९ भदौ, काठमाडौं । भुटानका परराष्ट्र तथा वैदेशिक व्यापारमन्त्री डीएन ढुंगेलसँग नेपालका सांसदहरूले छलफल गरेका छन् ।
भुटान भ्रमणमा रहेका सांसदहरूको टोलीले ढुंगेलसँग नेपाल र भुटानबीचको मैत्रीपूर्ण सम्बन्धबारे छलफल गरेका हुन् ।
दुई देशबीचको मैत्रीपूर्ण सम्बन्धलाई थप सुदृढ बनाउँदै पर्यटन, व्यापार, कृषि, जलवायु परिवर्तन, प्राकृतिक स्रोत संरक्षण तथा संस्कृतिलगायतका क्षेत्रमा सहकार्य विस्तार गर्ने विषयमा छलफल भएको सांसद अशोककुमार चौधरीले जानकारी दिए ।
हिमालय क्षेत्रको वातावरणीय जलवायु अनुकूलन र दिगो सहकार्यका लागि भुटानको थिम्पुमा आयोजना भइरहेको दोस्रो ‘एचकेएम पार्लियामेन्टेरियन मिट’मा भाग लिन सांसदहरू भुटान गएका हुन् ।
प्रतिनिधिसभा अन्तर्गतको कृषि तथा प्राकृतिक स्रोत समितिका सभापति अशोककमार चौधरीसहित प्रतिनिधि सदस्यहरू भुटानमा छलफल गर्न गएका हुन् ।
साथै भुटानको कृषि तथा पशुपालन मन्त्रालयका सचिवसँग पनि नेपाली सांसदहरूको भेट भएको छ ।
भेटमा कृषि तथा द्विपक्षीय कृषि व्यापार, भुटानको रातो चामल र रातो आलु, जैविक उत्पादन तथा कृषि क्षेत्रमा अनुभव र प्रविधि आदान–प्रदानलगायतका विषयमा छलफल भएको छ ।
साथै, नेपाल र भुटानबीच कृषि सहकार्य र व्यापारलाई थप विस्तार गर्ने विषयमा विचार आदान–प्रदान गरिएको सांसद चौधरीले जानकारी दिएका छन् ।
प्रतिक्रिया 4