रुपैयाँ छुट्याएको छ । तयारीका लागि उक्त बजेट पर्याप्त नभएको श्रेष्ठको अनुभव छ ।

राखेपले खेलाडीका लागि प्रतिदिन ४० डलर दिनुपर्ने प्रस्ताव लगेको थियो । तर अर्थ मन्त्रालयले १५ डलरमात्र दिने निर्णय गर्‍यो ।

‘नबुझ्ने मान्छे भएपछि कसको के लाग्छ । मन्त्रालयका सचिव, कर्मचारी जाने हुँदा त्यहीअनुसार लिन्छन् । खेलाडीका लागि १६ सयभन्दा बढी दिने चलन छैन भन्दिारहेछन्,’ राखेपका एक सदस्यले भने, ‘लगानीमा कन्जुस्याईं गर्ने अनि प्रतिफलको आशा गरेर हुन्छ ?’

२०औं एसियाड नेपाली खेलाडी प्रशिक्षण
लेखक
रिखिराम जिसी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय