+
+
Shares

डीडीसीको घिउ निर्यात : बाहिर तामझाम, भित्र रित्तो भण्डार

देश भित्रै आन्तरिक माग धान्न सकस परिरहेको अवस्थामा रित्तिँदै गएको भण्डार देखाएर गरिएको यो ‘निर्यात-हल्ला’ कत्तिको दिगो छ ?

ऋतु काफ्ले ऋतु काफ्ले
२०८३ भदौ १० गते ८:००

News Summary

Generated by OK AI. Editorially reviewed.
  • डीडीसीले ५ सय किलो घिउ दुबई पठाउँदै वार्षिक ५० टन निर्यातको व्यावसायिक सम्झौता गरेको छ।
  • डीडीसीका अनुसार अहिलेको मौज्दातबाट करिब १ लाख किलो घिउ मात्र निकाल्न सकिन्छ र असोजसम्म स्टक शून्य हुने अनुमान छ।
  • डीडीसीले कच्चापदार्थ अभाव देखाउँदै देशभर ३० आउटलेट खोल्ने योजना ८ पछि स्थगन गरेको छ।

१० भदौ, काठमाडौं । गएको शुक्रबार सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डीडीसी) मुख्यालयदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसम्म बेग्लै उत्साह र तामझाम देखियो । कारण- नेपाली ब्रान्डको ‘डीडीसी घिउ’ ले अन्तर्राष्ट्रिय बजार यात्रा तय गर्दै थियो ।

नेपाल एयरलाइन्सको उडान मार्फत पहिलो चरणमा ५ सय किलो (आधा टन) घिउ यूएईको दुबईतर्फ पठाइँदा सरकारले ठूलै उपलब्धि सहित उत्साह व्यक्त गरेको थियो ।

२ भदौको प्रतिनिधिसभा बैठकमा कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले रोस्ट्रममा उभिएर गर्वसाथ घोषणा गरिन्- ‘देशमा वर्तमान अवस्थामा डीडीसीको दुग्ध पदार्थको बिक्री ३५ प्रतिशतले बढेको छ, हामी डीडीसीसँग रहेको घिउ चीनमा समेत निर्यात गर्ने तयारी गरिरहेका छौं ।’

मन्त्रीको यो भनाइ र ५ भदौको दुबई निर्यातको दृश्य हेर्दा नेपालको सरकारी दुग्ध संस्थानले अब ठूलै फड्को मार्दैछ । डीडीसीका महाप्रबन्धक डा. शरण पाण्डेका अनुसार निजी क्षेत्रको कम्पनी ‘रातो र चन्द्र सूर्य इन्टरनेसनल प्रालि’ सँग यो वर्ष ५० हजार किलो (५० टन) घिउ निर्यात गर्ने व्यावसायिक सम्झौता भइसकेको छ । आगामी कात्तिकदेखि जापान, दक्षिण कोरिया र चीनको तिब्बतसम्म नेपाली घिउ पुग्ने उनले ठोकुवा नै गरे ।

दुबईमा घिउ निर्यात भएको दिन उनले भनेका थिए- ‘हामीले आजदेखि दुबईका लागि ५ सय किलो घिउ पठाएर यसको सुरुवात गरेका छौं, वार्षिक ५० हजार किलो (५० टन) निर्यातका लागि सम्झौता भइसकेको छ ।’

उनले आगामी दिनमा उत्पादन बढाएपछि विदेश निर्यात हुने परिमाण पनि वृद्धि गरिने बताएका छन् ।

तर, यो तामझाम र बाहिरी आवरण चिरेर डीडीसीको भित्री भण्डार चियाउने हो भने दृश्य नितान्त फरक छ । देश भित्रै आन्तरिक माग धान्न सकस परिरहेको अवस्थामा रित्तिँदै गएको भण्डार देखाएर गरिएको यो ‘निर्यात-हल्ला’ कत्तिको दिगो छ ? यो त समयले नै बताउला ।

दुग्ध उत्पादनको एउटा प्राकृतिक चक्र हुन्छ, जसलाई प्राविधिक भाषामा ‘फ्लस सिजन’ र ‘लिन सिजन’ भनिन्छ । नेपालमा असोजदेखि फागुनसम्मको समय अनुकूल मौसम र पर्याप्त हरियो घाँसपात पाइने भएकाले दूध उत्पादन अत्यधिक हुन्छ, यसलाई ‘फ्लस सिजन’ भनिन्छ । तर, चैतदेखि भदौसम्मको गर्मी र सुक्खायाममा दूध उत्पादन ह्वात्तै घट्छ, जसलाई ‘लिन सिजन’ मानिन्छ ।

यतिबेला देश ‘लिन सिजन’ को अन्त्यतिर छ । अर्थात्, दूध उत्पादन सबैभन्दा कम हुने समय चलिरहेको छ । वर्षभरि ६ महिना दूध बढी संकलन हुँदा त्यसलाई प्रशोधन गरेर बटर (नौनी) र धुलो दूध बनाएर मौज्दात राख्ने र दूध कम उत्पादन हुने ६ महिना त्यही मौज्दात बजार पठाएर माग धान्ने डीडीसीको परम्परागत ‘ट्रेन्ड’ हो ।

डीडीसीकै सूचना अधिकारी नीलकण्ठ गौतम अहिले भएको निर्यात परीक्षण मात्रै भएको बताउँछन् । ‘अहिले हामीले पठाएको ५ सय किलो घिउ अन्तर्राष्ट्रिय बजारमा एउटा परीक्षण मात्र हो,’ उनी भन्छन्, ‘बजारमा अहिले नै हाम्रो घिउको माग यति धेरै छ कि हामीसँग भएको मौज्दात असोजसम्म शून्य हुँदैछ ।’

गौतमको कुरालाई तथ्यांकले पनि पुष्टि गर्छ । कृषिमन्त्री चौधरीले नै १ भदौसम्म डीडीसीसँग १ सय ५० टन दूध पाउडर र १ सय ३० टन नौनी गरी करिब २४ करोड रुपैयाँ बराबरको मौज्दात रहेकोे तथ्यांक प्रस्तुत गरेकी थिइन् ।

प्राविधिक रूपमा नौनी (बटर) मा २० प्रतिशत मोइस्चर (चिस्यान/पानी) हुने हुँदा यसलाई खार्दा ८० प्रतिशतमात्र शुद्ध घिउ निस्कने संस्थाको भनाइ छ । यस हिसाबले हालको मौज्दातबाट करिब १ लाख किलो (१ सय टन) मात्र तयारी घिउ निकाल्न सकिन्छ ।

ठूला चाड दसैं, तिहार र छठ नजिकिँदै छन् । चाडबाडमा घिउको आन्तरिक माग कल्पना गरेभन्दा कैयौँ गुणा बढ्छ । असोजसम्म डीडीसीको मौज्दात घिउ सकिने र नयाँ उत्पादन (फ्लस सिजन) सुरु हुन समय लाग्ने अवस्थामा दुबई, जापान र कोरियामा वर्षको ५० टन घिउ पठाउने योजना एउटा ‘पब्लिसिटी स्टन्ट’ मात्र त बन्छ कि भन्ने शंका गर्ने ठाउँ प्रशस्त छ ।

काउन्टर खोल्न बन्द, विदेशमा बजार खोज्ने हतारो

डीडीसीले केही समयअघि आफ्नो पुरानो स्टक सकाउन र बजार विस्तार गर्न भन्दै देशभरि ३० वटा नयाँ आउटलेट (सर्भिस काउन्टर) खोल्ने लक्ष्य राखेको थियो ।

तर, माग बढिरहँदा र कच्चापदार्थ अभावले ८ वटा आउटलेट खोलेपछि डीडीसी त्यो योजनाबाट पछि हटेको घोषणा गरेको छ । डीडीसीले आज मात्रै सूचना जारी गरेर अर्को सूचना नभएसम्मका लागि आउटलेट खोल्ने काम स्थगन भएको बताएको छ ।

‘हामीसँग कच्चापदार्थकै अभाव हुन थालेपछि आउटलेट खोल्ने काम अहिलेलाई बन्द गरेका छौं,’ सूचना अधिकारी गौतमले भने, ‘अहिले देशभरिका आउटलेटमा घिउ अभाव नभए पनि भोलिका दिनमा संकलन नबढेसम्म हामी आफैंलाई गाह्रो छ ।’

एकातिर देशभित्रै आफ्ना आउटलेट खोल्न र घिउको निरन्तर आपूर्ति गर्न नसकेर संस्थान पछि हट्नु परेको छ, अर्कातिर भने विदेशमा बजार विस्तार गर्न लागिपरेको भन्दै आलोचना हुन थालेको छ ।

‘डीडीसीले विदेशमा बजार खोजेको होइन, एउटा निजी निर्यातकर्ता कम्पनी (रातो र चन्द्र सूर्य इन्टरनेसनल) ले नेपालबाट घिउ लगेर त्यहाँको बजारमा परीक्षण गर्न खोजेको मात्र हो,’ गौतमले भने, ‘त्यो बजारमा नेपाली घिउले कस्तो प्रतिक्रिया पाउँछ, विदेशी उपभोक्ता वा त्यहाँ रहेका नेपालीले यसलाई कत्तिको रुचाउँछन् भन्ने कुराको नतिजा आउन बाँकी नै छ ।’

यदि भोलि विदेशबाट ठूलो माग आइहाल्यो भने पनि डीडीसीसँग त्यो माग धान्ने हैसियत हाललाई देखिँदैन । ‘दैनिक देशभरि ४०-५० हजार लिटरमात्र दूध संकलन भइरहेको छ,’ गौतम स्वीकार्छन्, ‘यदि किसानबाट संकलनमा वृद्धि भएन भने भोलिका दिनमा हामीले विदेशी बजारको माग पूरा गर्न सक्ने अवस्था रहँदैन, हाम्रो पहिलो प्राथमिकता सधैं आन्तरिक बजार र यहाँका उपभोक्ता नै हुन् ।’

किसानको आँसुमाथि उभिएको निर्यातको महल

कुनै पनि देशले आफ्नो उत्पादन निर्यात गर्नु अर्थतन्त्रका लागि सुखद कुरा हो । तर, उत्पादनको जग को हो ? पक्कै पनि किसान । डीडीसीले ४५ जिल्लाका करिब १ हजार २ सय दुग्ध सहकारी संस्थामार्फत किसानको दूध संकलन गर्छ । तर, तिनै किसानले दूध बेचेको पैसा महिनौंसम्म नपाएर सडक आन्दोलन गर्नुपरेको तितो यथार्थ छ ।

विगतमा डीडीसीले किसानलाई भुक्तानी गर्नुपर्ने बक्यौता करिब ९० करोड रुपैयाँ थियो । अहिले त्यो घटेर आधा (करिब ४५ करोड)  हाराहारीमा झरेको सूचना अधिकारी गौतम बताउँछन् । तर, अझै पनि किसानले तीन महिनादेखिको बक्यौता पाएका छैनन् ।

जुन संस्थाले गाईभैँसी पालेर दूध दुहुने किसानको पसिनाको मूल्य समयमै चुकाउन सक्दैन, त्यसले अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्ने विषय अमिल्दो भएको किसानहरू बताउँछन् । समयमै पैसा नदिँदा गाईभैँसी बेचेर विकल्प खोज्ने अवस्थामा पुग्ने अवस्था आएको उनीहरूको भनाइ छ । ‘हामीले दूध उत्पादन नै बन्द गर्‍यौं भने डीडीसीको मेसिनले मात्रै घिउ बनाउन सक्दैन,’ किसान भन्छन् ।

प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले सामाजिक सञ्जाल मार्फत डीडीसीको प्रचार गरेपछि र उपभोक्ताले सोधखोज गरी माग हुन थालेपछि अहिले बल्ल संस्थाले पुरानो स्टक (जुन विगतमा बिक्न नसकेर थन्किएको थियो) बेचेर किसानको बक्यौता तिर्ने प्रयास गरिरहेको छ ।

तर, दीर्घकालीन रूपमा निर्यातलाई निरन्तरता दिने हो भने पहिलो सर्त नै किसानको मनोबल बढाउनु हो । किसानलाई दूधको उचित मूल्य र समयमै भुक्तानी दिने हो भने मात्रै उत्पादन बढ्छ, अनि मात्रै जापान वा कोरिया निर्यात गर्ने सपनाले सार्थकता पाउने देखिन्छ ।

डीडीसीले फ्रेस मिल्क, स्ट्यान्डर्ड दूध, काउ मिल्क, याक चिज, दही, मही, आइसक्रिम, रसबरी जस्ता धेरै उत्पादन बजार ल्याएको छ । डीडीसीको गुणस्तरमा नेपाली उपभोक्ताको विश्वास पनि छ । यही विश्वास पूँजीकृत गर्दै विदेशमा रहेका नेपाली डायस्पोरा लक्षित गरी निर्यात सुरु गर्नु आफैंमा एउटा सकारात्मक र स्वागतयोग्य कदम भने हो ।

५-७ वर्षअघि जापान र तिब्बतमा केही मात्रामा घिउ र बटर पठाएको इतिहास भए पनि त्यसलाई डीडीसीले निरन्तरता दिन सकेको थिएन ।

अहिले ५ सय किलो घिउ पठाउनु एउटा सामान्य व्यापारिक सुरुवात मात्र हो, यो कुनै ठूलो क्रान्ति होइन । जबसम्म आन्तरिक बजारमा उपभोक्ताले सहजै घिउ पाउने सुनिश्चितता हुँदैन, जबसम्म गाउँका किसानले दूध बेचेको भोलिपल्टै हातमा पैसा पाउँदैनन् र जबसम्म डीडीसीको दूध संकलन क्षमता उल्लेख्य रूपमा बढ्दैन, तबसम्म विदेश निर्यातको कुरा प्रचारबाजी मात्रै साबित हुनेछ ।

लेखक
ऋतु काफ्ले

काफ्ले अनलाइनखबरकाे बिजनेस ब्युराे संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?